मानसिक स्वास्थ्य प्रति बेवास्ताले बालबालिकाको ज्यानै जोखिममा
![मानसिक स्वास्थ्य प्रति बेवास्ताले बालबालिकाको ज्यानै जोखिममा](https://www.himalkhabar.com/uploads/posts/800X600/children_1631269512.png)
मानसिक स्वास्थ्यलाई बुझेर वेलैमा सम्बोधन गर्न सकियो भने अकालमै ज्यान गुमाउने बालबालिकालाई जोगाउन सकिन्छ।
कक्षा ५ मा अध्ययनरत ललितपुरको बागमती गाउँपालिका-२, माल्टाका ११ वर्षीय सुवास (नाम परिवर्तन गरिएको) ले दुई वर्षअघि आत्महत्या गरे। परिवारका सदस्य छिमेकीको घरमा टेलिभिजन हेर्न गएको वेला झुण्डिएको अवस्थामा भेटिए। घरमा भेटिएको ‘सुसाइड नोट’मा आफूलाई कसैले माया नगर्ने, विद्यालयमा शिक्षकले पिट्ने, घरमा दाइभाउजूले हेला गर्ने गरेको लेखेका थिए।
“बालसुवोध मनोविज्ञानलाई अभिभावक र समाजले पत्तै पाएको छैन। उनीहरूको मनोदशा बुझेर व्यवहार गर्नुपर्छ। त्यस्तो नहुँदा आत्महत्याका घट्ना हुने गरेका छन्,” मनोचिकित्सक डा.रवि डा.शाक्य भन्छन्।
यस घटनाको अनुसन्धान गरेका महानगरीय प्रहरी वृत्त, चापागाउँका तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवस बस्नेत झुण्डिएको अवस्थामा देख्दा चकित परेको बताउँछन्। “भूइ-तलाको कोठा खोलेर हेर्दा यत्रो बच्चाले कसरी आफैलाई भुण्डयायो होला भनेर अचम्मित भएका थियौं,” बस्नेत सम्झिन्छन्।
परीक्षामा राम्रो अंक नल्याएको भन्दै बुवाआमा तथा शिक्षकशिक्षिकाले गाली गरेको पाइएको उनी बताउँछन्। “घटनाको छानविनका क्रममा सुवासका शिक्षकशिक्षिका र दाइलाई अभद्र व्यवहारमा मुद्धा त चलायौं, तर पछि मात्र थाहा भयो- सुवास मानसिकरुपले पहिल्यैदेखि कमजोर रहेछन्। परिवारले थाहा पाएकै रहेनछ्,” उनी भन्छन्। त्यसपछि प्रहरीले सबैलाई छोडिदियो।
केही महीनादेखि नै सुवास एक्लै बस्न रुचाउने थालेका रहेछन्। त्यो कसैले ख्यालै गरेनन्। “अभिभावक र शिक्षकशिक्षिकाले सुवासको आनीबानी ख्याल गरेर माया र स्नेह देखाएको भए ज्यान जोगिन्थ्यो,” इन्स्पेक्टर बस्नेत भन्छन्।
सुवासको जस्तै बालबालिकाको मनस्थिति कति वेला कस्तो हुन्छ भन्ने एकीन नहुने मनोचिकित्सक डा.रवि शाक्य बताउँछन्। उनी दुई वर्षअघि पाटन अस्पतालमा आएको एउटा घटना सम्झिन्छन्। “१३ वर्षका बालकले विष सेवन गरेका छने, बचाउनै सकिएन्,” उनी भन्छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Miscellaneous/241669981_149462667352976_2860000793508284611_n.png)
उनी थिए, भक्तपुरका कक्षा ५ का विद्यार्थी अमित। विद्यालयबाट आएर रहेक दिन साथीभाइसँग खेल्न निस्कन्थे। त्यो दिन घर फर्किदा अबेर भइसकेको थियो। उनका बुवाले गाली गर्दै ‘यत्ति धेरै राति किन पारिस। अब कुटाइ खान्छस’ भनेको केहीबेरपछि अमितले विष सेवन गरेका थिए।
भक्तपुरबाट पाटन अस्पताल ल्याएको केहीबेरमा उपचार गर्दागर्दै अमितले अन्तिम स्वास फेरेको डा. शाक्य अझै बिर्सेका छैनन्। “बालसुवोध मनोविज्ञानलाई अभिभावक र समाजले पत्तै पाएको छैन। उनीहरूको मनोदशा बुझेर व्यवहार गर्नुपर्छ। त्यस्तो नहुँदा यस्ता घट्ना हुने गरेका छन्,” डा.शाक्य भन्छन्।
कुनै पनि बालबालिकाले आत्महत्या गर्नुअघि केही संकेत दिने गरेको उनी बताउँछन्। “स्वभावमा एक्कासी परिवर्तन वा जिस्केरै भए पनि मरिदिऊ जस्तो लाग्छ भन्ने शब्द बोलेको हुन्छ। तर, अभिभावकले यसलाई सामान्य ठान्छन,” उनी भन्छन्, “यसलाई सामान्य ठान्ने गल्ती गर्नुहुन्न।”
![](https://www.himalkhabar.com/uploads/editor/Health/children_1%20(3).jpg)
यस्तै गल्ती काठमाडौंको धापासीका १४ वर्षीय अशोकको परिवारले पनि गर्यो। १८ जेठ, २०७६ का दिन शिक्षकले पढाइ कमजोर भएको भन्दै उनकी आमासँग सिकायत गर्यो। आमाले पनि गाली गरिन्। त्यसपछि अशोक टोलाउन र चिन्तित देखिन थाले।
कसैले केही वास्ता गरेनन्। त्यसको अर्को दिन १९ जेठमा उनी घरकै शौचालयमा झुण्डिएको अवस्थामा भेटिए। यस घटनाको अनुसन्धान गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईं अशोकले आत्महत्या गर्ला भनेर परिवारजनले नसोचेको बताउँछन्। “बुबाआमाले सामान्य गाली गरेकै भरमा शौचालय जान्छु भनेर गएको छोरा भुण्डिएको देख्दा गम्भीर बनायो,” डीएसपी प्रसाईँ भन्छन्, “बालबालिकाको आत्महत्याका विषयमा गम्भीर भएर सोच्ने वेला भइसक्यो।”
मनोविश्लेषक वासु आर्चाय पनि ज्यान गएपछि कारण खोज्नुभन्दा पहिले नै सोच्नुपर्ने बताउँछन्। आफ्ना छोराछोरीले कहाँ के गरिरहेको छ भन्ने बुझ्नु पर्ने र समसया भए मनोचिकित्सकसँग परामर्श लिनुपर्ने उनको भनाइ छ। ऋाचार्य भन्छन्, “विश्वमा आत्महत्या गर्नेमध्ये ८० प्रतिशतमा मानसिक समस्या भएको पाइएको छ। यसमा बालबलिका पनि पर्छन, तर अभिभावकले यो कुरा स्वीकार्दैनन्।”
प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानका क्रममा बालबालिकाले आत्महत्या गर्ने प्रमुख कारण पारिवारिक मनमुटाव र प्रेम सम्बन्ध देखिएको छ।
नेपालमा पनि बालबालिकाको आत्महत्याको तथ्यांक पनि स्वीर्कानै गाह्रो हुने किसिमको छ। गत पाँच वर्षमा देशभर दुई हजार ४३७ बालबालिकाले आत्महत्या गरेका छन्। यसमा बालक ९६५ र बालिका एक हजार ४७२ छन्।
अझ पछिल्लो एक वर्षको तथ्यांक त अत्यासलाग्दो छ। गत एक वर्षमा ७६४ बालबालिकाले ज्यान गुमाएका छन्। यो तथ्यांकअनुसार, हरेक दिन दुई भन्दा बढी बालबालिकाले आत्महत्या गरेका छन्।
यसमा कोभिड-१९ को महामारीलाई कारण बताउँछन्, नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर। बन्दाबन्दी र निषेधाज्ञामा घरभित्रै सिमित भएर आफ्ना कुरा परिवारमा भन्न नसक्ने, बाहिर कसैसँग भेटघाट नहुने र यहि तनावले परिवारसँग मनमुटाव भएर धेरैले बालबालिकाले आत्महत्या गरेको पाइएको उनी बताउँछन्।
प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानका क्रममा बालबालिकाले आत्महत्या गर्ने प्रमुख कारण पारिवारिक मनमुटाव र प्रेम सम्बन्ध देखिएको प्रवक्ता कुँवर बताउँछन्। त्यससँगै दुर्व्यवहार, मानसिक रोग र आवेग पनि आत्महत्याको कारण बनेको उनी बताउँछन्। कुँवर भन्छन्, “अझ बन्दाबन्दीको समयमा घरभित्रै सिमित हुदाँ धेरै बालकालिका आफन्तबाटै यौन दुव्र्यवहारमा परे। यससँगै पारिवारिक झैझगडा देख्दा र मलाई बुझ्ने कोही छैन भनेर आत्महत्या गरेको पाइएको छ।”
![](https://www.himalkhabar.com/uploads/editor/Health/children_1%20%281%29.jpg)
आत्महत्याको प्रयास भइरहन्छ, रोक्न सकिन्छ
मनोचिकित्सक डा. शाक्यका अनुसार, ८० प्रतिशत मानिसले आत्महत्या गर्नु अघिका आठ दिनमा एक पटक कहिँ कतै संकेत दिएको हुन्छ। अझ बालबालिकामा घरी खुशी हुने, घरी दुःखी हुने, आफ्ना सामान बाड्ने, एक्लै बस्न रुचाउने, चिठ्ठी लेख्ने लगायतका लक्षण देखिने उनी बताउँछन्। यो सबै ख्याल गर्न सकियो भने बालबालिकालाई जोगाउन सकिने डा. शाक्यको भनाइ छ।
यस्तै घटना एक वर्षअघि पाँचथरमा भयो। २५ साउन, २०७७ मा ‘चाइल्ड हेप्पलाइन नेपाल’को मोबाइल एपमा १५ वर्षीया उमाले पाँचथरबाट मेसेज गरिन्, ‘मलाई सहयोग गर्नुहुन्छ भने सहयोग गर्नुस्, हैन भने अब म मर्ने अवस्थामा पुगेको छु।’
सिविन नेपालकी परामर्शदाता हिरादेवी खतिवडा भन्छिन्, “आफू अनुकुलको वातावरण पाएनन् भने बालबालिकाले आफैलाई मार्न सक्छन भन्ने कुरा अभिभावकलाई बुझ्न जरुरी छ।”
तत्कालै सिभिल नेपालले पाँचथर प्रहरी, राष्ट्रिय बाल अधिकार परिषद् र स्थानीय महिला सेलमा खबर पठायो। बलिकाले मेसेज पठाएको स्थानलाई ट्रयाक गर्दै प्रहरी टोली उनको घर छेउको जंगलसम्म पुग्यो। डोरी बोकेको अवस्थामा उनी जंगलमा भेटिइन्।
काठमाडौं ल्याएको एक महीनापछि नातेदारले नै यौन दुव्र्यवहार गरेको र कसैलाई भन्न नसक्दा मर्न खाजेको बालिकाले अनुसन्धानमा संलग्न एसएसपी दुर्गा सिंहलाई बताइन। त्यो कुरा बालिकाको आमावुवालाई जानकारी दिँदा उनीहरू विश्वास नै गरेन। छोरी रिसाउने, झर्कने, घरमा बस्नै नमान्ने, टाढाटाढा हुन खोज्ने गरेको देख्दा किशोरावस्थाको स्वभाव भनेर चुपचाप लगोको उनीहरूले सुनाए। “आमाबुवाको यस्तै लापरबाहीले बालबालिकाको ज्यान फाल्छन्,” अधिवक्ता सागर भण्डारी भन्छन्।
पाँच महीनाअघि यस्तै घटना सुर्खेतमा पनि भयो। निषेधाज्ञा भएको वेला अनलाईन कक्षा लिन सुर्खेतकी १३ वर्षीया सुनिताले बुवासँग मोबाइल मागिन्। त्यतिवेला उनका आमाबुवाबीच ठाकठुक परिरहेको थियो। झगडा चलिरहेकै वेला सुनिताले मोबाइल मागेको माग्यै गरेपछि उनका बुवाले गाली गर्दै थप्पड हाने।
उनी रुँदै आफ्नो कोठामा छिरिन्। घाँटीमा डोरी लगाएर झुण्डिन खोज्दा आमाले देखिहालिन। त्यसपछि आमाले छोरीको जीउ काधँमा उचालिन र बुवाले डोरी काटे। र सुनिताको ज्यान जोगियो।
सिविन नेपालले उनको उद्धार, एक महिनासम्म उपचार र परामर्श दियो। अहिले उनी स्वस्थ छिन्। सिविन नेपालकी परामर्शदाता हिरादेवी खतिवडा भन्छिन्, “आफू अनुकुलको वातावरण पाएनन् भने बालबालिकाले आफैलाई मार्न सक्छन भन्ने कुरा अभिभावकलाई बुझ्न जरुरी छ।”
![](https://www.himalkhabar.com/uploads/editor/Health/children_1%20(2).jpg)
छोराछोरी के गर्दै छन् भन्ने पनि अभिभावकले ध्यान पुर्याउनुपर्ने मनोचिकित्सक बताउँछन्। पढ्दै छ, खेल्दै भनेर बेवास्ता गर्नु नहुने उनीहरूको भनाइ छ।
बालबालिकालाई बुझौं
एक वर्षअघि ललितपुरका उमेशले चक्कुले आफ्नै घाँटी रेट्न खोजे। आमाले देखेपछि तत्कालै अस्पताल लगियो। बालकको ज्यान त जोगियो, तर उनले किन त्यस्तो गरे भन्ने थाहा पाउन आमाबुवालाई ६ महीना लाग्यो। त्यो पनि मनोपरामर्शदाताको सहयोगमा।
आमाबुवाको भगडा देख्दा आफैलाई सम्हाल्न नसक्ने गरेको उनले मनोपरामर्शकर्ता आर्चायलाई बताए। त्यहि कारणले त्यो घटनासम्म डोर्यो। “छोराछाछोरी जतिसुकै स्नेहले हुर्काए पनि उनीहरूको मन बुझ्न नसक्दा समस्या आउँछ,” आचार्य भन्छन्, “मेरा छोराछोरीलाई मैले बुझेको छु भनेर हुँदैन, उनीहरूको साथीजस्तै बन्नुपर्छ।”
मनोचिकित्चसक प्रा.डा.सरोज ओझाका बालबालिकालाई बुझन् राम्रो पारिवारिक वातावरण हुनुपर्ने बताउँछन्। “जब बालबालिकाले राम्रो पारिवारिक वातावरणमा हुर्कन पाउँदैनन्, तब उनीहरुले विकल्प खोज्न थाल्छन्,” ओझा भन्छन्।
बालिबालिकामा देखिने फरक स्वभावलाई उमेरसँग जोड्न नहुने मनोचिकित्सक डा. शाक्य बताउँछन्। “बालबालिका पनि मानसिक रोगी भएर आत्महत्या गर्छन भन्ने सत्य अभिभावकले बुझ्नुपर्छ,” उनी भन्छन्।
विभिन्न अध्ययनले झन्डै २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै मानसिक समस्या हुनसक्ने तथ्याङ रहेको मनोचिकित्सक डा. शाक्य बताउँछन्। परिवार, आफन्त र समाजले यसबारे खुलेर छलफल गर्ने र त्यसको उपयुक्त उपचार खोज्ने हो भने बालबालिकालाई जोखिमबाट बचाउन सकिने उनको निष्कर्ष छ।
बालबालिकालाई आत्महत्याबाट जोगाउन सकिने १० उपाय
- पारिवारिक मनमुटवबाट टाढै राख्ने।
- आफ्ना बालबालिकाको स्वभाव परिवर्तन भए मनोचिकित्सकसँग तुरुन्त परामर्श लिने।
- बालबालिकाले मोबाइल, ल्यापटपमा कस्ता विषयवस्तु हेरिरहेको छ भन्ने ध्यान दिने। प्रेम-सम्बन्धलाई सामान्य रुपमा लिएर कुराकानी गर्ने।
- कोठा थुनेर वा एकान्तमा बस्ने, झर्कने, रिसाउने, सामान तोडफोड गर्ने लगायतका क्रियाकलाप गरिरहेको भए साथीजस्तै बनेर वार्तालाप गर्ने।
- बालबालिकालाई मायालु व्यवहार गर्ने, उनीहरूको मनको कुरा सुनिदिने, काममा सहयोग गरिदिने।
- मानसिक तनावमा देखिएमा ध्यान योगमा सहभागी गराउने र आफुसँग जे छ, त्यसमा सन्तोष लिन सम्झाउने बुझाउने।
- मानसिक समस्याको संकेत पाएमा लुकाएर नराख्ने, अस्पताल लाग्ने। अभिभावकले बालबालिकालाई अरूका अघि यस्ता कुरा लुकाएमा उनीहरूलाई अपराध गरेको महसुस हुनसक्छ।
- बालबालिका हिंसा वा यौन दुर्व्यवहारमा परेका हुनसक्छन्। त्यसबारे सोधखोज गर्ने र बुझ्ने।
- डिजिटल दुनियाका खेलकुद र सामाजिक सञ्जालभन्दा प्राकृतिक क्षेत्रमा घुमफिर र पारिवारिक समय बिताउने।
- एक-दुई पटक आत्महत्याको कोशिस गरेका बालबालिकाले अर्को पटक पनि गर्नसक्ने जोखिम धेरै हुन्छ। उनीहरूको दैनिकीबारे विशेष ख्याल राख्ने।