ओम गुरुङ र हामीले झलनाथ खनाललाई प्रहरीबाट खोसेको त्यो क्षण
झलनाथ खनाललाई भने बाग्लुङ छाड्ने शर्तमा रिहा गरेछ। चित्रबहादुर केसीलाई भने मुद्दा चलायो। यस वेला स्कूलको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति म र ओम गुरुङ सचिव थियौं।
गत असोज २८ गते ओम गुरुङलाई फोन गरी चाँडै काठमाडौं उपत्यका बाहिर जान लागेकाले त्यसअघि नै भेट्ने इच्छा भएको बताएँ। उहाँले त्यही दिन बिहान १० बजेपछि भेटौं भन्नुभयो। सल्लाह अनुसार नै म उहाँको घरमा गएँ। उहाँ बैठक कोठामा हुनुहुन्थ्यो।
अभिवादन साटासाट गरेपछि सन्चो-बिसन्चो सोधासोध भयो। उहाँले “ठीकै छु‚ बिहान टेकु गएर रगत दिएर आएँ भोलि फलोअपमा जाने हो” भन्नुभयो। साथै‚ हिजोसम्म फुर्ती भए पनि आज अलि आलस्य लागेको बताउनुभयो।
त्यसपछि समसामयिक राजनीतिबारे छलफल गर्यौं। पुस्तक लेख्नेबारे पनि सरसल्लाह भयो। करीब दुई घण्टाको कुराकानीपछि म डेरातिर फर्किएँ। ओमसँगको यही भेट र कुराकानी नै अन्तिम भयो। ओमले असोज ३१ गते संसारिक जीवनबाट बिदा लिनुभयो।
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन शुरू गरेपछि ओमले गरेका योगदानबारे प्रायःलाई थाहा छ। यद्यपि‚ उहाँका जीवनका कतिपय पाटाहरू सार्वजनिक भएका छैनन्। यहाँ तिनै कुराहरू उजागर गर्ने प्रयास गरेको छु।
ओम गुरुङ (ओमप्रसाद गुरुङ) र मेरो चिनजान २०२३ सालमा बाग्लुङको गलकोट हरिचौरस्थित भरत चैतन्य निमाविमा कक्षा ६ मा पढ्दा भएको हो। हामी कक्षा नौसम्म एउटै स्कूल पढ्यौं। त्यसयता हामीबीच भेटघाट‚ कुराकानी हुँदै आएको थियो। एकै वैचारिक तथा राजनीतिक धारमा पनि हिंड्यौं।
२०२६ सालतिर स्कूल पढ्दै गर्दा ओमलाई प्रहरी चौकी लगी आइन्दा पञ्चायती व्यवस्था विरोधी गतिविधिमा नलाग्न चेतावनी दिएर छाड्यो।
त्यो वेला भरत चैतन्य निमाविका प्रधानाध्यापक चित्रबहादुर केसी (राष्ट्रिय जनमोर्चाको अध्यक्ष) हुनुहुन्थ्यो। त्यही स्कूलमा जगतमान बज्राचार्य शिक्षक हुनुहुन्थ्यो। उहाँ विज्ञान र गणित पढाउनुहुन्थ्यो। उनै जगतमान सरले हामीलाई राजतन्त्र तथा पञ्चायती व्यवस्था विरुद्ध र वैज्ञानिक समाजवादको पक्षमा प्रशिक्षण दिनुहुन्थ्यो। उहाँ काठमाडौं जानुभयो। उहाँको सट्टामा झलनाथ खनाल (भूपू प्रधानमन्त्री) आउनुभयो। उहाँले पनि जगतमान सरले झैं पढाउने र प्रशिक्षण दिन थाल्नुभयो। उहाँहरूको प्रशिक्षणले हामी राजतन्त्र तथा पञ्चायती व्यवस्था विरोधी र वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षपाती भइसकेका थियौं।
२०२६ सालतिरको कुरा हो, प्रशासनले हाम्रो गतिविधि थाहा पाएछ। त्यसैले शिक्षक र विद्यार्थीलाई गिरफ्तार गर्न थाल्यो। ओमलाई पनि प्रहरी चौकी लगी आइन्दा यस्ता गतिविधिमा नलाग्न चेतावनी दिएर छाड्यो। मलाई पनि अर्को सूचना नआएसम्म स्कूल नआउनू भनी शिक्षकहरूले खबर पठाउनुभयो।
यही समयमा हामीले अध्ययन गर्ने गाउँमा नै पञ्चायती व्यवस्था विरोधी गतिविधि भए। त्यसपछि प्रशासनले दमन शुरू गर्यो। प्रहरीले पहिलो निशाना शिक्षकलाई बनायो। एक दिन प्रहरीले झलनाथ खनाललाई गिरफ्तार गर्यो। उहाँलाई दर्म ठूलाथरको बाटो हुँदै बाग्लुङ सदरमुकाम लैजाँदै छ भन्ने थाहा पायौं। त्यस लगत्तै उहाँलाई प्रहरीबाट छुटाउन भनी हामी हिंड्यौं। दर्म ठूलाथरमा दुई जना प्रहरीले लाँदै गरेको अवस्थामा भेट्यौं।
हाम्रो गुरुलाई लैजान पाउँदैनौं भनी प्रहरीलाई अगाडि बढ्न दिएनौं। झलनाथ सरलाई प्रहरीबाट खोस्न सफल भयौं। त्यसपछि नारा जुलूस सहित स्कूल फर्कियौं। प्रहरी पनि हाम्रो पछि पछि आए। यस वेला स्कूलको स्वतन्त्र विद्यार्थी युनियनको उपसभापति म र ओम गुरुङ सचिव थियौं।
शुरूमा हामी २५-३० जना थियौं। स्कूल आइपुग्दा त्यो संख्या एक सयभन्दा बढी भएको थियो। स्कूलमा शिक्षकहरूको बैठक बस्यो। बैठकले झलनाथ सरलाई प्रहरीसँगै पठाउने निर्णय गरेछ। त्यो निर्णय सुनेर हामी आक्रोशित भयौं। तर‚ हाम्रो केही लागेन। झलनाथ सरलाई प्रहरीले सदरमुकाम लिएर गए।
उक्त घटनापछि प्रशासनको दमन तीव्र भयो। चित्रबहादुर केसी भूमिगत हुनुभयो। प्रायः शिक्षकलाई गिरफ्तार गरी सदरमुकाम लगियो। स्कूल शिक्षकविहीन भयो। पढाइ चौपट भयो। हामी बिहान १० बजे स्कूलमा जम्मा हुन्थ्यौं। त्यसपछि कहिले भुसकाट, जिमिरे लगायत गाउँमा गएर प्रशासनको दमन विरुद्ध सभा त कहिले हटियादेखि हरिचौरसम्म नारा सहित प्रदर्शन गर्थ्यौं। प्रशासनले शिक्षकहरूलाई रिहा गर्न थाल्यो। झलनाथ खनाललाई भने बाग्लुङ छाड्ने शर्तमा रिहा गरेछ। चित्रबहादुर केसीलाई भने मुद्दा चलायो।
हाम्रो स्कूलमा राजनीतिक गतिविधि भएपछि ओमका अभिभावकले उनलाई बाग्लुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयमा स्थान्तरण गरिदिनुभयो। म हरिचौरकै स्कूलमा पढें। भरत चैतन्य निमाविमा दिइएको प्रशिक्षणले सबै प्रकारको शोषण, दमन र उत्पीडनबाट मुक्त सुनौलो समाज निर्माण गर्नुपर्छ भन्ने हाम्रो कलिलो दिमागमा बस्यो। त्यसैको प्रभावले नै ओम जीवनभर कम्युनिष्ट आन्दोलनको पक्षमा उभिनुभयो।
भरत चैतन्य निमाविमा दिइएको शोषण, दमन र उत्पीडन विरोधी प्रशिक्षणको प्रभावले नै ओम जीवनभर कम्युनिष्ट आन्दोलनको पक्षमा उभिनुभयो।
एसएलसी उत्तीर्णपछि म शिक्षण पेशामा लागें। ओमले भने पढाइलाई निरन्तरता दिनुभयो। उहाँले महेन्द्र बहुमुखी क्यापस बाग्लुङबाट आईए (सन् १९७३), पृथ्वीनारायण क्याम्पस पोखराबाट बीए (सन् १९७५), त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट इतिहासमा एमए (सन् १९७८), भारतको पुने विश्वविद्यालयबाट मानवशास्त्रमा एमए (सन् १९८०), अमेरिकाको कर्नेल विश्वविद्यालयबाट मानवशास्त्रमा एमए (सन् १९९२) र कर्नेलबाटै सन् १९९६ मा मानवशास्त्रमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभयो।
विद्यार्थीकाल र त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्न थालेपछि पनि उहाँ पार्टीको सम्पर्कमा नै रहनुभयो। पार्टीले दिएको जिम्मेवारी पूरा गर्नुहुन्थ्यो। पार्टीलाई नियमित 'लेभी' तिर्नुहुन्थ्यो। २०४७ सालमा संविधान घोषणा भएपछि हामी संलग्न तत्कालीन नेकपा (मसाल)ले कालो संविधान भनी विरोध गर्यो। तर‚ प्रजातन्त्र पुन:स्थापनापछि भएको पहिलो संसदीय निर्वाचनलाई उपयोग गर्ने केन्द्रीय समितिको बहुमतले निर्णय गर्यो।
त्यस वेला मैले व्यक्तिगत रूपमा ओमलाई बाग्लुङबाट प्रतिनिधि सभाको उम्मेदवार बन्न अनुरोध गरेको थिएँ। उहाँले ‘उठ्न मन त छ, तर अहिले पीएचडीका लागि अमेरिका जाने अवसर प्राप्त भएको छ‚ के गर्ने होला’ भन्नुभयो। मैले उक्त अवसर नगुमाउन सल्लाह दिएँ। उहाँ विद्यावारिधिका लागि अमेरिका लाग्नुभयो। यता नेकपा (मसाल)को राष्ट्रिय सम्मेलनले निर्वाचन बहिष्कार गर्ने निर्णय गर्यो।
विसं २०६२/६३ को परिवर्तनपछि पहिलो संविधानसभाको चुनाव हुँदै थियो। त्यस वेला पनि मैले समानुपातिक सूचीमा नाम राख्न ओमलाई अनुरोध गरें। उहाँले ‘लामो समय अध्यापन क्षेत्रमा बिताइयो‚ अब प्रोफेसर (प्राध्यापक) उपाधि पाउने वेला आएको छ। निर्वाचनमा गएपछि त्यो अवसर गुम्छ। त्यसैले बाहिरबाट नै पार्टीलाई सहयोग गर्छु’ भन्नुभयो। प्राध्यापक उपाधि प्राप्त भएपछि पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्ने कि भनेर राय लिएँ। तर‚ उहाँले त्यसमा इच्छा देखाउनुभएन। पार्टीको उच्च पदमा रहेर भन्दा बौद्धिक क्षेत्रबाट सहयोग गर्दा पार्टीलाई बढी फाइदा हुने उहाँले बताउनुभयो।
ओम विभिन्न संघसंस्थामा रहेर आदिवासी जनजाति लगायत उत्पीडित वर्ग तथा समुदायको मुक्तिका लागि निरन्तर आवाज उठाउनुका साथै सडक संघर्षमा पनि सक्रिय रहनुभयो। हामी संलग्न पार्टीले आदिवासी जनजातिमाथि भएको शोषण, दमन, उत्पीडन र विभेद विरुद्ध संघर्ष गर्ने उद्देश्यले २०४४ सालमा अखिल नेपाल जनजाति सम्मेलन नामक संगठन स्थापना गर्यो। २०६३ सालतिर यस संगठनको नाम अखिल नेपाल आदिवासी जनजाति महासंघ भयो। स्थापनाकालदेखि नै ओम यस संगठनको सल्लाहकार हुनुभयो। निधनअघि उहाँ उक्त संगठनको अध्यक्ष हुनुहुन्थ्यो।
ओम विभिन्न संघसंस्थामा रहेर आदिवासी जनजाति लगायत उत्पीडित वर्ग तथा समुदायको मुक्तिका लागि निरन्तर आवाज उठाउनुका साथै सडक संघर्षमा पनि सक्रिय रहनुभयो।
२०५९ सालमा राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासन शुरू गरे। कतिपय जनजातीय संघसंस्थाले दीपावली गरेर उक्त कदमको स्वागत गरे। नेपाल आदिवासी जनजाति महासंघको तत्कालीन महासचिवले समेत उक्त कदमको स्वागत गरेका थिए। २०६० सालमा ओम महासंघको महासचिव हुनुभयो। उहाँ महासचिव भएपछि महासंघ गणतन्त्र प्राप्ति र आदिवासी जनजातिको मुक्तिका लागि भएको आन्दोलनको एउटा प्रमुख हिस्सा बन्यो। उहाँको नेतृत्वमा नेपाल आदिवासी जनजाति महासंघले राजतन्त्रात्मक, केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाको अन्त्य, आत्मनिर्णयको अधिकार, स्वयत्तता, भाषिक तथा सांस्कृतिक अधिकार, समानुपातिक तथा समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व, सामर्थ्य र पहिचानको आधारमा संघीय राज्य व्यवस्थाको पक्षमा व्यापक आवाज उठायो। सडकमा प्रदर्शन गर्यो।
यही आन्दोलनको दबाबका कारण २०६४ साउन २२ मा सरकार र जनजातिहरूबीच २० बुँदे सम्झौता भयो। उक्त सम्झौतामा सरकारको वार्ता टोलीको संयोजक रामचन्द्र पौडेल, नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट ओम गुरुङ र आठ राजनीतिक पार्टीको आदिवासी जनजाति संयुक्त संघर्ष समितिका तर्फबाट केबी गुरुङले हस्ताक्षर गर्नुभएको थियो। सरकारले त्यो सम्झौताको पूर्ण रूपमा पालना नगरे पनि कतिपय मागको सम्बोधन गर्यो।
सरकारले २०६४ सालमा आदिवासी जनजाति सम्बन्धी आईएलओ महासन्धि १६९ मा हस्तक्षर र संयुक्त राष्ट्रसंघीय घोषणापत्रको अनुमोदन गर्यो। यसमा ओमको महत्त्वपूर्ण योगदान छ। उहाँ सरकारको आदिवासी जनजाति सूचीकरण संशोधन कार्यदलको संयोजक पनि रहनुभयो। उक्त कार्यदलले अहिले सूचीकरण भएका आदिवासी जनजाति बाहेकलाई पनि सूचीकृत गर्नुपर्ने सुझाव प्रतिवेदन बुझाएको थियो। तर‚ सरकारले प्रतिवेदन कार्यान्वयन गरेन।
संविधानसभाबाट २०७२ सालमा जारी गरिएको संविधानले उत्पीडनमा परेका वर्ग, समुदाय र आदिवासी जनजातिहरूको समस्यालाई सम्बोधन नगरेकाले अब जन संविधान निर्माण गर्न संघर्ष गर्नुपर्ने ओमको धारणा थियो। आदिवासी जनजातिहरू लगायत सबै उत्पीडित वर्ग र समुदायको मुक्तिको पक्षमा सधैं सतिसाल झैं उभिनुभयो।