मधेश प्रदेशका एक जना मन्त्रीका बुबाको नामको योजनाका लागि ४० लाख रुपैयाँ विनियोजन गरिएको छ।
मधेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघन महतोले आफ्नो बुबा दशैं महतोको नाममा योजना पारेका हुन्। उनले मिथिला नगरपालिका–२ मा ‘दशैं महतो कबीर धर्मशाला’ निर्माण गर्न लागेका छन्।
यो धर्मशाला सरकारी बजेटमा निर्माण गर्न लागिएको हो। यसका लागि चालू आर्थिक वर्षको बजेटमा ४० लाख विनियोजन गरिएको पाइएको छ।
पर्यटन मन्त्रालयसँग सम्बन्धित धेरै योजना आफ्नो क्षेत्रमा पारेको उनलाई आरोप लागेको छ। सत्तापक्षकै सांसदले विरोध समेत गरेका थिए। यस्तैमा उनले बुबाको नामको योजनाका लागि बजेट छुट्याएको पाइएको हो।
उनी बुबामा मात्रै सीमित छैनन्, स्वकीय सचिवका नाममा पनि योजना पारेका छन्। गत जेठ १६ गते पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज दुर्घटना भएको थियो। त्यसमा सवार मन्त्री महतोका स्वकीय सविच राजन गोलेको पनि मृत्यु भएको थियो।
मन्त्री महतोले जहाज दुर्घटनामा मृत्यु भएका स्वकीय सचिव गोलेका नाममा संग्रहालय र स्मृति पार्क निर्माण गर्ने पनि योजना पारेका छन्। गोलेको नाउँमा संग्रहालयको निर्माण गर्न २० लाख र पार्क निर्माण गर्न १५ लाख विनियोजन गरिएको छ।
मन्त्री महतोले आफ्ना बुबा त्यस क्षेत्रको कबीर पन्थका ठूलो जानकार रहेकाले उनको नाममा योजना राखेको प्रतिक्रिया दिए। “त्यो योजना मेरो घरमा बन्ने होइन, त्यसैले बुबाको नामको योजनाको आलोचना गर्नुको कुनै तुक छैन,” मन्त्री महतोले भने।
त्यस्तै, आफ्ना सहयोगी गोलेको जहाज दुर्घटनामा मृत्यु भएकाले उनको सम्झनामा संग्रहालय निर्माण गर्न योजना पारेको स्वीकार गरे। यसको कार्यविधि र संस्था दर्ता भएर कसरी सञ्चालन गर्ने भन्ने पछि तय हुने उनको भनाइ छ।
उनले आफ्नो क्षेत्रमा टुक्रे योजना पारेको भन्दै अन्य दलले विरोध गर्दै आएका छन्। चालू आर्थिक वर्षमा उद्योग, पर्यटन तथा वन मन्त्रालयका लागि चार अर्ब ८४ करोड ६४ लाख रुपैयाँको बजेट रहेको छ।