पालाे इन्टरनेट कूटनीतिकाे
मानिसका हरेक क्रियाकलापमा इन्टरनेटको प्रयोग अत्यावश्यक भइसकेकाले कूटनीतिक क्षेत्रमा यसको आवश्यकता अझ बढेको छ।
सन् १७७६ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र घोषणा हुँदा अमेरिकाकै दक्षिणी भागमा त्यो खबर पुग्न एक हप्ताभन्दा बढी समय लागेको थियो। तर, सन् २००८ मा कोसोभो स्वतन्त्रताको खबर संसारभर फैलिन केही मिनेट पनि लागेन।
सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले आधुनिक समाजको आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रको परिवर्तनमा महत्वपूर्ण योगदान दिएको सबैलाई विदितै छ। सूचनाको सहज पहुँच र यसको नियन्त्रणले नै बहुसरोकार तथा बहुआयामिक प्रकृतिको कूटनीतिक सेवालाई बढी प्रभावकारी बनाउन मद्दत गर्न सक्दछ।
वास्तवमा, सूचना तथा सञ्चार प्रविधिको विकासले कूटनीतिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ। विशेषगरी इन्टरनेटमा आधारित प्रविधिले कूटनीतिक वातावरण र यस क्षेत्रमा प्रयोग हुने सबै परम्परागत उपकरण तथा साधनको क्रमिक रूपान्तरण गर्दै लगेको छ।
कूटनीतिज्ञले गर्ने प्रमुख काम जस्तैः सूचना संकलन, प्रशोधन, विश्लेषण, प्रवाहका साथै विभिन्न छलफल, बहस तथा सार्वजनिक समारोहमा देशको प्रतिनिधित्व गर्ने जस्ता क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगले प्रभावकारी परिवर्तन ल्याएको छ। यही महत्वलाई बुझेर ‘यूएन वर्ल्ड समिट २००५’ ले ल्यापटप र इन्टरनेटलाई कूटनीतिक औजारको मान्यता दिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा सूचनाको प्रवाहलाई कूटनीतिको सार वस्तुको रुपमा लिइन्छ। मानिसको सबै क्रियाकलापमा इन्टरनेटको प्रवेशले गर्दा कूटनीतिक क्षेत्रमा पनि यसको प्रयोगको आवश्यकता अझ बढेको छ।
अहिले वैदेशिक सेवाको मुख्य क्रियाकलापको रुपमा ‘इन्टरनेट कूटनीति’को विकास भएको छ। प्रायः सबै देशका विदेश मन्त्रालयले आफ्नै ‘वेबसाइट’ मार्फत विभिन्न सूचना प्रवाह गर्दछन्। जबकि आजभन्दा करीब २५/३० वर्ष पहिले कुनै देशबारे बुझ्न विभिन्न कृति, किताब तथा अखबारबाट सूचनामा मात्र भर पर्नु पर्थ्याे।
अहिलेका कूटनीतिज्ञ आफ्नै कार्यालयमा बसेर ‘वेब सर्च’ गरी चाहेको सूचना तुरुन्तै प्राप्त गर्न सक्छन्। र, म्यासेजिङ तथा इमेल मार्फत कुनै पनि ठाउँमा सूचना आदान–प्रदान गर्न सक्दछन्।
हुलाक सेवाबाट शुरू भएको कूटनीति र आफ्नो देशको सन्देश सम्बन्धित देशमा पुर्याउने भूमिका मात्र भएका कूटनीतिज्ञले अहिले सूचना तथा सञ्चार प्रविधिको प्रयोगद्वारा निर्णयकर्ता, सम्झौताकर्ता तथा सञ्चारकर्मीको रुपमा आफ्नो भूमिका विस्तार गर्न सकेका छन्।
अहिले वैदेशिक सेवाको मुख्य क्रियाकलापको रुपमा ‘इन्टरनेट कूटनीति’को विकास भएको छ। प्रायः सबै देशका विदेश मन्त्रालयले आफ्नै ‘वेबसाइट’ मार्फत विभिन्न सूचना प्रवाह गर्दछन्।
एक सक्षम कूटनीतिज्ञले सूचनाको सदुपयोग गर्नु भनेको गहना व्यापारीले काँचो हिरालाई आफ्नो सीप प्रयोग गरी सुन्दर तथा आकर्षण मणि तयार गरे जस्तै हो। सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत गरिने कूटनीतिज्ञको कामलाई सूचना संकलन प्रशोधन र वितरण गरी तीन तहमा हेरिनु उपयुक्त हुन्छ।
पहिलो, प्रवाह हुने थुप्रै सूचनामध्ये उपयुक्त तथा महत्वपूर्ण सूचना मात्र संकलन गरी सूचनाको सागरबाट आवश्यक सूचनाको पहिचान गर्न सक्नुपर्दछ।
आफ्नै विशेष भौगोलिक अवस्थितिका कारणले पनि नेपालले सामरिक प्रतिरक्षा सम्बन्धी कूटनीतिमा खासै ध्यान दिनुपर्ने देखिंदैन। त्यसैले कूटनीतिक सम्बन्ध भएका देशहरूमा आर्थिक कूटनीतिमा विशेष जोड दिनुका साथै वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा एवम् कल्याणकारी काममा बढी केन्द्रित हुनुपर्ने देखिन्छ र त्यसै अनुसारको सूचना संकलन गरिनुपर्दछ।
सूचना प्रशोधन गर्ने दोस्रो तहको कार्यलाई पनि महत्वपूर्ण मानिन्छ। प्रशोधित सूचनाको उपयुक्त छनोटबाट नै कूटनीतिज्ञले आफ्नो लक्षित उद्देश्य तथा वस्तु स्थितिको बृहत्तर चित्रण गर्न सक्दछ। सूचनाको उपयुक्त छनोट गर्न सक्नु एउटा कला हो। जुन वर्षौको अभ्यासपछि मात्र प्रभावकारी रूपमा सम्पन्न गर्न सक्दछ। यस क्रममा एउटा प्रचलित ‘८०/२० नियम’ ध्यानमा राख्नु उपयुक्त हुन्छ। यो नियम अनुसार, ८० प्रतिशत उपयोगी सूचना २० प्रतिशत सामग्रीबाट उपलब्ध हुन्छ भने २० प्रतिशत उपयोगी सूचना ८० प्रतिशत सामग्रीबाट प्राप्त हुन्छ।
कूटनीतिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको तेस्रो तह भनेको सूचना प्रवाह गर्नु हो। परम्परागत तरिकाले कूटनीतिक माध्यम प्रयोग गरी गरिने साधारण डाँक, टेलेक्स तथा टेलिग्राफ सेवा पनि अझै विद्यमान छन्। तर, इन्टरनेट प्रविधिले सूचनाको छिटो, छरितो र प्रभावकारी सम्प्रेषण सम्भव बनाएको छ।
दुतावासहरूले गर्ने नियमित काम, कम संवेदनशील प्रकृतिका कूटनीतिक पत्राचार, प्रेस विज्ञप्ति, मिडिया परामर्श जस्ता काममा इन्टरनेटको प्रयोग बढी उपयुक्त हुन सक्छ।
कूटनीतिमा सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ भन्ने कुरा संयुक्त राज्य अमेरिकाको सूचना चुहावट सम्बन्धी एडवार्ड स्नोडेन काण्ड र केही समय अगाडि मात्र अमेरिकी सेनाको फेसबूक र ट्वीटर अकाउन्ट ‘ह्याक’ भएको घटनाका उदाहरण काफी छन्। तसर्थ सूचना व्यवस्थापनको संवेदनशीलतालाई अत्यन्त होसियारीपूर्वक सम्हाल्नुपर्ने हुन्छ।
२१औं शताब्दी सूचनाको युग हो। परम्परागत सेवालाई इन्टरनेट प्रविधिले प्रतिस्थापन गर्दै लगेको छ। डिजिटल हस्ताक्षर जस्ता प्रविधिको प्रयोगले नवीनतम प्रविधिमा आधारित सूचना प्रवाहमा अपेक्षित सुरक्षा र गोपनियताको प्रत्याभूति गराएको छ। तसर्थ कूटनीतिक क्षेत्रले पनि आफ्नो हरेक काममा चुस्त दुरुस्त रहनको लागि सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गर्नु वाञ्छनिय हुन्छ।
(गुरुङ सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व सदस्य सचिव हुन्।)