पूर्व प्रमुख निर्वाचन आयुक्त, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष, सञ्चारकर्मी लगायत व्यक्तिहरूको नाममा इन्स्टाग्राममा नक्कली अकाउन्ट खोलेर ह्याकरले मेसेज पठाइरहेका छन्।
इन्स्टाग्राम प्रयोगकर्ता विमला घर्तीलाई दशैं लगत्तै निकट आफन्तको नामको इन्स्टाग्राम अकाउन्टबाट एउटा मेसेज आयो। त्यसमा ‘मेरो पहिलाको अकाउन्टमा समस्या आएकाले यसमा क्लिक गरेर सहयोग गर्नुहोला’ भनिएको थियो।
आफन्तकै तस्वीर भएको अकाउन्टबाट आएको सन्देशमा क्लिक गरेपछि घर्तीको इन्स्टाग्राम अकाउन्ट ह्याक भयो। त्यसपछि ह्याकरले उनको अकाउन्ट नियन्त्रणमा लियो। ह्याकरले घर्तीको अकाउन्टबाट आफै तस्वीर पोस्ट गर्न थाल्यो।
त्यसमध्येको एउटा सन्देश बिटक्वोइनसँग सम्बन्धित छ। त्यसमा लेखिको थियो, “इन्टरनेटमा मैले कहिल्यै पनि लगानी गरेकी थिइनँ, तर जब मेरो साथीले लौरेटा ट्रेडिङ-बिटक्वोइनमा लगानी गर्ने एक महिलाबारे बताइन्, त्यसपछि मैले पनि लगानी गर्ने निर्णय लिएँ। मैले ७६ हजार लगानी गरेको थिएँ, आश्चर्य केही घण्टामै मैले सात लाख ६३ हजार नाफा कमाएँ। यसलाई मैले मेरो ब्यांकमा राखि पनि सकेँ। यो १०० प्रतिशत साँचो रहेछ। मेरो सुझावमा तपाईंहरू पनि इन्टरनेटमा लगानी गर्नुहोस्।”
यसरी इन्स्टाग्राम ह्याक गरेर बिटकोइन-अनलाइन लगानीबारे प्रचार हुन थालेका छन्। जबकी नेपालमा यसमा लगानी गर्न प्रतिबन्ध लगाइएको छ। बिटकोइनमा लगानी गैरकानूनी भएकाले यस्तो नगर्न नेपाल राष्ट्र ब्यांकले पटकपटक सचेत गराउँदै आएको छ।
एउटा पोष्टमा अकाउन्ट नम्बर सहितको फोटो र अर्को पोष्टमा घर्तीको फोटो तथा पैसा आएको मेसेजको स्क्रिन सट लिएको फोटो पोष्ट र ब्याङ्क नम्बर समेत राखिएको छ। “पटक पटक प्रयास गर्दा पनि पासवर्ड परिवर्तन गर्न मिलेन,” घर्तीले हिमालखब रसँग भनिन्, “ह्याकरले मेरो नम्बरको ठाउँमा अर्कै नम्बर पनि राखी सकेको रहेछ।”
सेन्टर फर मोलिक्युलर डाइनामिक्स नेपाल-रिर्सच सेन्टरका संस्थापक डा. समीरमणि दीक्षितको समस्या घर्तीको भन्दा अलि फरक छ। दीक्षितको नामबाट केही दिनअघि इन्स्टाग्रामबाट धमाधम मेसेज जान थाल्यो। उनीसँग सामाजिक सञ्जाल इन्स्टग्राममा जोडिएका साथीलाई ‘आफ्नो पुरानो अकाउन्ट ह्याक भएकै कारण नयाँ खोलेको र पुरानो अकाउन्ट पुनः खोल्न लिङ्कमा जान आग्रह गरिएको’ थियो।
कतिले डा. दीक्षितले नै मेसेज पठाएको होला भनेर लिङ्क खोले। कतिले उनलाई फोन गरेर नयाँ अकाउन्ट खोलेको हो की भनेर सोधे। टेलिभिजन प्रस्तोता समेत रहेका दीक्षितले उक्त अकाउन्ट आफ्नो नभएको जवाफ दिए।
“मेरो अकाउन्टबाट चार-पाँच वटा फोटो राखेर मेरो बायोडेटा पनि सबै हुबहु राखिएको रहेछ। मैले चलाउने अकाउन्ट केही भएको छैन, तर मेरो नामबाट अर्को अकाउन्ट खोलेर मेरा साथीहरूलाई मेसेज गरिएको रहेछ,” डा. दीक्षितले भने। उनले आफ्नो नाममा नक्कली अकाउन्ट खुलेको इन्स्टाग्रामको प्रधान कार्यालयलाई रिपोर्ट गरिसकेका छन् भने साथीहरूलाई पनि यसमा विश्वास नगर्न र रिपोर्ट गर्न भनेका छन्।
आफ्नो नामबाट दुई वटा नक्कली अकाउन्ट खोलेको पाइएको उनी बताउँछन्। “अहिले एउटा अकाउन्ट त बन्द भयो, तर अर्कोमा भने दुई सय जना साथीलाई राखिसकिएको छ,” उनले भने।
डा.दीक्षितका सहकर्मीहरू सरिता ज्ञवाली, सञ्जय गुप्ता, किशोर महर्जन तथा पत्रकारहरू कुन्द दीक्षित, भूषण दाहाल‚ पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने लगायतका नाममा पनि फेक इन्स्टाग्राम अकाउन्ट खुलेका छन्। फेक इन्स्टाग्राम अकाउन्ट खोलेर चलाउँदा आधिकारिक व्यक्तिलाई कुनै असर परेको नदेखिए पनि त्यसमा राखिएको सक्कली तस्वीर र हुबहु सारिएका व्यक्तिगत परिचयले फेक इन्स्टाग्राम अकाउन्ट फलो गर्नेलाई भने समस्या पारिरहेको छ।
डा. दीक्षितलाई खबर आएसँगै उनका तीन जना साथीको पनि इन्स्टाग्राम अकाउन्ट ह्याक भइसकेको छ। उनले भने, “हाम्रो साइबर सुरक्षा कडा नभएकै कारण अहिले यस्तो समस्या आइरहेको छ।”
इन्स्टाग्राम ह्याक भएका उजुरी नेपाल प्रहरीको साइबर ब्यूरोमा पनि पर्न थालेका छन्। साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक राजकुमार खड्गीका अनुसार, वेलावेला इन्स्टाग्राम ह्याक भएको उजुरी आउने गरेका छन्। तर, धेरैजसो इन्स्टाग्राममा लिङ्क पठाएर अन्य व्यक्तिलाई ‘फिसिङ’ गर्ने प्रयास भइरहेको उनी बताउँछन्।
सामाजिक सञ्जालका जानकार समृद्ध घिमिरेका अनुसार सामाजिक सञ्जालमा अन्य व्यक्तिको हुबहु अकाउन्ट खोलेर विभिन्न प्रयोजनका लागि गरिने यस्ता गतिविधिलाई ‘डेटा डपोग्याङ्गर’ भनिन्छ। हाल इन्स्टाग्राममा व्यापक रुपमा नक्कली अकाउन्ट खोलेर अन्यलाई ह्याक गर्ने समस्या उत्पन्न भएको छ। जुन इन्टरनेटको दुनियाँमा नौलो विषय नभएको उनी बताउँछन्।
इन्टरनेटको शुरुआतदेखि नै यस्ता गतिविधि हुँदै आएका छन्। ह्याकर, पत्रकार तथा साइबर सेक्युरिटीका डेभलपर ज्याकोब एपलबौमले ‘टर प्रोजेक्ट’ शुरू गरेका थिए, जसले कुनै पनि मानिसको आइपी ट्रयाक नगरी विज्ञापन गर्नका लागि यस्तो प्रोजेक्ट बनाएका थिए।
तर, डेटा डपोग्याङ्गरको उद्देश्य आर्थिक स्वार्थ नै रहेको घिमिरे बताउँछन्। “पहिले पनि इन्टरनेटमार्फत ह्याक गरी पैसा माग्ने चलन थियो भने अहिले सामाजिक सञ्जाल मार्फत हुन थालेको छ,” उनी भन्छन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पठाएको मेसेज।
कति ह्याकरले सामानको विज्ञापन गर्न, कतिले पैसा ठगी गरी स्क्याम गर्न र कतिले कुनै चर्चित व्यक्तिको छवीलाई बिगार्न पनि यस्तो कार्य गर्ने घिमिरे बताउँछन्।
अहिले इन्स्टाग्राम ह्याक गर्ने ह्याकर नेपालकै वा दक्षिणएशियाका हुन सक्ने उनी बताउँछन्। विदेशबाट क्रिप्टोकरेन्सीकाबारे विज्ञापन गर्न नेपाल उपयुक्त ठाउँ नभएका कारण नेपाली ह्याकरले नै यस्ता गतिविधि गरिरहेको हुनसक्ने घिमिरेको भनाइ छ।
यसबारे विस्तृत जानकारी नेपाल प्रहरीले पनि बटुल्न सकेको छैन। नेपाल प्रहरीका सूचना अधिकारी टेकप्रसाद राईले हालसम्म यसबारे कुनै जानकारी नभएको बताए।
पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आफ्नो इन्स्टाग्राम ह्याक भएको भन्दै सचेत रहन आफ्ना फेसबुक र इन्स्टाग्रामका साथीहरूलाई मेसेज पठाएका छन्।
गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष लामिछानेले पनि पोस्ट गरेका छन्। “उता इन्स्टाग्राममा फेक आईडी बनाउनेले आतंक मच्चाएका रहेछन्। कसैले मेरो नाम र फोटो प्रयोग गरेर नक्कली आइडी बनाएको छ। यो प्रोफाइल @jibalamichhane_ देख्नुभयो भने कृपया यस्लाई बेवास्ता, अनफलो वा ब्लक गरिदिनु होला” लामिछानेले फेसबुकमा स्टेटस राखेका छन्, “मैले सम्बन्धित निकायमा रिपोर्ट गरिसकेको छु।”
त्यस्तै, पत्रकार कुन्द दीक्षितले इन्स्टाग्राम स्टोरीमा आफ्नो नामको अकाउन्टबाट आएको मेसेजको जवाफ नदिन वा वास्ता नगर्न आग्रह गरिएको हस्तलिखित सूचना राखेका थिए। साइबर थ्रेटबाट बच्ने यो एउटा राम्रो उपाय हुन सक्छ।
अकाउन्ट ह्याक भएपछि चिन्तित घर्तीकाे सुझाव छ, “परिचितकै नामबाट आएको मेसेज पनि सोच विचार नगरी नखोल्नु हाेला।”