नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राणा, राजा र कांग्रेसले नेपाललाई संसारकै गरीब देश बनाएको आरोप लगाएका छन्।
ललितपुरका च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष ओलीले समृद्ध देश बनाउन एमालेलाई मत दिन आग्रह गरे। पत्रकार सम्मेलन मार्फत ६७ बुँदे अपील जारी गर्दै उनले देश समृद्ध बनाउन आफूले विकासका कार्यक्रम र नीति अघि सारेको बताए।
कांग्रेसले विकासको योजनालाई मजाक र गफ मात्र ठान्ने गरेको जिकिर गर्दै ओलीले भने, “राणा, राजा र कांग्रेसले देशको विकास र जनताको सुख, समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन्। बरु संसारकै गरीब देश बनाइराखे।”
अब देश विकासका लागि दुई कार्यकाल एमालेलाई अवसर दिनुपर्ने बताए। विकासका लागि जनताको मत आवश्यक रहेको बताउँदै ओलीले नयाँ मतदातालाई एमालेलाई मत दिन आग्रह गरे।
उनले पाँच दलीय गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिए। यो गठबन्धन धेरै नटिक्ने उनको भनाइ थियो। आफूले चाहेमा गठबन्धन भत्काउन हप्ता दिन पनि नलाग्ने उनको जिकिर थियो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई इङ्गित गर्दै ओलीले, “बिरालो किन्नु पर्दैन भने जस्तै ठूलो कचौरामा दूधभात जसले दिन्छ उतै जान्छ।”
उनले चुनावपछि गठबन्धन आफैं भत्किने दाबी गरे। गठबन्धनका लागि ३० वैशाख ठूलो खड्गो रहेको उनको भनाइ थियो।
उनले माओवादी अध्यक्ष दाहालको चर्को आलोचना गरे। भरतपुर महानगरपालिकामा रेणु दाहालले नजिते देश दुर्घटनामा जान्छ भन्नु गलत भएको उनको भनाइ थियो। “छोरीले जिते उत्साहित हुन्छु, अन्यथा देश दुर्घटना जान्छ भन्नु अपराध हैन?” उनले प्रश्न गरे।
दाहालको अभिव्यक्तिमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने ओलीको भनाइ थियो। आयोगले पनि कांग्रेससँग छलफल गरेर आचारसंहिता ल्याएको ओलीको आरोप थियो।
उनले मतपत्रको विषयमा पनि असन्तुष्टि जनाए। सूर्यलाई हरियो बनाउन हरियो रङ प्रयोग गरिएको आरोप लगाउँदै ओलीले भने, “यो रङको कुरा मुद्दा हाल्ने विषय हो, तर हामी अदालत गएनौं।”
राजनीतिक दलका नेताले एक-अर्काको चिह्नमा मत माग्नु पनि आचारसंहिता विपरीत भएको उनको भनाइ थियो। आफ्नो पार्टीको चुनाव चिह्नमा मात्रै मत माग्न पाइने जिकिर गर्दै ओलीले भने, “यसमा त पाँच गठबन्धनलाई चेतावनी दिएर निर्वाचन आयोगले कारबाही गर्नुपर्छ।”