टिप्पणी आइतबार, असार १५, २०७६

क्लिन फिड : सबैलाई फाइदा

गणेश आचार्य

विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित प्रसारण गर्नुपर्ने कानूनले दर्शकको अधिकार सुरक्षित गर्दै नेपाली विज्ञापन बजार वृद्धिमा समेत टेवा पुर्‍याउनेछ। 

गणेश आचार्य

इन्टरनेट प्रविधिको क्षेत्रमा कुनै निर्धारित किसिमका सामग्रीलाई बन्देज लगाउनु क्लिन फिड हो । विभिन्न देशमा राम्रो र नराम्रो दुवै नियतले इन्टरनेटमा क्लिन फिड लागू गरिएका छन् ।

केहीले हिंसात्मक तथा सामाजिक सद्‍भाव खल्बलिने श्रव्यदृश्य हेर्न, लेख्न र खोज्नै नमिल्ने बनाएका छन् भने केहीले आफ्ना कमजोरी ढाकछोप गर्न आफू अनुकूलका सामग्री मात्र हेर्न, लेख्न र खोज्न मिल्ने बनाएका छन् ।

नेपालमा केही सातादेखि टेलिभिजन प्रसारण प्रविधिको क्लिन फिडको चर्चा छ । यो पनि एक किसिमको प्रसारण सामग्री नियन्त्रण पद्धति हो ।

सरकारले २०७५ पुसमा राष्ट्रिय सभामा दर्ता गरेको र राष्ट्रिय सभाले १० चैतमा पारित गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा उल्लिखित क्लिन फिड सम्बन्धी एउटा प्रावधानको विरोध गर्दै नेपालका केबल टेलिभिजन सेवा प्रदायकहरूले अघिल्लो साता २४ घण्टाका लागि विदेशी च्यानलहरू बन्द गरेका थिए । विधेयक प्रतिनिधिसभाले पारित गर्न भने बाँकी छ ।

स्केच: भानु भट्टराई

सरकारले विदेशी टेलिभिजन च्यानलका लागि क्लिन फिड लागू गर्न खोजेको यो पहिलो पटक भने होइन । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा पनि सरकारले ‘विज्ञापन रहित नीति २०७३’ लागू गरेर विदेशी च्यानलहरूलाई क्लिन फिड प्रावधान लागू गर्न खोजेको थियो, तर सफल भएन ।

यसपटक विज्ञापन ऐनमै उल्लेख गरेर सरकारले क्लिन फिड लागू गर्ने तयारी थालेपछि फेरि यसको पक्ष–विपक्षमा बहस शुरू भएको छ ।

के हो क्लिन फिड ?
सरकारले गरेको वार्षिक घरधुरी सर्वेक्षणको पछिल्लो तथ्यांक (सन् २०१६/१७) अनुसार देशका करीब ४५ प्रतिशत घरधुरीमा केबल टेलिभिजनको सुविधा छ । यी केबल टेलिभिजन मार्फत हेरिने धेरैजसो च्यानल विदेशी छन्, जसमध्ये अधिकांश भारतीय वा भारत हुँदै आइपुगेका च्यानल छन् ।

शेयरकाष्ट इनिशिएटिभले गरेको सर्वेक्षणमा नेपालमा टेलिभिजन हेर्नेमध्ये ७१ प्रतिशतले दैनिक सरदर दुई घण्टा विदेशी च्यानल हेर्ने गरेको देखिएको छ । विदेशी च्यानल हेर्दा हामी विज्ञापनहरू पनि देख्छौं । ती विज्ञापन र तिनको प्रसारणलाई अहिले देशभित्रको कुनै पनि संयन्त्रले प्राविधिक रूपमा नियन्त्रण गर्न सक्दैन । टेलिभिजनको त्यही विज्ञापन प्रसारणमा हाम्रो नियन्त्रण कायम गर्ने प्रावधान हो, क्लिन फिड ।

यो प्रावधान अनुसार हामीकहाँ प्रसारण हुने जुनसुकै विदेशी टेलिभिजन च्यानलहरू विज्ञापन रहित हुनुपर्छ । ती च्यानलले आफ्नो सिग्नल (प्रसारण) नेपाल पठाउँदा कुनै वस्तु वा सेवाको विज्ञापन राख्न पाउँदैनन् ।

विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले नेपालको लागि विज्ञापन नराखेको भिन्दै प्रसारण स्याटेलाइटमा अपलिंक गर्नुपर्छ । त्यसलाई देशभित्रका सेवा प्रदायकहरूले छुट्टै ट्रान्सपोण्डर (सिग्नल लिने र प्रसारण गर्ने उपकरण) प्रयोग गरी आफ्नो प्रसारण प्रविधिमा जोड्छन् ।

विज्ञापन रहित नभएका च्यानललाई सरकारले डाउनलिंक गर्ने अनुमति दिंदैन, साथै हाल चालु रहेका च्यानलहरू समेत विज्ञापन रहित नहुँदासम्म तिनको डाउनलिंक नवीकरण हुँदैन ।

यसरी नेपाल भित्रिएको क्लिन फिडमा केवल टेलिभिजन सेवा प्रदायकहरूले यहीं उत्पादन गरिएका विज्ञापन प्रसारण गर्छन् । उदाहरणका लागि, भारतका कुनै सुपरस्टारले कुनै उत्पादनमा बोलेको भारतीय विज्ञापनको सट्टा हामीले नेपालकै कुनै कलाकार/मोडलले बोलेको देख्नेछौं ।

यो प्रावधानले भारतीय विज्ञापनमा नेपाली डबिङ मात्र हुने हो कि भन्ने शंका चिर्ने गरी प्रस्तावित विज्ञापन ऐनको दफा ६ को उपदफा २ मा उल्लेख छः ‘विदेशी विज्ञापनलाई नेपालका संचारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन ।’

किन आवश्यक छ क्लिन फिड
विदेशी च्यानल हेर्न केबल टेलिभिजनका ग्राहकले मासिक वा वार्षिक दस्तुर बुझाउँछन् । हामीले बुझएको दस्तुर त्यो टेलिभिजनमा प्रसारण हुने कार्यक्रमका लागि मात्र हो ।

टेलिभिजन प्रसारकहरूले विज्ञापनदाताहरूसँग छुट्टै पैसा लिन्छन् र हामीले हेर्न पैसा तिरेको कार्यक्रमको बीच–बीचमा तिनै विज्ञापनदाताको उत्पादन तथा सेवाको प्रचार गर्छन् । कुरोको चुरो यहींनिर हो ।

भारतले आफूले चाहिं क्लिन फिड प्रावधान लागू गरिसकेको छ । भारतीय च्यानलहरूमा त विज्ञापन प्रसारण हुन्छ नै, नेपाल आउने अधिकांश तेस्रो मुलुकका च्यानलहरू समेत भारत भएर आउने भएकाले दर्शकले भारतीय विज्ञापन हेर्नुपरेको छ । यसको आर्थिक र वित्तीय पाटो पनि छ ।

बजार सर्वेक्षण गर्ने एक संस्था निल्शनका अनुसार विश्वभर टेलिभिजनमा एक घण्टाको कार्यक्रमभित्र प्रसारण हुने विज्ञापनले ओगट्ने समय हरेक वर्ष बढिरहेको छ । १० वर्षअघि टेलिभिजनमा एक घण्टामा सरदर १० मिनेट विज्ञापन प्रसारण हुन्थ्यो, जुन अहिले बढेर १५–१६ मिनेट पुगेको छ । यसको मतलब टेलिभिजन प्रसारकहरूले विज्ञापनदाताबाट पहिले भन्दा धेरै पैसा कमाइरहेका छन् ।

अरू थुप्रै तथ्यांकले विज्ञापनदाताहरूले पनि विज्ञापनमा पहिले भन्दा धेरै पैसा खर्च गरेको अर्थात् आफ्नो उत्पादन वा सेवा धेरै ग्राहककोमा पु‍र्‍याउन सक्षम भएको देखाउँछ । विदेशी च्यानलमा आएका विज्ञापनको आधारमा नेपालमा समेत ती वस्तु वा सेवा प्रयोग गर्ने चाहना राख्ने वा प्रयोग गर्नेको संख्या पनि बढिरहेको हुनुपर्छ, जसले उनीहरूको व्यापार दिनानुदिन बढाइदिइरहेको छ ।

दुई वर्षअघि सरकारले विदेशी च्यानलका लागि क्लिन फिड प्रावधान लागू गर्न खोज्दा भारतीय प्रसारण फाउण्डेशन (आईबीएफ) को एउटा समूहले विभिन्न सरकारी अधिकारी तथा राजनीतिक दलहरूलाई भेटेरै क्लिन फिड लागू गर्ने मिति सार्न लगाएको थियो ।

त्यतिखेर आईबीएफले नेपालमा डिजिटल टेलिभिजन प्रसारण व्यापक भई नसकेको, पाइरेसी रोक्ने कडा कानून नभएको जस्ता मुद्दा उठाएको बताइन्छ ।

तर अहिले यहाँ डिजिटल (सेट–टप बक्स वा डीटीएच) टेलिभिजनको प्रयोग व्यापक भइसकेको छ । विद्युतीय कारोबार ऐनले अनधिकृत रूपमा सामग्री डाउनलोड गर्ने, प्रतिलिपि बनाउने तथा बिक्री–वितरण गर्नेलाई कारबाहीको व्यवस्था गरेको छ ।

लागू गर्दाका फाइदा
दर्शक मात्रै भएर हेर्दा क्लिन फिड लागू हुँदा हामीले खासै केही फरक नदेखौंला । भारतीय कलाकारले अभिनय गरेको विज्ञापनको साटो आफ्नै घरेलु विज्ञापनहरू देखिएको त हुन् नि भन्ने लाग्ला, तर यसले फाइदा पु‍र्‍याउने एउटा ठूलो क्षेत्र छ ।

नेपाललाई आफ्नो राम्रो बजार मान्ने कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाको विज्ञापन निर्माण गर्न नेपालीलाई नै दिनेछन् । नेपाली विज्ञापन सामग्री निर्माता, विज्ञापन एजेन्सी, विज्ञापनमा काम गर्ने कलाकार, प्राविधिक लगायतका लागि रोजगारीका नयाँ बाटा खुल्नेछन् ।

बढेको बजारले सरकारले पाउने कर पनि बढाउनेछ । स्वदेशी विज्ञापन बजारमा यसले ठूलो योगदान दिन्छ । करीब रु.२/३ अर्बको भनिएको हाम्रो विज्ञापन बजार क्लिन फिड पूर्ण रूपमा लागू भएपछि दोब्बर बढ्न सक्ने अनुमान गरिएको छ ।

यसका साथै हिन्दी भाषाका विज्ञापनबाट हाम्रा बालबालिकाको भाषा र रहनसहनमा नजानिंदो रूपले परिरहेको दुष्प्रभाव नेपाली भाषामै विज्ञापनहरू प्रसारण हुँदा केही हदसम्म हट्ने पनि एकथरीको विश्लेषण छ ।

नराम्रो केही छैन त ?
सामान्य अवस्थामा क्लिन फिडका बेफाइदा भन्दा फाइदा नै धेरै छन् । तर यसले विदेशी च्यानल प्रसारक र नेपालका च्यानल वितरकहरूलाई भने केही खर्च अवश्य नै गराउँछ । आईबीएफ र नेपाल सरकारका अधिकारीहरूबीच अघिल्लो पटक कुरा हुँदा क्लिन फिड लागू गर्न प्रति च्यानल रु.५ करोड जति खर्च हुनसक्ने आईबीएफले बताएको भन्ने खबरहरू आएका थिए ।

त्यति खर्च गरेर विदेशी च्यानल प्रसारकले विज्ञापन रहित च्यानलको प्रसारण नेपाल पठाए भने पनि यहाँको विज्ञापन बजारले पर्याप्त विज्ञापन उत्पादन र प्रसारण गर्ने क्षमता राखेन भने ती च्यानलहरू महँगा हुन जान्छन् र त्यसको सीधा मार दर्शकलाई पर्न जान्छ ।

नेपालका च्यानल वितरक र विदेशी च्यानल प्रसारक तयार नहुँदै क्लिन फिड लागू भयो भने प्रस्तावित ऐनको प्रावधान अनुसार विदेशी टेलिभिजन च्यानलहरू बन्द हुन पनि सक्छन् ।

हाम्रा टेलिभिजन सेवा प्रदायकहरूले आफ्नो खर्च बढ्ने भन्दै क्लिन फिडको विरोध गरिरहेका छन् । किनकि यो प्रावधान लागू भएपछि उनीहरूले विदेशी च्यानलको विज्ञापन रहित फिड (प्रसारण) छुट्टै किन्नुपर्छ ।

साथै, आफूहरूले रिसिभ गर्ने विदेशी च्यानलहरू क्लिन फिड भएनन् भने सरकारले बन्द गरिदिने प्रावधान अनुसार नेपाली च्यानलहरू मात्रै प्रसारण गरेर बस्नुपर्ने र आफ्नो लगानी डुब्ने पो हो कि भन्ने शंकाले समेत उनीहरूलाई पिरोलेको देखिन्छ ।

क्लिन फिडमा जान हाम्रा सबै टेलिभिजन सेवा प्रदायकहरू शतप्रतिशत डिजिटल बन्नुपर्छ । अर्थात् घरमा सेट–टप बक्स राखेर, आईपी टिभी जडान गरेर या घरको छतमा रिसिभर जडान गरेर मात्र टिभी हेर्न मिल्ने हुनुपर्छ ।

अहिले अधिकांश शहरी क्षेत्रमा डिजिटल प्रविधि व्यापक भइसके पनि गाउँतिर विस्तार हुनसकेको छैन । यसका लागि टेलिभिजन सेवा प्रदायकले केही खर्च गर्नैपर्छ ।

अर्को कुरा, नेपालले उत्पादन गरेका विज्ञापन सामग्रीहरू भारतका जत्तिकै गुणस्तरीय होलान् त भन्ने प्रश्न पनि उठ्ला । तर यसो भनेर नेपाली विज्ञापन उत्पादनलाई कम आँक्न सकिंदैन । क्लिन फिड लागू भएर विज्ञापन बजार विस्तार भएपछि त्यसले गुणस्तर वृद्धिमा पनि दबाब पर्नेछ । 

प्रतिकृया दिनुहोस