कोरोनाको उपचारमा बौद्ध विहार तथा गुम्बालाई किन प्रयोग नगर्ने?
‘बिरामीको सेवा गर्नु बुद्धकै सेवा गरेसरह’ हुने बुद्धवचन भएकाले पनि कोभिड–१९ संक्रमितका लागि अस्थायी अस्पताल, क्वारेन्टिन वा आइसोलेसनका लागि बौद्ध विहार, गुम्बाहरू पनि प्रयोग गर्न सकिन्छ।
झट्ट सुन्दा यो प्रस्ताव अव्यावहारिक जस्तो लाग्नसक्छ, धार्मिक क्षेत्रमा ठाडो हस्तक्षेप जस्तो पनि लाग्नसक्छ। तर, यसलाई अन्यथा लिनु हुँदैन। यो त अनेक दृष्टिले उपयुक्त र बौद्ध आदर्शसँग पनि मिल्दो अभ्यास हो।
गत वर्ष कोरोनाभाइरस संक्रमण महामारीको पहिलो चरणको संक्रमण फैलिँदा पनि हामीले बिरामीका लागि पर्याप्त अस्पताल तथा आइसोलेसन कक्षको अभाव भोग्नुपरेको थियो। अहिलेको दोस्रो लहरमा त भाइरस पहिलेको भन्दा कडा अनि संक्रमण चाँडै फैलिने प्रकृतिको रहेको वैज्ञानिकहरूको भनाइ छ।
छिमेकी भारतमा ‘सुनामी’ को संज्ञा पाइसकेको यो महामारीदेखि नेपाल मनोवैज्ञानिक रूपमा पनि आक्रान्त भइसकेको छ। सरकारले संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकामा १६ वैशाखदेखि लागू हुने गरी निषेधाज्ञा पनि जारी गरिसकेको छ।
विडम्बना के हो भने, संक्रमणको दर उच्च रहेको यो बेला स्वास्थ्य उपचारका पूर्वाधारहरू अघिल्लो वर्षका भन्दा खासै फरक छैनन्। महामारीलाई ध्यानमा राखेर विशेष तयारी गर्नुपर्नेमा सरकारको ध्यान कतिपय अनुत्पादक संरचनाहरूको निर्माण र उद्घाटनमा गइरहेको छ।
एक वर्षअघि महामारी अकस्मात् आइपुगेको संकट थियो। पूर्वतयारीका लागि न सरकार सजग थियो न नागरिक। त्यसैले पनि गल्ती र कमीकमजोरी हुने नै भए। तर, अहिले त्यसो भन्ने छूट कसैलाई छैन। सरकारलाई त झनै छैन। तर, संकटको यो बेला सरकारलाई टिप्पणी गरेर बस्नुभन्दा समस्या समाधानमा लागिहाल्नु बुद्धिमत्ता हुनेछ। बौद्ध गुम्बा तथा विहारलाई आपत्कालमा अस्पताल बनाइनुपर्ने सोच यसैको उपज हो।
बौद्ध गुम्बा तथा विहारहरू प्रायः खुला, एकान्त स्थलमा आवश्यक पूर्वाधारसहित निर्माण गरिएका हुन्छन्। पूजास्थल, आवास क्षेत्र लगायत अन्य अवयवहरू बेग्लाबेग्लै रहेका हुन्छन्। शैक्षिक कार्यक्रम पनि सञ्चालन गरिने कतिपय गुम्बा तथा विहारमा अध्ययन तथा पठनपाठनका लागि छुट्टै व्यवस्था हुन्छ।
स्थानीय तहले यी ठाउँहरूलाई अस्थायी अस्पताल तथा आइसोलेसन केन्द्रका रूपमा रूपान्तरण गर्ने बन्दोबस्त गर्नसक्छन्। जस्तो कि बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रभित्रको पाँच हजारजति मानिस अटाउने सभाकक्षलाई पनि यसका लागि प्रयोग गर्न सकिन्छ। महामारीसँग जुध्न अन्यत्रका बौद्ध गुम्बा तथा विहारलाई पनि क्षमता अनुसार उपयोगमा ल्याउन सकिन्छ।
कतिपय धार्मिक स्थलमा अन्य धर्मावलम्बीलाई प्रवेश दिइँदैन, तर यस्तो समस्या बौद्धस्थलमा हुँदैन। बौद्ध धर्म–दर्शनको आदर्श मैत्री, करुणा तथा समस्त प्राणीको हितमा दत्तचित्त भएर लाग्नु हो। ‘बिरामीको सेवा गर्नु बुद्धकै सेवा गरेसरह’ हुने त बुद्धवचन नै छ।
बौद्ध इतिहास हेर्ने हो भने पनि बौद्ध आदर्शबाट प्रेरित भई राजा तथा धनाढ्यहरू अस्पताल निर्माण तथा बिरामीको उपचारमा संलग्न हुने गरेका अनेकौं दृष्टान्त पाइन्छन्। भारतको मौर्य साम्राज्यमा सम्राट् अशोकले पशुपक्षीको उपचारका लागि समेत बेग्लै बन्दोबस्त गरेका थिए। तिब्बती बौद्ध समाजमा प्राचीन ‘आम्ची’ को कर्म पनि बिरामीको औषधाेपचार गर्नु हो।
गत वर्ष महामारी फैलिँदा भारतबाट फर्केका नेपालीलाई आफ्नो गाउँ जानुअघि सीमा क्षेत्रको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको थियो। क्वारेन्टिनका लागि कतिपय विद्यालयहरू पनि प्रयोगमा ल्याइए। तर क्वारेन्टाइनमा नबसी खाने, बस्ने, शौचालयजस्ता न्यूनतम पूर्वाधार नहुँदा कतिपयको त्यहीं मृत्यु भएको, कतिपय भागेको समाचारहरू पनि आए। निश्चित विहार तथा गुम्बाका केही भागमा क्वारेन्टिन बनाइदिने हो भने यो समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ।
काठमाडौं उपत्यकाको परम्परागत बौद्ध समाजमा वैद्यका रूपमा शाक्य र बज्राचार्यहरू बढी पाइनुको प्रमुख कारण पनि बिरामीको सेवा गरेर पुण्य कमाउनु नै हो। यी वैद्यहरूलाई ‘गृहस्थ भिक्षु’ पनि भनिन्छ। इतिहास र व्यवहारलाई मनन गर्दै कोरोना महामारीमा बिरामीको उपचार गर्ने दायित्व बौद्ध समाजमाथि पनि आएको छ।
बौद्ध भिक्षु तथा लामाहरू १२ वैशाख २०७२ को भूकम्पमा मात्रै नभएर गत वर्षको कोरोना महामारीका बेला लकडाउनमा आवश्यक परेका वर्गलाई राहत तथा भोजनको बन्दोबस्त गर्नमा पनि सक्रिय थिए। बौद्ध भिक्षुहरू सामाजिक कार्यमा सक्रिय हुनु बौद्ध धर्म–दर्शनको आदर्शको आत्मसात् मात्र नभई धर्मको जीवन्त अभ्यास पनि हो। बुद्धको जीवनकालमै पनि भिक्षुहरू सामाजिक कार्यमा सक्रिय रहेको पाइन्छ।
गत वर्ष महामारी फैलिँदा भारतबाट फर्केका नेपालीलाई आफ्नो गाउँ जानुअघि सीमा क्षेत्रको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको थियो। क्वारेन्टिनका लागि कतिपय विद्यालयहरू पनि प्रयोगमा ल्याइए। तर, क्वारेन्टिनमा नबसी खाने, बस्ने, शौचालयजस्ता न्यूनतम पूर्वाधार नहुँदा कतिपयको त्यहीं मृत्यु भएको, कतिपय भागेको समाचारहरू पनि आए। निश्चित विहार तथा गुम्बाका केही भागमा क्वारेन्टिन बनाइदिने हो भने यो समस्या धेरै हदसम्म समाधान हुने देखिन्छ।
वैकल्पिक रूपमा अस्थायी अस्पताल, आइसोलेसन र क्वारेन्टिनको व्यवस्था सामाजिक क्षेत्रबाट नै हुने हो भने राज्यमाथिको भार पनि केही कम हुन्थ्याे। राज्यलाई सघाउनु पनि बौद्ध आदर्शकै रूपमा लिइने भएकाले बौद्ध विहार तथा गुम्बाहरूले स्वयं पनि यस कार्यमा पहलकदमी लिनुपर्ने देखिन्छ।
दानबाट सञ्चालन हुने विहार तथा गुम्बाहरू श्रद्धालु उपासक तथा उपासिकाबाट आर्थिक स्रोत जुटाउने र त्यसलाई परिचालन गर्न पनि सक्षम हुन्छन्। युवा भिक्षुहरू स्वयंसेवीका रूपमा पनि खटिनसक्छन्। बिरामीका लागि आवश्यक मैत्रीपूर्ण व्यवहार र करुणाको भाव पनि यी भिक्षु तथा भिक्षुणीहरूबाट प्राप्त हुन्छ नै।
कोरोनाका बिरामीलाई घर वा एकान्तमा राख्नुभन्दा सामूहिक ठाउँमा राख्दा बढी लाभदायी हुने अनुभव यो लेखक स्वयंको पनि छ। सात महीनाअघि कोरोनाबाट संक्रमित भई कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन सेन्टरमा बस्दा मैले शुरूमा अनेक संशय र पछि जीवनप्रति आशा पाएँ। यसका कारण आइसोलेसनको वातावरण नै थियो। विहार तथा गुम्बाहरूमा यस्तो वातावरण पहिल्यैदेखि तयार हुन्छ। त्यसकारण पनि यी संरचना संकटमा साथी हुनसक्छन्।