राजा र राजपरिवारले जय नेपाल सिनेमा हलमा आमा फिल्मको प्रिमियर शो हेरेपछि ‘पब्लिक शो’ का लागि स्वीकृत भयो।
प्रारम्भमा मैले ‘दादा’ (कमलमणि दीक्षित)लाई स्मरण गरिनँ भने कृतघ्न ठहरिनेछु। जस्तो- खुकुरीमा धार छैन भने त्यो बेकम्मा हुन्छ, त्यस्तै मेरो साहित्यिक गतिविधिमा दादाले प्रोत्साहन नदिएको भए म साहित्यकार त हुने थिएँ होला, तर साहित्यसेवी हुने थिइनँ।
त्यस्तो त पिता (काशीबहादुर श्रेष्ठ)ले मेरो किशोरावस्थादेखि नै प्रोत्साहित गर्दै मलाई आजको स्थितिमा पुर्याउन ठूलो हौसला दिनुभएको थियो। मलाई योभन्दा गर्व हुन्छ कि उहाँ साहित्यकार पैदा गर्नुहुन्थ्यो, उदयमा रचना प्रकाशित गरेर। दादाको पनि पहिलो कविता उदय’को मुखपृष्ठमा छापिएको थियो।
दादाले स्वयं भन्नुहुन्थ्यो- उदयले मलाई कवि बनाइदियो। उदयलाई उहाँ यति माया गर्नुहुन्थ्यो कि मैले उदय अर्थाभावले बन्द गर्ने अवस्था भयो भन्दा उहाँले भारु.१० हजार पठाएर चिठीमा उदय बन्द भए ‘दीक्षित परिवार’ लाई ठूलो चोट पुग्नेछ भनी लेख्नुभएको थियो।
दादासँग मेरो घनिष्ट परिचय बढेको सन् २००२ मा सिलगढीमा प्रथम ‘भारत-नेपाल नेपाली साहित्यकार सम्मेलन’ देखि हो। उहाँले मलाई ‘बनारसमा सम्मेलन गराउन सक्नुहुन्छ’ भनी सोध्दा मैले सक्छु भनें र सन् २००४ मा बनारसमा भएको ‘साहित्य सम्मेलन’ अहिलेसम्मकै उत्कृष्ठ ठहरिएको छ।
दादासँग यसरी परिचय बढेपछि रानी साहेब जगदम्बाबाट स्थापित ‘बालचन्द्र प्यालेस ट्रस्ट’ को सुषुप्त कार्य जगाउनेतर्फ ध्यान पुर्याउनुभयो। चार वर्ष कुनै कार्यक्रम पनि भएन र भविष्यमा पनि हुने लक्षण नदेखिएपछि त्यसलाई जगाउने जिम्मा मलाई दिनुभयो। पहिलो कार्यक्रममा चार वर्षको सम्मान एकै पटक दिन चार जना साहित्यकारलाई निमन्त्रित गर्ने निधो भयो।
हरिप्रसाद गोर्खा राई, गोपीनारायण प्रधान, जसयोञ्जन प्यासी र पीपी शर्मालाई बालचन्द्र सम्मान प्रदान गरियो। पछि ‘मदन स्मारक सम्मान’ नामकरण गरियो र गत २० वर्षदेखि निरन्तर भारतका विभिन्न भेगका साहित्यकारलाई सम्मानित गर्दै आएका छौं।
स्मरणीय छ, यसको आयोजना बनारसस्थित विद्याधर्म प्रचारिणी नेपाली समितिद्वारा गरिन्छ। यस धर्मशालाको स्थापना पनि रानी जगदम्बाबाट गरिएको थियो। यसले पनि रानी साहेबको सदाशयता प्रमाणित हुन्छ।
२०१८ सालको कुरा हो। सुब्बा होमनाथ केदारनाथकी नातिनीको शुभ विवाह डा. हेमाङ्गमणि दीक्षितसँग हुने अवसरमा बेहुलीकी आमाले मलाई पनि काठमाडौं लिएर गइन् बेहुलीको गुरु भएको नाताले। उनलाई मैले हाईस्कूल र आइएमा पढाएको थिएँ। यो विवाह अर्को वर्ष सम्पन्न भयो।
त्यो वेला नारायणप्रसाद बाँस्कोटा प्रचार विभागमा नियुक्त थिए। प्रगतिमा मेरो एउटा कविता छापिएकोले उनी मसँग प्रभावित भएका थिए। उनले मलाई बनारस जान दिएनन् र प्रचार विभागमै ‘विकास’ तर्फको सेक्सन अफिसरमा जागीर खुवाइदिए। खुला प्रतियोगिताद्वारा भर्ना गरिने भए पनि ‘पञ्चायत’ विषयमा मैले लेखेको निबन्धले सचिव कुलशेखर शर्माले प्रभावित भएर मलाई नै छानेका रहेछन्।
प्रचार विभागलाई सूचना विभागमा परिवर्तित गरी सूचना प्रविधिका विभिन्न क्षेत्र जस्तै गोरखापत्र छापाखानाको आधुनिकीकरण, एजेन्से फ्रान्से प्रेसेसँग सम्झौता गरी राष्ट्रिय संवाद समितिलाई अन्तर्राष्ट्रिय समाचार आदानप्रदान गर्न सक्षम बनाइयो।
त्यसपछि चलचित्रको माध्यमले ‘पञ्चायत’ बारे जनतामा प्रचार गर्न आमा फिल्म निर्माण गर्ने योजना बन्यो। यसका लागि भारतबाट हीरासिंहलाई झिकाइयो र फिल्म बनाउने अभिभारा सुम्पियो। हीरासिंहलाई राजाले बम्बईमा भेटिबक्सेको रहेछ र फिल्ममा काम गरिरहेकोले ‘तिमी नेपाल आउँछौ’ भनी सोधिबक्सनुभएको थियो।
फिल्मको पटकथा, संवाद लेख्ने जिम्मा मलाई प्रदान गरियो। म सहनिर्देशक पनि नियुक्त भएँ। अन्य तकनीकी स्टाफ क्यामेराम्यान, एडिटर, मेकअपम्यान, म्युजिक डाइरेक्टर सबै कलकत्ता-बम्बईबाट झिकाइएका थिए। फिल्मका कलाकार, गीतकार आदि सबै रेडियो नेपाल र संस्कृति विभागका थिए। एक वर्षमा फिल्म तयार भयो।
फिल्मको एडिटिङ, इनडोर सुटिङ सबै कलकत्तामै गरिएको थियो। फिल्मको पहिलो प्रिन्ट प्रति कलकत्तास्थित कन्सुलेट जनरल अफिसबाट राजदरबार आइपुग्यो। ‘जय नेपाल’ सिनेमा हलमा राजा र राजपरिवारले फर्स्ट प्रिमियर शो हेरेपछि फिल्म ‘पब्लिक शो’ का लागि स्वीकृत भयो।
त्यसै बखत राजाबाट फिल्ममा काम गर्ने सबैलाई दुई-दुई हजार बकस भयो। त्यो वेला सुन तोलाको दुई सय रुपैयाँ थियो। अहिलेको हिसाबले सबैले १०-१० लाख पाए।
१० वर्ष काम गरेपछि अचानक बनारस फर्कनुपर्यो। पिता अस्वस्थ भएकाले म बेतलबी बिदा लिएर एक वर्ष बनारस बसें। यसैबीच आजीविकाका लागि मैले सन्मार्ग दैनिकमा विज्ञापन व्यवस्थापक, हिन्दी प्रचारक संस्थानमा जनसम्पर्क अधिकारी र रत्न पुस्तक भण्डारको बनारस मुद्रण कार्यालयमा काम गरें। तीनै ठाउँमा काम गर्दा महीनाको ६ सय आउँथ्यो।
यस बाहेक हिन्दीमा कथा, लेख लेखेर धर्मयुग (टाइम्स अफ इन्डिया), ‘कादम्बिनी’ (हिन्दूस्तान टाइम्स) आदिमा पठाउँथे। धर्मयुगमा छापिएको एउटा हिन्दी कथा ‘सोनिया’ हाल त्रिभुवन विश्वविद्यालय एमएमा पढाइन्छ। धर्मयुगमा छापिए बापत एक सय रुपैयाँ पारिश्रमिक आउँथ्यो। यस प्रकार आफ्नो गुजारा चलाई छोराछोरीलाई पढाइराखें।
नेपाली कथा हिन्दीमा अनुवाद गरी विभिन्न पत्रपत्रिकामा छाप्न पठाउँथे। एकपल्ट गोविन्दबहादुर मल्लको कथा ‘म जुजुमान’ को हिन्दी अनुवाद बम्बईको नवनीत हिन्दी डाइजेस्टमा पठाएँ। कथा छापियो र सम्पादकले ‘यस्तो उत्कृष्ट कथा त हिन्दीमा पनि लेखिएको छैन’ भनी पत्र पठाउनुभयो।
इन्द्रबहादुर राई बुबाकहाँ आफ्नो उपन्यासहरू प्रुफ रिडिङ गराउन आइरहनुहुन्थ्यो। उहाँले मेरो काम देखेर दीयो पत्रिकामा एउटा अन्तर्वार्ता छपाउनुभयो, शीर्षक थियो- हिन्दी-नेपालीका सेतु।
आफ्ना रचना पनि पुस्तक रूपमा छपाउन थालें। अहिलेसम्म कथा, कविता, उपन्यास, यात्रा आदि विधाका १३ वटा पुस्तक प्रकाशित भएका छन्। साहित्य अकादेमीको नेपाली भाषा समितिको सदस्य भएर पाँच वर्ष काम गरें। बुबाबारे जीवनी अंग्रेजीमा, उहाँको उपन्यास वचनको हिन्दी अनुवाद, कमला सांस्कृत्यायनको जीवनी आदि अकादेमीबाट प्रकाशित भएका छन्।
आफ्नो गन्थन गरेर धेरै समय लिन चाहन्नँ। मदन पुरस्कार गुठीलाई मेरो सम्मान गरी पुरस्कृत गर्नुभएकोमा हृदयदेखि आभार प्रकट गर्छु।
(जगदम्बा-श्रीबाट सम्मानित श्रेष्ठ २०७८ सालको जगदम्बा-श्री र मदन पुरस्कार वितरण समारोहमा राखेको मन्तव्यको सम्पादित अंश।)