खोपको यात्रा: अन्तिममा गरीबको पालो !
गरीबहरू धनीका अनुहार भाइरसमुक्त भएको संकेत हेर्न अधीर भएर पर्खिबसेका छन्। त्यसपछि त धनी देश र व्यक्तिले आफू सुरक्षित हुन पनि गरीबका नाममा खोप पठाइदिनेछन्।
‘स्वास्थ्य नै धन हो’ भन्ने परिभाषा कति पुरानो भयो होला? महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रख्यात खण्डकाव्य ‘मुनामदन’ मा ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेर लेखेको साढे आठ दशक नाघिसकेको छ। तर, हरेक संकटमा धनको महत्त्व स्वतः साबित भइहाल्छ।
बितेको वर्षदिनमा कोरोनाभाइरस महामारीले धनको महत्त्व झनै उजागर गरिदियोे। संसारका कतिपय धनी देशले कोरोनाविरुद्धको खोप आवश्यकताभन्दा बढी किनेर राखे वा खरीदका लागि अग्रीम रकम तिरे। गरीब देशहरू धनीले कहिले खोप लगाइसक्लान् र आफूले अनुदानमा पाइएला र ज्यान जोगिएला भनी पर्खेर बस्न बाध्य भए।
कुनै पनि देशले न साग र सिस्नु खुवाएर आफ्ना नागरिकलाई महामारीबाट जोगाउन सके, न त स्वस्थ मानिसलाई नै कोरोनाले आक्रमण गर्न छाड्यो! घोषित–अघोषित पूँजीवादीकै वरिपरि घुमिरह्यो ‘भ्याक्सिन डिप्लोमेसी’ पनि। हामीजस्ता तेस्रो विश्वको नाम पाएका गरीब देशसँग न खोप नै रह्यो, न त डिप्लोमेसीले स्पर्श गर्न सक्यो! खोप र डिप्लोमेसी दुवै काम धनीले गरे, गरीबहरू फगत दानमा पाइने खोपको प्रतीक्षामा बसिरहे।
संसारका मानिसको सुस्वास्थ्यबारे ख्याल गर्ने जिम्मा लिएको विश्व स्वास्थ्य संगठन पनि धनीकै धाक–रवाफमा चलिरह्यो। उसले न धनी देशलाई खोप अनावश्यक मात्रामा थुपारेर नराख्न दबाब दिन सक्यो, न गरीबलाई पनि खोपको समान वितरण गराउन सक्यो! युरोपेली नागरिकको हितका निम्ति खुलेको युरोपियन युनियनले बोलिदियो– गरीबलाई पनि खोप देऊ। तर, सुन्ने कसले?
नेपालले धनीहरूसँग खोप माग्न पनि साइत कुरेर बस्यो र ६ जेठमा बेलायतसँग पहिलो पटक हात फैलायो। त्यसको ६ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँग खोप चाहियो भनिन्। खोप किन्न सरकारले छुट्टै रकम व्यवस्था गर्नुपर्ने पक्षलाई महत्त्व दिएन। बल्ल आगामी आर्थिक वर्षको बजेटमा यसका लागि रकम छुट्याइएको छ। यसअघिसम्म महामारी चर्किरह्यो, सरकार र राजनीतिक दलहरू सत्तामा उक्लिन र सत्ताको मठ नछाड्न तिकडम गरिरहे।
संसारका मानिसको सुस्वास्थ्यबारे ख्याल गर्ने जिम्मा लिएको विश्व स्वास्थ्य संगठन पनि धनीकै धाक–रवाफमा चलिरह्यो। उसले न धनी देशलाई खोप अनावश्यक मात्रामा थुपारेर नराख्न दबाब दिन सक्यो, न गरीबलाई पनि खोपको समान वितरण गराउन सक्यो! युरोपेली नागरिकको हितका निम्ति खुलेको युरोपियन युनियनले बोलिदियो– गरीबलाई पनि खोप देऊ। तर, सुन्ने कसले? खोप निर्माताहरू बढीभन्दा बढी नाफा खोजिरहेका छन् भने कतिपय देश यसबाटै आफ्नो आगामी समयको अर्थतन्त्र बलियो बनाउने ध्याउन्नमा छन्।
संकटमा पनि धनको दौड !
महामारी चम्किएको एक वर्ष नाघेको छ। यो अवधिमा केही व्यक्तिले धन कमाउने काम पनि यतिविधि चम्किएको छ, तिनका नाममा रहेका सम्पत्ति बाँडिदिने हो भने संसारको गरीबी उल्लेख्य घट्ने थियो। तर, त्यो कार्य कसैबाट भएन र हुने पनि छैन। बरु तिनले धनी र गरीबबीचको खाडल थप गहिरो पार्न मद्दत गरेका छन्।
संसारकै सर्वाधिक धनाढ्यमध्येका एक, सफल विद्युतीय कार कम्पनी टेस्लाका मालिक ५० वर्षीय एलन मस्कले यही अवधिमा खर्बौं सम्पत्ति बढाए। मस्क अटिजम भएका व्यक्ति हुन्, उनी यसलाई ‘एस्पजर्स सिन्ड्रोम’ भन्न रुचाउँछन्। उनी स्वस्थ व्यक्ति होइनन्, तर संसारका धनी हुन्। उनको सन्दर्भमा ‘धन नै स्वास्थ्य हो’ भन्ने तथ्य लागू हुन गयो। उनले स्थापित मान्यता नै भत्काइदिए।
कोरोना महामारीले कैयौं व्यक्ति तथा देशलाई आर्थिक रूपमा कमजोर पारिदियो, यसको असर अहिलेभन्दा पनि केही वर्षपछि दह्रो गरी देखिनेछ। तर, केही यस्ता व्यक्ति पनि यही दुनियाँमा देखिए, जसले कोरोनाकालमा पनि आफ्नो सम्पत्ति अकल्पनीय ढंगमा वृद्धि गर्न सफल भए। टाढा जानै पर्दैन, हाम्रा उत्तरी र दक्षिणी छिमेकका केही व्यक्ति उदाहरणका निम्ति पर्याप्त छन्।
एक धनाढ्य व्यक्तिका रूपमा नाम कमाएर संसारबाट बिदा हुने आफ्नो सपना बिलकुल नभएको बताउने उनी सम्पत्ति भने थुपारेको थुपार्यै छन्। उनको कूल सम्पत्ति एक खर्ब ८५ अर्ब डलर नाघेको छ। मानिसहरू मस्कको मन पढ्न नसकिने र उनको व्यवहारको पूर्वानुमान पनि गर्न नसकिने बताउँछन्। यी रहस्यमय पुरुषले कोरोना महामारीका कारण गरिएको लकडाउन (बन्दाबन्दी) र अन्य प्रतिबन्धको खूबै विरोध गरे। उनले कोरोना महामारीलाई एक ‘हौवा’ करार गरिदिए र घरभित्र बस्न दिइएको आदेशलाई ‘जबर्जस्ती’ को संज्ञा दिए।
कोरोना महामारीले कैयौं व्यक्ति तथा देशलाई आर्थिक रूपमा कमजोर पारिदियो, यसको असर अहिलेभन्दा पनि केही वर्षपछि दह्रो गरी देखिनेछ। तर, केही यस्ता व्यक्ति पनि यही दुनियाँमा देखिए, जसले कोरोनाकालमा पनि आफ्नो सम्पत्ति अकल्पनीय ढंगमा वृद्धि गर्न सफल भए। टाढा जानै पर्दैन, हाम्रा उत्तरी र दक्षिणी छिमेकका केही व्यक्ति उदाहरणका निम्ति पर्याप्त छन्।
चीनका मा हुतेङ, झोङ सानसान, ज्याक माजस्ता व्यक्ति अहिले संसारको धनी बन्ने दौडमा सामेल छन्। एसियाका १० धनी त्यही कम्युनिस्ट मुलुकका नागरिक छन्। छिमेकी भारतका मुकेश अम्बानीलाई त्यही देशका गौतम अडाणीले पछ्याइरहेका छन्। अमेजनका जेफ बेजोस, बिल गेट्स, बर्नार्ड आर्नोल्ट र मार्क जुकरबर्ग नामुद धनाढ्य हुन्। यी धनाढ्यका सम्पत्ति एकै ठाउँमा राख्ने हो भने नेपालजस्ता गरीब मुलुक चलाउन वर्षौंको बजेट तयार हुन्छ।
अमेरिका, जापान, बेलायत, क्यानडाजस्ता लामो समयदेखिका धनी देशहरूलाई उछिन्न अब नयाँ अर्थतन्त्र विकसित हुन थालेको छ। बढीमा एक दशकभित्र चीनले सारा संसारलाई उछिन्ने अनुमान गर्न थालिएको छ।
सम्पूर्ण विश्व कोरोना संक्रमण महामारीबाट आहत भइरहेका वेला आर्थिक उन्नति गर्दै देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र समग्र अर्थतन्त्रमै वृद्धि गर्ने देश केवल चीन बनेको छ। चीन मूलतः औद्योगिक मुलुक हो। महामारीका समयमा आफ्ना नागरिकलाई सुरक्षा दिएको यो राज्यको कर्तव्य निर्वाहमा अग्रणी देखिएको छ।
महामारीमा आफ्ना नागरिकलाई जोगाउने सवालमा भारत नराम्ररी चुक्यो। 'भ्याक्सिन डिप्लोमेसी'को नीतिमार्फत अन्य मुलुकलाई पछाडि पार्दै संसारमा आफ्नो रवाफ कायम गर्ने ध्येय राखेको भारत त्यसमा पनि असफल हुन पुगेको छ।
यस विपरीत यही महामारीले भारतलाई लामो समयसम्म आर्थिक दबाब दिने अवस्था सिर्जना भएको छ। भारत धनी बन्ने बाटोमा त लम्किरहेको छ, तर महामारीमा आफ्ना नागरिकलाई जोगाउने सवालमा नराम्ररी चुक्यो। भ्याक्सिन डिप्लोमेसीको नीतिमार्फत अन्य मुलुकलाई पछाडि पार्दै संसारमा आफ्नो रवाफ कायम गर्ने ध्येय राखेको भारत त्यसमा असफल हुन पुगेको छ। त्यो मुलुकमा अर्बपति क्लबमा पर्ने व्यापारी त थुप्रै छन्, तर तिनको धनले मुलुक महामारीको शिकार बन्दा कुनै गतिलो काम गरेको देखिएन। बरु धनाढ्य नभएरै पनि बलिउड अभिनेता सोनु सुद महामारीका बखत धेरै भारतीयका लागि जीवनदाता बने।
धनाढ्य भारतीयले न त खोप उत्पादनमा राज्यलाई उल्लेख्य सहयोग गरेको देखियो, न त अस्पतालको क्षमतावृद्धिमै मद्दत गरे। तिनलाई आफू मात्र बाँचे पुग्ने विचारले गाँज्यो। नेपालका धनाढ्यले पनि देशलाई अप्ठेरो पर्दा कहिल्यै सहयोगी हात अगाडि बढाएको देखिँदैन। यो महामारीमा पनि त्यही प्रवृत्ति देखियो। कमिसनको प्रतिशत नमिल्दा हाम्रा व्यापारीले खोप आयात नगर्ने घोषणा नै गरिदिए!
उता, आफूलाई संसारमै पहिलो खोप निर्माता दाबी गर्ने देश रुसले भर्खरै ‘भ्याक्सिन टुरिज्म’को धारणा अगाडि सारेको छ। रुस घुम्न जाने पर्यटकलाई उसले स्पुतनिक–भीको दुवै डोज लगाइदिने घोषणा गरेको छ। दुई डोज लगाउनुपर्ने भ्याक्सिन स्पुतनिक–भीको व्यापार त फस्टाएको छ नै, साथै उसले स्पुतनिक लाइट नामको एक डोज लगाए पुग्ने भ्याक्सिनसमेत परीक्षण गरिरहेको छ। कुनै वेला धनी रहेको पछिल्लो समयको कमजोर यो मुलुकले खोप बिक्रीबाटै अर्थतन्त्र समृद्ध पार्ने अनुमान गर्न थालिएको छ।
आफूलाई संसारमै पहिलो खोप निर्माता दाबी गर्ने देश रुसले भर्खरै ‘भ्याक्सिन टुरिज्म’को धारणा अगाडि सारेको छ। रुस घुम्न जाने पर्यटकलाई उसले स्पुतनिक–भीको दुवै डोज लगाइदिने घोषणा गरेको छ। रुसको खोप पर्यटन पनि धनीकै नाममा घोषणा गरिएको बुझ्न गाह्रो पर्दैन। रुस घुम्न जान सक्ने व्यक्ति गरीब कसरी होला र!
रुसको खोप पर्यटन पनि धनीकै नाममा घोषणा गरिएको बुझ्न गाह्रो पर्दैन। रुस घुम्न जान सक्ने व्यक्ति गरीब कसरी होला र! गरीबले लाखौं खर्च गरेर घुम्न र दुई डोज भ्याक्सिन लगाउन सक्ने कुरा कल्पना बाहिरकै कुरा हो। यसरी महामारीले संसारमा धनी र गरीबबीचको दूरी झनै लामो बनाइदिएको छ।
महामारीकालमा मानिसहरू घरभित्र थुनिए। तिनका निम्ति प्रविधि सबैभन्दा महत्त्वपूर्ण साथी बन्न पुग्यो। यसकारण पनि सूचना–प्रविधि कम्पनीहरूले कोरोनाकालमा सबैभन्दा बढी कमाए। त्यसपछि अमेजनजस्ता ई–कमर्स कम्पनी बढी कमाउनेमा परे। भारतमा खुद्रा व्यापार र प्रविधिमा अग्रणी रिलायन्सलगायतले धेरै कमाए।
औद्योगिक मुलुक बनेको चीनले प्रविधिमा मारेको उच्च फड्कोकै कारण त्यो देश अर्थतन्त्र समृद्ध पार्न सफल भएको हो। कोरोनाको औषधि बनाउने तथा अक्सिजन, मास्क, सेनिटाइजर उद्योग अनि भेन्टिलेटर निर्माताले समेत यो अवधिमा अर्बौं सम्पत्ति जोडे। चीन र रुसलाई छाड्ने हो भने यो अवधिमा देशले भन्दा पनि व्यक्तिले बढी कमाएको देखियो। व्यक्तिले कमाएको धनले सीमितको हित गर्छ, तर देश धनी हुँदा त्यसको अलिकति हिस्सा गरीबका हातमा पनि पर्छ। उदाहरण फेरि पनि विशाल मुलुक चीनकै लिन सकिन्छ।
विश्वमा कोरोनाविरुद्धको खोप तयार भएको पनि अब त महीनौं भइसकेको छ। तर पनि खोपलाई सबै मुलुकले सबैका निम्ति सार्वजनिक वस्तु बनाउन सकिरहेका छैनन्। विश्व स्वास्थ्य संगठन खोपलाई संसारका सबै नागरिकको ‘अधिकार’ बनाउने दिशामा अग्रसर बन्न सकिरहेको छैन। जबसम्म खोप सर्वसुलभ मात्र होइन सबैको अधिकार बन्दैन, तबसम्म कोरोनाभाइरस नियन्त्रण हुन नसक्ने प्रष्टै छ।
के कुरा पक्का छ भने, कुनै एक दिन खोप गरीबका हातमा पनि पर्नेछ। तर, कहिले? यसको यकिन जवाफ कसैसँग पनि छैन। संसारका सबै धनीले आवश्यक डोज लगाइसकेपछि खोप गरीबका नाममा वितरित हुनेछ। त्यो दिन आउन धनीहरू कहिले यो महामारीबाट मुक्त होलान्, त्यसको अनुमान अझै कुनै वैज्ञानिकले गर्न सकिरहेका छैनन्।
गरीबहरू धनीका अनुहार भाइरसमुक्त भएको संकेत हेर्न अधीर भएर पर्खिबसेका छन्। त्यसपछि त धनी देश र व्यक्तिले आफू सुरक्षित हुन पनि गरीबका नाममा खोप पठाइदिनेछन्। किनकि, जबसम्म गरीबको शरीरमा कोरोनाभाइरस बाँचिरहन्छ, त्यो धनीमा सर्ने सम्भावना जीवितै रहन्छ। यही कारण पनि गरीबले अन्त्यमा खोप पाउनेछन्। अर्थात्, गरीबको पालो अघिपछिजस्तै यस पटक पनि अन्त्यमै आउनेछ।