अन्तर्वार्ता/विचार शुक्रबार, वैशाख २७, २०७६

अचुक औषधिजन्य टोटला

कमल मादेन

बेवास्तामा परेको टोटलालाई बेलैमा चिनेर औषधिका रूपमा प्रयोगको पहल थालिहाल्नुपर्छ।

टोटलाको फल । तस्वीरहरूः कमल मादेन
कमल मादेन

तराई, चुरिया, दुन, मध्यपहाड, उच्चपहाड र हिमाली क्षेत्रमा विभक्त नेपालमा भौगोलिक विषमतासँगै जैविक विविधता अनेक छ । जैविक विविधताकै कारण औषधिजन्य वनस्पति पनि प्रचुर मात्रामा पाइन्छन् ।

तर, भइरहेको के छ भने; यी वनस्पतिबारे हामीलाई असाध्यै थोरै ज्ञान छ । ज्ञान भएका विदेशी औषधि उत्पादन कम्पनीहरू खुरुखुरु हाम्रा वनस्पति लगिरहेका छन् ।

आफ्नै वनस्पतिको गुण नचिनेपछि त्यसको महत्व पनि थाहा नहुने नै भयो । कति मूल्य तोक्ने, निर्यात गर्न दिने, नदिने भन्नेमा पनि अन्योल रहने नै भयो । ज्ञानै नभएका जनतामा त यस्तो समस्या हुने नै भयो, तर हाम्रो विडम्बना, यहाँ त सरकार समेत यसप्रति सचेत छैन । व्यापारीले जे लैजान्छु भन्छन् सरकारलाई कुनै नाइँनास्ति छैन ।

तिनै वनस्पतिमध्ये एक हो, टोटला । तराई, चुरिया र मध्यपहाडी जिल्लामा कम संख्यामा पाइने टोटला महत्वपूर्ण औषधिजन्य वनस्पति हो भन्नेमा अझसम्म हामी बेखबर झैं छौं । हाम्रा औषधिजन्य वनस्पति सम्बन्धी लेखिएका पुस्तक तथा लेखहरूमा पनि टोटलालाई सामान्य औषधिजन्य वनस्पति प्रजातिसम्म मात्र भनिएको छ ।

२०–२५ मिटर उँचाइसम्म पाइने रुखको प्रजाति टोटलाको वैज्ञानिक नाम ओरोजाईलम इन्डिकम हो । यो वनस्पति नेपाल लगायत भारत, चीन, ताइवान, भूटान, कम्बोडिया, इन्डोनेशिया, लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स, थाइल्याण्ड, भियतनाम आदि देशमा पाइन्छ ।

प्रा.डा. द्वय मोहन शिवाकोटी र सीता शिवाकोटी लिखित ‘इथ्नोमेडिसिनल युजेज् अफ प्लान्टस् अमङ्ग द लिम्बू अफ मोरङ डिस्ट्रिक, नेपाल (सन् १९९८)’ लेखमा लिम्बू समुदायले टोटलाको बोक्रा पिंधेर यसको धूलो गहिरो घाउ, पोलेको ठाउँ र बिमिरा निको पार्न प्रयोग गर्छन् भन्ने लेखिएको छ ।

टोटलालाई भारतमा श्योनाक भनिन्छ । गुगल सर्च इन्जिनमा श्योनाक शब्द खोजे यसबारे दर्जनौं जानकारी भेटिन्छन् । यूट्यूबमै पनि प्रशस्त जानकारी मिल्छ । तर, टोटला मात्र लेखेर ‘सर्च’ गर्ने हो भने एकाधवाहेक खासै उपयोगी सामग्री पाइँदैन ।

एम गोखले र वाई के वंशल लिखित ‘एन एभोवल अफ इम्पोर्टेन्स अफ इन्डेन्जर्ड ट्री ओरोजाईलम इन्डिकम’ (सन् २००५) लेखमा भारतमा औषधि उद्योगले टोटला प्रयोग गरिरहेको उल्लेख छ । लेखमा सन् २००५ ताका टोटलाको बोक्रा, फल, जरा, हाँगा आदि प्रति केजी भारु ९ मा खरीद हुने गरेको लेखिएको छ ।

हामीकहाँ भने टोटलाको मूल्य प्रतिकेजी रु.३ मै सीमित छ । लेखकद्वय भने यसबाट उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारमा प्रति केजी रु.५ लाखमा बिक्री हुने दाबी गर्छन् ।

टोटलाको फल ४० देखि १२० सेन्टिमिटर लम्बाइ र ५ देखि ९ सेन्टिमिटर चौडाइसम्मको तरबारको दाप आकारको हुन्छ । फलको आवरण काठ जस्तै कडा हुन्छ । पुस्तकमा जेठदेखि भदौसम्म फुल्ने भनी लेखिएको टोटला कात्तिकमा पनि फुलेको देखिएको छ । फूलको आकार भने हत्केला जत्रै, करीब १४ सेन्टिमिटरसम्म लामो हुन्छ ।

राति फुल्छ, दिनमा झर्छ
टोटलाको फूल दिनमा हम्मेसी बोटमा अडिंदैन । राति फुलेर बिहान झिसमिसेसम्म झरिसक्छ । कुनै कुनै बेला राति ढिलो फुलेको भए चाहिं उज्यालोमा देखिन्छ ।

टोटलाको फूल

‘फ्लोरल एण्ड फेनोलोजिकल स्टडिज् अन ओरोजाईलम इन्डिकम इन सिक्किम’ (सन् २०१६)’ लेखमा वनस्पतिविद् विष्णु शर्मा टोटलाको फूल राति ८ देखि ९ बजेसम्म फुल्ने र बिहान ३ देखि साढे ४ बजेसम्ममा झरिसक्ने बताउँछन् । बेलुकी ९ बजेदेखि ११ बजेसम्म फूलमा चमेरा लगायत कीटपतङ्ग अत्यधिक झुम्मिने तर गाढा प्याजी रङको आवरणपत्रले गर्भाशय जोगाइराख्ने उक्त लेखमा उल्लेख छ ।

हल्का पहेंलो र कुनै नौनी रङको फूलको पुष्पपत्र र त्यसमा टाँसिएको भाले प्रजनन अंग पुंकेसर एकैचोटि खस्दोरहेछ । यसको पाँच वटा पुंकेसर जोड्दा करीब ६ सेन्टिमिटर जति लामो हुन्छ भने स्त्रीकेसर एउटै ७ सेन्टिमिटरसम्म लामो हुन्छ । जुन पुष्पपत्र झरेपछि केही नुहिएको अवस्थामा देखिन्छ ।

विरलै भेटिने टोटलाको बीउ फागुनतिर बोटको फेद वरिपरि देख्न सकिन्छ । पातलो गोलाकार बीउको मध्यभागलाई नौनी रङको कागज जस्तो वस्तुले ढाकेको हुन्छ, जुन ६ सेन्टिमिटर लामो र ४ सेन्टिमिटर चौडाइसम्म फैलिएको हुन्छ । यो बीउ उड्दै टाढा टाढासम्म पनि पुग्छ ।

जन्डिस, ज्वरो र अनियमित महीनावारीमा अचुक
गएको वर्ष, सुनसरीको रामधुनी नगरपालिकास्थित पञ्चायन झोडामा रहेको एउटा टोटलाको रुखबाट झरेको फूल संकलन गर्न आक्कलझुक्कल एक अपरिचित व्यक्ति झिसमिसेमै आउने गरेको सुनेको थिएँ । बुझ्दा ती व्यक्ति वैद्य रहेछन् । तर, उनले यो फूलबाट केको उपचार गर्छन् भन्ने चाहिं थाहा पाउन सकिएन ।

बौद्ध धर्मावलम्बीमा टोटलाको बीउको माला उनेर घरमा राखे शुभ हुने मान्यता छ । यसबाट तनाव, चिन्ता कम हुने र दुष्ट आत्मा आउन नसक्ने जस्ता विश्वास गरिन्छ ।

टोटलाको बोक्राको रस र खाने कपुर जन्डिस उपचारमा अचुक मानिन्छ । कपुर दुई–तीन मिलिग्राम (चनाको दानाजत्रो) खाएपछि टोटलाको रस सेवन गर्नाले तीन दिनपछि जन्डिस हट्ने बताइन्छ । सुनसरीका केही वैद्यले पनि टोटलाको बोक्रा जन्डिस उपचारका निम्ति प्रयोग गर्छन् ।

टोटला हेपाटाइटिस बी र सीको उपचारमा पनि उपयोगी हुने बताइन्छ । टोटलाको बीउ चपाए ज्वरो कम हुने भनाइ पनि छ । महीनावारी नियमित नभए, पीडा भएमा पनि टोटला सहयोगी मानिन्छ ।

टोटलाको बीउ

भारतमा विभिन्न आदिवासी समुदायले टोटला (श्योनाक) प्रयोग गर्ने गरेको विभिन्न अध्ययनबाट पुष्टि हुन्छ । आयुर्वेदिक औषधि कम्पनी पतञ्जलिका बालकृष्ण आचार्यले श्योनाकका उपयोगिताबारे बोलेको कुरा ‘आयुर्वेदिक युज इन्डिया ट्रम्पेट ट्री’ शीर्षकमा यूट्यूबमा पनि उपलब्ध छ।

वन नियमावली २०५१, पाँचौं संशोधन २०७२ मा टोटलालाई जडीबुटीजन्य वनस्पति मानिएको छ । नियमावलीमा फूल/टोटला संकलन दस्तुर पनि तोकिएको छ । यसले हाम्रा भूमिमा भएका टोटलाका फूल औषधिजन्य वस्तुको रुपमा संकलन र निकासी हुन्छ भन्ने प्रष्ट हुन्छ ।

टोटलाका लाभबारे अब आमजनमा जानकारी हुनु आवश्यक छ । सीमित भूगोल, जातिबाट यस सम्बन्धी उपयोगको ज्ञान फैलाउनुपर्ने भएको छ । बहुउपयोगी यो वनस्पति संरक्षणका लागि पहल गर्नुपरेको छ ।

व्यावसायिक रुपमा यसको खेती गर्नेतर्फ पनि सोच्न सकिन्छ । यसका लागि स्थानीय तहको सरकारले नेतृत्वदायी भूमिका खेल्न सक्छ ।

प्रतिकृया दिनुहोस