कहाँ चुके विमलेन्द्र निधि?
![कहाँ चुके विमलेन्द्र निधि?](https://www.himalkhabar.com/uploads/posts/800X600/bimalendra_nidhi_1639467142.jpg)
तराई-मधेशका जिल्लामा व्यापाक जनाधार रहेको बताउँदै आएका विमलेन्द्र निधि कांग्रेस सभापतिका पाँच उम्मेदवारमध्ये चौथो स्थानमै सीमित भए, किन?
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको सशक्त उम्मेदवार दाबी गर्दै आएका नेता निधिले जम्मा २५० मत पाए। उनले २२ मत सहित पुछारमा रहेका कल्याण गुरुङ बाहेक कसैलाई जित्न सकेनन्।
धनुषाको नगराइन नगरपालिकाका निधि विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय भएका हुन्। राजनीतिक परिवारमा जन्मिएका निधिका बुबा महेन्द्रनारायण निधि कांग्रेसका महामन्त्री थिए।
पार्टी उपसभापति र उपप्रधानमन्त्री बनिसकेका निधिका निकटहरू उनले सभापतिमा अपेक्षित मत नपाएको बताउँछन्। निधिले आफ्नै गृह प्रदेशको समेत एक तिहाइ मत ल्याउन सकेनन्। प्रदेश २ मा ८ सय ६ मतदाता छन्।
धनुषाका एक जिल्ला प्रतिनिधिका अनुसार, निधिले आफ्नै जिल्लाको समेत मत पाउन सकेनन्। धनुषाबाट मात्रै करीब ६० वटा मत परेको अनुमान छ।
उनी १३औं महाधिवेशनमा शेरबहादुर देउवालाई जिताउन तन, मन र धनले लागेका थिए। लामो समय उनी देउवाको विश्वासपात्रका रूपमा रहे। १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा र निधिको सम्बन्ध सुमधुर रहेन।
निधिले मत नपाउनुका पाँच कारण
निधिले प्रदेश २ बाट कांग्रेसलाई प्रतिनिधित्व गर्ने पुराना नेताहरूलाई महत्त्व दिएनन्। उनले निर्वाचनको तयारी समेत पर्याप्त गरेको देखिएन। आफ्नो प्यानलबाट पदाधिकारी समेत खडा गर्न सकेनन्। सीमित घेरामा रमाउनु उनको कमजोरी रह्यो।
यसअघि साथ दिंदै आएका महेन्द्र यादव, आनन्दप्रसाद ढुंगाना लगायत नेताले साथ छोडेपछि प्रदेश २ मा बलियो जनाधार भएका नेताहरू निधिको साथमा थिएनन्। आनन्द ढुंगानाले भने, “मैले निधि मेरो नेता हो भनेकै हो, तर उनी मेरै विरुद्धमा लागे, त्यसपछि मैले साथ छोडें।”
महेन्द्र यादवले भने आफू शुरूदेखि नै शेरबहादुर देउवाको प्यानलमा रहेको बताए। निधिले देउवाका साथ छोडेपछि कृष्णप्रसाद सिटौला देउवालाई सघाउन पुगे। सिटौलाले महामन्त्री, सहमहामन्त्री र केही केन्द्रीय सदस्यमा आफ्नो पक्षका नेतालाई उठाएका छन्।
कांग्रेसका महाधिवेशन प्रतिनिधि कोमलकान्त झाले महाधिवेशनको पहिलो चरणको चुनावले सत्ताको दुरूपयोग भएको प्रमाणित भएको बताए। उनले भने, “प्रदेश २ बाट समेत निधिलाई कम मत आउनुले सत्ताको दुरूपयोग भएको प्रमाणित गर्छ।”
अर्का महाधिवेशन प्रतिनिधि प्रफुल्लराज घिमिरेले प्रदेश २ का कांग्रेसीजन पद र अवसरको लोभमा लागेकै कारण प्रदेश २ बाट समेत निधिले सोचे अनुरूप मत नपाएको टिप्पणी गरे।
राजनीतिक विश्लेषक रोशन जनकपुरीले कांग्रेसको महाधिवेशनबाट निधि कांग्रेसभित्र मधेश कित्ताको ठूलो नेता रहेको भ्रम टुटेको बताए। उनले भने, “निधि र कांग्रेसीहरूलाई उनी कांग्रेसभित्र मधेशतर्फको खम्बा रहेको भ्रम थियो, जुन भ्रमको पिलर भत्किएको छ।”
मधेशमा अधिकारका लागि भएको आन्दोलनले समेत कांग्रेस महाधिवेशनमा प्रभाव पारेको उनको भनाइ छ। उनले मधेश र मधेश आन्दोलनमा निधिमा कुनै प्रकारको लिगेसी नरहेकाले पनि प्रदेश २ बाट समेत सोचे अनुरूप मत पाउन नसकेको बताए।