प्रवासमा
![प्रवासमा](https://www.himalkhabar.com/uploads/posts/800X600/sushma_ranahama_1664967770.jpg)
जसरी हेउन्दे*मा उर्लिन्छन् छाल
त्यसरी नै मन उथलपुथल भए पनि
बगिरहेको नाग्दोङ*लाई हेरेर सिकेको हुँ नसुसाई बाँच्न
तर,
बग्दैबग्दै हान नदीमा मिसिएपछि नाग्दोङको अस्तित्व हराए झैं
चाहन्नँ आफ्नो अस्तित्व हराउन
आसपास छन् यन्त्रको शहर
यही शहरमा बगाइरहेछु पसिना
कुल्चिएर जिन्दगीको रहर
घोटिन्छु बाह्र घण्टा यन्त्रकै लयमा
दिनलाई दिन नभनी
रातलाई रात नभनी
एक हप्ता जून अस्ताएपछि
अर्को हप्ता घाम अस्ताउनु अगावै ब्युँझन्छु
कैयौं हप्ता, महीना, वर्ष घुमिरहेछ निरन्तर
अपसोच,
यसरी नघुम्दो रहेछ जवानी
नपुगिँदो रहेछ देश छोड्नुअघिको सपनाको रिमाचुङ*।
![](https://www.himalkhabar.com/uploads/editor/cover%20story/dashain%20literature%202079/Dashain-Sahitya-poem.jpg)
महीनाको खास दिन तनखा आएको दिन
चम्किन्छ मन
रातभर उज्यालिने सउल टावर जस्तै
भुलेर जम्मै थकान
छाम्छु आलो रगत गन्हाउने छाती
दबाउँछु क्यालकुलेटर
केही हिसाब मिले जस्तो
केही नमिले जस्तो
बेहिसाब जिन्दगीकै हिसाब जस्तो!
सम्झन्छु–
रेमिटेन्सले सिँचिएको कृषिप्रधान देश
महँगी र करले पिल्सिएको देश
बन्धकी तमसुक
आमाको ब्लड ग्रूप
आप्पाको प्रेसर
मुटुको असन्तुलित गतिमा बाँचेको अबोध भाइ
बिर्सिन खोजेर पनि सम्झनामा आइरहने प्रिय
आफन्तजनको प्रश्न या कटाक्ष– ‘छोरी मान्छे भएर कति बस्छौ हौ परदेश?’
कहिले वारि त कहिले पारि हुने महीनावारीले
हप्तौं बगाउने रगतको खोला
पाठेघर र कम्मरको असाधारण दुखाइ
सबै सबै सम्झिएपछि भाग्छ निद्रा धेरै पर
पटक पटक आफूलाई दबाएर बाँच्न सक्छु कति पटक?
नाग्दोङ* बगेर हानमा मिसिएपछि उसको अस्तित्व हराए झैं
चाहन्नँ अरू कोहीसँग मिसिएर हराउन
बरु–
कहिले मध्यरात त कहिले मध्यदिनमै
पुग्छु देश र हराउँछु कल्पनामा
त्यति नै खेर
बास्न थाल्छ भाले सेकेन्ड ह्यान्ड मोबाइलको स्क्रीनमा
उठेर हतारहतार दौडिन्छु यन्त्रको शहर।
*हेउन्दे– दक्षिण कोरियाको बुसान शहर नजिकैको समुद्र।
*नाग्दोङ– कोरियाको सबैभन्दा लामो तथा हान नदीपछि दोस्रो ठूलो नदी।
*रिमाचुङ– पूर्वी नेपालस्थित किरातीहरूको सभ्यताको प्रतीक टेम्के डाँडा।