हाम्रो अध्ययनमा कुल २४३ वटा स्त्रीद्वेषी सामग्री फेला परे। तिनमा सबैभन्दा बढी २३५ वटा सामग्री सामाजिक सञ्जालमा, ६ वटा पत्रपत्रिकामा र दुई वटा अनलाइनमा भेटिएका थिए।
सूचना प्रविधिको विकाससँगै उदाएका इन्टरनेट र सामाजिक सञ्जालले सूचना प्रवाहलाई सहज बनाउनुका साथै विचार आदानप्रदान गर्ने मञ्च पनि उपलब्ध गराएका छन्। तर, यी मञ्च गलत र भ्रामक सामग्री फैलाउन पनि उत्तिकै प्रयोग भइरहेछन्। सामाजिक सञ्जालमा घृणास्पद अभिव्यक्ति, दुर्व्यवहार र नकारात्मक सामग्रीको प्रसार भइरहेको पाइन्छ। यस्ता सामग्री खास गरी महिला, त्यसमा पनि राजनीतिमा सक्रिय महिलामाथि लक्षित रहेको पाइन्छ।
यिनै विषयको वरिपरि रहेर काठमाडौंस्थित पानोस साउथ एशियाले हालै मात्र ‘राजनीतिमा सक्रिय महिलामाथि सञ्चार माध्यममा हुने लैंगिक हिंसाको विश्लेषण’ शीर्षकको प्रतिवेदन तयार पारेको छ। यसका लागि हामीले ३० कात्तिक २०७८ देखि १७ माघसम्म नेपालका परम्परागत र डिजिटल मिडिया अनि सामाजिक सञ्जाल अनुगमन गरेका थियौं। हामीले फेसबूक, ट्वीटर र टिकटक प्रयोग गर्ने महिला राजनीतिकर्मी, पाँच राष्ट्रिय दैनिक, तीन वटा साप्ताहिक र सात वटा अनलाइन पत्रिकाको अध्ययन गरेका थियौं। त्यस्तै, आठ वटा टेलिभिजन च्यानलका १० अन्तर्वार्ता कार्यक्रमलाई समेटेका थियौं।
हामीले यी सञ्चार माध्यम र सामाजिक सञ्जालमा महिला हिंसालाई प्रश्रय दिने कस्ता सामग्री फैलिएका छन्, तिनको उत्पादन कसले गरिरहेछ र सञ्जाल प्रयोगकर्ताले महिला राजनीतिकर्मीसँग कसरी अन्तरसंवाद गरिरहेछन् भन्ने प्रश्नको उत्तर खोजेका थियौं। त्यस क्रममा नेपालमा प्रचलित स्त्रीद्वेषी शब्दावलीको सङ्कलन गर्यौं। विभिन्न स्रोत र छलफलबाट सङ्कलित त्यस्ता शब्द ८० वटा छन्। चुनाव नजिकिँदै जाँदा र त्यसबारे छलफल बढ्दा त्यस्ता शब्दको सङ्ख्या अझ् थपिन सक्छ।
हाम्रो अध्ययनमा कुल २४३ वटा स्त्रीद्वेषी सामग्री फेला परे। तिनमा सबैभन्दा बढी २३५ वटा सामग्री सामाजिक सञ्जालमा, ६ वटा पत्रपत्रिकामा र दुई वटा अनलाइनमा भेटिएका थिए। टेलिभिजनमा त्यस्ता सामग्री भेटिएनन्। परम्परागत सञ्चार माध्यमको तुलनामा सामाजिक सञ्जालमा धेरै स्त्रीद्वेषी सामग्री भेटिएका थिए।
खास गरी महिला राजनीतिकर्मीका पोस्टमा सञ्जाल प्रयोगकर्ताले नकारात्मक प्रतिक्रिया दिने, दुर्व्यवहार गर्ने र घृणा फैलाउने अभिव्यक्ति दिने गरेको पाइयो। त्यस्ता प्रयोगकर्ताका फलोअर्स नगण्य र अधिकांश अज्ञात रहेको पाइयो। प्रमुख राजनीतिकर्मी वा दल आफैंले त्यस्ता सामग्री नफैलाएको तर तिनका समर्थकले शेयर गर्ने गरेको अध्ययनमा देखियो।
खास गरी महिला राजनीतिकर्मीको फेसबूक स्टेटसमा प्रतिक्रिया जनाउँदा त्यस्ता अभिव्यक्ति बढी आउने गरेका छन्। तर, ट्वीटर पोस्ट र फेसबूक स्टेटसको तुलना गर्दा त्यस्ता अभिव्यक्ति ट्वीटरमा बढी देखिन्छन्। अर्कातिर परम्परागत सञ्चार माध्यममा महिला राजनीतिकर्मीलाई स्वतन्त्र रूपमा निर्णय गर्न नसक्ने र क्षमता नभएको भनी चित्रण गरेको पाइयो। अध्ययनले दलका पदाधिकारी वा सरकारमा रहेका महिला राजनीतिकर्मीबारे समाचार बढी आउने गरेको देखायो।
उनीहरू पुरुष समकक्षीको तुलनामा अनलाइन हिंसाबाट बढी नै पीडित हुने गरेका छन्। जस्तो, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गृहजिल्ला गुल्मीमा गरेको एउटा भाषणको भिडिओ क्लिपलाई सन्दर्भ नखुलाई र उनको भनाइ काटेर सामाजिक सञ्जालमा राखियो जसबाट उनका बारे भ्रम फैलियो। त्यसको केही समयपछि ‘पिर्के सलामी’ लिएकोमा उनैलाई सामाजिक सञ्जालमा गाली गरियो।
सामाजिक सञ्जालले उपलब्ध गराउने आवरण र प्रयोगकर्ता पहिचान गर्न मुश्किल हुने भएकाले नेपालमा खास गरी ट्वीटर र फेसबूक स्त्रीद्वेषी र घृणास्पद अभिव्यक्ति फैलाउने मञ्च बनिरहेका छन्। अध्ययनले राजनीतिक रूपमा सक्रिय महिलामाथि अनलाइनमा केकस्ता दुर्व्यवहार हुन्छन्, तिनलाई कसले फैलाउँछन् र महिला राजनीतिकर्मीले सामाजिक सञ्जाललाई कसरी प्रयोग गरिरहेछन् भन्ने तस्वीर देखाएको छ।
यसै वर्ष नेपालमा तीनै तहका चुनाव हुँदै छन्। त्यस क्रममा उम्मेदवार र दलहरूले सामाजिक सञ्जाल र सञ्चार माध्यमलाई आफ्नो पक्षमा प्रयोग गर्नेछन्। त्यस क्रममा महिला उम्मेदवार र राजनीतिकर्मीमाथि विभिन्न कोणबाट आक्रमण हुन सक्नेछ।
महिलालाई होच्याउने र त्रस्त बनाउने गतिविधि रोक्न नसकिए त्यसले एकातिर पीडकलाई हौस्याउँछ भने अर्कातिर महिलाका लागि मञ्च साँघुरिँदै गएर उनीहरू विचारविमर्शबाट विमुख हुने अवस्था आउँछ। यसले राजनीतिमा लाग्न चाहने वा लागिरहेका महिलालाई निरुत्साह पार्छ। त्यसैले सूचना सम्प्रेषणलाई स्वस्थ, न्यायोचित र विश्वसनीय बनाउनु सबै सरोकारवालाको दायित्व हो। सामाजिक सञ्जालमा देखिएका यस्ता प्रवृत्ति र तिनको विश्लेषणपछि निकालिएका निष्कर्षमा सबैको ध्यान जानु जरुरी छ।
(लिम्बू र अधिकारी पानोस साउथ एशियासँग आबद्ध छन्।हिमालको २०७९ वैशाख अंकबाट।)