कांग्रेसलाई आफ्नो भन्दा माओवादी अध्यक्ष दाहालको चिन्ता, दाहाललाई छोरीको
![कांग्रेसलाई आफ्नो भन्दा माओवादी अध्यक्ष दाहालको चिन्ता, दाहाललाई छोरीको](https://www.himalkhabar.com/uploads/posts/800X600/Deuba-Prachanda_1648382847.jpg)
स्थानीय चुनाव नजिकिंदै गर्दा कांग्रेसले आफ्ना पार्टीका उम्मेदवारलाई कसरी जिताउनेमा भन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक भविष्य कसरी जोगाइदिने भन्नेमा ध्यान केन्द्रित गरेको भन्दै कांग्रेस शीर्ष नेतृत्वको आलोचना भएको छ।
१२ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गत महाधिवेशनमा उनीसँग थोरै मतले सभापतिमा पराजित नेता डा. शेखर कोइरालाबीच आगामी स्थानीय चुनावको विषयमा जुहारी चल्यो। त्यो जुहारी स्थानीय चुनावमा कांग्रेसका उम्मेदवारलाई कसरी बढीभन्दा बढी जिताउने भन्नेमा केन्द्रित भने थिएन।
१४औं महाधिवेशनपछि प्रभावशाली नेताको छवि बनाएका डा. कोइरालाले कांग्रेसले स्थानीय निर्वाचन एक्लै लड्नुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री समेत रहेका सभापति देउवाले माओवादीलाई कांग्रेसले भोट हालेर जिताउने ग्यारेन्टी नगरेसम्म माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनावमै नजाने संशय व्यक्त गरे। उनले कार्यक्रममा भने, “प्रचण्ड हार्ने चुनाव लड्छन्?”
११ चैतदेखि शुरू कांग्रेस केन्द्रीय समिति बैठक बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा व्यक्त देउवा र कोइरालाको त्यही धारणाको वरिपरि घुमेको देखिन्छ। जबकि, यो बैठकको मुख्य अजेन्डा स्थानीय निर्वाचन हो।
“प्रचण्डलाई हामीले जिताएनौं भने एमालेले जिताउँछ भन्ने सोच नै गलत छ, यस्तो सोच विरुद्ध युवा पुस्ताले लड्न सक्नुपर्छ, गठबन्धन गर्दा तत्काललाई फाइदा हुने जस्तो देखिए पनि दीर्घकालमा कांग्रेसलाई हानिकारक छ।” - पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकको पहिलो अजेन्डा स्थानीय तह निर्वाचनको तयारी तथा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा गर्नु हो भने दोस्रो अजेन्डा संसदीय समिति गठन गर्नु हो। तर, बैठक माओवादी र दाहालको राजनीतिक भविष्यको वरिपरि घुमेको देखिन्छ।
बैठकमा सहभागी हुन काठमाडौं बाहिरबाट आएका एक सहमहामन्त्री सभापति देउवा पक्षका अधिकांश नेताले माओवादीलाई साथमा लिएर जानुपर्ने र अध्यक्ष दाहालको राजनीतिक भविष्य जोगाउने धारणा राखेको बताउँछन्। नाम उल्लेख गर्न नचाहने उनले हिमालखबरसँग भने, “हामीलाई पठाइएको अजेन्डामा स्थानीय चुनावमा पार्टीलाई कसरी जिताउने भन्ने विषयमा छलफल गर्ने भनिएको छ, तर बैठकमा प्रचण्डजीको भविष्यको चिन्ता मात्रै गरेको सुनियो।”
कांग्रेससँग वैचारिक निकटता राख्ने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य स्थानीय निर्वाचन नजिकिंदै गर्दा कांग्रेस आफ्नो भन्दा बढी माओवादी अध्यक्ष दाहालको विषयमा बढी चिन्तित देखिएको बताउँछन्। शान्ति प्रक्रियामा आएपछि संगठन विस्तारमा जोड नदिएका दाहाललाई स्थानीय चुनावमा कसरी जिताउने भनेर लाग्नु कांग्रेस नेतृत्वको कमजोरी भएको उनको निष्कर्ष छ। उनी भन्छन्, “प्रचण्डलाई हामीले जिताएनौं भने एमालेले जिताउँछ भन्ने सोच नै गलत छ, यस्तो सोच विरुद्ध युवा पुस्ताले लड्न सक्नुपर्छ, गठबन्धन गर्दा तत्काललाई फाइदा हुने जस्तो देखिए पनि दीर्घकालमा कांग्रेसलाई हानिकारक छ।”
![](https://www.himalkhabar.com/uploads/editor/Politics/Congress/Chaitra%2004%2C%20CWC%20Meeting%20held%20on%202078%20Chaitra%2011%20gate.jpg)
२०७० सालको संविधानसभा चुनावमा काठमाडौं–१० मा तेस्रो स्थानमा आएका माओवादी अध्यक्ष दाहालले सिरहा–५ मा एक हजारभन्दा कम मतान्तरले जित हात पारेका थिए। दाहालले १५ हजार २४४ मत पाउँदा १४ हजार ३२३ मत ल्याएका एमाले उम्मेदवार लीलानाथ श्रेष्ठले मतगणनामा धाँधली भएको भन्दै अदालतको ढोका ढकढक्याएका थिए। त्यति वेला दाहाललाई ‘बुथ क्याप्चर गरेर जिताइएकोे’ माओवादी नेताहरूले नै सार्वजनिक अभिव्यक्ति दिएका थिए।
२०७४ सालको स्थानीय चुनावमा भरतपुर महानगरमा दाहालले आफ्नी छोरी रेणु दाहाललाई मेयर बनाउन मतपत्र च्यात्न लगाएको घटना धेरैले बिर्सेका छैनन्। यी दुई दृष्टान्तले पूर्व प्रधानमन्त्री समेत रहेका दाहाल जनमतमा होइन, षड्यन्त्रबाट मात्रै चुनाव जितिन्छ भन्नेमा विश्वास राख्छन् भन्नेहरूलाई बल दिएको छ। ३० वैशाखको आसन्न स्थानीय निर्वाचनमा गठबन्धन नगरी जाँदा माओवादीले एकाध बाहेक स्थानमा धरौटी जोगाउन नसक्ने र कतिपय ठाउँमा जनाधार भएका उम्मेदवार समेत नपाउने कुरा आफ्ना कार्यकर्ताले अध्यक्ष दाहाललाई रिपोर्टिङ गरिरहेका छन्।
“फेरि पनि रेणु दाहाललाई भोट हाल्नुपर्ने भयो भने चितवनका जनताले उनलाई भोट हाल्दैनन्, ६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनुपरेको तपाईंहरूलाई थाहा छँदै छ।” - टेकबहादुर गुरुङ, केन्द्रीय सदस्य, कांग्रेस
झट्ट सुन्दा दाहालले कार्यकर्ताको त्यस्तो रिपोर्टिङ सुनेर माओवादी जोगाउन पो गठबन्धन गर्न लागेका हुन् कि भन्ने लाग्न सक्छ। तर, उनको पहिलो प्राथमिकता पार्टी होइन, परिवार हो भन्ने पटक पटक पुष्टि भइसकेको छ। यस पटक गठबन्धन गर्नुको प्रमुख कारण छोरीलाई पुनः मेयर बनाउनु रहेको माओवादी नेताहरूको निष्कर्ष छ। चितवनको राजनीतिलाई नजिकबाट नियाल्नेले पनि दाहालको यो कुरा सजिलै भन्न सक्छ। २०७४ को स्थानीय चुनावमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई मतपत्र च्यातेर हराएको कुराको अहिले कांग्रेसमै विरोध हुन थालेको छ।
चितवन घर भएका कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुरमा फेरि रेणु दाहाललाई भोट दिन नसकिने धारणा राखे। उनले गठबन्धनको नाममा चितवनका कांग्रेसलाई पुनः माओवादीलाई भोट हाल्ने वातावरण नबनाउन नेतृत्वलाई आग्रह पनि गरे। बैठकपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, “फेरि पनि रेणु दाहाललाई भोट हाल्नुपर्ने भयो भने चितवनका जनताले उनलाई भोट हाल्दैनन्, ६० हजार मत भएको ठाउँमा पनि मतपत्र च्यातेर जिताउनुपरेको तपाईंहरूलाई थाहा छँदै छ।”
दाहालको परिवारवादको माओवादी बैठकमा पनि विरोध हुने गरेको छ। गत फागुनमा माओवादी केन्द्रीय सदस्यका लागि ९७ जनाको नाम प्रस्ताव गरिएकोमा ५० जनाको नाम मात्रै पारित भयो। त्यसमा दाहालले छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई भने केन्द्रीय सदस्य बनाउनैपर्ने अड्डी कसेका थिए। दाहालकी बुहारी बिना मगर, भाइ नारायण दाहाल लगायत परिवारका सदस्यहरू यसअघि नै केन्द्रीय सदस्यमा छन्।
२०७४ सालमा कांग्रेससँग सत्ता साझेदारी गर्दा गर्दा अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेका दाहालको यो चाल कांग्रेस सभापति देउवाले नबुझेका होइनन्। निरन्तर क्षयीकरण भइरहेको माओवादीलाई भोट दिएर ‘उद्धार’ गर्दा मुलुकको लोकतान्त्रिक आन्दोलनमा नकारात्मक असर पर्ने र पुरानो लोकतान्त्रिक दललाई निर्वाचन जित्न कम्प्युनिष्ट पार्टीको शरण पर्नुपर्छ भन्ने भाष्य निर्माण हुन्छ भन्ने पनि उनले नबुझेका होइनन्।
“तर हाम्रो सभापतिलाई प्रचण्डजीले मेरो राजनीतिक भविष्य जोगाइदिनुहोस्, संसदीय चुनावपछि प्रधानमन्त्री बनाइदिउँला भनेर आश्वासन दिए जस्तो लाग्छ,” कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, “भूमिगतकाल र शान्ति प्रक्रियामा आएपछि पनि पटक पटक धोका पाएर पनि प्रचण्डजीकै पछि लाग्नुहुन्छ भने त राम राम बाहेक के नै भन्न सकिन्छ र?”