नामको हिसाब
मलाई थाहा छ, मेरो अस्तित्व रहुन्जेल जुन नामले म यो स्मृति लेखिरहेको छु त्यही नाममा बाँच्नेछु। मेरो वरिपरि त्यही नाम गुञ्जिनेछ।
जिन्दगीको यो उकालोसम्म आइपुग्दा मैले धेरै नामको सामना गरिसकेको रहेछु। ओहो ! कसरी बोकेँ हुँला त्यति धेरै नामको भारी? कहिले र कुन मितिमा, कसरी बिसाएँ होला नामहरूका ती बोझ? र, अब त मसँग केवल एउटै नाम छ। त्यही नामलाई चम्काउने ध्याउन्नमा छु। साहित्य लेख्छु, पत्रकारिता गर्छु, यही एक नामका खातिर।
धेरै पटक, धेरै मानिसले, धेरै ठाउँमा मानेको आश्चर्य– आखिर नाममा के छ र ! तर, जे छ नाममै त छ। नत्र किन मानिसहरू आफ्नो अस्तित्व खोज्दै गर्दा नामलाई साथै लिएर हिँड्थे? नामै नहुने हो भने मानिसहरू अस्तित्वको लडाइँ किन लड्न अग्रसर हुन्थे र! समाज, देश, जात, वर्ग, क्षेत्र जेसुकै नाम दिएर अस्तित्वको लडाइँ लडे पनि आखिर स्थापित हुने त एक वा केही व्यक्तिको नाम नै हो। हामी अधिकांश लडाइँ केवल आफ्ना लागि लडिरहेका छौं। आफ्नो नामका खातिर लडिरहेका छौं।
साहित्य लेख्दा त नाम जसरी पनि आउने नै भयो, तर कहिलेकाहीँ काम लाग्ने समाचार लेखियो भने पनि नामकै खोजी रहन्छ। बाइलाइन आएका समाचारप्रति ज्यादा अपनत्व महसूस हुन्छ। कत्रो मोह यो नामको, ओहो!
साँच्चै म एउटा मात्रै नामको पछिल्तिर कहिलेदेखि कुद्न थालेको होला है? आफैंसँग गरिएको यो प्रश्नले हुत्याएर लगिदिन्छ, झन्डै पाँच दशकअघिको काँठे जीवनमा।
मलाई बोलाउने आमाको प्रिय नाम थियो– फोक्से। मलाई ‘फोक्से’ भनेर बोलाउनकै लागि सायद आमाले मेरो काया फोक्से बनाइदिइन्। जिउ मोटो देखिन्थ्यो, तर छुँदा कपासजस्तो नरम। नरम के भन्नु, लुला! पुक्कपुक्क परेका गाला छुँदा त झनै मुलायम। गालाका लगभग हड्डीहीन थिए। मासु नै मासुले भरिएका! त्यो ज्यादा नरम भएकै कारण हुनुपर्छ, अग्रज वा शिक्षक–शिक्षिका मेरो गाला खूबै तान्थे। गाला तान्नेहरू प्रायः विपरीत लिंगी नै हुन्थे। कतिपय शिक्षिका त कक्षामा छिर्दासाथ पहिला मेरो गाला तान्थे अनि पढाउन थाल्थे।
मलाई बोलाउने आमाको प्रिय नाम थियो– फोक्से। मलाई ‘फोक्से’ भनेर बोलाउनकै लागि सायद आमाले मेरो काया फोक्से बनाइदिइन्। जिउ मोटो देखिन्थ्यो, तर छुँदा कपासजस्तो नरम। नरम के भन्नु, लुला!
आमाले दिएको नाम फोक्से बिगारेर केही समयपछि दाजु–दिदी र भाउजूहरूले पोक्चे भन्न थालेका थिए। आमाको मुखमा पनि अर्कै नाम आइसकेको थियो– टाउके। शरीरको तुलनामा मेरो टाउको ठूलो देखिन्थ्यो। गाला र टाउको ठूला थिए मेरा।
टाउके, पोक्चे नामले मात्र तिनलाई पुगेन। अन्य नाम पनि समयक्रममा दिँदै गए– गुइँठे, डल्ले, पिन्चे। गुइँठे र डल्ले नामले केही वर्षमै मलाई छाडे। लामो समयसम्म मसँगै हिँड्यो– पिन्चे। किनकि, कसैले सानै कुरा भन्यो वा गाली गर्यो भने म रोइहाल्थेँ। कुनै खेलमा हार्दा पनि मेरा आँखा भिजिहाल्थे। त्यसैले साथीभाइचाहिँ रुन्चेपिन्चे भन्थे।
झन्डै १० वर्षको उमेरसम्म मेरा कोही मिल्ने साथी थिएनन्। बाहिरतिर खेल्न जान थालेको त्यही उमेरपछि मात्रै हो। गोठालो जान थालेको पनि त्यसपछि नै हो। गोठालोमा मेरो उमेरका व्यक्ति कम हुन्थे, अलि बढी उमेरका दाइहरू हुन्थे। तिनका कुरा सुन्दा मज्जा लाग्थ्यो। ती अनौठा कुरा गर्थे, तिनका अपत्यारिला गफ सुन्दा आफू कहिले तिनीहरू जत्रा हुने होला भन्ने लाग्थ्यो।
१० वर्षको उमेर अघिसम्म त घरबाहिर निस्किँदा पनि डर लाग्थ्यो। निस्केर जाने कहाँ? तीनकुने पूरै खुला थियो, टाढा पुग्दा बागमती नदी किनारसम्म पुगिन्थ्यो, त्योभन्दा पनि अलि पर पुग्ने भनेको मनोहरा नदी र सागबारी (साग किन्न, हालको पेप्सीकोला कम्पनी नजिक) थियो। दैनिक उपभोग्य सरसामान र लत्ताकपडा किन्न ललितपुरको मंगलबजार जाने गरिन्थ्यो।
तिलस्मी गफ सुन्ने आकांक्षाले मलाई गोठालो जान आकर्षित गरेको थियो। ती दाइहरू हिन्दी सिनेमाका हिरो–हिरोइनका गफ गर्थे। गफ यस्तो हुन्थ्यो, मानौं तिनले ती कलाकारलाई प्रत्यक्ष भेटेर आएका हुन्। सिनेमाको कथा र फाइटका कुरा गर्थे। म चमत्कृत हुन्थेँ र सिनेमा चाँडै हेर्न जाने कल्पना गर्न थाल्थेँ।
१० वर्षको उमेर अघिसम्म त घरबाहिर निस्किँदा पनि डर लाग्थ्यो। निस्केर जाने कहाँ? तीनकुने पूरै खुला थियो, टाढा पुग्दा बागमती नदी किनारसम्म पुगिन्थ्यो, त्योभन्दा पनि अलि पर पुग्ने भनेको मनोहरा नदी र सागबारी (साग किन्न, हालको पेप्सीकोला कम्पनी नजिक) थियो। दैनिक उपभोग्य सरसामान र लत्ताकपडा किन्न ललितपुरको मंगलबजार जाने गरिन्थ्यो। त्यति टाढा जान म जहिले पनि आमाको पछि लाग्थेँ।
त्यसबखत बानेश्वर मलाई निकै टाढा लाग्थ्यो, जहाँ फाटफुट पसलहरू थिए। त्यहाँबाट पर अर्थात् रत्नपार्क, नयाँसडक, भोटाहिटी पुग्ने त कल्पना पनि गर्दैनथेँ। सीधा पुरानो सिनामंगलस्थित गुह्येश्वरी मिडिल स्कूल गयो, दिनभरि पढ्यो अनि खुरुखुरु फर्कियो।
विद्यालय जाने बाटो पनि सधैं एउटै थियो, त्रिभुवन विमानस्थलको पूर्वी किनारा हुँदै जाने। विद्यालय पुगिने बाटोहरू अरु पनि थिए। तर, अरु बाटो हिँड्न डर लाग्थ्यो। कतै छल्लिने त होइन भन्ने त्रास मभित्र बलियो थियो। बाटोमा सहपाठी वा विद्यालय जाने कोही भेट्यो भने बोल्यो, त्यत्ति हो।
सहपाठी, शिक्षक, केही साथीभाइका निम्ति चार कक्षासम्म म राजनप्रसाद पराजुली थिएँ। तिनले राजन भनेर बोलाउँथे। पाँच कक्षामा पुग्दा भने मेरो नाम फेरिएर राजेन्द्र भइसकेको थियो। क्रूर स्वभावका हेडसरले मेरो नाम जबर्जस्ती परिवर्तन गरिदिएका थिए। नाम फेरिँदा पनि म निकै रोएको थिएँ। रुनु पनि नामप्रतिको मोह नै त थियो।
उमेर बढेसँगै मैले नयाँनयाँ साथी बनाउन थालेँ। तीमध्ये केही बस्नेत, खड्का, थापा, सिलवाल थरका क्षेत्री–काजीहरू थिए। तिनले मलाई अनौठो लाग्ने जातीय नाम दिए– जैसी। तिनले मलाई दिएको नाम थियो– ‘राजने जैसी’। तिनले मलाई ताकेरै जैसी किन भनेका होलान्, मैले कहिल्यै बुझ्न सकिनँ।
उमेरको उकालोसँगै म पनि कोटेश्वर चोकतिर उक्लिन थालेँ। नयाँनयाँ साथी बनाउन थालेँ। तीमध्ये केही बस्नेत, खड्का, थापा, सिलवाल थरका क्षेत्री–काजीहरू थिए। तिनले मलाई अनौठो लाग्ने जातीय नाम दिए– जैसी। जैसी जातका अरु पनि थिए, तर अधिकांशले मलाई मात्र जैसी भन्थे। तिनले मलाई दिएको नाम थियो– ‘राजने जैसी’। तिनले मलाई ताकेरै जैसी किन भनेका होलान्, मैले कहिल्यै बुझ्न सकिनँ।
राजने भनेको ठीकै लाग्थ्यो। नामलाई बिगारेर भन्नु त्यतिखेर हामी सबैको आदत थियो। श्यामलाई श्यामे, पार्वतीलाई पारे, रुकमिणीलाई रुके यस्तयस्तै भन्ने हाम्रो तत्कालीन काँठे समाजको आमचलन नै थियो। तर, मलाई जैसी भनेको चाहिँ पटक्कै मन पर्दैनथ्यो। हेपेको महसूस हुन्थ्यो, घोर गाली गरेको जस्तो लाग्थ्यो। जसले जैसी भन्यो त्यो व्यक्तिमाथि म जाइलाग्थेँ।
शारीरिक रूपमा उति बलियो नभए पनि आँटिलोचाहिँ थिएँ, जैसी भन्ने अधिकांशलाई पिटिहाल्थेँ। ती मलाई ‘जैसी’ भन्नासाथ भाग्थे, मैले हात हाल्छ भन्ने डरले। समयको फेरोसँगै मलाई कसैले जैसी भन्दा रिस उठ्न छाड्यो। जब म रिसाउन छाडेँ, ती मित्रहरूले पनि मलाई जैसी भन्न छाडे।
आठ कक्षामा पढ्दा एकजना सहपाठीको नाम रेडियो नेपालको साँझपख बज्ने बाल कार्यक्रममा सुनेँ। उसले कविता पढेको थियो। कविता प्रसारण भएको भोलिपल्ट विद्यालयमा सबैको केन्द्र बन्यो त्यो साथी। शिक्षक, अग्रज सबैले उसलाई स्याबासी दिए। उसलाई कक्षामा त्यही कविता पाठ गर्न लगाइएको थियो। मलाई लाग्यो– नाम कमाउने त यसरी पो रहेछ!
केही साप्ताहिकमा कविता छापिन थालिसकेका थिए। साथीको सिको गर्दै मैले पनि राजेन्द्र पराजुलीको पछाडितिर ‘यादगार’को पुच्छर जोडिदिएँ। राजेन्द्र पराजुली ‘यादगार’ बाट आरम्भ भएको नामको पुच्छर ‘राजेन्द्र यादगार’, ‘यादगार पराजुली’ सम्म पुगेर अन्त्य भयो, कहिल्यै नफर्कने गरी।
४० को दशकमा उपनाम राख्ने चलन खूबै फस्टाएको थियो। म पनि के कम! राखिदिएँ उपनाम– ‘यादगार’। कलेजमा एकजना आत्मीय मित्र थिए, तिनले आफ्नो उपनाम चाँडोचाँडो परिवर्तन गरेको देख्दा म आश्चर्यचकित भएको थिएँ। शुरूमा तिनले ‘मिलन’ उपनाम राखेका थिए। एक वर्ष पनि बित्न नपाउँदै उनले मिलन हटाएर ‘अतिथि’ राखेका थिए। मित्रको एकजना सहपाठीसँग प्रेम परेको रहेछ। प्रेम कायम रहुन्जेल उनले मिलन राखेका रहेछन्, बिछोड भएपछि अतिथि राखेको थाहा पाएँ।
नेपालका स्थापित केही साहित्यकारले पनि उपनाम राखेको, कसैले त केही पटक परिवर्तन समेत गरेको देखिएको छ। यसको पछाडि पनि नाम चम्काउने आकांक्षा नै त लुकेको छ। त्यस वेला मिलन, बिछोड, आशिक, प्रेमी, पागल, वैरागी, विरही, अन्जान, गाउँले, पाखे, बाबा, भिखारीजस्ता उपनाम खूबै चलेका थिए।
त्यो वेला तिनै उपनाम फेर्ने मित्र र मैले छोटाछोटा कविता लेख्न थालेका थियौं। केही साप्ताहिकमा कविता छापिन पनि थालिसकेका थिए। उनको सिको गर्दै मैले पनि राजेन्द्र पराजुलीको पछाडितिर ‘यादगार’को पुच्छर जोडिदिएँ। त्यो पुच्छर पनि बहुरूपी हुन गयो। राजेन्द्र पराजुली ‘यादगार’ बाट आरम्भ भएको नामको पुच्छर ‘राजेन्द्र यादगार’, ‘यादगार पराजुली’ सम्म पुगेर अन्त्य भयो, कहिल्यै नफर्कने गरी।
उमेरको बोक्रा ताछ्न पल्केको समयले ठोक्काइदियो केही प्रेमिल मनहरूसँग पनि। खोइ के देखेर कोही मसँग आकर्षित भए, त्यो म भन्न सक्दिनँ। ती मन पराउँछु भन्नेले दिएका नाम खूबै मायालु थिए। प्रेमले ती कहिले ‘राज’ भन्थे त कहिले ‘राजा’ पनि। कोही त ‘राजिन’ वा ‘राजेन’ नामले पनि बोलाउँथे। जे भने पनि त्यो म नै थिएँ।
उमेरको बोक्रा ताछ्न पल्केको समयले ठोक्काइदियो केही प्रेमिल मनहरूसँग पनि। ती मन पराउँछु भन्नेले दिएका नाम खूबै मायालु थिए। प्रेमले ती कहिले ‘राज’ भन्थे त कहिले ‘राजा’ पनि। कोही त ‘राजिन’ वा ‘राजेन’ नामले पनि बोलाउँथे।
सोही उपक्रममा सबैभन्दा मीठो नाम पाएको थिएँ– कालु। कसैले ‘कालु’ भनी बोलाउँदा म पुलकित हुन्थेँ, कोही त छ मलाई बुझ्ने, विश्वास गर्ने र प्रेम गर्ने भन्ने लाग्थ्यो। तर, यी कुनै पनि नामको आयु त्यति लामो हुन सकेन। यी नाम पनि ‘यादगार’ जस्तै छोटो समयमात्रै अस्तित्वमा रहे। ती विलीन भए स्मृतिको गर्तमा। जहिलेसम्म विश्वास बाँच्यो त्यही वेलासम्म ती प्रेमिल उपनामहरू पनि बाँचे। विश्वास भत्किएसँगै स्नेहको गर्भबाट जन्मिएका नामको भ्रुणहत्या भइदियो। तिनले सास फेर्न छाडे, तिनको मृत्यु भयो।
मलाई थाहा छ, मेरो अस्तित्व रहुन्जेल जुन नामले म यो स्मृति लेखिरहेको छु त्यही नाममा बाँच्नेछु। त्यही नाम अब मेरो प्रिय नाम हुनेछ। मेरो वरिपरि त्यही नाम गुञ्जिनेछ। त्यसपछि त मलाई के मतलब र! मेरो नाम बाँचोस् कि मसँगै त्यसको पनि मृत्यु होस्, त्यो तनाव मलाई बिलकुलै छैन।
अहिले हिसाब गर्दा धेरै नाम पो जोडिएछ जिन्दगानीमा। बहुल नामवाला पात्र रहेछु म। तर, अहिले आखिर हातमा बाँकी छ केवल नाम एक!