मनमोहन अधिकारीको नजरमा टंकप्रसाद आचार्य

नेका र वाम घटकका बीच एक मोर्चा बनाउने जुन ऐतिहासिक घटना (२०४६ सालको आन्दोलन) भयो त्यसमा पनि टंकप्रसाद आचार्यको हात छ।
नेपालको राजनीतिमा संवैधानिक राजतन्त्र अन्तर्गत आधुनिक किसिमको निश्चित राजनीतिक र आर्थिक कार्यक्रम नेपालमा सर्वप्रथम प्रारम्भ गर्नेमा श्रद्धेय टंकप्रसाद आचार्य नै हुनुहुन्छ।
मलाई स्व. टंकप्रसाद आचार्यको संगत २००७ सालको लगत्तैपछि मिल्यो र अन्तिम घडीसम्म मैले उहाँको निकटता पाएँ। उहाँले प्रारम्भ गर्नुभएको १९९७ सालको आन्दोलनको वैज्ञानिक दृष्टिकोण राखेर निष्पक्ष किसिमले अध्ययन गर्दा के पाइन्छ भने त्यो आन्दोलनले नेपालीलाई आधुनिक युगमा प्रवेश गरायो। त्यही आन्दोलनको प्रभावबाट त्यसपछिका सबै पिंढीका व्यक्तिहरू र सबै पार्टीहरूमा नयाँ किसिमको राजनीतिक दृष्टिकोणको विकास भयो। उहाँबाट सम्पूर्ण राष्ट्रले प्रेरणा लिनुपर्छ र क्रान्तिको ध्येयमा अगाडि बढ्नुपर्छ भन्नेमा मातृकाप्रसाद कोइरालाज्यू नै हुनुहुन्छ, बीपी पनि हुनुहुन्थ्यो र डा. डिल्लीरमणज्यू हुनुहुन्छ। यी सबैबाट हामीहरूले आफ्नो इतिहासको अवलोकन गर्ने र सन्तुलित किसिमको दृष्टिकोण राख्ने दायित्व उपस्थित हुन्छ।
१० महीनाको अवधिका लागि सरकारमा जाने एउटा मौका हामीले पनि पायौं र आफ्नै बुद्धि-विवेकले भ्याएसम्म राम्रो काम गर्ने प्रयास गर्यौं। अन्य विभिन्न कार्यका साथै हामीले एउटा कार्य प्रारम्भ गर्यौं। निष्पक्ष भएर आफ्नो पार्टीको सङ्कीर्ण दायराभन्दा माथि उठेर हामीहरूले आफ्नो राष्ट्रका विभूतिहरूको सम्मान गरौं भनेर टंकप्रसादको सम्मानमा, गंगालालको सम्मानमा, पुष्पलालको सम्मानमा, २०४६ सालको आन्दोलनमा प्रखर भूमिका खेलेका विभूति मदन भण्डारी, सगरमाथाकी आरोहक महिला विभूति पासाङ ल्हामु शेर्पा आदिका स्मृतिलाई चिरस्थायी बनाउन हामीहरूले साढे तीन करोड जति रुपैयाँ छुट्यायौं।
उहाँहरूका लागि मात्र होइन, बीपीको स्मृतिका लागि पनि हामीले काम गर्यौं। बीपीका लागि मैले स्वयं चीनका प्रधानमन्त्री र राष्ट्रपतिसँग अनुरोध गरेर धरानमा बीपीको नाममा स्थापित संस्थानका लागि चाहिने करोडौं रुपैयाँ उपलब्ध गराएँ। राष्ट्रका विभूतिहरूका योगदानको सम्मान गर्ने परम्परा बसेन भने राष्ट्रिय चरित्रमा दाग लाग्न जानेछ भन्ने मेरो मान्यता छ।
‘मितव्ययिता’ को नाममा मुलुकका राष्ट्रिय विभूतिहरूको सम्मानका लागि छुट्याइएको रकममा कटौती हुनु राम्रो होइन। त्यसकारण टंकप्रसाद आचार्य प्रतिष्ठानको सम्बन्धमा हामीले जो सानो कार्य आरम्भ गर्यौं, पछिको कुनै पनि सरकारले त्यसलाई आफ्नो राजनीतिक दायराभन्दा माथि उठेर नै मूल्याङ्कन गर्नुपर्छ।
अब टंकप्रसादजीको मूल्याङ्कनको सन्दर्भमा कुरा गर्दा र घटनाक्रमलाई फर्केर हेर्दाखेरि म के देख्छु भने, उहाँकै बाटोमा आखिर सबैले हिंड्नुपर्यो। मुलुकभन्दा बाहिर गएर राजनीति गर्यो भने जुन देशबाट राजनीति गरिन्छ, त्यही देशले हामीमाथि प्रभाव पार्छ भन्ने उहाँको दृढ अडान थियो। मैले आफ्नै दृष्टिले पनि यो मुलुक छोडेर बाहिर गएर कहिल्यै राजनीति गरिनँ।
अन्त्यमा नेका र वाम घटकका बीच एक मोर्चा बनाउने जुन ऐतिहासिक घटना भयो त्यसमा पनि टंकप्रसाद आचार्यको हात छ। उहाँ पटक पटक भन्नुहुन्थ्यो, “तपाईंहरू यसरी फुटेर बस्नुभएको छ र आआफ्नै तालमा हिंडिरहनुभएको छ भने कसरी सफल हुन सक्नुहुन्छ? नेपालभित्रैबाट हामीले आन्दोलन शुरू गर्यौं भने त्यो निश्चय नै सफल हुन्छ।” आपसमा समझदारी हुनुपर्छ भन्ने जोड उहाँको थियो र म यो अहिले पनि मान्दछु।
मानव अधिकार सम्बन्धी सानो सानो कुरादेखि लिएर राष्ट्रिय सहमतिको सम्बन्धमा पनि उहाँको स्पष्ट दृष्टिकोण थियो र उहाँले आफ्नो घरदैलो सबै क्षेत्रका व्यक्तिहरूका लागि सधैं खुला राख्नुभएको थियो। राजनीतिक मानिसहरूलाई भेट्ने, उनीहरूलाई निर्णय दिने, सम्झाउने, आफ्नो घरमै बैठक डाक्ने आदि काम उहाँले सबै गर्नुभयो। अन्त्यमा हामी आफ्नो खुट्टामा उभियौं, आफ्नै बलमा आन्दोलन गर्यौं र यसरी मिलेर गर्दा मात्र आन्दोलन सफल भयो। यस घटनाक्रमको फलस्वरूप नेपालको राजनीतिमा देखिन सक्ने सबै शक्तिहरू आपसमा मिले र यसरी नेपालको इतिहासमा २०४६ को ऐतिहासिक घटना भयो।
मलाई सम्झना भइरहेको छ, पहिलो पटक नेपालकै धर्तीबाट नेपालका राजनीतिक शक्तिहरूले विचार पुऱ्याएर, नेपाली जनताको समर्थन लिएर आन्दोलन गरेको जसमा बाह्य प्रेरणा थिएन, हस्तक्षेप थिएन। बाह्य हस्तक्षेपलाई हामीले अस्वीकार गर्यौं र आन्दोलनले विशाल रूप लिएर आएपछि अरू राष्ट्रहरूले पनि बाध्य भएर हाम्रो अडानलाई स्विकार्नुपर्यो। श्री ५ महाराजाधिराजलाई पनि म यस अवसरमा तारीफ गर्न चाहन्छु। सरकारले परिवर्तनको आवश्यकता महसूस गरिबक्स्यो र त्रिपक्षीय सम्झौता अनुसार २०४६ सालको आन्दोलनको निष्कर्ष भयो, अन्तरिम सरकारको गठन र संविधानको निर्माण। यी सबै नेपालका ठूला शक्तिहरू आफ्नै किसिमले सचेत भएको कारणले गर्दा सम्पन्न हुन सकेका हुन्।
मलाई प्रधानमन्त्री भएको वेला इरानबाट मान्छेहरू भेट्न आउँदा २०४६ सालको आन्दालनको ठूलो तारीफ गरे। मैले तिमीहरू त्यति टाढा देशका मानिस यो देशको आन्दोलनसँगै त्यति चासो किन भयो भन्दाखेरि उनीहरूले के भने भनें- यदि हाम्रो मुलुकमा पनि नेपालको राजा जस्तो समयलाई बुझेर निर्णय गर्न सक्ने राजा भएको भए त्यति हिंसा र रक्तपात हुँदैनथ्यो। भनाइको अर्थ के भने, उनीहरूले हाम्रो बुद्धिमत्तालाई माने। सबै जना सही मूल्याङ्कनका आधारमा अगाडि बढे भने म त यो मुलुकको भविष्य उज्ज्वल देख्छु।
हामीले धेरै मुलुकका नेताहरूसँग कुरा गर्दा के पायौं भने सबै जना मुलुकमा राजनीतिक स्थिरता चाहन्छन्। त्यसैले विभिन्न राष्ट्रिय शक्तिहरूको आचरण कस्तो हुनुपर्छ भन्ने सिक्नुपर्छ। अलग अलग किसिमले हिंडे तापनि देशलाई स्थिरता दिन सक्यो भन्ने कुराको बारेमा प्रेरणा पनि लिनु छ भने हामीले टंकप्रसाद आचार्यबाट राम्रो हुन्छ भनेर नै हामीले असहमति हुँदाहुँदै पनि अविश्वासको प्रस्तावको सामना गरेर सत्ता हस्तान्तरण गर्यौं। यो कुराको विदेशीहरूले पनि तारीफ गरे। यसलाई चर्चामा ल्याउनुको मतलब के हो भने आज पनि सबैको समझदारी अनुसार राष्ट्रलाई अगाडि बढाउनुपर्ने खाँचो छ र यो खाँचोको वेलामा टंकप्रसाद आचार्यज्यूको अभाव अत्यन्त खट्किन्छ।
हामी सबैका लागि उहाँ एउटा श्रद्धेय मात्र हैन, एउटा आदरको पात्र हुनुहुन्थ्यो। उहाँलाई हामी नबिर्सौं। उहाँको स्मृतिलाई चिरस्थायी बनाउन हामी सबैले सहयोग गर्नुपर्छ। यो टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानलाई हामी आफ्नै संस्था ठानौं भन्ने कुराको म यहाँ चर्चा गर्न चाहन्छु।
(यो लेख स्व. टंकप्रसाद आचार्यको ८५औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजित समारोहमा भूपू प्रधानमन्त्री मनमोहन अधिकारीको वक्तव्यमा आधारित छ। यो लेख टंकप्रसाद आचार्य स्मृति-ग्रन्थबाट साभार गरिएको हो।)