टिप्पणी बुधबार, वैशाख २५, २०७६

बाटो बिराएको बौद्ध समाज

वसन्त महर्जन

शिष्टता, करुणा, अहिंसा बौद्घ धर्मदर्शनका आधारशिला हुन्, यस विपरीत कतिपय सम्प्रदायका अपाच्य क्रियाकलापले सिंगो धर्मप्रति नै नकारात्मक सन्देश जान सक्छ।

मत्स्येन्द्रनाथ रथयात्रा, दोलखा । तस्वीरः वसन्त महर्जन
वसन्त महर्जन

बौद्ध धर्म सम्बन्धी साँस्कृतिक अवसरमा नियम र अनुशासन पालना सामान्य शर्त हुन् । अन्य अवसरमा जतिसुकै रामरमाइलो गरिए पनि बौद्ध कार्यक्रममा शिष्टता अपनाइन्छ । तर, नेपाली समाजमा यस्तो बौद्ध सभ्यताको अभाव छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा हेर्न वैशाखको पहिलो साता काठमाडौं उपत्यकाबाट बौद्ध समुदायका व्यक्तिहरू दोलखा पुगेका थिए । तीमध्ये केही युवा साँझ् एउटा होटलमा मदिरापानपछि बेहोशी अवस्थामा नाचगान गरिरहेका थिए । त्यो दृश्यलाई झट्ट टिप्पणी गर्दा व्यक्तिगत स्वतन्त्रता भन्न त सकिएला, तर त्यसलाई धार्मिक प्रश्नबाट अलग्याएर हेर्न सकिंदैन ।

काठमाडौंको जनबहाःस्थित आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ) र ललितपुरको तःबहाः र बुङमतीमा गरी ६/६ महीना राखिने रक्तावलोकितेश्वर (रातो मत्स्येन्द्रनाथ) को प्रत्येक वर्ष रथयात्रा गरिन्छ ।

ललितपुरकै सिको गरेर दोलखामा वि.सं. १५७५ मा तत्कालीन राजा नन्ददेव सिंहले रथयात्रा चलाएका थिए, जसले अहिलेसम्म निरन्तरता पाइरहेको छ । चैत्र पूर्णिमादेखि मनाइने यो जात्रा गएको ६–१४ वैशाखमा सम्पन्न भयो ।

मत्स्येन्द्रनाथको रथयात्रालाई दोलखाको स्थानीय भाषामा ‘बंगदेउजात्रा’ भनिन्छ । तर, यो काठमाडौंको नेवार समाजमा प्रचलित ‘बुंगद्यःया जात्रा’ (बुङमतीस्थित देवताको जात्रा) कै बोलीको भेद मात्र हो ।

काठमाडौं उपत्यकाका दुवै रथयात्रामा पनि खानपान र रमाइलो त गरिन्छ । तर, दोलखाको दृश्यले बौद्ध परम्पराबाट प्रश्न उठाउनुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा गौतम बुद्ध (इसापूर्व ५६३–४८३) को जीवनकालमै बौद्ध धर्मको प्रवेश भइसकेको बौद्ध साहित्यबाट थाहा हुन्छ । यस आधारमा लामो समयदेखि बौद्ध धर्मले निरन्तरता पाइरहेका थोरै ठाउँमध्ये काठमाडौं उपत्यका पनि हो ।

तर, यहाँको रहनसहन देखेर १९औंं शताब्दीतिर थोमस विलियम, रिज् डेविड्स लगायतका पश्चिमा बौद्ध विद्वान्हरूले ‘विकृत बौद्ध धर्म’ भनेको प्रसंग सोचनीय छ ।

खासगरी वज्रयान सम्प्रदायको अभ्यासले बौद्ध धर्मको मर्ममा प्रहार गरेको छ । वज्रयान बौद्ध धर्मको एउटा तान्त्रिक सम्प्रदाय हो । बौद्ध दार्शनिकहरू नै यसको कठोर आलोचक छन् ।

काठमाडौं उपत्यकामा गौतम बुद्धभन्दा अघि नै वज्रयानी बौद्ध धर्म रहेको र यसको उत्पत्ति पनि यहींबाट भएको भनी कतिपय बौद्धहरूले नै कथा हालेका छन् ।

तर, ऐतिहासिक अभिलेखमा वज्रयान बौद्ध सम्प्रदायको शुरूआत पाँचौं शताब्दीको आरम्भतिर भारतको गुन्टुर जिल्लाको श्रीपर्वतबाट भएको उल्लेख छ । वज्रयान अघि अन्य सम्प्रदाय तथा उप–सम्प्रदायको उदय तथा विलय भएको बौद्ध इतिहासमा देखिन्छ ।

कुनै समयमा भित्रिएका विकृतिलाई परम्परा भन्दै यथावत् राख्नुभन्दा त्यसमा सुधार गर्दै लैजानु विवेकी काम हो । धर्मको अभ्याससँगै साँस्कृतिक जात्रा एवं पर्व पनि बौद्ध धर्मदर्शन सुहाउँदो परिमार्जन गर्दै लगे सर्वसाधारणको जीवनशैली पनि सोही अनुरूप हुँदै जान्छ ।

सामान्यतया महायानमा तन्त्र र मन्त्रको प्रयोग हुनुलाई नै वज्रयानको उदय मानिन्छ । पछि बङ्गाल क्षेत्रमा यसको व्यापक विकास भयो, र त्यहींबाट यो सम्प्रदाय वा अभ्यास काठमाडौं उपत्यकामा भित्रिएको बुझ्न्छि ।

वज्रयानी अभ्यासमा पञ्च मकार (मद्य, मांस, मत्स्य, मुद्रा, मैथुन) लाई सहज रूपमा लिइन्छ, र यसैको आधारमा समाजमा मदिरा, माछामासु आदिलाई स्वीकारिएको छ । तर, तान्त्रिक दुनियाँमा पञ्च मकारको बेग्लै अर्थ लाग्ने र पछिल्ला वज्रयानीहरूले आफू अनुकूल व्याख्या गरेर बौद्ध धर्मलाई भड्खालोमा पारेको आक्षेप लगाइन्छ ।

वज्रयानी बौद्धहरूको मार्गदर्शनको रूपमा रहेको ‘नवग्रन्थ’ ले त्याज्य भनेका कतिपय कुरा समेत वज्रयानी समाजमा स्वीकृत छन् । समस्त प्राणीप्रति करुणा भाव राख्नुपर्ने आदर्श बोकेको बौद्ध धर्मका वज्रयानी पुरोहितहरू भने यजमानको घरमा कुन पशुबलिमा कुन मन्त्र पढ्ने भन्ने पुस्तक बोकेर हिंड्छन्, जुन विकृतिको हद हो । करुणाको पर्याय मानिने करुणामयको रथयात्रामा पनि रथका चार पाङ्ग्रालाई भैरवको रूप मानेर पशुबलि दिइनु विकृतिलाई संस्थागत गर्नु हो ।

काठमाडौंमा बौद्ध धर्मको थेरवाद सम्प्रदायको प्रवेश राणाशासनकालमा भएको हो । यसपछि वज्रयानी समाजका कतिपय विषयमा आएका सुधारलाई थेरवादकै देन मान्न सकिन्छ ।

कुनै समयमा भित्रिएका विकृतिलाई परम्परा भन्दै यथावत् राख्नुभन्दा त्यसमा सुधार गर्दै लैजानु विवेकी काम हो । धर्मको अभ्याससँगै साँस्कृतिक जात्रा एवं पर्व पनि बौद्ध धर्मदर्शन सुहाउँदो परिमार्जन गर्दै लगे सर्वसाधारणको जीवनशैली पनि सोही अनुरूप हुँदै जान्छ ।

बुद्धको दर्शन अनुसार होशपूर्वक जिउनुको साटो मदहोश भएर बौद्ध धर्मको धज्जी उडाउँदा दुनियाँको आँखामा नेपाली बौद्ध समाजको नराम्रो छवि बन्नेतर्फ सजग हुनुपर्छ । 

प्रतिकृया दिनुहोस