सुनाखरी चिन्दैन सरकार

नेपालमा धेरै प्रजातिका सुनाखरी पाइन्छन्। यी सुनाखरीमा विभिन्न रोग निको पार्ने औषधीय गुण हुन्छन्। तर, फितलो नियम र नियमनले कतिपय सुनाखरी लोप हुने अवस्थामा पुगेका छन्।
संसारभर सुनाखरी फूल (अर्किड्स) का करीब एक हजार जाति छन्। त्यसअन्तर्गत ३० हजार जति प्रजाति सूचीकृत भइसकेका छन्। सबैभन्दा बढी चर्चामा रहेको सुनाखरीको प्रजाति भेनिला हो। भेनिला अन्तर्गत पनि १३० प्रजाति छन्।
मध्य अमेरिका, दक्षिण अमेरिका, मध्य तथा दक्षिण अफ्रिका, मादागास्कर तथा दक्षिण र दक्षिण–पूर्व एसियामा प्राकृतिक अवस्थामा नै यो फूल पाइन्छ। नेपालमा भने अहिलेसम्म पाइएको छैन।
भेनिला प्रजातिमा भेनिलिन नामक बहुचर्चित जैविक रसायन हुन्छ। यो रसायन सबैभन्दा बढी मात्रामा भेनिला प्लानिफोलिया प्रजातिमा पाइन्छ। मेक्सिजन भेनिलाको नामबाट चिनिने यो प्रजाति दक्षिण अमेरिकाको कोलम्बियादेखि मेक्सिकोसम्म प्राकृतिक अवस्थामा भेटिन्छ।
हिजोआज जैविक भेनिलिन मादागास्करमा मात्रै ८० प्रतिशत उत्पादन हुन्छ। भारतको कर्नाटक राज्यमा पनि भेनिला प्लानिफोलिया खेती गरिन्छ। भेनिला प्लानिफाेलियमकाे फल अर्थात पड बिक्री हुन्छ। यसकाे फलबाट भेनिलिन निकालिन्छ।
डेन्ड्रोबियम् फिम्ब्रिएटम्। तस्वीर : कमल मादेनसुनाखरीको काण्ड र गानो (जरो) मात्र बिक्री हुन्छ। भेनिला प्लानिफोलिया एक केजीको ५०० डलरसम्म पर्छ। बजारमा भेनिलाको बास्ना दिने भेनिला एसेन्स (सुगन्धित तरल पदार्थ) निकै सस्तोमा बिक्री भइरहेको छ। भेनिला एसेन्स आइसक्रिम, केक, चकलेट आदिमा प्रयोग हुन्छ। करीब रू.२०० मा ५०० एमएल भेनिला एसेन्स पाइन्छ। यसबाटै अनुमान लगाउन सकिन्छ कि भेनिला एसेन्स प्राकृतिक होइन।
औषधीय गुणयुक्त सुनाखरी
चीनमा करीब ४७ सय वर्षअघि डेन्ड्रोबियम् जातिका सुनाखरी उपचारमा प्रयोग भएको अभिलेख पाइन्छ। केशवराज राजभण्डारीको पुस्तक ‘अ ह्यान्डबुक अफ द अर्किड्स अफ नेपाल’ अनुसार नेपालमा सुनाखरीका ४४ जाति र १०० भन्दा बढी प्रजाति औषधीय गुणयुक्त छन्। वनस्पति विभागले सन् २०१५ मा प्रकाशन गरेको यो पुस्तकमा जम्मा ४५१ प्रजातिका सुनाखरीको संक्षिप्त जानकारी उपलब्ध छ।
नेपालका सुनाखरीको प्रजाति संख्याबारे पछिल्लो जानकारी ‘न्यू स्पेसिस् अफ अर्किड् एन्ड नोट्स अन अर्किडेसी’ शीर्षक लेखमा प्रकाशित भएको छ। ‘फाईटो–ट्याक्सा’ शीर्षक जर्नलमा प्रकाशित लेख भक्तबहादुर रास्कोटी र रिता आलेले लेखेका हुन्। उनीहरूले सन् २०१९ सम्ममा ५०२ प्रजातिका सुनाखरी भेटिएको उल्लेख गरेका छन्। त्यसयता थप पाँच प्रजाति थपिएका छन्। यसअनुसार नेपालमा ५०७ प्रजाति सूचिकृत भएका छन्।
डेन्ड्रोबियम् डेन्सिफलोरम । तस्वीर : कमल मादेनसन् २०१९ मा ‘द न्यूयोर्क बोटानिकल गार्डेन प्रेस’ को जर्नल ‘इकोनोमिक बोटनी’ मा नेपालका औषधिजन्य वनस्पतिबारे लेख प्रकाशित भएको थियो। दिपेश प्याकुरेल लगायतले लेखेको ‘ट्रेड एन्ड कन्जरभेसन अफ नेप्लिज मेडिसिनल प्लान्ट्स, फन्जी एन्ड लाईकेन्स’ लेख अनुसार नेपालबाट प्रतिवर्ष करीब १० हजार टन औषधिजन्य वनस्पति ५० भन्दा बढी देशमा निर्यात हुन्छ।
निर्यात हुने वनस्पतिमा ९७ परिवारका १९७ जाति अन्तर्गत करीब ३०० प्रजाति छन्। तीमध्ये सुनाखरी परिवारको २४ प्रजाति निर्यात हुने उल्लेख छ। सुनाखरीको ‘डेन्ड्रोबियम्’ जातिकै मात्र १२ प्रजाति निर्यात हुने जनाइएको छ। सिरहास्थित सहलेस फूलबारीमा १ वैशाखमा मात्र फुल्ने भनिएकाे फूल सुनाखरीकै डेन्ड्रोबियम् एफिलम हो। सुनाखरी १ दिन मात्र फुल्ने भन्ने हुदैन।
सन् २०१५ मा ‘इन्टरनेसनल जर्नल अफ करेन्ट रिसर्च’मा डी एलसी रावो र अरूहरूले लेखेको औषधिजन्य तथा सुगन्धित सुनाखरीका प्रजातिबारे ‘मेडिसिनल एन्ड एरोम्याटिक अर्किड्स– एन ओभरभ्यू’ लेखमा उल्लेख भए अनुसार डेन्ड्रोबियम् क्रिज्यान्थम्, डेन्ड्रोबियम् फिम्ब्रिएटम् र डेन्ड्रोबियम् नोबाइल क्यान्सरको उपचारमा प्रयोग हुन्छन्। यी तिनै प्रजाति नेपालबाट विदेश निर्यात हुने गरेका छन्।
डेनमार्कका सर्जन तथा वनस्पतिविद् नाथानियल वालिच (१७८६–१८५४)ले सन् १८३० मा विश्वमै पहिलो पटक नेपालमा डेन्ड्रोबियम् एफिलम र डेन्ड्रोबियम् क्रिज्यान्थम् पत्ता लगाएका थिए। वालिचले यी दुईसहित नेपालमा पाइने पाँच डेन्ड्रोबियम् प्रजाति पत्ता लगाएका थिए। उनी भारतस्थित रोयल बोटानिक गार्डेन, कलकत्ताको सुपरिटेन्डेन्ट रहँदा सन् १८२०–२१ मा नेपालमा वनस्पति संकलन तथा अध्ययन गर्न काठमाडौं आएका थिए।
नेपालमा डेन्ड्रोबियम् जातिअन्तर्गत करीब ३० वटा प्रजाति छन्। विजया पन्त र भक्तबहादुर रास्कोटीले लेखेको ‘मेडिसिनल अर्किड्स अफ नेपाल’ (सन् २०१३) पुस्तक अनुसार नेपालमा पाइने डेन्ड्रोबियम्का १२ प्रजाति विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छन्। सोही पुस्तकमा डेन्ड्रोबियम् बाहेक थप ७८ प्रजातिका सुनाखरी पनि औषधिका लागि प्रयोग हुन्छ।
डेन्ड्रोबियम् एमोइनम। तस्वीर : कमल मादेनअवैध व्यापार
रोयल बोटानिक गार्डेन्स क्यु, लन्डनले सन् १९८५ मा प्रकाशन गरेको जानकारी अनुसार सन् १९८० को दशकमा पूर्वी नेपालबाट वार्षिक करीब १०० ट्रक सुनाखरी गैरकानूनी रूपमा भारत पुग्थ्यो। त्यसबेला एउटा ट्रकले करीब आठ टन बोक्थ्यो। यस आधारमा पूर्वी नेपालबाट मात्र भारततर्फ वार्षिक ८०० टन सुनाखरी जान्थ्यो।
विमलबहादुर कुँवर र अरूहरूले लेखेको ‘कलेक्सन एन्ड ट्रेड अफ वाइल्ड–हार्वेस्टेड अर्किड्स इन नेपाल’ (सन् २०१३) शीर्षक लेख अनुसार सन् १९९० दशकताका पाँच औंले र ग्यास्ट्राेडिया इलाटाको चीन निर्यात शुरू भएको हो।
‘वन ऐन २०४९’ अनुसार पाँच औंले नेपालको संरक्षित वनस्पति हो। ‘वन नियमावली २०५१’ को तेस्रो संशाेधन २०६२ मा पाँच औंलेको प्रतिकेजी निकासी दस्तुर रू.५०० थियो। पाँचौं संशाेधन २०७० अनुसार भने यसको निकासी दस्तुर प्रतिगोटा रू.१००० तोकिएको छ। अन्य जुनसुकै सुनाखरीको निकासी दस्तुर प्रतिकेजी रू.२०० छ।
नेपाल ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि’ अर्थात् साइटिस पक्ष राष्ट्र हो। साइटिस महासन्धिले दुर्लभ वन्यजन्तु तथा वनस्पतिलाई संरक्षणका आधारमा तीन वटा अनुसूचीमा वर्गीकरण गरेको छ। यस्तै, वनस्पति विभागले सन् २०१७ मा प्रकाशन गरेको ‘चेकलिस्ट अफ साइटिस लिस्टेड फ्लोरा अफ नेपाल’ पुस्तिका अनुसार अनुसूची–१ मा अर्किड्सको एक मात्र प्रजाति पेफिओपेडिलम् भेनुस्टम् समावेश छ। यो अनुसूचीमा लोप हुने स्थितिमा पुगेका प्रजाति समावेश गरिन्छ। यसमा परेका वनस्पति या जन्तुको व्यापारमा संसारभर रोक लगाइएको हुन्छ।
यसैगरी, उक्त पुस्तिका अनुसार साइटिस अनुसूची–२ मा १२८ सुनाखरी प्रजाति समावेश छन्। तीमध्ये डेन्ड्रोबियम्का मात्रै जम्मा २९ प्रजाति सूचीकृत छन्। नेपालमा पाइने सबैजसो डेन्ड्रोबियम्का प्रजाति अनूसुची–२ मा समावेश भएको बुझिन्छ। साइटिसको प्रावधान अनुसार यो अनुसूचीमा लोप हुने स्थितिमा पुगिनसकेको, तर तिनको व्यापारलाई समयमा नियमन र नियन्त्रण नगर्दा निकट भविष्यमा लोप हुन सक्ने जन्तु र वनस्पति राखिएका छन्।
यस्तै, वनस्पति विभागले २०७५ सालमा ‘साइटिस सूचीमा परेका नेपालका व्यापारिक महत्त्व भएका वनस्पतिहरू’ शीर्षकको अर्को पुस्तिका प्रकाशन गरेको छ। यसमा ‘साइटिस अनुसूची–२ मा परेका वनस्पति व्यवस्थापन निकायबाट निकासी इजाजतपत्र लिई निकासी गर्न पाइने प्रावधान छ’ भन्ने लेखिएको छ।
पेफिओपेडिलम् भेनुस्टम् । तस्वीरः गुगलनेपाल सरकारले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३’ अनुसार ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली २०७६’ जारी गरेको छ। यस अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सोको नमूना खरिदबिक्री वा अध्ययन तथा अनुसन्धान, परीक्षण, तालिम, प्रदर्शनी, संरक्षण शिक्षा, जैविक स्रोत संरक्षण वा शैक्षिक प्रयोजनमा उपयोग गर्न आवेदन दिन सकिनेछ। यसमा साइटिसको अनुसूची–२ मा सूचीकृत सुनाखरीकाे व्यापार गर्न सकिने आशय प्रकट छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष (आईयूसीएन)ले संसारभरका वनस्पति वा जन्तुको अस्तित्व के कस्तो छ भन्ने जानकारी रातो सूचीमा प्रकाशन गर्दै आएको छ। विश्वभरका वनस्पति तथा जन्तुको स्थिति अध्ययन तथा अनुसन्धान गर्ने संघसंस्थाले आईयूसीएनबाट प्रकाशन भएका तथ्यांकलाई अनुसरण गर्छन्। रातो सूचीमा तथ्यांक अपर्याप्त, खतराको नजिक, लोपोन्मुख, संकटापन्न र अति संकटापन्न गरी पाँच समूह छन्। यी समूहमा परेका प्रजाति प्रायः खतराको सूचीमा छन्। लोप हुने अवस्थामा पुगेका प्रजाति अति संकटापन्न समूहमा पर्छन्।
लेडिज स्लिपर अर्किड अर्थात् पेफिओपेडिलम् भेनुस्टम् नेपाल सम्बन्धी साइटिस अनुसूची–१ मा छ। यो प्रजातिको फूल असाध्यै राम्रो भएको कारण संसारभर व्यापक रूपमा बिक्री हुने गरेकाले लोप हुने अवस्थामा पुगेको हो। तर, आईयूसीएनको रातो सूची अनुसार यो संकटापन्न मात्र हो।
भेनिला प्लानिफोलिया । तस्वीरः गुगलनेपालका सुनाखरीमध्ये विश्वव्यापी रूपमा अति संकटापन्न सूचीमा परेको ग्यास्ट्राेचिलस क्याल्सियोलारिज हो। तर, यो प्रजाति ‘चेकलिस्ट अफ साइटिस लिस्टेड फ्लोरा अफ नेपाल’ मा परेकै छैन। यो प्रजाति घर, होटल, अफिस आदिमा फूलका रूपमा व्यापक लगाइन्छ। सरकारले यसलाई के कारणले साइटिसमा नराखेको हो भन्ने जानकारी छैन।
यसैगरी, आईयूसीएनको रातो सूचीमा विशेषत: लोपोन्मुख तथा संकटापन्न अवस्थामा परेका आधा दर्जनजति सुनाखरी प्रजाति नेपालको साइटिस अनुसूचीमा परेका छैनन्। तिनको स्थिति व्यापारकै कारण खराब भएकाे हो।
यस्तै, ग्यास्ट्राेडिया इलाटा औषधिका रूपमा प्रयोग हुने प्रजाति हो। यसलाई क्यान्सर, ग्यासट्राइटिस, सुन्निएको, शक्तिवर्द्धक, एन्टी ब्याक्टेरिल आदिमा प्रयोग हुन्छ। यो साइटिस अनुसूची–२ मा सूचीकृत र आईयूसीएनको लोपोन्मुख प्रजाति हो। व्यापारकै कारण नेपालमा यो प्रजाति संकटापन्न भइसकेको हुन सक्छ। तर, हामीकहाँ जुनसुकै प्रजातिको सुनाखरीको अवस्था के कस्तो हो, सम्बन्धित निकायले अध्ययन नगरी व्यापारीबाट खोजिएका प्रजाति निर्बाध रूपमा उपलब्ध गराउने संस्कार बसेको छ।
संरक्षण संयन्त्र नै कमजोर
गैरसरकारी संस्था ग्रीनहुड नेपालले गएको १७ चैतमा सुनाखरी संरक्षण, चुनौती र सम्भावनाबारे अनुसन्धानकर्मी, जडीबुटी व्यापारी, सरकारी कर्मचारी, सञ्चारकर्मी, सिटिजन साइन्टिस्ट र विद्यार्थीसँग कार्यशाला आयाेजना गरेको थियो। औषधिजन्य वनस्पति निर्यात व्यवसायीले बताए अनुसार नेपालमा कुन–कुन सुनाखरीको व्यापार भइरहेको छ भन्दा पनि अन्तर्राष्ट्रिय व्यापारीले जे माग्छ, त्यो खोज्न लगाउने गरिन्छ।
पेफिओपेडिलम् भेनुस्टम् । तस्वीरः गुगलउहिले विदेशी व्यापारी काठमाडौं आउँथे र यहाँका व्यापारी उनीहरूको माग अनुसार सुनाखरी खोज्न जिल्ला जान्थे। हिजोआज विदेशी व्यापारीका एजेन्ट सुनाखरीका नमूना लिएर सोझै गाउँ पुग्छन्। स्थानीय बासिन्दालाई कुन प्रजाति साइटिसको सूचीमा छ वा संकटापन्न हो भन्ने थाहा हुँदैन।
वन विभागका कर्मचारीमा पनि सुनाखरी कुन प्रजाति हो भनेर पहिचान गर्न सक्ने क्षमता छैन। फुलेको अवस्थामा वनस्पति विभागका केही कर्मचारीले कनीकुथी चिन्छन्। फूल नभएपछि सुनाखरी विज्ञले पनि प्रजाति निश्चित गर्न सक्दैनन्।
सुनाखरीको काण्ड वा जरा, गानो मात्र व्यापार हुने गरेको छ। जरा र गानो मात्र हेरेर त विज्ञले पनि चिन्दैनन्। वन नियमावलीमा सुनाखरीको पाँच औंले मात्र चिन्दा हुने व्यवस्था छ। किनभने अन्य सबै प्रजातिको निकासी दस्तुर एकै छ। पाँच औंलेको जरा र गानो सजिलै चिनिन्छ। यसको गानोको आकृति हत्केलाको ५ औंलाजस्तो हुन्छ।
सरकारले संकटापन्न वनस्पतिको व्यापार नियमन गर्न नियम त बनाएको छ, तर सरकारी कागजले धेरैजसो संकटापन्न वनस्पति नै चिन्दैन। सरकारी पक्षको फितलो कागजातका कारण संकटापन्न सुनाखरी सजिलै निर्यात गर्न सकिने अवस्था छ।
सम्बन्धित निकायले व्यापारिक प्रयोजनमा आउने प्रजातिका मात्रा र उपलब्ध जिल्ला तथा निकासी नियम स्पष्ट पार्नुपर्छ। त्यसैगरी लोप हुने अवस्थामा पुगेका प्रजातिबारे पनि जानकारी दिनुपर्छ। यस्ता कतिपय प्रजाति साइटिस अनुसूची वा आईयूसीएनको रातो सूचीमा परेको वा नपरेको अध्ययन हुनुपर्छ। अन्यथा, निकट भविष्यमा सुनाखरीका धेरै प्रजाति नेपालबाट लोप हुनेछन्।