‘देउवाजीलाई प्रदेशको परिणामले झस्कायो, म दोस्रो चरणमा पुग्छु’
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश समितिको निर्वाचन परिणामले आफूलाई उत्साहित बनाएको बताएका छन्।
सातमध्ये ६ वटा प्रदेशको परिणाम आइसक्दा पार्टी सभापति शेरबहादुर देउवा कमजोर बनेको उनको दाबी छ। “गण्डकी र लुम्बिनीको निर्वाचन परिणामले सभापतिजीलाई झनै झकझक्याएको छ,” डा. कोइरालाले सोमबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलमा भने, “उहाँ कतिसम्म आत्तिनुभएको छ भने आफ्नै जिल्लामा समेत प्रहरी–प्रशासन लगाएर मात्रै अधिवेशन गराउन सक्नुभयो।”
कांग्रेसको १३औं महाधिवेशन सकिए लगत्तै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागेका डा. कोइरालाले संस्थापन इतरबाट रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र आफूमध्ये एक जना मात्रै उम्मेदवार बन्ने सम्भावना रहेको सङ्केत गरे। “रामचन्द्रजी प्रतिनिधिहरूलाई फोन गर्नुस्, तपाईं बलियो हुनुहुन्छ भने म छोड्न तयार छु भनेको छु,” डा. कोइरालाले भने, “केही न केही मापदण्ड त हुनुपर्यो नि!”
कार्यक्रममा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेता गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, सरिता प्रसाईं, शोभाकर पराजुली, पुरञ्जन आचार्य लगायत सहभागी थिए।
डा. कोइरालाको भनाइको सम्पादित अंशः
महाधिवेशनमा लामो समय राजनीति गरेका सक्षम र योग्य साथीहरूलाई हराउने प्रयास भइरहेको छ। धेरै जिल्लाका सभापतिहरू हार्नुभएको छ। बाग्लुङ, कञ्चनपुर, सुर्खेत लगायत जिल्ला सभापति यही मारमा पर्नुभयो। राम्रो मान्छेलाई प्रतिनिधिमै हराए आफू माथि जान पाइन्छ। यस्तो प्रवृत्तिलाई कसरी मिलाउने भन्ने अहिलेको राजनीतिको मुख्य चुनौती हो। यस विषयमा म साथीहरूसँग छलफल गर्नेछु।
अर्को अहिले संस्थापन र इतरको गरेर दुई पक्ष छन् भन्ने गरिन्छ। धेरैले लेख्ने भन्ने चाहिं इतर पक्ष चार गुटमा बाँडिएका छन्। त्यो त संस्थापनमा पनि छ। त्यहाँ पनि एकभन्दा बढीले उम्मेदवारी घोषणा गरेका छन्। संस्थापनबाट शेरबहादुर देउवा, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले उठ्छु भन्नुभएको छ। हामी मात्रै होइन उहाँहरू पनि विभाजित हुनुहुन्छ।
शुरूआतमा कृष्णप्रसाद सिटौलाजी सहित हामी सात-आठ जना छलफलमा थियौं। सिटौलाजीले बिस्तारै टीम परिवर्तन गर्नुभयो। उहाँ देउवा समूहमै सक्रिय हुनुहुन्छ।
प्रदेश १ मा दुई भोटले हार्यौं। त्यहाँ हामी कमजोर भएर हारेका होइनौं। अव्यवस्थापनका कारण हारेका हौं। निर्वाचन समितिले नै मलाई, सुजाताजी र बलबहादुरजीलाई फरक फरक कुरा भनिदियो। जसले गर्दा त्यहाँ केही गडबड भएकै छ। निर्वाचन समितिका प्रमुखले नै दुई थरी कुरा गर्नुभयो।
प्रदेश २ को चुनाव नै स्थगित भयो। प्रदेश २ को कसरी अगाडि बढ्छ भन्न सक्ने अवस्थै छैन। बागमतीका प्रदेशका साथीहरूसँग कुराकानी भइरहेको छ।
गण्डकी प्रदेशमा हामीले राम्रैसँग जित्यौं। लुम्बिनी प्रदेश बालकृष्ण खाँणजीको गृहजिल्ला हो। त्यो प्रदेशमा पनि हामीले राम्रैसँग जित्यौं।
कर्णाली पनि हाम्रो राम्रै छ। सुदूरपश्चिममा पहिला पनि हाम्रो राम्रो होइन। तर, विगतभन्दा पक्कै राम्रो भएको छ। समग्रमा हाम्रो अवस्था राम्रो छ।
रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र मेरो बीचमा पर्याप्त छलफल भएको छ। हामीले यति धेरै छलफल गर्यौं कि कहिलेकाहीं त दिक्क पनि लाग्छ।
शुरूआतमा कृष्णप्रसाद सिटौलाजी सहित हामी सात-आठ जना छलफलमा थियौं। सिटौलाजीले बिस्तारै टीम परिवर्तन गर्नुभयो। उहाँ देउवा समूहमै सक्रिय हुनुहुन्छ।
मेरो टीम युवाहरूको टीम हुनेछ। रामचन्द्रजी र शेरबहादुरजीले धेरै दुःख गर्नुभएको छ। धेरै भोटो फटाउनुभएको छ। उहाँहरूलाई त सम्मानित ठाउँमा पुर्याउने हो।
हामी चार जना एक ठाउँमा भयौं भने शेरबहादुरजीलाई पूरै चुनौती दिन सकिन्छ। त्यसकारण उहाँ पनि ढुक्क हुन सकिरहनुभएको छैन। उहाँ पनि चिन्तित हुनुहुन्छ। गण्डकी र लुम्बिनीको निर्वाचन परिणामले उहाँलाई झनै झकझक्याएको होला। उहाँ कतिसम्म आत्तिनुभएको छ भने आफ्नै जिल्लामा प्रहरी-प्रशासन लगाएर मात्रै अधिवेशन गराउन सक्नुभयो।
जिल्ला सभापतिहरूसँग पनि उहाँको सम्पर्क छैन। प्युठानमा जिल्ला सभापतिमा जित्नका लागि ५३० मत चाहिन्थ्यो। हाम्रो पक्षका उम्मेदवारले ५२९ भोट पाएपछि देउवाजीका मान्छेहरू तोडफोडमा उत्रिए। प्रहरीले रबर बुलेट चलाउनुपर्यो। अश्रुग्यास छर्नुपर्यो। प्रहरी घाइते भए। निर्वाचन सम्पन्न गर्न प्रमुख जिल्ला अधिकारीलाई लैजानु परिरहेको छ। यसको मतलब उहाँलाई पनि थाहा छ, आफू सुरक्षित छैन भन्ने कुरा।
महाधिवेशन आउन एक हप्ताभन्दा कम समय छ। रामचन्द्रजी प्रतिनिधिहरूलाई फोन गर्नुस्, तपाईं बलियो हुनुहुन्छ भने म छोड्न तयार छु भनेको छु। केही न केही मापदण्ड त हुनुपर्यो नि!
प्रकाशमानजी र शशांकसँग पनि मेरो कुराकानी भइरहेको छ। शशांकले मलाई समर्थन गर्छ भन्नेमा विश्वस्त छु।
मेरो टीम युवाहरूको टीम हुनेछ। रामचन्द्रजी र शेरबहादुरजीले धेरै दुःख गर्नुभएको छ। धेरै भोटो फटाउनुभएको छ। उहाँहरूलाई त सम्मानित ठाउँमा पुर्याउने हो।
मलाई भेट्न आएका प्रतिनिधिहरूलाई तपाईंहरूले नउठ भनिदिनुस् म छोड्छु पनि भनेको छु। त्यसो भन्नुभयो भने म खुशी हुन्छु, मेरो टाउको हलुङ्गो हुन्छ भनेको छु। मकहाँ आउने सबैले तपाईं नै उठ्नुपर्छ भनिरहनुभएको छ। शशांककहाँ गएर तपाईं उठ्नुस् भन्नुहुन्छ। रामचन्द्र जानुहुन्छ, तपाईं नै उठ्नुस् भन्नुहुन्छ।
१४औं महाधिवेशन २४ मंसीरमा शुरू हुँदै छ। त्योभन्दा पहिले नै हामी चार जनाले टुङ्गो लगाइसक्नुपर्नेछ। टुङ्गो लागेन भने म चुनाव लड्ने हो। म चाहिं दोस्रो चरणमा पुग्छु भन्नेमा विश्वस्त छु। त्यसमा कुनै शङ्का छैन।