कुखुरा भुत्ल्याउने कामदेखि युनिसेफको अवार्डसम्म
![कुखुरा भुत्ल्याउने कामदेखि युनिसेफको अवार्डसम्म](https://www.himalkhabar.com/uploads/posts/800X600/248425801_618208296030478_5249907826919003935_n_1635256704.jpg)
बाल दिवसको तयारी र प्ला कार्डका नारा झूटा छन्। यी फगत शब्दको भार मात्र हुन्। ‘शिक्षा हाम्रो ज्योति हो।’ ‘छोराछोरी बराबर।’ ‘बाल दिवस सफल पारौं।’ यस्ता नाराले पढ्नबाट वञ्चित हजारौं बालबालिकालाई गिज्याए जस्तै लाग्यो उनलाई।
३ भदौ २०७४ मा मुगुको प्रकाश माध्यमिक विद्यालयमा राष्ट्रिय बाल दिवसको भव्य तयारी भइरहेको थियो। शिक्षक तथा अतिरिक्त क्रियाकलापका संयोजक राजेशप्रसाद खत्री भोलिपल्ट आयोजना हुने बाल दिवसको तयारीमा जुटेका थिए। उनको काम विद्यार्थीलाई नृत्य सिकाउनु थियो। उनले हरेक कार्यलाई रचनात्मक बनाउन बाल दिवसको प्ला कार्ड बनाए, नाराहरू लेखे, नाचगान तयार पारे। खत्री पेशाले शिक्षक भए पनि एउटा लघु चलचित्र निर्देशन गरिसकेका थिए।
दिनभरिको तयारीले थाकेका उनी विद्यालयको बार्दलीमै बसेर चिया पिउँदै आँखा डुलाउँदै थिए। उनको नजर पर्यो, एउटा बुख्याँचामा। त्यही समय उनलाई लाग्यो– यस ठाउँका बालबालिकामा र बुख्याँचामा के फरक छ र ? आखिर दुवै आवाज विहीन छन्।
“त्यहाँका बालबालिकाले बुख्याँचा जस्तै आफ्नो भावना भन्न सक्दैनन्, आफ्नो अधिकारको प्ला कार्डमै सीमित छन्,” खत्रीले फिल्मको रचनागर्भ सुनाउँदै भने, “मुगुका थोरै बालबालिकाले मात्रै विद्यालय जान पाएर आफ्नो रुचि अनुसार केही काम गर्न पाएका छन्।”
यही सोचले खत्रीलाई त्यस रात निदाउनै दिएन। उनलाई लाग्यो, बाल दिवसको तयारी र प्ला कार्डका नारा झूटा छन्। यी फगत शब्दको भार मात्र हुन्। ‘शिक्षा हाम्रो ज्योति हो।’ ‘छोराछोरी बराबर।’ ‘बाल दिवस सफल पारौं।’ यस्ता नाराले पढ्नबाट वञ्चित हजारौं बालबालिकालाई गिज्याए जस्तै लाग्यो उनलाई।
![](https://www.himalkhabar.com/uploads/editor/Multimedia/A%20Scarecrow%203%20copy.png)
तब उनलाई यही विषयमाथि फिल्म बनाउन र बालबालिकाको अवस्था, भावनालाई कलाका माध्यमले देखाउने हुटहुटी चल्यो। खत्रीले दिउँसो देखेको बुख्याँचाको ‘थिम’ प्रस्तुत गर्दै, जुलुङ्गो नामक फिल्म बनाउने त्यही रात निधो गरे।
फिल्मले किशोरीहरू शिक्षा पाउनबाट वञ्चित भएको कथा बोल्ने भयो। “यही सत्य कथालाई फिल्मको माध्यम मार्फत संसारभर पुर्याउने आशा थियो,” खत्रीले भने।
खत्रीको निर्देशनमा बनेको यही कथाको चलचित्र अ स्केरक्रो अर्थात जुलुङ्गोले ‘युनिसेफ आइरिस ७५ अवार्ड’ जित्न सफल भएको छ।
११४ देशका १७ सय फिल्ममध्ये १३ मिनेटको यस लघु चलचित्र पहिलो भएको हो। खत्री भन्छन्, “मुगुका बालबालिकाको आवाज देशले सुनोस् भन्ने आशा थियो, अब विश्वले थाहा पाउने भयो। यति ठूलो अपेक्षा गरेको थिइनँ।”
३४ वर्षीय खत्री यो अवार्डको श्रेय आफ्नो शिक्षण पेशालाई दिन्छन्। उनको पहिलो चलचित्र जालगेडी पनि अध्यापन गराउँदै बनाएका थिए। जसमा उनले आफ्नै विद्यार्थीलाई मुख्य पात्रमा अभिनय गराएका छन्। जुन चलचित्रले पनि ‘बर्लिनाले जेनेरेशन सेक्सन बेस्ट सर्ट फिल्म २०१८’ को अवार्ड पाएको थियो।
![](https://www.himalkhabar.com/uploads/editor/Multimedia/A%20scarecrow%20awarded%20feature%20film%20Shooting%20vayeko%20school%2C.JPG)
कुखुरा भुत्लाउने काम...
कुनै समय राजेशका लागि काठमाडौंमा पाइला टेक्नु नै जीवनको एक मात्र उद्देश्य थियो। उनको सो उद्देश्य २०६० सालमै पूरा त भयो, तर उनी काठमाडौंमा रमाउन सकेनन्। उनलाई बुबाले डाक्टर बनाउने सपना सहित अमृत साइन्स क्याम्पससम्म पुर्याएका थिए। तर, यसमा खत्रीको फिटिक्कै रुचि थिएन। आईएस्सीको पहिलो वर्षमा पाँचमध्ये चार विषयमा फेल भए।
उनलाई लाग्यो, आईएस्सी मेरो बुताको विषय होइन। बुबाको सपना लत्याउँदै उनी काठमाडौं छोडेर दाङ पुगे। यही कारण बाबुछोराबीच दुई वर्ष बोलचाल ठप्प भयो।
बुबासँगको खटपटले उनलाई पेट पाल्न धौ–धौ भयो। अनि खत्रीले दाङमा कुखुरा भुत्ल्याउने काम शुरू गरे। तलब थियो, मासिक एक हजार। फ्रेस हाउसमा यही काम गर्दै व्यवस्थान संकायबाट १२ कक्षा पास गरे।
![](https://www.himalkhabar.com/uploads/editor/Multimedia/A%20scarecrow%20Film%20Nirdeshan%20gardai%20director%20Rajesh%20prasad%20Khatri%20%281%29.JPG)
त्यसपछि बल्ल उनलाई आफ्नै घर मुगु पुग्ने बाटो खुल्यो। मुगु पुगेपछि २०६३ सालदेखि रारा डाइनामिक बोर्डिङमा पढाउन थाले। स्कूलले दिने १५ सयको तलबले जीवन धान्न गाह्रो भएपछि उनले पेशा बदले। गैरसरकारी संस्थामा काम गर्दा उनले मासिक तलब २८ हजार पाउन थाले।
कार्यालयको कामले २०६५ सालमा काठमाडौं आउँदै गर्दा हवाईजहाजमा नाटक सिक्न गुरुकुल हिंडेका अपरिचित व्यक्तिसँग खत्रीको भेट भयो। गैरसरकारी संस्थामा काम गरे पनि सिर्जना र सहित्यप्रति उनको भोक कायमै थियो। यही कारण राम्रो तलब र सेवा–सुविधाको जागीर छोडेर खत्री पनि गुरुकुल पुगे।
४५ दिन नाटक सिके, मञ्चन पनि गरे। कार्यशालाको अन्त्यमा गुरु सुनील पोखरेल निर्देशित कर्णाली दख्खिन बग्दो छमा मुख्य पात्र चुनिए। तीन महीना नाटक चल्यो त्यसपछि बेरोजगार भए।
पढ्न छोडेर नाटकमा लागेको भन्दै बुबाको गाली फेरि शुरू भयो। बेरोजगारी र बुबाको गालीले उनलाई पुनः मुगु फर्कायो। मुगु त गए, तर घर पुगेनन्। त्यसैबीच उनको भेट आशिष मल्लसँग भयो। उनीहरू मिलेर ‘कर्णाली नाट्य समूह’ बनाए। समूहले कर्णालीका मुगु, जुम्ला र कालिकोटका गाउँ गाउँ पुगेर सडक नाटक, कचहरी नाटक, फोटो नाटक प्रदर्शन गर्न थाल्यो। दुई वर्षको अन्तरालमा २०० नाटक प्रदर्शन भए। तर, आर्थिक रूपमा समस्या झन् बढ्न थाल्यो। जीवन धान्नका लागि दिएको शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भए। शिक्षण र नाटकको कामलाई निरन्तरता दिए।
![](https://www.himalkhabar.com/uploads/editor/Multimedia/Awarded%20movie%20poster.jpg)
२०७१ को भदौमा चलचित्र कालो पोथीको समूह छायाङ्कनका लागि मुगुमा थियो। निर्देशक मीन भामले खत्रीलाई स्थानीय व्यवस्थापकको भूमिका दिए। “त्यस वेला खुशीको कुनै सीमै रहेन। काम अनुसार प्रोडक्सन म्यानेजरमा बढुवा पनि भयो,” खत्री सुनाउँछन्।
कालो पोथी टीमसँगको अनुभवपछि जालगेडीको स्क्रिप्ट लेख्न बसे। २०७४ मा पढाइरहेकै विद्यालय, विद्यार्थी, शिक्षक र स्थानीयबासीलाई सहभागी गराएर चलचित्र तयार पारे। उनले बनाएका दुवै चलचित्रले दर्जनौं अवार्ड जितिसकेका छन्। खत्री बस्ने ठाउँमा न बिजुली छ, न कम्प्युटर, न त इन्टरनेटको सुविधा नै। तर पनि, उनले बनाएका लघु चलचित्रले विश्वका चर्चित फेस्टिभल चहारेर अवार्ड भित्र्याइरहेका छन्। उनी भन्छन्, “प्राविधिक कुराले मात्र हैन। चलचित्र बनाउन विषयवस्तु नै खरो र बलियो चाहिन्छ।”
यही अठोटले खत्री ठूलो पर्दाका लागि चलचित्र बनाउने तयारीमा लागेका छन्। तर, अध्यापन छोड्ने उनको चाहना छैन। चलचित्रमा पनि मुगुकै कथालाई प्रस्तुत गर्ने उनको अठोट छ।