घुइँया रोपेर पिंडालु?
नेपाली इतिहासको गणित ताज्जुबलाग्दो छ। इतिहासका गणितज्ञहरू हिसाब सुनाउँछन्- पाँचबाट तीन घटाए पाँच नै शेष हुन्छ।
गणितको गाँठो
गणितको नाम सुन्यो कि धेरै साथीको गोडामुनि भुइँचालो जान्थ्यो। तिनका ओठ-तालु सुक्थे। निधारमा पसिना रसाउँथ्यो। गणितमा आफूलाई उम्दा ठान्ने हामी केही विद्यार्थी भने तिनको बेहाल देखेर मुख लुकाएर हाँस्थ्यौं।
स्कूले जीवनमा धेरैलाई हाँसोमा उडाइयो, मानौं गणितमा कमजोर ती साथीहरू बेलुन थिए। अरूलाई बेलुन बनाएर उडाउँदा उडाउँदै आफैं बेलुन बनेको पत्तै पाइएन।
त्यति खेर खिसीट्युरीका पात्र बनेका साथीहरूलाई अङ्कगणितको ऐकिक नियमले तर्साउँथ्यो। बीजगणितको खण्डीकरणले सताउँथ्यो। रेखागणितका साध्य-उपसाध्यले धुरुक्क रुवाउँथे। साँच्चै उनीहरू बहुपीडाले थलिएका थिए।
उनीहरूका अगाडि उति वेला जति नै फूर्ति देखाए पनि आफूलाई आजपर्यन्त जाबो एउटा जोड-घटाउले थिलोथिलो पारेको छ।
नेपाली इतिहासको गणित ताज्जुबलाग्दो छ। इतिहासका गणितज्ञहरू हिसाब सुनाउँछन्- पाँचबाट तीन घटाए पाँच नै शेष हुन्छ। कोतपर्वपछि शाह राजाहरूको धनसारमा डकैती भयो। राणाहरूले श्री ५ मध्ये श्री ३ लुटेर लगे। राजासँग श्री २ शेष रह्यो, तर श्री ५ लेखिरहे। २००७ सालपछि राणाहरूको श्री ३ मध्ये एउटा श्री राणाहरूलाई नै जिउनी छाडिदिंदा उब्रियो श्री २। मेरो सोझो गणित अनुसार, राजासँग रहेको जगेडा श्री २ र पुन:प्राप्त श्री २ जोड्दा श्री ४ हुनुपर्थ्यो। नारायणहिटी दरबारबाट झिटीगुन्टा नागार्जुन डाँडामा नसार्दासम्म शाह राजाहरू खासमा श्री ४ नै थिए। तर, खै कुन गणित पढेर हो, फेरि पनि श्री ५ नै लेखिरहे।
बिचरो मेरो गणित बल्ढ्याङ खाएर उत्तानो परेको पर्यै भयो!
आहा आदर्श!
नाम भनेको नाम हो। काम भनेको काम हो। नाम र कामको र्याङठ्याङ मिल्नैपर्छ भन्ने कडिकडाउ त कतै होला जस्तो लाग्दैन। काकताली परेर नाम र कामको र्याङठ्याङ मिल्दै नमिल्ने भने होइन।
कैलालीको रघुनाथ आदर्श बहुमुखी क्याम्पस, घैला बौनियाले आफ्नो नाम अनुसारको काम गरेको छ। बीबीएस दोस्रो वर्षको परीक्षा दिन गएका विद्यार्थी त्यति खेर जिल्ल परे, जब प्रश्नपत्रमा आफूले पढेको र शिक्षकले पढाएको एउटा पनि प्रश्न थिएन। परीक्षा हलमा खैलाबैला मच्चियो। विषय शिक्षक झिकाइए। क्याम्पस प्रमुखको खोजी भयो।
केन्द्राध्यक्षको उपस्थितिमा भएको छलफलबाट ती विद्यार्थीलाई दुई वर्षअघिको पाठ्यक्रम पढाइएको थाहा भयो। पाठ्यक्रम फेरिएको पत्तो नै रहेनछ शिक्षकलाई। कटकटिएको पुरानै नोटकपी भट्याउँदै पढाए। व्यस्त क्याम्पस प्रमुखको आँखा पुग्ने कुरै भएन।
क्याम्पस प्रमुखले चाहेको भए दोषको भारी कोरोनाभाइरस महामारी र सम्बन्धित शिक्षकको थाप्लामा हालिदिएर आफू उम्किन सक्थे। तर, राजमार्ग जत्तिको फराकिलो छाती पारेर उनले सहजै आफ्नो गल्ती स्विकारे।
विद्यार्थीको एक वर्ष चिलिमचट् भए पनि आफ्नो र सहकर्मी शिक्षकको जागीर जोगाएर आदर्श स्थापित गरे। कसैले आदर्श सिकोस् त यी चीफ सरबाट।
घुइँया रोपेर पिंडालु?
'बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल बिक्दैन' त्यत्तिकै भनिएको होइन। अहिले धमाधम पिठो बिक्दै छ। खुद्रा पसले हुन् चाहे थोक विक्रेता, कसैको हात खाली छैन। अझ गैसस/अगैससको पसलमा सेवाग्राहीको घुइँचो कहिल्यै खाली हुँदैन।
केही समयसम्म अघि लोग्ने बितेकी महिलालाई एकल महिलाको बर्को ओढाएर बेचे। पोइलाई पोइ भन्न नपाइने भो। जोईलाई जोई भन्न नपाइने भो। आफ्नी स्वास्नीको भाइलाई साला भने गालीमा गन्ती हुने अवस्था आयो। शब्दमा खेलेर कमाउनेहरूले जेठाजुलाई दाइ बनाए। सासूलाई आमाको टिकी लाइदिए। काका र फुपाजुमा भेद रहेन। ठूलोबा, माइलाबा सबै सराबरीमा अङ्कल भए।
यिनको फाइदैफाइदाको काइदा बडो आकर्षक लाग्छ। त्यसैले देखासिकीमै मैले पनि आफ्नो प्रयोगशालामा गानो लाग्ने एउटा तरकारीको बीउ उत्पादन गरेको छु। त्यसको विशेषता के छ भने घुइँया रोप्दा पिंडालु फल्छ। कोही हुनुहुन्छ लैजान इच्छुक? समय आउँछ पर्खंदैन। वेलैमा सम्पर्क गर्नुस् है त!