‘समानुपातिक मत खेर नजाओस् भनेर स्वतन्त्र पार्टीको चिह्न लिएर लडेको हुँ’
![‘समानुपातिक मत खेर नजाओस् भनेर स्वतन्त्र पार्टीको चिह्न लिएर लडेको हुँ’](https://www.himalkhabar.com/uploads/posts/800X600/pranaya_samsher_rana_1668421357.jpg)
‘राष्ट्रिय स्तरमा मेरो तीन वटा मुख्य अजेन्डा छन्- जनस्वास्थ्यको सुदृढिकरण, सीमा सुरक्षा र सडक सुरक्षा। यी तीन अजेन्डामा कसरी काम गर्ने भन्ने मसँग कार्ययोजना छ।’
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका प्रणय शम्शेर राणा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका दाबेदार थिए। कांग्रेसबाट टिकट नपाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भएका राणा काठमाडौं-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।
द्वन्द्व व्यवस्थापनविज्ञ राणा दुई वर्षअघि नेपाल फर्किएका थिए। अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’मा बसेर काम गरेका राणा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। हिमालखबरको उम्मेदवार संवाद स्तम्भमा काठमाडौं-५ का उम्मेदवार राणासँग सागर बुढाथोकीले गरेको संवादः
कांग्रेसबाट उम्मेदवार आकांक्षी हुनुहुन्थ्यो। कसरी राष्ट्रिय स्वतन्त्र पार्टीमा पुग्नुभयो?
म काठमाडौं-५ मा कांग्रेसको तर्फबाट उम्मेदवारको आकाक्षी भएर निर्वाचनको तयारी गरिरहेको थिएँ। म यो क्षेत्रको निर्वाचित महाधिवेशन प्रतिनिधि पनि हुँ। एउटा निर्वाचित प्रतिनिधिले आकांक्षी हुनु स्वाभाविक पनि हो।
केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको आम भेलामा साधारण वक्ता बनेर गएको थिएँ। आयोजकले मलाई युवा नेता र द्वन्द्व व्यवस्थापनविद् भनेर शुभकामना र सल्लाह दिन बोलाएका थिए। एउटा पार्टीको मान्छे अर्को पार्टीको कार्यक्रममा गएर सल्लाह, सुझाव र मन्तव्य दिने संस्कार हुन्छ। मैले त्यहि संस्कार अँगालेर त्यो कार्यक्रममा बोलेपछि मेरो क्षेत्रले मलाई ‘थ्रेट’को रुपमा देख्यो। मभन्दा अग्रज नेतालाई गाह्रो भएर हो कि मलाई छलफलको प्रकियाबाट नै हटायो।
टिकट सम्बन्धी छलफल कार्यक्रमबाट घोक्राएर निकाल्यो र राति साढे १० बजे स्पष्टीकरण दिनु भनेर पत्र पठायो। मैले राति नै त्यो पत्रको जवाफ लेखेर पठाएँ। त्यो जवाफ जित्तबुझ्दो भएन भनेर कांग्रेसको साधारण सदस्य नरहने गरि निस्कासित गरियो।
देशको सेवा गर्छु भनेर आएको मान्छे पार्टीबाट अन्याय भयो भन्दैमा चुप लागेर बस्ने कुरा भएन। मैले जुन कुराको तयारी गरेको थिएँ, त्यसपछि स्वतन्त्र ढंगले अघि बढेँ। पुराना दलहरूलाई नसिहत दिने हो भने त एउटा शक्ति बनाउनुपर्छ भन्ने लाग्यो। एक्लै लड्दा समानुपातिकको मत खेर जान्छ। त्यसैले स्वतन्त्रहरूको एउटा शक्ति बनोस् भनेर स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर निर्वाचनमा आएँ। स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर निर्वाचनको तयारी गरेको हुँ, स्वतन्त्र पार्टी प्रवेश गरेको होइन।
पार्टीमा आवद्ध भएको दुई-तीन वर्षमै टिकट दाबी गर्दा पुराना नेता-कार्यकर्ताले अप्ठ्यारो माने होलान। तपाईले छोटो समयमै धेरै खोज्नु भयो कि?
मलाई ‘आउने बितिकै सबै कुरा चाहिने’ भनेर आलोचना गरियो। म त आकांक्षी थिए, तर उहाँहरूले किन आकांक्षी हुनु भएन त? मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा बसेर काम गरेको छु। देशमा शान्ति स्थापना हुँदै गर्दा सेनाको 'करिअर' छाडेर पढ्न गएँ। मेरो राजनीति पनि त्यहि वेला शुरू भएको हो। किनकि, म देशलाई जे आवश्यक पर्छ, त्यहि गर्नुपर्छ भनेर पढ्न गएको थिएँ।
सेना, समाजसेवा, विदेशमा गएर जनस्वास्थ्य कल्याणकारी राज्य र दोस्रो संविधान सभा चुनावमा कार्टर सेन्टरको कन्सलट्यान्ट भएर आएको थिएँ। अहिले म नेपाली सेना र प्रहरी सम्बन्धी विज्ञ हुँ। विभिन्न कलेजमा गएर पढाइरहेको छु। पार्टीको सदस्यता नयाँ भएतापनि समाजकै लागि काम गरिरहेको मान्छे हुँ।
मेरो रफ्तारबारे असन्तुष्टि राख्नुअघि उनीहरूले पनि सामाजिक गतिविधिमा लागेको भए हुन्थ्यो। अन्तर्राष्ट्रियस्तरमा नभए पनि राष्ट्रियस्तरमा आफ्नो छाप छाड्नुपर्ने थियो नि।
यो क्षेत्रमा कांग्रेसका तपाईभन्दा योग्य उम्मेदवार छैनन् भन्न खोज्नु भएको हो?
मैले होइन, यो क्षेत्रमा योग्य मानिस केन्द्रले देखेन। हामी पनि योग्य छौं, स्थानीय योग्य छैनन् भन्ने आँखाले नहेरिदिनुस् भनेर केन्द्रलाई सन्देश दिन उम्मेदवारी दाबी गरेको हुँ। अहिलेसम्म केन्द्रले स्थानीयलाई योग्य देखेन। केन्द्रको नजरिया नै यस्तो छ।
घरदैलो अभियानमा मतदातासँग प्रणय शम्शेर राणा।राजनीतिमा लागेको धेरै भएको छैन। यति छोटो समयमै प्रतिनिधि सभाको उम्मेदवार बन्नुपर्छ भन्ने सोच कसरी आयो?
मैले कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्छु भन्ने पनि सोचेको थिइनँ। म कोराना महामारीको वेलामा नेपाल आएको हुँ। त्यो वेला विभिन्न देशबाट सहयोग जुटाएर कोरोना महामारीको प्रतिकार्यमा काम गरेँ। डाक्टर साथीहरू राखेर संक्रमितलाई फोन ‘कन्सल्टेशन’ गरेको थिएँ। देशभरी स्वास्थ्य सामग्री वितरण गरेँ। त्यतिवेलाको मेरो काम देखेर साथीहरूले चुनाव लड्नुपर्छ भनेर सुझाए। त्यहि सुझाव अनुरुप कांंग्रेसको महाधिवेशन प्रतिनिधि भएँ। आफ्नो पढाई र काम सकेर नेपाल आउँदै गर्दा पार्टीगत राजनीति गर्छु भने पनि चुनाव नै लड्छु भन्ने सोचेको थिइनँ, परिस्थितीले मलाई चुनाव लड्ने बनायो।
तपाई नेपाल आउनुअघि विदेशमा के गर्नुहुन्थ्यो?
देश शान्ति प्रक्रियामा गएपछि पढ्न अमेरिकामा गएँ। स्नातकोत्तर सकेपछि त्यहाँको शरणार्थी समस्या समाधान गर्न दुई वर्ष काम गरेँ। त्यसपछि विद्यावारिधि गर्दा त्यतिवेलाका अमेरिकी राष्ट्रपति बाराक ओबामाले ल्याएको ‘ओबामा हेल्थ केयर’ कार्यक्रममा पहिले ‘एजुकेशन स्पेशलिस्ट’ र पछि ‘पोलिसी एनालासिस्ट’ भएर काम गरेँ।
अमेरिका बसाईको अन्तिम दुई वर्ष एक व्यावसायिक कम्पनीमार्फत सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) मा सिनियर कन्सल्टेन्ट भएर जनस्वास्थ्यको नीतिगत तहमा काम गर्ने मौका पाएको थिएँ। जब कोभिड-१९ महामारी शुरू भयो, त्यसपछि नेपालमा जनस्वास्थ्य बुझेका मानिसको आवश्यकता हुन्छ भन्ने सोचेँ। सीडीसीमा काम गर्दा जनस्वास्थ्यका क्षेत्रमा बनाउनुपर्ने नीति तथा योजना र खोप व्यवस्थापनबारे काम गरेकाले ज्ञान र अनुभव थियो। आफूले जानेको र सकेको काम गर्नुपर्छ भनेर नेपाल फर्किएँ।
अहिले विभिन्न क्षेत्रमा काम गरेका विज्ञहरू उम्मेदवार बनेका छन्, राजनीतिमा आएका छन्। राजनीतिमा आउन के कुराले प्रेरित गर्दो रहेछ?
मेरो हकमा भन्दा जुन तयारीको लागि गएको थिएँ, पढेर मात्र हुन्नथ्यो। काम नगरिकन अनुभव हुदैन्थ्यो। अमेरिकामा काम गर्दै जाँदा अब नेपालमा केही काम गर्न सक्छु भन्ने लागेर फर्किएको हुँ। पैसा कमाउँछु भनेर विदेश गएको थिइनँ। विज्ञता हासिल गर्न गएकाले चाडै देश फर्केँ।
हामी जुन ठाउँमा बसेर काम गर्छौं, हाम्रो क्षेत्र सानो हुन्छ, पर्दा पछाडि हुन्छौं। आफै अगाडि आउँदा अरुलाई राजनीतिमा आउन ‘मोटिभेट’ गर्न सक्छौं। हाम्रो संसद्मा धेरैभन्दा धेरै मानिस पुरानो पार्टीका झण्डा बोकेर लडेको, जेल बसेको र त्यतिवेलाको आवश्यकता जे थियो, त्यो आवश्यकताको अनुभव छ। त्यही भएर व्यवस्था परिवर्तन भए पनि व्यवस्थापन परिवर्तन भएन। यस्तो किन भयो भने नीति लेख्ने ठाउँमा विभिन्न क्षेत्रका विज्ञ, विषयवस्तुमा अध्ययन तथा अनुसन्धान गरेका र बाहिरी देशमा नीति बनाउन काम गरेका मानिस कम भए। संसद्मा विज्ञ भए भने देशले विश्वस्तरीय नीति निर्माता पाउँछ। विज्ञहरू चुनावमा आउनु भनेको देशको लागि राम्रो नीति निर्माता पाउने अवसर हो।
विज्ञहरू बाहिर बसेर पनि नीति निर्माणमा सहयोग गर्न सक्छन् नि। तपाईलाई के लाग्छ, नेपालमा विज्ञहरूको सुझाव मानेर नेताल काम गर्छन्?
नेताहरूले त्यस्तो गर्दिएको भए हामी किन आफ्नो क्षेत्र छाडेर राजनीतिमा आउनुपर्थ्यो। आजसम्म राज्यले कुन विज्ञसँग के सुझाव लिएर नीति निर्माण र त्यसको कार्यान्वयन गरेको छ? यहाँ त नातावाद, कृपावाद, आफ्नो मान्छे हेर्ने गरिन्छ। यस्तो विकृति नभए हामीजस्ता मानिस राजनीतिमा आउनु पर्ने नै थिएन।
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/candidate/pranay%20(1).png)
नयाँ पार्टीबाट चुनाव लड्दै हुनुहुन्छ। कतिको चुनौती महशुस गर्नु भएको छ?
नयाँ संरचनाबाट अघि बढ्दा आफ्नै परीक्षण पनि हुन्छ। पुरानो पार्टीसँग वर्षौदेखि संगठन छ, जुन हामीसँग छैन। त्यस्तै नयाँ मानिसले जित्दैन, ठूला पार्टीले पेल्छन भन्ने नेपाली मतदाताको मानसिकता पनि चुनौती हो। तर, पछिल्लो स्थानीय चुनावले यो चुनौतीलाई कम गरेको छ। किनकि, स्वतन्त्रबाट जित्ने साथीहरूले राम्रो काम गरिरहनु भएको छ।
अहिले घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ। के कस्ता अजेन्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहनु भएको छ?
म तीन महीनादेखि घरदैलो अभियानमा छु। स्थानीय तहमा जुन समस्या छन्, ति समस्या समाधानको लागि पहल गर्ने मेरा अजेन्डा छन्। जस्तो कि अहिले मेरो क्षेत्रमा रहेका स्वास्थ्य चौकी एककोठे मात्र छन्, त्यहाँ पर्याप्त जनशक्ति छैन। त्यसको स्तरोन्नति गर्नु मेरो अजेन्डा हो।
कोभिड-१९ को वेला सरकारी स्कूल बन्द भए। त्यहाँका शिक्षकलाई ‘पावरप्वइन्ट’ चलाउन आएन र अनलाइनमार्फत पढाएनन्। जसले गर्दा विद्यार्थी पढाइबाट बञ्चित भए। भोलिका दिनमा यस्तै हुन सक्छ भनेर सरकारी स्कूललाई भविष्यमुखी बनाएर स्तरोन्नति गर्नुपर्छ। स्वास्थ्य र शिक्षा मेरो मुख्य अजेन्डा हो।
राष्ट्रिय स्तरमा मेरो तीन वटा मुख्य अजेन्डा छन्- जनस्वास्थ्यको सुदृढिकरण, सीमा सुरक्षा र सडक सुरक्षा। यी तीन अजेन्डामा कसरी काम गर्ने भन्ने मसँग कार्ययोजना छ। अहिले यी विषयमा के समस्या छ र समाधान गर्न के कस्ता काम गर्न सकिन्छ भन्ने कार्ययोजना छ।
जस्तो कि हाम्रा सडक असुरक्षित, ट्राफिक व्यवस्थापन र विकास निर्माण लथालिङ्ग छ। ढलमा बच्चा छिरेर ज्यान गएको समाचार आइरहन्छन्। केन्द्रले बनाएको बाटो भनेपछि स्थानीय सरकार चुप बस्छन्, ढल खुल्ला देख्दा त्यसलाई बन्द गर्दैनन्। हरेक विकास निर्माण तीन तहको समन्वय गरेर काम गर्नुपर्छ। त्यसमा आउने बाधा फुकाउनको लागि ऐन, कानून संशोधन गर्न जरुरी छ।
तपाई जित्नु भयो भने पनि संसद्मा एक्लैले कसरी काम गर्नसक्नु हुन्छ?
निर्वाचित भएर गएपछि पार्टीको होइन, जनताको संसद् हो भन्ने माहोल सिर्जना गर्नुपर्छ। किनभने सबैले स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता विषयमा काम गर्नको लागि संसदमा जाने हो। एउटै उद्देश्यको लागि काम गर्ने भएपछि सबै सांसदसँग छलफल र बहश गरेर काम गर्न सकिन्छ। उनीहरूले राम्रो काम गर्न खोज्दा सहयोग गरेनन् भने खबरदारी गरिन्छ।
थप सामग्री: