सम्पादकीय बुधबार, जेठ १५, २०७६

हिमाल : नबुझी हुन्न

किरण नेपाल

पाकिस्तानको नङ्गापर्वतदेखि उत्तरपूर्वी भारतको नाम्चार्बाबासम्म १५०० माइल लामो हिमशृंखलाको करीब ५०० माइल नेपालभित्रै पर्ने, विश्वका ६ हजार मिटरभन्दा माथिका १३१० र ८००० मिटर अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै रहेको कुराले हामीलाई रोमाञ्चित पारेको देखिन्न। 

किरण नेपाल

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको १५ जेठमा ६६ वर्ष पूरा भएकाे छ । र, ६६ वर्षको यो अवधिमा करीब ६ हजार जनाले तेञ्जिङ–हिलारीको पदमार्ग पछ्याउँदै सगरमाथाको चुचुरोमा पाइला राखेका छन् । वसन्त ऋतुको मार्चदेखि मे महीनासम्म लम्बिने आरोहणको यो मौसममा अहिले पनि सोलुखुम्बु, खुम्बु–पासाङ ल्हामु गाउँपालिका–४ मा अवस्थित सगरमाथाको आधारशिविरमा आरोहीको घुइँचो लागेको छ ।

यस वर्ष इतिहासमै सबभन्दा बढी ३८१ जनाले सगरमाथा आरोहणको अनुमति पाएका छन् भने कीर्तिमानी रु.४४ करोड १६ लाख राजस्व पनि संकलन भएको छ । ४९ वर्षीय कामीरिता शेर्पाले आफ्नै कीर्तिमान तोड्दै २४औं पटक सगरमाथाको शिखरमा पाइला टेकेर संसारलाई चकित तुल्याएका छन् । हिलारीको देश न्युजिल्याण्डको आर्थिक सहयोगमा सगरमाथाको उँचाइ आफैं नाप्न सरकारले पहिलोपटक टोली खटाएको छ ।

६ दशकयता सगरमाथा संसारमा नेपाल चिनाउने प्रमुख ‘ब्राण्ड’ मात्र होइन, राष्ट्रिय स्वाभिमान, आत्मसम्मान र पर्यटनको प्रमुख आधार पनि बनेको छ । सगरमाथाकै योगदानले अत्यन्त विकट खुम्बु क्षेत्रका नाम्चे र लुक्ला मुलुककै धनी गाउँ बनेका छन् । पर्वतारोहीका भरिया शेर्पा समुदायको व्यापार, व्यवसायमा सहभागिता बढ्दो छ । उनीहरूका सन्तान पढ्न युरोप, अमेरिका पुगेका छन् । 

यो परिवर्तन सपना झैं लाग्ने तेञ्जिङ–हिलारीसँगको ‘ब्रिटिश माउन्ट एभरेष्ट एक्सपीडिसन’ का एक मात्र जीवित सदस्य कान्छा शेर्पा (८७) लाई राम्ररी थाहा छ, यसमा देवी चोमोलोङ्मा (सगरमाथा) कै देन छ । तर, अहिले उनी हिमाल नासिए खुम्बुवासी पनि नासिने चिन्तामा छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प जस्ता जलवायु परिवर्तनका असरलाई ‘हौवा’ बताउनेहरूका लागि यस्तो कुरा असम्भव लाग्ला, तर जीवनकालमै हिमाली क्षेत्रको दुर्गति देखेका कान्छालाई जोखिम सम्भव लाग्न थालेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को हालैको प्रतिवेदनले यो शताब्दीको अन्त्यसम्म हिन्दू–कुश हिमालय क्षेत्रको तापक्रम २.१ डिग्री सेल्सियसले वृद्धि हुने र त्यसबाट एकतिहाइ हिमनदी पग्लिने निचोड सार्वजनिक गरेको छ । प्रतिवेदनले बढ्दो तापमानका कारण यस क्षेत्रमा बसोबास गर्ने २५ करोड मानिस र अर्बौं जीव संकटमा पर्ने औंल्याएको छ ।

सगरमाथा, केटु हिमालसँगै विश्वका अग्ला हिमशृंखला पर्ने हिन्दू–कुश क्षेत्र विश्वका महत्वपूर्ण १० वटा नदी प्रणालीको प्रमुख स्रोत हो । त्यसकारण सगरमाथाको संरक्षण नेपाल मात्र नभएर दक्षिण एशिया र विश्वकै चासो र चिन्ताको विषय बन्नुपर्छ । सगरमाथा त्यसका लागि ‘लिटमस टेष्ट’ हुनसक्छ । 

तस्वीरः कोलिन मोन्टिन्थ

सगरमाथा संरक्षणको अर्को चुनौती फोहोर पनि हो, जसको कारक यस्ता सौखिन आरोही हुन्, जो जसैगरी सगरमाथा चढ्न चाहन्छन् । बिर्सन नहुने के हो भने सगरमाथा आरोहण चीनतर्फबाट पनि हुन्छ र उत्तरी मोहडको त्यो आधारशिविरमा सवारी साधन लगायतका सम्पूर्ण सुविधा पुगिसकेका छन् । आरोहण शुल्क पनि सस्तो छ ।

सन् १९२१ मा तिब्बततर्फको यो मोहडाबाटै बेलायती टोलीले सगरमाथाको पहिलो आरोहणको प्रयास गरेको थियो । त्यसबेला प्रकाशित थुप्रै नक्शामा सगरमाथा चीनकै भाग रहेको देखाइएको थियो । तर, अप्रिल १९६० मा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको निमन्त्रणामा नेपाल आएका चिनियाँ समकक्षी चाउ एन लाईले सीमा क्षेत्रको सगरमाथाको टाकुराको दक्षिणी भाग नेपालको र उत्तरी भाग चीनको मान्न स्वीकारेका थिए ।

त्यसको पाँच वर्षपछि सन् १९६५ मा भूगोलविद् डा.हर्क गुरुङले रूपरेखा पत्रिकामा प्रकाशित ‘पर्वतारोहण’ शीर्षकको लेखमा लेखे– “विदेशी पर्वतारोहीहरू नेपाल आउँछन्, हाम्रै शेर्पाको काँध चढेर नाम कमाउँछन्, जान्छन् । हामी वाल्ल परेर रमिता हेरिरहन्छौं । खुबै गर्‍यौं भने हामी हिमालको गीत गाउँछौं, कविता लेख्छौं र हिमाली सौन्दर्यको धाक दिन्छौं । ... हामीलाई आफ्नै हिमालको भौगोलिक स्थितिको केही ज्ञान छ ?”

५५ वर्षपछि पनि यो चिन्ता उत्तिकै सान्दर्भिक छ । किनभने सगरमाथा संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा देखिंदैन । आधारशिविरसम्मका पूर्वाधारको बेहाल छ । आरोहण दस्तुर असुल्दैमा मक्ख सरकार खुम्बु क्षेत्रमा पर्यटन विकास–विस्तार नभएको र त्यसको लाभ स्थानीय समुदायदेखि देशले नपाएकोमा चिन्ता गर्दैन । ‘नेपाल भ्रमण वर्ष २०२०’ मा जुटेको नेपाल पर्यटन बोर्ड ‘हिमाल विशेष प्याकेज’ बनाउन उदासीन छ । पर्यटकको ‘जाली उद्धार’ प्रति ढिलो गरी सरकारको ध्यान पुगे पनि दोषी हवाईजहाज कम्पनी र अस्पताललाई कारबाही नहुँदा दण्डहीनता बढ्ने खतरा छ ।

यो उदासीनता नागरिक तहमा पनि छ । पश्चिममा पाकिस्तानको नङ्गापर्वतदेखि पूर्वमा चीन र उत्तरपूर्वी भारतको नाम्चार्बाबासम्म फैलिएको १५०० माइल लामो हिमशृंखलाको करीब ५०० माइल नेपालभित्रै पर्ने, विश्वका ६ हजार मिटरभन्दा माथिका १३१० र ८००० मिटर अग्ला १४ हिमालमध्ये ८ वटा नेपालमै रहेको कुराले हामीलाई रोमाञ्चित पारेको देखिन्न ।

स्वयं सरकारसँग मुलुकका हिमाल चिनाउने ‘पिक प्रोफाइल’ नै छैन । अरू त अरू, सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको यति वैभवशाली सम्पदा संरक्षणमा स्थानीय समुदायको परम्परागत ज्ञान, सहभागिता र चासो सम्बोधन गर्न समेत आवश्यक ठानिएको छैन । कीर्तिमानी आरोही कामीरिताले ‘सरकारले सगरमाथा चिन्ने तर आफूहरूलाई नचिन्ने’ गुनासो त्यसै गरेका होइनन् ।

हिमाल आरोहणबारे विदेशी पर्वतारोहीले सयौं पुस्तक लेखे पनि कीर्तिमानधारी हाम्रै शेर्पा समुदायले आफ्ना अनुभव साट्न सकेका छैनन् । तिनै अंग्रेजी पुस्तक अनुवाद गराउने आवश्यकताबोध पनि भएको छैन । अब ढिला नगरी हिमाल चिन्ने र चिनाउने अभियानको थालनी गरौं । सगरमाथा दिवसको शुभकामना ! 

प्रतिकृया दिनुहोस