कञ्चनपुर-१ मा काे बलियाे?
![कञ्चनपुर-१ मा काे बलियाे?](https://www.himalkhabar.com/uploads/posts/800X600/kancpanpur_1_1666327165.jpg)
कञ्चनपुर–१ मा सत्ता गठबन्धनबाट बिना मगर, एमालेबाट तारा लामा तामाङ, नागरिक उन्मुक्ति पार्टीबाट नन्दकुमार राना, राप्रपाबाट दिल्ली शाही, नेमकिपाबाट नन्दादेवी जाेशी, लाेसपाबाट रामकिसन राना र स्वतन्त्र पार्टीबाट देवराज जाेशीले उम्मेदवारी दिएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापछि सुदूरपश्चिममा चर्चामा रहेको निर्वाचन क्षेत्र हो, कञ्चनपुर-१। विगतका निर्वाचनमा पनि यो क्षेत्र चर्चामा रहँदै आएको थियो।
यस पटक पनि बिना मगरको उम्मेदवारीले कञ्चनपुर-१ चुनावी चर्चामा छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी बुहारीका रूपमा चर्चा-परिचर्चा भइरहे पनि मगर भने एक्लै चुनावी प्रचारमा खटिएकी छन्।
यो क्षेत्रमा उनीसँग प्रतिस्पर्धामा छन्, नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ। नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्री भएका तामाङ चुनावको केही समयअघि मात्रै एमालेमा फर्किएका थिए।
यी दुवै उम्मेदवारका बीचमा अर्का उम्मेदवार पनि प्रतिस्पर्धामा छन्, नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार राना। थारू समुदायको बाहुल्य रहेको यो क्षेत्रमा नयाँ पार्टीबाट उम्मेदवार बनेका राना बेलौरी नगरपालिका-८ का पूर्व वडाध्यक्ष हुन्।
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder/bina%20.jpg)
बिना मगर
माओवादी नेत्री मगर तेस्रो पटक चुनावमा होमिएकी छन्। उनी पहिलो पटक २०७० सालकोे संविधानसभाको चुनावमा उम्मेदवार बनेकी थिइन्। त्यति वेला भने नेपाली कांग्रेसका दिवानसिंह विष्टसँग पराजित भइन्। विष्टले १० हजार २९४ मत ल्याए भने नौ हजार १५१ मत पाएर मगर तेस्रो स्थानमा सीमित भइन्। त्यति वेला एमालेका लालबहादुर विश्वकर्मा नौ हजार २३६ मत पाएर दोस्रो भएका थिए।
पहिलो चुनाव नै हारे पनि उनी पछाडि हटिनन्। २०७४ सालको चुनावमा भारी मतले विजयी भइन्। उनले ३८ हजार ४६७ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका विष्टले १९ हजार २१९ मत पाए।
दुई पटक चुनावमा आमनेसामने भएका मगर र विष्ट यो चुनावमा भने सहयात्री बनेका छन्। कञ्चनपुर १ ‘क’ बाट प्रदेश सभा उम्मेदवार रहेका कांग्रेसका विष्ट अहिले प्रतिनिधि सभा उम्मेदवार मगरलाई सघाइरहेका छन्।
त्यसैले पनि मगर मजबूत देखिएकी छन्। माओवादी आफैं बलियो रहेको क्षेत्रमा कांग्रेससँग तालमेल भएपछि जीतमा कुनै बाधक नरहेको उनको भनाइ छ। “हामी त्यसै पनि बलिया छौं, त्यसैमाथि कांग्रेस तालमेल छ। कांग्रेसका नेता-कार्यकर्ता पनि इमानदारीसाथ गठबन्धनमा लागिरहनुभएको छ,” मगरले हिमालखबरसँगको कुराकानीमा भनिन्, “जित्ने मात्रै होइन, अघिल्लो पटकभन्दा अझै मतान्तर बढ्नेमा ढुक्क छु।”
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/candidate/Tara%20lama.jpg)
तारा लामा तामाङ।
गत निर्वाचनमा मगरको चुनावी प्रचारमा थिए एमाले नेता तामाङ। यस पटक भने प्रतिस्पर्धामा उत्रिएका छन्। नेत्री मगरले मन्त्री हुँदा केही गर्न नसकेको र नागरिकले गठबन्धनलाई नरुचाएको कारण आफ्नो जित सुनिश्चित भएको तामाङको दाबी छ। “अघिल्लो पटक संघीय सांसद हुँदै मन्त्री भएर पनि यस क्षेत्रमा केही गर्न सक्नुभएन। त्यसैमाथि अहिले जनताले गठबन्धनलाई रुचाएका छैनन्,” उनी भन्छन्, “प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सीटमा हाम्रो जित निश्चित छ।”
दुई पूर्व मन्त्रीसँग भिडिरहेका पूर्व वडाध्यक्ष राना पनि आफू जित्ने दाबी गर्छन्। उनी गत निर्वाचनमा एमालेबाटै वडाध्यक्ष निर्वाचित भएका थिए। यस पटक नागरिक उन्मुक्ति पार्टी रोजेका राना पनि चुनावी प्रचारमा लागिरहेका छन्।
कैलालीसँग जोडिएको यो क्षेत्रमा टीकापुर घटनाको प्रभाव पनि छ। त्यही पृष्ठभूमिबाट उन्मुक्ति पार्टी जन्मेकाले पनि उनी आफू जित्ने दाबी गर्छन्। “म यहाँको रैथाने, धर्तीपुत्र हुँ। यहाँका मतदाताले मलाई न्याय गर्नेछन्,” राना भन्छन्, “मैले ३० हजारभन्दा बढी मत पाउनेछु। मेरो जित सुनिश्चित छ। टीका लगाउन मात्रै बाँकी हो।”
स्थानीय तहको निर्वाचनको नतीजा हेर्दा भने गठबन्धनबाट उम्मेदवार मगर बलियी देखिन्छिन्। यो निर्वाचन क्षेत्रमा चार वटा स्थानीय तह छन्। बेलौरी नगरपालिका माओवादीले जितेको थियो। पुनर्वास नगरपालिका र बेलडाँडी गाउँपालिका कांग्रेसले जितेको थियो। लालझाडी गाउँपालिका एमालेले जितेको थियो।
यो क्षेत्रमा पर्ने वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मतमा पनि मगरकै पल्ला भारी छ। एमालेका वडाध्यक्षका उम्मेदवारले १८ हजार ७७३, कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १८ हजार ७३२, माओवादीका वडाध्यक्षका उम्मेदवारले १५ हजार २८९, नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षका उम्मेदवारले तीन हजार ५२१ र राप्रपाका वडाध्यक्षका उम्मेदवारले दुई हजार ६९२ मत पाएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/election/election_2079/candidate/rana.jpg)
नन्दकुमार राना।
सबै उम्मेदवारको एउटै अजेन्डा
यो क्षेत्रका उम्मेदवारका चुनावी मुद्दा उस्ताउस्तै छन्। नेपाल-भारत सीमा क्षेत्रसँग जोडिएकाले सीमा समस्याकै विषयले प्राथमिकता पाएको छ।
यससँगै बाढीपीडित र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितका समस्या पनि चुनावी मुद्दा बनेका छन्। निकुञ्ज पीडितको बसोबासको व्यवस्था, हात्ती आतङ्क तथा रोकथाममा ध्यान दिने उनीहरू आश्वासन दिइरहेका छन्। त्यस्तै, सडक सञ्जाल विस्तार र नदी कटान रोकथाम पनि उम्मेदवारका अजेन्डा बनेका छन्।
माओवादी उम्मेदवार मगर घोषणापत्र तयार गरिरहेको बताउँदै बाढी प्रभावित, निकुञ्ज र सीमा समस्या सबैभन्दा ठूलो समस्या रहेकाले तिनलाई सम्बोधन गर्ने बताउँछिन्। यस विषयमा पहिले पनि संसद्मा आवाज उठाएको बताउँदै उनी अझ धेरै काम गर्न बाँकी रहेको बताउँछिन्।
एमालेका उम्मेदवार तामाङ यस्तै अजेन्डा बोकेर मतदातामाझ गइरहेका छन्। “मेरो क्षेत्रमा सीमारक्षाकै क्रममा गोविन्द गौतमको हत्या भयो, यस्ता घटना हुन नदिन सीमा समस्याको दीर्घकालीन व्यवस्थापन गर्ने मेरो योजना छ,” उनी भन्छन्।
उन्मुक्ति पार्टीका उम्मेदवार राना पनि सीमा समस्या समाधान नै आफ्नो प्रमुख अजेन्डा रहेको बताउँछन्। “नेपाल-भारतको सीमाङ्कन गर्न तारबारको पहल थाल्नेछु,” रानाले भने।