कांग्रेस बागमतीको सभापतिमा बानियाँको उम्मेदवारी घोषणा
![कांग्रेस बागमतीको सभापतिमा बानियाँको उम्मेदवारी घोषणा](https://www.himalkhabar.com/uploads/posts/800X600/Indra-Baniya-1608451268_1638515412.jpg)
नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले उम्मेदवारी घोषणा गरेका छन्।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी बानियाँले प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव लड्न लागेका हुन्।
उनको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेदवार रहेका छन्।
यसअघि, बिहीबार जगदीश नरसिंह केसीले बागमती प्रदेश सभापतिका लागि प्यानल सहित उम्मेदवारी घोषणा गरेका थिए।
उनको प्यानलबाट उपसभापतिमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा कञ्चनबादे श्रेष्ठ र माइकल रामचन्द्र अर्याल उम्मेदवार छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बन्न लागेका हुन्।
त्यस्तै, पूर्व मन्त्री भीमसेनदास प्रधानले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको पक्षबाट उम्मेदवार बन्न लागेका हुन्।