इतिहास शिरोमणिले झेलेका अवरोध
अनेकौं दुःख र व्यवधानहरूसँग जुझ्दै बाबुरामले नेपालको इतिहासलाई समृद्ध बनाए। भौतिक रूपमा दृष्टिविहीन भए पनि उनले नेपालको इतिहास सम्बन्धी ज्ञानको ज्योति छरे।
बाबुराम आचार्यका आँखा कमजोर हुँदै गएका थिए। १९९६ सालको पजनीको वेला डाक्टरले उनका दुवै आँखा काम नलाग्ने घोषणा गरिदिए। ग्लकोमा भएर उनका दुवै आँखाको दृष्टि ठप्प भएको थियो।
एकातिर दृष्टिविहीन, अर्कातिर राजनीतिक रूपमा प्रतिकूल समयमा बाबुरामले आफ्ना अनुसन्धानलाई प्रकाशनमा ल्याउन अनेकौं चुनौती सामना गर्नुपर्यो। इतिहास शिरोमणि उपाधि पाए पनि त्यसको धेरैपछि जीवनको उत्तरार्द्धमा मात्र उनले इतिहासको पुस्तक प्रकाशन गर्ने अवसर पाए।
बाबुराम शुरूमा पुराना कवि र कविता तथा तुलनात्मक सुन्दरकाण्ड जस्ता साहित्यिक अन्वेषण मात्र प्रकाशन गर्न सफल भएका थिए।
लेख छाप्दा पाँच रुपैयाँ जरिवाना
आफूले पाएको महत्त्वपूर्ण प्राचीन शिलालेखहरूको अध्ययन गरी लेख लेखेकै कारण बाबुरामले तत्कालीन राणाहरूबाट खप्की खानुपर्यो। जरिवाना पनि तिर्नुपरेको थियो।
बाबुरामले स्वयम्भूमा रहेको शिलालेख पढेर नेपालमा मुसलमानी आक्रमणबारे लेख लेखी शारदा पत्रिकालाई बुझाएका थिए। तर‚ राणाहरूले स्वीकृत नगरेसम्म शारदाले लेख/रचना छाप्दैनथ्यो। उनको लेख शारदाले छापेन। पछि, अध्ययनका लागि आएका एक भारतीयले उक्त शिलालेख पढेर लेख प्रकाशनमा ल्याउँदा बाबुरामले तत्कालीन शक्तिशाली जर्नेल केशरशमशेरको खप्की खाएका थिए। यस सम्बन्धमा बाबुरामले आफूलाई बताएको संस्मरण नयराज पन्तले पूर्णिमाको पूर्णाङ्क २७ (असोज २०२९:१५४) प्रकाशनमा ल्याएका छन्।
पन्तका अनुसार‚ घटना यस्तो छः
आचार्यले ‘नेपालमा भएका मुसलमानी आक्रमण’ शीर्षकको लेख शारदामा छपाउन दिएका थिए। नेपाली भाषा प्रकाशिनी समितिले आज्ञा नदिई शारदाले कुनै पनि सामग्री नछपाउने हुनाले त्यो लेख जाँचबुझका लागि समितिमा गएको थियो। समितिका अधिकारीहरूले डाइरेक्टर जनरल मृगेन्द्रशमशेरसँग नसोधी आफूहरूले यस्तो पास गर्न नसक्ने जवाफ दिए। मृगेन्द्रशमशेरले चाहिं इतिहास आफूले नबुझ्ने हुनाले र साहिंला बुबा (दक्षिण कम्यान्डिङ जनरल केशरशमशेर) कहाँ बिन्ती चढाउन भने। तर‚ केशरशमशेरले हाललाई आफ्नो फुर्सद नभएकाले यो लेख आफूलाई छाडेर जान आदेश दिंदै बाहिरबाट आएपछि मात्र लेख हेर्ने आश्वासन दिए।
त्यसको केही महीनापछि भारतीय विद्वान् काशीप्रसाद जयसवाल नेपाल आए। उनले स्वयम्भूको उक्त शिलालेख बिहार र उडिसाको खोजी गर्ने संस्थाको पत्रिकामा छपाई नेपालमा भएको मुसलमानी आक्रमणको प्रचार गराए। केशरशमशेर बाहिरबाट आएपछि बाबुरामलाई ‘तिमीले यो लेख जयसवाललाई किन दियौ’ भनी सोधनी गरे। बाबुरामले आफूले उक्त लेख नदिएको र आफूले शिलालेख सार्दा देख्ने मान्छे (तिलकशमशेर थापा, घण्टाघरका गुभाजु) आदि भएका र उतैबाट गयो होला भन्ने स्पष्टीकरण दिए। अझ स्पष्ट पार्दै आफ्नो लेखमा गोपाल राजवंशावलीको पनि प्रयोग गरेको तर जयसवालले गोपाल राजवंशावलीको प्रयोग नगरेको स्पष्टीकरण दिए।
तर‚ केशरशमशेर फेरि गर्जिए, ‘तिमीले के सम्झेका छौ, तिमीलाई म खोस्न सक्छु।’ यी घटना सम्झंदै बाबुरामले आफूसँग भएको उक्त लेख हराए पनि सारिराखे सुरक्षित रहने बताउँदै पन्तलाई आग्रह गरेका थिए। उक्त लेख र स्वयम्भूको शिलालेखको पाठ पन्तले सारे। उनले लेखको उतार भोलानाथ पौडेल, धनवज्र वज्राचार्य र ज्ञानमणि नेपाललाई दिए। उनीहरूले लेख २०१० सालमा संस्कृत सन्देशमा छपाए।
यसअघि पनि लेखकै कारण बाबुरामले अर्का जर्नेल बहादुरशमशेरबाट खप्की खानुका साथै पाँच रुपैयाँ जरिवाना तिरेका थिए। उनले विसं १९९२ मा उद्योग पत्रिकामा मुद्रा सम्बन्धी लेख छपाउँदा हजुरिया जनरल (उत्तर कम्यान्डिङ जनरल) बहादुरशमशेरले उनीमाथि नराम्ररी झम्टंदै ‘यसको मुखै चोरको जस्तो छ’ भनी गर्जेका थिए (पन्त, उहीः१४५)।
राणाकालमा श्री ३ महाराजमा पाण्डुलिपि चढाएर, कृपापात्र बनेपछि मात्र लेखकले पुस्तक छपाउने अनुमति पाउँथे। यस्ता लेखकमा तत्कालीन कप्तान बालकृष्ण शमशेर (पछि बालकृष्ण सम) पनि एक हुन्। उनले विसं १९८५ असार २७ गते श्री ३ चन्द्रशमशेरको जन्मदिन पारेर मुटुको व्यथा उपहार चढाएका थिए। केही काँटछाँट गर्नुपर्ने शर्त सहित उक्त पुस्तक छाप्ने अनुमति पनि पाए (बालकृष्ण सम, मेरो कविताको आराधन-२०५४:२९१)।
मुटुको व्यथा छापियो। उनले पहिलो संस्करण निःशुल्क वितरण गरे। त्यस वेला खरिदार बाबुराम आचार्यले बालकृष्णलाई सुझाएका थिए, ‘चारै पैसा भए पनि पुस्तकको मोल राख्नुपर्छ, सित्तै पाएको पुस्तकलाई पर्चाजस्तो सम्झेर मानिसले उस्तो आदर गर्दैनन् होला’ (सम, उहीः२९५)।
यसरी चाकरी गर्नेहरूले पुस्तक छपाउने अवसर पाइरहेको वेला इतिहास सम्बन्धी ज्ञानको भण्डार बोकेर पनि चाकरी गर्ने स्वभाव नभएकै कारण बाबुराम भने शासकहरूबाट खप्की खाँदै, जरिवाना तिर्दै खुम्चिएर बस्नुपरेको थियो। आज जुन देश विकसित मानिन्छ, ती देशहरूमा उहिल्यैदेखि विद्वत् वर्गको ठूलो इज्जत राख्ने गरिन्थ्यो। ती देशहरूमा आज पनि त्यही चलन छ। उदाहरणका लागि जर्मनीका एक खोजकर्ताले आफ्नो खोज सफल भएपछि पाएको सम्मान सम्बन्धी चर्चा गरौं।
१९औं शताब्दीमा जर्मनीका खोजकर्ता हेनरी स्कलाइभेनले होमरको महाकाव्यकै भरमा ट्रायको प्राचीन महलको अवशेषको तीन वर्षसम्म १०० कामदार लगाई खोज गरेका थिए। हेनरीले ट्रायको महल पत्ता लगाए। यो सफलतापछि उनलाई १२ हजारभन्दा बढी सुनको औंठी, २४ सुनको हार, सुनको सुराही, आधा किलोभन्दा बढी भारको सुनको बटुकी, सुनको मूर्ति र ठूला रत्नजडित स्वर्ण मुकुट, सुनको वस्तु आदि बक्सिस तथा उपहार प्रदान गरिएको थियो (डा. राजेश गौतम, इतिहास लेखनको इतिहास-२०५१:३८३)।
यता बाबुरामले चाहिं गहन शोध गरेर लेख लेखे बापत शासकको खप्की खाँदै, जागीर खोसिने चेतावनी पाउँदै आर्थिक जरिवाना समेत तिर्नुपरेको थियो। यस्तो देश पछि नपरे कुन देश पछि पर्छ?
राणाहरूको चाकरी गर्नेहरूले पुस्तक छपाउने अवसर पाइरहेको भए पनि इतिहास सम्बन्धी ज्ञानको भण्डार बोकेर पनि चाकरी नगर्ने बाबुराम भने शासकहरूबाट खप्की खाँदै, जरिवाना तिर्दै खुम्चिएर बस्नुपरेको थियो।
सहयोग लिनेबाटै असहयोग
सूर्यविक्रम ज्ञवालीलाई इतिहासकार बन्न बाबुरामको ठूलो सहयोग छ। ज्ञवालीका ग्रन्थहरूमध्ये पृथ्वीनारायण शाह र अमरसिंह थापा उत्तम कोटिका मानिन्छन्। यी ग्रन्थका भूमिका र परिशिष्टबाट पनि स्पष्ट हुन्छ‚ यी दुई पुस्तकमा बाबुरामको प्रशस्तै परिश्रम परेको छ। राेयल नेपाल एकेडेमी (नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान)का तत्कालीन कुलपति बालचन्द्र शर्माको छत्रछायामा बसी ज्ञवालीले आफ्नो बुद्धिले लेखेको नेपाल उपत्यकाका मध्यकालीन इतिहासमा भने बाबुरामको हात परेको छैन (पन्त, उहीः१४१)।
बाबुराम राणा शासनको समयमा खरिदार पदका जागीरे थिए। चाकरीको असाध्यै महत्त्व रहने त्यो समयमा उनमा भने कसैको चाकरी नगर्ने स्वभाव थियो। बाबुरामबारे तत्कालीन पाठशाला बन्दोबस्तका निरीक्षक भैरवमान प्रधानले विसं १९९२-९३ तिर पन्तसँग कुरा गरेका थिए। प्रधानका अनुसार‚ बाबुराम कसैको चाकरी गर्नुका सट्टा लेख लेख्ने र दार्जीलिङ पठाउने गर्थे र त्यस वेला सत्तानिकट माहिला गुरुज्यू हेमराज पाण्डे र जर्नेल मृगेन्द्रशमशेर पनि उनीसँग त्यति खुशी थिएनन् (पन्त, उहीः १४२)।
ज्ञवाली त्यस वेला दार्जीलिङ बस्थे। उनलाई नेपालको ऐतिहासिक तथ्यहरू लेख्दै पठाउने काम गर्थे बाबुराम आचार्य। यिनै तथ्यहरूको आधारमा ज्ञवाली उतै बसेर नेपालको इतिहास लेख्थे र प्रकाशमा ल्याउँथे।
ज्ञवालीले पृथ्वीनारायण शाह र अमरसिंह थापा जस्ता पुस्तक लेख्दा बाबुरामबाट प्रशस्त सहयोग पाएका थिए भन्ने बाबुराम आचार्य र उहाँका कृति नामक पुस्तकबाट स्पष्ट बुझिन्छ। बाबुरामबाट सहयोग नपाएका भए ती पुस्तकहरू त्यति गतिला हुने थिएनन् भन्ने उनको त्यसअघि निस्केको राम शाहको जीवन चरित्र लगायतका पुस्तक हेर्ने मानिसले सजिलैसँग बुझ्न सक्छन् (दिनेशराज पन्त, बाबुराम आचार्य स्मृति ग्रन्थ-२०४६:६३)।
तर‚ उनै ज्ञवालीले शक्तिमा हुँदा बाबुरामलाई वास्ता गरेनन्। दार्जीलिङबाट नेपाल आएपछि ज्ञवालीले राज्यबाट धेरै पटक लाभका पद प्राप्त गरे।
नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान गठन हुने खबरले बाबुराम उत्साहित थिए। विसं २०१३ को पृथ्वीजयन्तीका दिन बाबुराम नयराज पन्तलाई भेट्न उनको घर पुगेका थिए। उनले पन्तसँग ‘नेपालमा एकेडेमी खुल्ने भयो, म पनि त्यसमा हुने भएको छु, तिम्रा विद्यार्थीलाई पनि काम दिलाइदिन्छु, तिमी हामी मिली काम गरौं’ भनेका थिए (पन्त, उहीः १४५)। तर‚ बाबुराम एकेडेमीमा परेनन्। एकेडेमीमा बालचन्द्र शर्मा कुलपति बनाइए।
सूर्यविक्रम ज्ञवालीले आफू शक्तिमा हुँदा एकेडेमीकै विशेष अनुरोधमा तयार पारिएको बाबुरामको पुस्तक श्री ५ प्रतापसिंह शाहको पाण्डुलिपि त्यतिकै थन्क्याइदिए।
ज्ञवालीले पनि बाबुरामबाट आफूले सहयोग पाएको र आफूमाथि गरेको ठूलो विश्वास आफूलाई अनुभूत भएको बताएका छन्। सन् १९३६ अप्रिल २९ (विसं १९९३ वैशाख १७)मा बाबुरामले काठमाडौंबाट पठाएका पत्र पाउँदा दार्जीलिङमा रहेका ज्ञवाली निकै खुशी भएका थिए। पत्रभित्रको नेपालीमा लेखिएको सक्कल ऐतिहासिक पत्र पाउँदा जति खुशी लागेको थियो त्योभन्दा पनि आचार्यले आफूमाथि गरेको विश्वास थाहा पाएर ज्ञवालीलाई थप खुशी लागेको थियो (सूर्यविक्रम ज्ञवाली, प्राचीन नेपाल सङ्ख्या २१-कात्तिक २०२९:६०)।
बाबुरामले ज्ञवालीलाई पत्रसँगै एक महत्त्वपूर्ण ऐतिहासिक पत्र पनि पठाएका थिए। त्यो थियो, राजकुमार बहादुर शाहले बन्दी अवस्थामा कारागारबाट तत्कालीन राजा रणबहादुर शाहलाई लेखेको पत्र (ज्ञवाली, उहीः६१)।
तर‚ आफू शक्तिमा हुँदा ज्ञवालीले एकेडेमीकै विशेष अनुरोधमा तयार पारिएको बाबुरामको पुस्तक श्री ५ प्रतापसिंह शाहको पाण्डुलिपि त्यतिकै थन्क्याइदिए। यसबारे बाबुरामका छोरा श्रीकृष्णले आफैं प्रकाशित गरेको श्री ५ प्रतापसिंह शाह (२०६०:क-ख)मा स्पष्ट पारेका छन्। घटना यस्तो छः
बाबुराम आचार्यले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (४ भागमा) लेखिसकेपछि आफ्नो जीवनकालको अन्तिम समयतिर विसं २०२८ को मध्यमा राजकीय प्रज्ञा- प्रतिष्ठानको विशेष अनुरोधमा यस कृतिको पाण्डुलिपि तयार गराएका थिए। विसं २०२९ को भदौ २१ गते उनको निधन हुँदा यस कृतिको रचना प्रायः पूरा भइसकेको थियो, टिप्पणीहरू मात्र यथास्थानमा समावेश गर्न बाँकी रहेका थिए। विष्णुप्रसाद घिमिरे तिन ताक लिपिकारका रूपमा उनका सहायक भएर कार्यरत रहेका थिए। उनकै सहयोगमा बाबुराम आचार्यबाट यस कृतिको रचना भएको हो। बाबुरामको निधन भएपछि घिमिरे यस कार्यक्रमबाट स्वतः हटेर गए। कृतिमा अत्यावश्यक भाषागत परिमार्जनहरू गरी टिप्पणीहरू पनि समावेश गरेर विसं २०३० को आरम्भमा नै श्रीकृष्ण आचार्यले यस कृतिलाई प्रकाशनको निमित्त राजकीय प्रज्ञाप्रतिष्ठानमा प्रस्तुत गरेका थिए। तर‚ प्रतिष्ठानले त्यति वेला यस कृतिलाई यसै रूपमा प्रकाशित गर्न चाहेन।
बाबुराम आचार्यका आत्मीय मित्र सूर्यविक्रम ज्ञवाली तिन ताक प्रतिष्ठानका कुलपतिको पदमा कार्यरत रहेका थिए। उनी आफैं पनि इतिहासका ज्ञाता थिए। तर‚ मौका हेरी आफ्ना विचारहरू परिवर्तन गरेर त्यसबाट समयोचित फाइदा लिइने त्यति वेलाको वातावरणमा उनले पनि यस रचनालाई यसै रूपमा प्रकाशन गर्न चाहेनन्। केही काँटछाँटहरू गरेर मात्र यसलाई प्रकाशन गर्न सकिने आफ्नो राय त्यति वेला दिएका थिए।
यस कृतिमा श्री ५ प्रतापसिंह शाहप्रति व्यक्त गरिएका केही विचारहरूप्रति उनलाई आपत्ति रहेको थियो। खास गरी ‘श्री ५ प्रतापसिंह शाह सामान्य लेखपढ गर्नसम्म जान्दथे। त्यति पढेलेखेका व्यक्ति थिएनन्, बृहत्पुरश्चर्यार्णव जस्तो प्रौढ संस्कृतग्रन्थको रचना त राजा प्रतापसिंह शाहबाट कुनै हालतमा पनि हुन सम्भव छैन’ भनी यस कृतिमा उल्लेख भएकोमा उनलाई विशेष आपत्ति रहेको थियो। यस कृतिमा उल्लेख भएका महारानी राजेन्द्रलक्ष्मी सम्बन्धी केही अभिव्यक्ति पनि उनका निमित्त रुचिकर रहेका थिएनन्। यस्तै‚ अन्य दुई-चार कुराहरूमा पनि उनले आफ्ना असहमतिहरू जनाएका थिए। यी विषयहरू हटाएमा मात्र कृति प्रकाशन गर्न सकिने उनले शर्त राखेका थिए।
प्रामाणिक तर्कहरूका आधारमा लेखकबाट अभिव्यक्त भएका विचारलाई उनको व्यक्तिगत आग्रहले मात्र हटाइदिंदा दिवङ्गत आत्माको भावनाप्रति ठोस लाग्न जाने हुँदा ज्ञवालीले दिएको सुझाव अनुसार काँटछाँट हुन सकेनन् र फलतः कृति पनि प्रकाशित हुन सकेन।
२०३० साल चैतसम्म प्रज्ञा प्रतिष्ठानमा केदारमान व्यथित कुलपति थिए। उनले बाबुरामको उक्त कृति प्रकाशित गर्न चाहेनन्। २०३१ वैशाखमा सूर्यविक्रम ज्ञवाली प्रज्ञा प्रतिष्ठानमा कुलपति नियुक्त भए। तर‚ उनले पनि बाबुरामको उक्त कृति प्रकाशित गर्न उत्साह देखाएको पाइँदैन।
राजा त्रिभुवनले आफ्नो जन्मोत्सवको अवसरमा विसं २००८ मै बाबुरामलाई इतिहास शिरोमणि पदवी प्रदान गरेको १५ वर्षपछि मात्र उनको इतिहास सम्बन्धी पहिलो पुस्तक प्रकाशित भयो। त्यो वेला बाबुराम ७८ वर्षका थिए।
नयराज पन्तको सरकार समक्ष गुहार
बाबुराममा भएको इतिहास सम्बन्धी ज्ञानबारे आद्योपान्त थाहा थियो, नयराज पन्तलाई। तर‚ बाबुराम ८० वर्षको छेउछाउ पुगिसकेका थिए। यदि बाबुराम तलमाथि भइहाले उनमा रहेको नेपालको इतिहास सम्बन्धी ज्ञान लोप भएर जाने सम्भावनाप्रति पन्त चिन्तित थिए। त्यसैले बाबुराममा रहेको नेपालको इतिहास सम्बन्धी ज्ञानलाई लोप हुन नदिन उनले कदम उठाउन आवश्यक ठाने। त्यसपछि सरकारका शिक्षा सहायक मन्त्रीलाई बाबुरामका सम्बन्धमा एक निवेदन दिने निर्णय गरे। उनले विसं २०२० फागुन २६ गते सोमबार तत्कालीन शिक्षा सहायक मन्त्रीलाई एक निवेदन लेखे (नयराज पन्त, पूर्णिमा पूर्णाङ्क १५-कात्तिक-पुस २०२४:३२५-३२७)। उनले लेखेको निवेदन यस्तो छः
ऐतिहासिकशिरोमणि बाबुराम आचार्यज्यू हाम्रो देशको गहना हुनुहुन्छ। उहाँले आफ्नो तीक्ष्ण बुद्धि र परिश्रमबाट धेरै कुरा पत्ता लाई हाम्रो देशलाई दिनुभएको छ। विसं १४०६ मा नेपालमा मुसलमान आक्रमण भएको थियो भन्ने कुरा सबैभन्दा पहिले उहाँले नै पत्ता लाई सुन्दर निबन्ध लेख्नुभएको हो। उस वेलाको सरकारको अनुदार नीतिले गर्दा सो निबन्ध प्रकाश हुन पाएन र त्यसको यश पछिबाट विदेशीले लिए। उहाँको निकटतम सम्पर्कमा म धेरै वर्ष बसेको छु। उहाँसँग मिली संस्कृत-सन्देशमा मैले लेख पनि प्रकाश गराएको छु।
उहाँ अहिले ७६ वर्ष भइसक्नुभएको छ। दमको रोगले सताएकोले उहाँलाई हिंड्डुल गर्न पनि गाह्रो हुँदै आएको छ। उहाँले सञ्चय गर्नुभएका धेरै ऐतिहासिक ज्ञानहरू उहाँका मनमै छन्। उहाँले सङ्ग्रह गर्नुभएका पत्रहरू पनि प्रकाशित हुन सकेका छैनन्। उहाँले नै ने. भा. प्र. समितिमा बसी नेपालको सुन्दर इतिहास लेख्नुभएको थियो। सो पनि प्रकाश हुन सकेको छैन। उहाँले विशेष सुविधा नपाउनुभएकाले तिनलाई प्रकाश गराउन सक्नुभएको छैन।
विद्वच्छिरोमणि नायब बडागुरुज्यू हेमराजज्यूसँग धेरै अमूल्य ज्ञान थिए तथा उहाँले भाषाशास्त्र र व्याकरण विषयका नयाँ ग्रन्थ पनि लेख्नुभएको थियो भन्ने कुरा उहाँको निकट सम्पर्कबाट मैले थाहा पाएको थिएँ। एक दिन उहाँले मलाई भन्नु पनि भएको थियो, ‘मेरो जाने वेला भइसक्यो, तिमीलाई केही सोध्नु छ भने सोधिहाल।’ तर‚ मैले यसमा राम्रो ध्यान दिन सकिनँ। जान्न सकिने ज्ञानलाई उम्काएँ। यो मलाई साह्रै दुःखको कुरो भइरहेछ। ऐतिहासिकशिरोमणिज्यूको ज्ञान पनि उहाँ सँगसँगै नजाओस् भन्ने कुरामा हामीले विशेष विचार राख्नुपर्छ। यस कारण श्री ५ को सरकारले उहाँलाई विशेष सुविधा दिई केही मानिस उहाँले बोल्नुभएको ऐतिहासिक ज्ञानलाई टिप्न खटाओस् र तिनको सङ्कलन गराई उहाँको नामबाट उहाँकै जीवनमा प्रकाश गराओस् भन्ने प्रार्थना मैले श्री ५ को सरकारसँग गरेको छु।
पन्तको यो निवेदनले ठूलो काम गर्यो। यस सम्बन्धमा पन्तले पूर्णिमाको पूर्णाङ्क २७ (कात्तिक २०२९:१४७-१४८)मा लेखेका छन्, ‘ऐतिहासिकशिरोमणिज्यू ७६ वर्ष पुगुन्जेलसम्म उहाँले इतिहासका ग्रन्थ प्रकाश गराउन सक्नुभएको थिएन। त्यसो हुनुको कारण आँखाको कमजोरीले गर्दा आफू एक्लै काम गर्न उहाँले नसक्नु तथा उहाँले बोलेको कुरा लेखी छापाखानासम्म पुर्याउने गतिलो नियतको मानिस नहुनु र प्रकाशनको असुविधा पनि थियो। यस कुराले ऐ.शि.ज्यूको ज्ञान उहाँसँगै जान लाग्यो भनी म चिन्तित थिएँ। विसं २०२० को अन्त्यमा मलाई शिक्षा सहायक मन्त्रीज्यूकहाँसम्म उहाँको यथार्थ गुण निवेदन गर्ने मौका मिल्यो। ८० को नजिक ७७ वर्षको उमेरमा युवराज वीरेन्द्रबाट ग्रन्थ लेख्नका लागि मासिक रु.५००/- को वृत्ति र अरू उपयुक्त सुविधा तथा सहायक उहाँले पाउनुभयो। नेपालको संक्षिप्त वृत्तान्त (२०२२) र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पहिलो भाग २०२४ जेठ ३०, दोस्रो भाग २०२४ विजयादशमी, तेस्रो भाग २०२६ मा र चौथो भाग विसं २०२६ मा प्रकाशित भयो।’
बाबुरामलाई तत्कालीन राजा त्रिभुवनले इतिहास शिरोमणि घोषणा गरेका थिए। विसं २००८ सालमा पाटनमा ललितपुर रक्षा संघले ऐतिहासिक महत्त्वको विषयमा आदर्श कला प्रदर्शनी गरेको थियो। प्रदर्शनीमा बाबुरामले राजा त्रिभुवनलाई ऐतिहासिक वस्तुहरूको राम्रो व्याख्या गरेका थिए। तत्कालीन शिक्षामन्त्री नृपजङ्ग राणाको सिफारिश तथा बाबुराम आचार्यको विशिष्ट विद्वत्ता थाहा पाएर अनि नेपालको इतिहास र संस्कृतिका अद्वितीय ज्ञाता देखेर राजा त्रिभुवनले आफ्नो जन्मोत्सवको अवसरमा विसं २००८ मै उनलाई इतिहास शिरोमणि पदवी प्रदान गरेका थिए (डा. विजयकुमार मानन्धर‚ इतिहास शिरोमणि बाबुराम आचार्य-२०७३:६५)। इतिहास शिरोमणि पदवी दिएको १५ वर्षपछि उनको इतिहास सम्बन्धी पहिलो पुस्तक प्रकाशित भयो। त्यो वेला बाबुराम ७८ वर्षका थिए।
यस्ता अनेकौं दुःख र व्यवधानहरूसँग जुझ्दै बाबुरामले नेपालको इतिहासलाई समृद्ध बनाए। भौतिक रूपमा दृष्टिविहीन भए पनि उनले नेपालको इतिहास सम्बन्धी ज्ञानको ज्योति छरेर उज्यालो बनाए।