स्थानीय चुनाव: यस्ता जनप्रतिनिधि चाहन्छन् ललितपुरवासी
![स्थानीय चुनाव: यस्ता जनप्रतिनिधि चाहन्छन् ललितपुरवासी](https://www.himalkhabar.com/uploads/posts/800X600/lalitpur_(3)_1649854730.jpg)
पाँचवर्षे अवधिमा जनप्रतिनिधि गाउँमा देखै नपर्ने समस्या खेपेका दुर्गम भेगका बासिन्दा अबको चुनावबाट आफ्ना दुःख नजिकबाट बुझेर समाधान गरिदिने नेताको खोजीमा छन्।
ललितपुर, सातदोबाटोबाट २७ किमि दक्षिणतिर साढे तीन घण्टा गाडीको यात्रापछि पुगिन्छ, कोन्ज्योसोम गाउँपालिका-२ शंखु। क्रसर उद्योगका टिपर हुइँकिने कच्ची बाटो छिचोल्दै यो पहाडी गाउँ उक्लँदा धूलोले छपक्कै छोपिसक्छ। २०६५ सालअघि बाटो नभएर तनावमा परेका चापागाउँदेखिका बासिन्दा अहिले धूलोले आजित छन्। बर्खाका तीन-चार महीना पहिरो र भलले सास्ती दिन्छ। “बर्खाका वेला त्यही चापागाउँ पुग्न सकिन्न, हिउँदमा पनि धूलो खाँदै यात्रा गर्नुपर्छ,” शंखुका पीताम्बर हुमागाईं सुनाउँछन्।
गोदावरी नगरपालिका, महांकाल र बागमती गाउँपालिकाका समस्या पनि उस्तै छन्। आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनपछि पनि आफ्ना दुःख हट्लान् भन्ने आश स्थानीयलाई छैन। उनीहरूका अनुसार, ७५ प्रतिशत जनप्रतिनिधि ललितपुरका मुख्य शहरमा बस्छन्। उनीहरू गाउँका समस्या बुझ्दैनन्। गाउँमा नबस्ने र ठेकेदारी गर्ने पैसावालले मात्र टिकट पाउने प्रवृत्ति रहेको उनीहरूले औंल्याए। “गाउँमै बसे पो यहाँको समस्या थाहा हुन्छ, सुगममा बस्नेले यहाँ के विकास गर्लान् खै?” शंखुकै शिवप्रसाद सञ्जेलले सुनाए।
मुख्य पेशा कृषि र पशुपालन रहेको त्यस भेगमा सिंचाइको असुविधा छ। कोन्ज्योसोम गाउँपालिकामा कम्तीमा दुई ठाउँमा सिंचाइ आयोजना बने साविकका १ देखि ७ वडाका चार सय घरधुरीको समस्या समाधान हुन्छ। स्थानीयका अनुसार, जताततै डोजर चलाइएकाले बर्खामा पहिरोले सताउँछ। प्राथमिक स्वास्थ्यचौकी छ, तर दरबन्दीका चिकित्सक उपलब्ध छैनन्। सानो दुर्घटनामा पर्दा र प्रसूति गराउन पनि पाटन अस्पताल कुदाउनुको विकल्प छैन। “ज्येष्ठ नागरिक र सुत्केरीलाई त उपचारको समस्या नै छ,” ६५ वर्षीया सरस्वती सञ्जेल भन्छिन्।
स्वास्थ्य सेवा मात्र होइन, शिक्षाको अवस्था पनि नाजुक छ। गुणस्तरीय शिक्षा नभएकै कारण पछिल्ला दुई वर्षमा साविकका १ देखि ९ वडाका डेढ सय घरधुरीले गाउँ छाडेको शंखुका भवनाथ बजगाईं बताउँछन्। त्यहाँको सरस्वती माविमा ६ देखि ९ वडाका विद्यार्थी आउँछन्, तर शिक्षक टिकाउनै समस्या छ। “हामीले त राम्रो शिक्षा नपाएर दुःख पायौं, छोराछोरीले पनि शिक्षाकै कारण दुःख नपाऊन् भनेर अधिकांशले गाउँ छाडेका छन्,” मञ्जु घिमिरे भन्छिन्।
ललितपुरको ठेचोमा व्यावसायीले गरेको प्लटिङ। तस्वीर: सन्त गाहा मगर/हिमालखबरकोन्ज्योसोम गाउँपालिका-३ सिलिङ्गे व्यासीको समस्या पनि शंखुको भन्दा फरक छैन। त्यहाँको ज्ञानज्योति प्राविमा १५ वर्षअघि एउटै कक्षामा ६५ जनासम्म विद्यार्थी हुने गरेकामा अहिले १ देखि ५ कक्षासम्म जम्मा ३० विद्यार्थी छन्। प्रधानाध्यापकको दरबन्दी समेत रिक्त रहेको विद्यालय दुई शिक्षिकाले धानिरहेका छन्। स्थानीय केदार तामाङ नेताका आफन्तलाई जागीर खुवाउने परिपाटीले शिक्षाको गुणस्तर बिग्रिएको बताउँछन्। “अलि अलि टाठाबाठा र हुनेखाने छोराछोरी पढाउन अन्तै सरिसके,” उनी भन्छन्, “निमुखाका छोराछोरी पढ्ने स्कूलको कसलाई मतलब?”
२० वर्षअघि पाँच जना शिक्षक भएको स्कूलमा अहिले दुई जना मात्रै हुनुमा जनप्रतिनिधिकै दोष देख्छन्, अर्का स्थानीय सुरेश तामाङ। “यहाँका बालबालिकाको भविष्य नै छैन, शिक्षा र स्वास्थ्य यस्तो भद्रगोल हुँदा कसैले चासो देखाएन,” उनी भन्छन्।
कोन्ज्योसोमका सबैजसो वडाका समस्या हुन्, कच्ची बाटो तथा सिंचाइ, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको अभाव। यस्ता आधारभूत आवश्यकता पूरा नहुँदा गाउँको जनसङ्ख्या घट्दो छ। विकासका काममा आफ्ना मान्छेलाई पायक पार्ने प्रवृत्ति रहेको केदार तामाङ बताउँछन्। इकुडोलदेखि दहचोकसम्म १४ किलोमिटर कालोपत्र गर्न बजेट छुट्याइए पनि रकमान्तर गरेर जनप्रतिनिधिको क्षेत्रमा लगिएको उदाहरण उनले दिए। “विकास होस् कि सहयोग र राहत, जनप्रतिनिधिकै हालीमुहाली छ, कुनै काम पारदर्शी ढङ्गले भएको छैन,” उनी भन्छन्, “हाम्रो वडामा गएको पाँच वर्षमा दुई ठाउँमा सय मिटर ढलान गर्ने र एउटा पुल हाल्ने बाहेक कुनै काम भएन।”
बागमती गाउँपालिका-३ भट्टेडाँडाका गुरुप्रसाद गौतमलाई आगामी निर्वाचनप्रति खासै चासो छैन। पैसा र पहुँचका आधारमा टिकट पाउनेले स्थानीयको समस्या नबुझ्ने भएकाले कुनै अपेक्षा नरहेको उनको भनाइ छ। “शिक्षा र स्वास्थ्य सेवा नभएर गाउँले धमाधम बसाइँ सरिरहेका छन्, जनप्रतिनिधि चाहिं डाँडामा डोजर कुदाएर पहिरो निम्त्याउँदै छन्,” गौतम भन्छन्, “ललितपुरको दक्षिणी क्षेत्र कृषि र पशुपालनको पकेट क्षेत्र हो, तर कुनै जनप्रतिनिधिले किसान उत्थानका कार्यक्रम अघि सारेनन्।”
डाँडामा रहेका दुई परिवारका लागि ठोट्ने खोलामा डोजर लगाएर सडक निर्माण गर्दै।त्यस्तै, महांकाल गाउँपालिका-६ ठूला दुर्लुङ ललितपुरको अति विकट ठाउँमध्ये पर्छ। वडा नम्बर ४ कालेश्वरको अवस्था पनि फरक छैन। वडा नम्बर ५ चन्दनपुर सुगम मानिए पनि त्यहाँ सामान्य उपचारकै व्यवस्था छैन। बाटोबाटो र गुणस्तरीय स्वास्थ्य शिक्षा नहुँदा स्थानीय बसाइँ सर्दै छन्। “विकासका नाममा डाँडैपिच्छे बाटो मात्र खोस्रँदा पहिरैपहिरो गएकाले दीर्घकालीन समस्या निम्त्याउने निश्चित छ,” टुकप्रसाद घिमिरे भन्छन् ।
सुगमको समस्या पनि उस्तै
यी तीन गाउँपालिकाको तुलनामा सुगम मानिन्छ, गोदावरी नगरपालिका। तर, कच्ची बाटो र धूलो यहाँको पनि ठूलो समस्या हो। ठेचो, सुनाकोठी, चापागाउँ क्षेत्रका स्थानीयले पटक पटक आन्दोलन गर्दा पनि बाटो पिच भएको छैन। वडा नम्बर ७ स्थित देवीचौरमा खानेपानी अभाव पुरानै समस्या हो। पर्याप्त स्रोत भए पनि व्यवस्थापन र वितरण राम्रो नहुँदा स्थानीय बासिन्दा ट्याङ्करको पानी खान बाध्य छन्। अनियन्त्रित प्लटिङ अर्को समस्या देखिएको छ। “अव्यवस्थित प्लटिङले ससाना डाँडा मासिएका छन्,” सुवास घिमिरे भन्छन्, “सार्वजनिक जग्गा मासिंदा जनप्रतिनिधि मौन छन्।”
गोदावरी नगरपालिकामा पाटी, पौवा र पोखरी समेत अतिक्रमणको चपेटामा छन्। ठेचोको पोखरीमा वृद्धाश्रम बनाइएको छ भने प्याङगाउँको पोखरी बाटो विस्तारका क्रममा मिचिएको छ। संरक्षण अभावमा आधा दर्जन जति पोखरीमा पानी सुकेको छ। बाटो बढाउने नाममा सांस्कृतिक सम्पदा मासिनुका साथै सार्वजनिक वन निजी बनाइएको स्थानीय अमृत विष्ट बताउँछन्।
उनका अनुसार, गोदावरीका अधिकांश ठाउँमा शिक्षा र स्वास्थ्य सेवा निजी क्षेत्रको कब्जामा छ। त्यसको पहुँचमा नरहेका नागरिकलाई जनप्रतिनिधिले सम्बोधन गरेका छैनन्। “पाँच वर्षअघि पनि बाटोको धूलो र प्राकृतिक सम्पदाको बिजोग उस्तै थियो,” विष्ट भन्छन्, “अहिले क्रसर डनको दबाब र प्रभावमा झन् धेरै क्षति भएको छ।”
गोदावरीका टीकाभैरव, लेलेको नल्लु खोला र देवीचौरमा अवैध खानी चलाइएका छन्। त्यस्ता खानीले खोलाको बहाव क्षेत्र धकेलेको, सामुदायिक वन मासिएको, पहिरोको जोखिम, दुर्घटना र प्रदूषण बढेको स्थानीयको भनाइ छ। जनप्रतिनिधि र प्रशासनको मिलेमतोमै वर्षौंदेखि अवैध धन्दा चल्दै आएको उनीहरू बताउँछन्। टीकाभैरव क्षेत्रका अवैध खानी बन्द गर्न पटक पटक माग भइसकेको छ। “अब पनि बन्द नगरिए दुई वर्षपछि दक्षिणी ललितपुरमा पहिरो र बाढीले ठूलो क्षति निम्त्याउने वाला छ,” एक स्थानीयले भने।
नयाँ शहर बन्ने तर्खरमा रहेको महालक्ष्मी नगरपालिकामा पनि योजनाविहीन विकासले सौन्दर्य मास्दै छ। यहाँ १० वटा वडा छन्। लाकुरीभन्ज्याङ, लामाटार, लुभु, चाँगाथली, सिद्धिपुर र टीकाथली लगायत क्षेत्रका बाहेक अधिकांश सडकको स्तरोन्नति गरिएको छैन। धूलोले सडक छेउका व्यापारी आजित भइसकेको इमाडोलमा मोबाइल पसल चलाउँदै आएका विकास त्रिपाठी बताउँछन्। “बिहानदेखि बेलुकासम्म उड्ने धूलोले स्वास्थ्य खराब भइसकेको छ, व्यापार पनि खस्कँदो छ,” उनी भन्छन्।
दक्षिणी ललितपुर जाने धुलाम्य सडक।२९ वडा रहेको ललितपुर महानगरमा पनि केही ठूला शहर बाहेक अधिकांश ठाउँको समस्या बाटो नै हो। स्थानीय निर्वाचनयताको पाँच वर्षमा सम्पदा पुनर्निर्माण र संरक्षणको काम पनि पर्याप्त नभएको स्थानीयको गुनासो छ। कुपन्डोलका प्रदीप वैद्यका अनुसार, यहाँ सार्वजनिक स्थल नै पर्याप्त छैनन्। फूटपाथ नहुँदा यात्रीलाई हिंड्न गाह्रो छ। फोहोर र पार्किङ व्यवस्थापन राम्रो छैन। “स्मार्ट महानगर भनिएको छ, तर बालबच्चा खेल्ने सार्वजनिक स्थान र हरियाली वातावरण छैन,” उनी भन्छन्, “धूलो र ट्राफिक जाम नियन्त्रणका काम भएका छैनन्।”
शहरी क्षेत्रका गरीब नागरिक स्वास्थ्य र शिक्षाबाट वञ्चित रहेको जावलाखेलका राजेन्द्र महर्जन बताउँछन्। उनका अनुसार, कोरोना महामारीमा रोजगारी छुट्दा भोकै परेका तिनले स्वास्थ्य सेवा समेत पाएनन्। खानेपानी, अव्यवस्थित प्लटिङ, बेरोजगारी यहाँको अर्को जल्दोबल्दो समस्या हो। ‘महानगरका समस्या त धेरै छन्, तर गरीब नागरिकले कम्तीमा स्वास्थ्य, शिक्षा र रोजगारीको समान अवसर नपाउनु दुर्भाग्य हो,” महर्जन भन्छन्, “स्वास्थ्य र शिक्षामा निजीलाई मनोमानी गर्न दिंदा गरीब नागरिक मारमा छन्।”
कुन पार्टीबाट कस्ता आकाङ्क्षी?
आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउन निर्वाचन आयोगले दलहरूलाई १० वैशाखको समयसीमा दिएको छ। अन्य दलमा धमाधम आकाङ्क्षी खुल्न थाले पनि गठबन्धनका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रबाट खुलेर दाबेदारी प्रस्तुत भइसकेको छैन। नेपाली कांग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाँल गठबन्धनका नाममा भागबण्डा स्वीकार नगर्ने बताउँछन्। “जनमत र हाम्रो सिफारिशका आधारमा गठबन्धन भए स्विकारिन्छ, तर सबै निर्णय केन्द्रबाट भए स्वीकार हुँदैन,” उनी भन्छन्।
माओवादी केन्द्रका ललितपुर सचिव राजकाजी महर्जन आफूहरू पनि केन्द्रको निर्णय कुरिरहेकाले आकाङ्क्षी सार्वजनिक गरिनसकेको बताउँछन्। यद्यपि, यसअघि माओवादी केन्द्रले जितेका ठाउँमा पहिलेकै प्रतिनिधि आकाङ्क्षी रहेको उनको भनाइ छ। यस अनुसार, कोन्ज्योसोम गाउँपालिकामा गोपीलाल सिंतान नै अध्यक्षमा उठ्ने सम्भावना छ। उपाध्यक्ष मिङ्मा लामा पनि अध्यक्षको आकाङ्क्षी छिन्।
ललितपुर महानगरको मेयरमा कांग्रेसबाट चिरिबाबु महर्जनले दोहोरिने आकाङ्क्षा राखेका छन्। साइकल सिटी र स्मार्ट महानगर बनाउने काम बाँकी रहेकाले तिनलाई पूरा गर्न आफू आउनुपर्ने उनको दाबी छ। “पछिल्लो पाँच वर्षमा धेरै जटिल काम सकें, अझै गर्न बाँकी काम धेरै भएकाले म दोहोरिन लागेको हुँ,” महर्जन भन्छन्। उपमेयर गीता सत्याल पनि आफ्नो दाबी मेयरमा रहेको बताउँछिन्। “पाँच वर्ष उपप्रमुख रहेको अनुभवले मेयरमा काम गर्न सक्ने बनाएको छ,” उनी भन्छिन्, “पार्टीले विश्वास गरे मेयरमा चुनाव लड्न तयार छु।”
प्रेमकृष्ण महर्जन पनि नेपाली कांग्रेसबाटै मेयर पदका दाबेदार हुन्। २०७४ को प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवार बनेका महर्जन त्यस वेला उपविजेता बनेका थिए। पार्टीमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका उनी महानगरको कला, संस्कृति, सम्पदा संरक्षण गर्न, स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउन र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न चुनावमा होमिएको बताउँछन्। महासमिति सदस्य हरिकृष्ण व्यञ्जनकार पनि मेयरका आकाङ्क्षी हुन्।
कोन्ज्योसोम गाउँपालिका-३ सिलिङ्गे व्यासीस्थित ज्ञानज्योति प्रावि। जहाँ दुई जना शिक्षिका मात्रै छन्।महालक्ष्मी नगरको प्रमुखमा कांग्रेसबाट जिल्ला सदस्य महेश खड्का पनि आकाङ्क्षी छन्। उनी स्थानीय सीपलाई निरन्तरता दिने आफ्नो लक्ष्य रहेको बताउँछन्। २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार रहिसकेका पवनविक्रम थापा अनि दिवाकर सिलवालले पनि उक्त पदमा दाबेदारी प्रस्तुत गरेका छन्।
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन फेरि सो पदमा दोहोरिने योजनामा छन्। उनको भट्टेडाँडामा करीब चार रोपनीको बालुवाखानी छ।उपाध्यक्ष रञ्जना घिमिरे, ३ नम्बर वडाध्यक्ष विष्णु तिमिल्सिना, जिल्ला सदस्य माधव दुलाल, गणेश महत र अमृतनाथ घिमिरे पनि अध्यक्षका आकाङ्क्षी छन्।
कांग्रेसबाटै कोन्ज्योसोम गाउँपालिकामा दक्षिणी ललितपुरमा विद्युत् सहकारी मार्फत काम गरेका राजनप्रसाद घिमिरे अध्यक्षका प्रत्याशी छन्। सुरेशकुमार लामा र सत्यमान घिसिङले पनि सोही पदमा दाबी गरिरहेका छन्। महांकाल गाउँपालिकामा जिल्ला सहसचिव फुयाँल अध्यक्षको आकाङ्क्षी छन्। निर्माण व्यवसाय पेशामा रहेका उनीसँगै खोमप्रसाद घिमिरे, गणेश केसी, सुनीता घिमिरे पनि अध्यक्ष बन्न चाहन्छन्।
नेकपा (एमाले) ले भने ललितपुर महानगरका लागि उम्मेदवार छनोट गरिसकेको छ। केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकारलाई मेयर तथा मञ्जरी श्रेष्ठलाई उपमेयरमा उठाउने जिल्ला कमिटीको निर्णय छ। पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार, महानगर बाहेकका पालिकामा भने आकाङ्क्षी धेरै भएकाले ठोस छलफल भइसकेको छैन।
महालक्ष्मीमा नगरप्रमुख रामेश्वर श्रेष्ठ नै दोहोरिने योजनामा छन्। उनका अनुसार, पहिलो कार्यकालमा ६६ वटा ऐन तथा कानून बनाएर पालिकाको कुल बजेटको ८० प्रतिशत पूर्वाधार निर्माणमा लगानी गरिएको छ। खानेपानी, प्रशासकीय भवन, फोहोरमैला व्यवस्थापन र सभाहल जस्ता ‘ड्रिम प्रोजेक्ट’ को काम शुरू भइसकेको छ। “मैले चुनावअघि प्रतिबद्धता गरेका अधिकांश काम पूरा गरें, केही काम बाँकी भएकाले म फेरि दोहोरिने मूडमा छु,” श्रेष्ठ भन्छन्। महालक्ष्मीमै एमालेबाट हरिगोविन्द श्रेष्ठ पनि मेयरका आकाङ्क्षी छन्। २०४९ सालमै वडाध्यक्ष रहिसकेका उनी २०५४ मा तत्कालीन लुभु गाविसका अध्यक्ष थिए।
गोदावरी नगरपालिकामा सहमतिमा उम्मेदवार छान्ने गरी छलफल भइरहेको आचार्यले बताए। त्यस्तै, कोन्ज्योसोमको अध्यक्षमा एमाले प्रदेश कमिटी सदस्य कृष्णमान घिसिङ अध्यक्षको आकाङ्क्षी छन्। बागतीमा ४ नम्बर वडाध्यक्ष साजन दर्लामी र ७ नम्बर वडाध्यक्ष नवराज सञ्जेलले यसपालि गाउँपालिकाकै अध्यक्षमा दाबेदारी दिएका छन्। दर्लामी कृषि पेशामा छन् भने सञ्जेल शिक्षा व्यवसायी हुन्।
त्यसै गरी महांकाल गाउँपालिकामा अहिलेका अध्यक्ष रामचन्द्र दाहाल र उपाध्यक्ष कमला तामाङ नेतृत्वका आकाङ्क्षी छन्। सोही पदमा श्याम बजागाईं, पुरुषोत्तम हुमागाईं, नवराज महत लगायतले पनि आकाङ्क्षा देखाएको एमाले जिल्ला अध्यक्ष आचार्य बताउँछन्। “पार्टी निर्णय र स्थानीय छलफलका आधारमा टुङ्ग्याउँछौं,” उनी भन्छन्।
बागमती गाउँपालिका–३ का वडाध्यक्ष विष्णु तिमिल्सिनाको कान्ति कन्स्ट्रक्सन प्रालि नामको कम्पनी छ। उनको कम्पनीले बालुवा, ढुङ्गा र गिट्टी आपूर्ति गर्छ। वडाध्यक्ष हुनुअघि तिमिल्सिना ठेकेदार थिए। हात्तीवनमा उनका कन्स्ट्रक्सन कम्पनीसँग चारवटा डोजर छन्।
गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जन लेलेमा रहेको सगरमाथा स्टोन क्रसर प्रालिबाट बालुवा र गिट्टी निकासी गर्छन्। गोदावरी नगरपालिका–८ का वडाध्यक्ष सुकबहादुर लामाले नदीबाट ढुङ्गा र बालुवा निकाल्न बागमतीको धार नै परिवर्तन गराएका छन्। बागमती गाउँपालिका–४ का वडा सदस्य रामकुमार लामा प्युटार बालुवा वास सेन्टर चलाउँछन्। प्युटार निवासी उनी स्काभेटर चालक पनि हुन्। स्थानीयको अनुसार, गाउँपालिकाका सबैजसो सडक योजनामा उनकै डोजर चल्छ।
यसअघिका जनप्रतिनिधि र अहिलेका आकाङ्क्षीको पृष्ठभूमि हेर्दा उनीहरूसँग २०४९/२०५४ सालदेखिकै चुनावको अनुभव छ। अधिकांश निर्माण, शिक्षा, घरजग्गा व्यवसायमा आबद्ध छन्। एमालेले स्थानीय चुनावका लागि जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि र भौतिक पूर्वाधारको स्तरोन्नति गर्ने अभियान लिएर रणनीति बनाएको आचार्य बताउँछन्। त्यसै गरी कांग्रेसले संस्कृति, सम्पदा, ट्राफिक व्यवस्थापनसँगै वडा अनुसारका समस्या हेरेर रणनीति बनाएको जिल्ला सहसचिव फुयाँल सुनाउँछन्।
माथिल्लो धापाखेलमा मासिएको चौतारा।माओवादी केन्द्रका जिल्ला सचिव महर्जनका अनुसार, पार्टीले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर चुनावी रणनीति बनाएको छ। “सबै ठाउँमा एउटै र उस्तै रणनीति लागू हुन्न, जनताका माग र आवश्यकता हेरेर रणनीति बनाइरहेका छौं,” उनी भन्छन्।
स्थानीयको अपेक्षा
एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका रहेको ललितपुरका अधिकांश स्थानीय तहका बासिन्दाका समस्या साझा छन्। शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैको पहुँच पुर्याउन सक्ने जनप्रतिनिधि हेर्न चाहने चापागाउँका राज महर्जन बताउँछन्। ठेचोका केशव केसी चाहिं अवैध खानी बन्द गर्ने र ललितपुरका सबै ठाउँमा सडक सुविधा पुर्याउन सक्ने जनप्रतिनिधि चाहन्छन्।
भट्टेडाँडाका राजेश दर्लामीलाई कृषकलाई सिंचाइ तथा मलको सुविधा दिने र उत्पादित तरकारी सहजै बजार पुर्याउने व्यवस्था गरिदिने जनप्रतिनिधिको अपेक्षा छ। लाकुरीभञ्ज्याङका पेमा लामा जनप्रतिनिधिले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने कार्यक्रम ल्याऊन् भन्ने चाहन्छन्। “पर्यटकलाई आकर्षित गर्न बाटो र अन्य सुविधा पुर्याउँदा स्थानीयको आर्थिक स्तर पनि सुध्रन्छ,” उनी भन्छन्।
लामाटारका प्रकाश राउत अव्यवस्थित प्लटिङ नियन्त्रणको आवश्यकता देख्छन्। अव्यवस्थित प्लटिङले स्थानीय स्रोत र जनसङ्ख्याबीच असन्तुलन बढेको उनको भनाइ छ। “अब पनि यस्तो प्लटिङ नरोकिए केही वर्षपछि यहाँ घरैघर मात्र हुनेछन्,” राउत भन्छन्। त्यस्तै, टीकाथलीका शिव श्रेष्ठ धूलोको समस्याबाट मुक्ति दिने जनप्रतिनिधि आऊन् भन्ने अपेक्षा रहेको बताउँछन्।
गोटीखेलका सुरज बजगाईं शिक्षा लिन कोठाभाडामा लिएर लगनखेल बस्नुपर्ने बाध्यता अन्त्य होस् भन्ने चाहन्छन्। “आफ्नो ठाउँमा आधारभूत शिक्षा र स्वास्थ्य सेवा नपाउने अवस्था अन्त्य होस्,” उनले भने। सुनाकोठीका किशोर विष्ट अब आउने जनप्रतिनिधिले संस्कृति-सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने ठान्छन्। “सार्वजनिक स्थल, सामुदायिक वन र सम्पदा मासिंदै छन्,” उनी भन्छन्, “यस्ता कुरा जोगाउने जनप्रतिनिधि आएदेखि वर्षौंसम्म शहरको सुन्दरता कायम रहन्थ्यो।”