प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन पटक प्रतिस्पर्धा गरेका माओवादी नेता खगराज भट्ट सहित सुदूरपश्चिमको मुख्यमन्त्रीमा तीन दलका ६ जना दाबेदार देखिएका छन्।
आम निर्वाचनको मिति नजिकिंदै जाँदा सुदूरपश्चिमका प्रमुख शहरमा प्रतिनिधि सभाको भन्दा प्रदेश सभा निर्वाचनको बहस हुन थालेको छ।
प्रदेशमा कसले जित्ला र कसले हार्ला भन्ने मात्रै हाेइन, मुख्यमन्त्री को होला भन्ने चर्चा शुरू भएको छ। यसबीचमा प्रमुख तीन राजनीतिक दलभित्र पनि मुख्यमन्त्रीलाई लिएर चर्चा-परिचर्चा चल्न थालेको छ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यका ३२ निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धनका पाँच दल एकातिर छन् भने नेकपा (एमाले)ले राप्रपा र जसपासँग तालमेल गरेको छ। सबै प्रमुख राजनीतिक दलले उम्मेदवारी दिएको भए पनि एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका छन्।
सत्तारूढ गठबन्धनको ठूलो दल कांग्रेसबाट तीन जनाको नाम चर्चामा छ। जसमा रणबहादुर रावल, गोविन्द बोहरा र बहादुर थापा छन्।
प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतृत्व गरिसकेका रावल कैलाली १ ‘ख’ बाट उम्मेदवार बनेका छन्। उनीसँग नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमालेका द्वारिका न्यौपाने प्रतिस्पर्धामा छन्।
२०७४ सालको निर्वाचनमा पनि रावल यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले नौ हजार ४३४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी माओवादीका नेपबहादुर चौधरीले आठ हजार ९०६ मत पाएका थिए।
यस क्षेत्रमा रावलका लागि एमालेभन्दा पनि उन्मुक्ति पार्टीका उम्मेदवार चौधरी कडा प्रतिस्पर्धी देखिएका छन्। टीकापुर घटनाका आरोपी रेशम चौधरीको उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा राम्रो प्रभाव पारेको थियो।
त्यस्तै, कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका बोहरा डडेल्धुरा १ ‘ख’ बाट उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धीका रूपमा एमालेका गजेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार तारा जोशी छन्। एकीकृत समाजवादीका नेता जोशीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका कर्ण मल्ल निर्वाचित भएका थिए। उनले १३ हजार ४१३ मत पाएका थिए भने प्रतिस्पर्धी तत्कालीन एमालेका उम्मेदवार तारा जोशीले १३ हजार ५७ मत पाएका थिए। गठबन्धनको भागबण्डामा यो क्षेत्र कांग्रेसको भागमा परेपछि उनै जोशीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
त्यस्तै, एमालेका शाही पनि बलिया उम्मेदवार हुन्। पूर्व जिविस सभापति शाहीले केही महीनाअघि मात्रै एकीकृत समाजवादी छाडेका थिए। उनी एकीकृत समाजवादीका प्रदेश अध्यक्ष थिए। तर, यो क्षेत्रका नभएर डडेल्धुरा १ ‘क’ का मतदाता हुन्।
त्यस्तै, कञ्चनपुर २ ‘ख’ बाट उम्मेदवार बहादुर थापा पनि मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका छन्। उनी कांग्रेसका पुराना नेता हुन्। यसअघि २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
२०७४ सालको निर्वाचनमा भने यही क्षेत्रबाट एमालेका उम्मेदवार लालबहादुर खड्कासँग पराजित भएका थिए। खड्काले १६ हजार ३८५ मत पाएका थिए भने थापाले ११ हजार ८५१ मत पाएका थिए।
यस पटक पनि खड्का उनका प्रतिस्पर्धी छन्। खड्का एकीकृत समाजवादीबाट उम्मेदवार बनेका छन्। यो क्षेत्रमा सहमति बन्न नसकेपछि कांग्रेस र एकीकृत समाजवादी मित्रवत् प्रतिस्पर्धा गर्न तयार भएका हुन्।
त्यस्तै, एमालेका कृपाराम राना प्रतिस्पर्धामा छन्। उनीहरूसँगै नागरिक उन्मुक्ति पार्टीका जितेन्द्र चौधरी पनि उम्मेदवार छन्।
सत्तारूढ गठबन्धनको अर्को घटक माओवादीबाट सुदूरपश्चिमको मुख्यमन्त्रीका एक्ला दाबेदार हुन्, खगराज भट्ट। प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन पटक पराजित उनी यस पटक प्रदेश सभा सदस्यका लागि डडेल्धुरा १ ‘क’ बाट उम्मेदवार बनेका छन्। गठबन्धनमा मुख्यमन्त्रीको दाबी गर्न उनलाई प्रदेशमा उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन्।
माओवादी प्रदेश इन्चार्ज समेत रहेका भट्टसँग एमालेका पठानसिंह बोहरा प्रतिस्पर्धामा छन्। उनी पनि एमालेबाट मुख्यमन्त्रीका दाबेदार हुन्।
उनी गत निर्वाचनमा यही क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। उनले १३ हजार ५६३ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी कांंग्रेसका रघुवीर भट्टले ११ हजार ३९४ मत पाएका थिए। यस पटक भने उनलाई कठिन हुने देखिन्छ।
एकातिर गठबन्धन छ भने अर्कातिर यो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहमा एमालेले जित्न सकेको छैन। यो क्षेत्रका तीन स्थानीय तहमध्ये दुईमा कांग्रेस र एउटामा माओवादीले जितेका छन्।
एमालेबाट मुख्यमन्त्री अर्का दाबेदार हुन्, लालबहादुर थापा। उनी बाजुरा १ ‘ख’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन्।
उनी २०७४ सालमा बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यति वेला उनले २८ हजार ६५ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत पाएका थिए। यस पटक भने मुख्यमन्त्रीकै लागि उनलाई प्रदेशमा उम्मेदवार बनाइएको एमाले नेताहरू बताउँछन्।
उनको प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर शाही छन्। उनलाई माओवादी र एकीकृत समाजवादीको समर्थन छ।