अध्यक्षको दौडमा अल्पसङ्ख्यक समुदायकी लक्ष्मी माझी
![अध्यक्षको दौडमा अल्पसङ्ख्यक समुदायकी लक्ष्मी माझी](https://www.himalkhabar.com/uploads/posts/800X600/majhi_1651128876.jpg)
मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्षको चुनावी दौडमा अल्पसङ्ख्यक समुदायकी लक्ष्मी माझी ‘कृपा’ होमिएकी छन्। कृपाले यसअघि कार्यपालिका सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकी छन्।
‘बुलेट’ छाडेर ‘ब्यालेट’ रोजेकी उनी खारिएर राजनीतिमा आएको बताउँछिन्। कृपा भन्छिन्‚ “जनमुक्ति सेना र शान्तिपूर्ण राजनीतिमा जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेकी छु।”
उनी नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षको उम्मेदवार बनेकी हुन्। यसअघि गाउँ कार्यपालिका सदस्य भएर बटुलेको अनुभवलाई प्रयोग गर्दै अघि बढ्ने कृपाको भनाइ छ। भूमिहीन दलित र अव्यवस्थित सुकुम्बासीलाई लालपुर्जा वितरण गरेर जग्गाधनी बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनी बताउँछिन्। यस्तै‚ गाउँपालिकामा भौतिक र आर्थिक विकासमा जोड दिने योजना रहेको पनि सुनाउँछिन्।
तत्कालीन नेकपा (माओवादी) ले गरेको सशस्त्र युद्धको बलमा व्यवस्था परिवर्तन भए जनताको अवस्था भने परिवर्तन नभएको कृपाको अनुभव छ। “व्यवस्था परिवर्तनका लागि भएको सशस्त्र युद्धमा हामीले कति साथी गुमायौं, तर आज पनि जनताको अवस्था उही छ‚” उनी भन्छिन्‚ “आर्थिक सशक्तीकरण विना व्यवस्थामा परिवर्तन ल्याउन सक्दैनौं।”
त्यसैले अति सीमान्तीकृत, दलित र विपन्न वर्गका लागि प्राविधिक शिक्षामा पहुँच पुग्ने गरी काम गर्ने‚ महिला तथा बेरोजगार युवाहरूलाई तालीम दिई स्वरोजगार बनाउने आफ्नो योजना रहेको कृपाले सुनाइन्। जनयुद्धका घाइते‚ शहीद परिवार र द्वन्द्व प्रभावित बेपत्ता परिवारको संरक्षण गर्ने योजना समेत रहेको उनको भनाइ छ। ज्येष्ठ नागरिक तथा महिलाको उपचारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने कृपाको योजना छ। यसअघि जनप्रतिनिधिका रूपमा काम गर्दा गाउँपालिकाको विभिन्न अवस्थाबारे अध्ययन गरी त्यहाँको आवश्यकता बुझेको उनको दाबी छ।
निर्वाचनको दौडमा कृपालाई सजिलो भने छैन। सत्ता गठबन्धन दलका आआफ्नै उम्मेदवार रहेकाले चुनावी माहोल उनले सोचे जस्तो छैन। गाउँपालिका अध्यक्षमा उनी सहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनमा रहेको नेपाली कांग्रेसबाट धर्मराज लामिछाने‚ नेकपा (एकीकृत समाजवादी) बाट नारायण तिमल्सिना‚ जनता समाजवादी पार्टीबाट मानबहादुर माझी अध्यक्षका उम्मेदवार हुन्।
यस्तै‚ नेकपा (एमाले) बाट यसअघि गाउँपालिका उपाध्यक्ष रहेकी सरला बोलखे पनि अध्यक्षको दौडमा छन्। राप्रपाबाट रामप्रसाद दाहाल‚ नेकपा (माले) बाट कुमारबहादुर सञ्जेल र स्वतन्त्रबाट कृष्ण घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।