बूढानीलकण्ठ मन्दिर भक्तजनका लागि आजबाट खुला गरिँदै
कोरोनाभाइस संक्रमणका कारण नौ महीनादेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिने भएको छ। बिहान ८ बजे विशेष कार्यक्रम र पूजा गरी मन्दिर भक्तजनका लागि खुला गरिँदैछ।
कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले गत वर्ष ११ चैतमा बन्दाबन्दी लगाएकै दिनदेखि भक्तजनका लागि मन्दिर बन्द थियो। आजदेखि भने भक्तजनका लागि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए।
उनका अनुसार आज बिहान ८ः१५ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मन्दिर भक्तजनका लागि पनि खुला गरिएको घोषणा गर्नेछन्। मन्दिर बन्द हुँदा पनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ।
मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो। बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ।
गएको वर्ष ११ चैतदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर १ पुसदेखि नै भक्तजनका लागि खुला गरिसकिएको छ। पशुपतिनाथमा पनि मास्क अनिवार्य गरिएको छ। भक्तजनले भौतिक दूरी कायम गरेर स्वास्थ्यका अन्य मापदण्ड पनि पूरा गर्नुपर्नेछ।