संस्कृतिले शहरको सिर्जनात्मक पक्ष मात्र उजागर गर्दैन, अरू शहरको भन्दा पृथक् र विशिष्ट पहिचान पनि दिइरहेको हुन्छ।
सरोज कुशवाह र डेविड विटी
शहरहरूलाई एकअर्काबाट पृथक् र विशेष देखाउने थुप्रै पक्षमध्ये एउटा हो- संस्कृति। अनि यो सदियौंदेखि शहरी विकासको महत्वपूर्ण हिस्सा बन्दै आएको छ। हरेक संस्कृतिमा शहरलाई पहिचान दिने अनेक तत्व निहित हुन्छन्। रैथाने चाडपर्व, भवन निर्माण शैली, संग्रहालय, कलात्मक अभिव्यक्ति, पुस्तकालय, सङ्गीत आदिमा तिनको प्रतिविम्बन पाइन्छ।
यी सांस्कृतिक धरोहरहरूले सामूहिक स्मारक बनेर शहरी अनुभवलाई विशिष्ट बनाउँछन्। शहरी विकासमा संस्कृतिको भूमिकालाई अन्तर्राष्ट्रिय तहमै मान्यता दिइएको छ। सन् २०१५ मा यसलाई पहिलो पटक संयुक्त राष्ट्रसंघका १७ वटा दिगो विकास लक्ष्यमध्ये ‘अन्तर्राष्ट्रिय विकास’ शीर्षकमा समावेश गरिएको थियो। शहरमा मानवीय संवेदना संरक्षण र योजनाहरूको मार्गनिर्देशनका लागि समेत संस्कृति अपरिहार्य हुन्छ।
पछिल्लो समय विश्वव्यापी रूपमै एकपछि अर्को शहर थपिँदै छन्। सन् २०३० सम्म संसारका करीब ६० प्रतिशत मानिस शहरमा बस्ने प्रक्षेपण छ। हरेक कुरामा तीव्र विश्वव्यापीकरण भइरहेको सन्दर्भमा ती शहर पनि एकैनासका हुने जोखिम छ। शहरको द्रुत वृद्धिदरले स्थानीय बासिन्दाका सामाजिक आवश्यकतालाई बेवास्ता गरिदिन्छ। उनीहरूलाई जीवनको गुणस्तर सुधार्ने मौका दिँदैन। जबकि, शहरले त मानिसलाई स्थानीय इतिहासका आधारमा सामूहिक पहिचान विकास गर्ने मौका दिनुपर्ने हो। अर्थात्, शहरहरू मानवकेन्द्रित हुनुपर्छ।
शहरको भौतिक र सामाजिक पूर्वाधार संस्कृति अनुकूल परिवर्तन हुनु/नहुनुले उक्त शहर बसोबास योग्य भए/नभएको निर्धारण गरिदिन्छ। दिगो शहरी विकास भनेको भविष्यका आवश्यकताप्रति सम्झौता नगरी शहरी विकासलाई प्रवर्द्धन गरिनु हो जसले वातावरणीय, सांस्कृतिक, राजनीतिक, संस्थागत, सामाजिक र आर्थिक हर पक्षबाट शहरी जीवनको गुणस्तर बढाउँछ। दिगो विकास मार्फत शहरी पहिचान जोगाउन सम्भव पनि छ। यसका लागि स्थानीय संस्कृतिको महत्व समेट्ने, सांस्कृतिक सुन्दरतालाई प्रोत्साहन दिने नीति लिइनुपर्छ।
संस्कृति समाजको आध्यात्मिक, भौतिक, बौद्धिक र भावनात्मक पक्षहरूको समष्टि पनि हो जस अन्तर्गत कला-साहित्य, जीवनशैली, मूल्यमान्यता, परम्परा र विश्वास पर्छन् (युनेस्को २००१)। यसले सांस्कृतिक अर्थतन्त्रलाई चलायमान् बनाउँछ। यस्तो अर्थतन्त्रले आय आर्जन, रोजगारी सिर्जना र निर्यात व्यापारका दृष्टिले संसारकै तीव्रतर बजार निर्माण गरिदिन्छ। सांस्कृतिक र सिर्जनात्मक उद्योगले शहरलाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाइदिन्छन्।
आर्थिक अवसरका कारणले मात्र नभई सांस्कृतिक/सिर्जनात्मक उद्योगले सुन्दर, सुरक्षित, समावेशी र उत्थानशील वातावरण बनाउन मद्दत गर्ने भएकाले पनि मानिसहरू त्यस्ता शहरमा बस्न रमाउँछन्। यस्ता उद्योगको विकास सहज र छरितो बनाउन सांस्कृतिक अभिव्यक्ति, शिक्षा, नव अन्वेषण र परीक्षणलाई महत्व दिने सार्वजनिक नीति आवश्यक छ। सिर्जनात्मकतामा सघाउने यी पक्षहरू फस्टाउन परिवर्तन अनुकूल सांस्कृतिक वातावरणको आवश्यकता पर्छ।
दिगो शहरी विकासको कुरा गर्दा संस्कृतिलाई कुनै वस्तु वा अभ्यासका रूपमा नभई त्यससँग स्थानीय बासिन्दाको सम्बन्ध पनि हेर्नुपर्छ।
शहरी संस्कृति संवर्द्धन र प्रवर्द्धनमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) प्रत्यक्ष सक्रिय छ। युनेस्कोले शहरको मौलिकता, प्राचीनता र संस्कृति जोगाउन नयाँ नयाँ प्रस्ताव ल्याउँदै सदस्य राष्ट्रहरूलाई नीति, नियम र मानक निर्माणमा सघाउँछ। आवश्यक कार्यक्रम तय गर्दै तिनको कार्यान्वयन पक्षको अनुगमन पनि गर्छ।
संस्कृतिहरूप्रति सम्मान दर्शाउँदै खुला छलफलमा आधारित भई मानवकेन्द्रित काम गर्दा विकास दिगो र समावेशी हुन्छ। सन् २००४ मा युनेस्को सिर्जनात्मक शहरहरूको सञ्जाल (यूसीसीएन) स्थापना गर्यो। सिर्जनात्मकता र सांस्कृतिक उद्योगलाई विकास योजनाको केन्द्रमा राख्ने शहरहरूको विश्वव्यापी सञ्जाल हो, यो। यूसीसीएनमा हाल ३ सयभन्दा बढी शहर छन्। यसमा सात विषय समेटिएका छन्- हस्तकला-लोककला, डिजाइन, फिल्म, खाद्य एवं पाककला, साहित्य, सञ्चारकला, सङ्गीत।
यूसीसीएनको मुख्य उद्देश्य सिर्जनात्मक शहरहरूबीच सहकार्य, राम्रा अभ्यास आदानप्रदान र सांस्कृतिक मञ्चहरूलाई बलियो बनाउँदै दिगो विकास लक्ष्य, २०३० को प्राप्ति सहज बनाउनु हो। काठमाडौं, ललितपुर र भक्तपुरले यो सञ्जालको सदस्य बन्न चासो दिएकामा अहिले युनेस्कोले तीनै शहरका प्रमुखहरूसँग काम गरिरहेको छ।
ऐतिहासिक दरबार क्षेत्र, बौद्ध स्तूप र हिन्दू मन्दिर, समृद्ध कला-शिल्प, सङ्गीत, पाककला आदि रहेको काठमाडौं उपत्यका मूर्त-अमूर्त सबैखाले सांस्कृतिक सम्पदामा धनी छ। युनेस्कोले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, स्वयम्भू, बौद्धनाथ स्तूप र चाँगुनारायण मन्दिरलाई विश्व सम्पदामा राखेको छ। यसबाट पनि यी सम्पदा राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा कति समृद्ध र महत्वपूर्ण छन्, प्रष्ट हुन्छ। जीवन्त संस्कृति, ऐतिहासिक चाडपर्व र विभिन्न समसामयिक कलामा युवा संलग्नताले यी शहरलाई ‘सांस्कृतिक’ बनाइरहेका छन्।
यूसीसीएनमा संलग्नताले यी शहरमा संस्कृति र सिर्जनात्मकताको महत्व बढाउन सघाउनेछ जसले दिगो शहरी विकासलाई प्रोत्साहन दिन्छ। सिर्जनात्मक शहरले त्यहाँका बासिन्दालाई समेत सिर्जनात्मक बनाउँछ। यसका लागि पहिले त शहर बस्नयोग्य हुनुपर्छ। त्यसै अनुसारका स्थान र पूर्वाधार तयार पारिनुपर्छ।
काठमाडौं उपत्यकासामु केही प्रश्नहरू पनि छन्- दिगो शहरी विकासमा यसले संस्कृतिलाई कसरी समेट्छ ? यसले कुन कुरामा सफलता हासिल गरेको छ र अझ कहाँ काम गर्न बाँकी छ ? शहरको विस्तार मानवकेन्द्रित पक्षबाट भइरहेको छ ? यी प्रश्नको जवाफ दिन हामीसँग सफलताका केही कथा छन्। जस्तै- भक्तपुरले ऐतिहासिक शहर पुनर्निर्माणसँगै केही भाग पैदलयात्रुका लागि छुट्याएर इतिहासमा आधारित मानवकेन्द्रित शहरी वातावरण तय गरेको छ। तीनै शहर संस्कृतिमा उनिएका छन्।
शहरका कुना कुना, गल्ली गल्ली वा सडकको बीचमै पनि सांस्कृतिक विम्बहरू भेटिन्छन्। तीनै शहरभरि संग्रहालय, ग्यालरी, रेस्टुराँ, क्याफे र सांस्कृतिक स्थल छन्, जसले टोलछिमेकमा ऊर्जा प्रदान गरिरहेका हुन्छन्। दिगो शहरी विकासको कुरा गर्दा संस्कृतिलाई कुनै वस्तु वा अभ्यासका रूपमा नभई त्यससँग स्थानीय बासिन्दाको सम्बन्ध पनि हेर्नुपर्छ। यस्तो अभ्यासले स्थानीयमा एकीकृत ऊर्जाको उत्पत्ति गरिदिन्छ जसले शहरको सम्पूर्णतालाई हेर्छ। शहरी विकासका सबै पक्ष संस्कृतिसँग सम्बद्ध रहेको सुनिश्चय गरिदिन्छ।
आफ्नो संस्कृति अँगालेपछि नै शहरको पहिचान स्पष्ट बन्छ। समयक्रमसँगै भएको धर्म र मानिसहरूको अन्तर्घुलनले काठमाडौंलाई जीवन्त र समृद्ध सांस्कृतिक शहर बनाएको छ। नेपालका लागि युनेस्कोको नयाँ राष्ट्रिय रणनीतिको एउटा प्रमुख शीर्षक हो- ‘संस्कृतिलाई विकासको केन्द्रमा राख्ने।’ समग्र काठमाडौं उपत्यकाले दिगो शहरी विकासको मार्गनिर्देशक सिद्धान्तका रूपमा संस्कृतिलाई अँगाल्ने र आफूलाई आर्थिक रूपमा गतिशील, मानवकेन्द्रित, बसोबास गर्न योग्य र सुन्दर शहर बनाउने ठूलो सम्भावना छ।
(लेखकद्वय युनेस्को नेपालसँग आबद्ध छन्। हिमाल को २०७९ मंसीर अङ्कबाट।)
कभर स्टोरी सहित थप सामग्री: