महिलाले हाँकेको ‘अनुकरणीय’ हुप्सेकोट

पूर्व नवलपरासीको हुप्सेकोट गाउँपालिकाले आफ्नो क्षेत्रको विकासका लागि विभिन्न काम अगाडि बढाइरहेको छ। सरकारी सेवालाई प्रभावकारी बनाउने प्रयत्नमा लागेको गाउँपालिकाले पर्यटन प्रवर्द्धनदेखि शिक्षा, सामाजिक क्षेत्र र व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले गरिरहेका कामबारे गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हिमालखबरसँग यसरी बताइन्ः
लक्ष्मीदेवी पाण्डे, अध्यक्ष, हुप्सेकोट गाउँपालिकास्थानीय सरकार गठन भएयता तीन वर्षमा हाम्रो गाउँपालिकाले गरेका विकास–निर्माणका नियमित काम अन्य स्थानीय तहका जस्तै हुन्। त्यसैले यसबारे कुरा नगरी अलि फरक कामहरुको बारेमा मात्र बताउँछु।
गाउँपालिकाको पहिलो बैठकले सुरक्षित रुपमा सुत्केरी हुन प्रेरित गर्ने उद्देश्यले सरकारी अस्पतालमा सुत्केरी भएमा रु.५ हजार दिने निर्णय गर्यो। यो सुविधा लिन आमाबाबुको विवाह दर्ता, बच्चाको जन्मदर्ता तथा सरकारी अस्पतालमा बच्चा जन्माएको कार्ड हुनुपर्ने शर्त राखिएको छ। विवाह दर्ता नहुँदा श्रीमान् श्रीमतीबीच कुनै कारणले फाटो भयो भने अंश दाबी गर्ने आधार र बच्चाको जन्म दर्ता नहुने भएकाले यस्तो प्रावधान राखिएको हो।
त्यो निर्णय भएयता १००८ जनाले सरकारी अस्पतालमा सुत्केरी भएर प्रोत्साहन भत्ता पाइसकेका छन्। पहिले गाउँपालिकाभित्र एउटा मात्रै बर्थिङ सेन्टर थियो, पछिल्लो समय दुर्गममा दुई वटा थपेर तीन वटा बनाएको छ। गाउँपालिकाको बर्थिङ सेन्टरबाट ठूलो अस्पताल लैजानुपर्ने भएमा सरकारी अस्पतालमै रिफर गर्नुपर्ने नियम बसालिएको छ।
सरकारी स्वास्थ्य संस्थाको सेवा–सुविधा राम्रो बनाएपछि अहिले निजी अस्पतालमा जान सक्नेहरु पनि सेवा राम्रो हुने विश्वासका कारण सरकारीमै आउँछन्।
गाउँपालिकाको वडा नम्बर १ मा ५ कात्तिकमा १० शय्याको अस्थायी कोभिड अस्पतालको उद्घाटनपछि ।प्राथमिकतामा शिक्षा र पर्यटन
गाउँपालिकाले ‘विद्यालय गाभ्ने कार्यक्रम’ लाई पनि प्राथमिकता दिएको छ। चार वटा सरकारी विद्यालय गाभिएका छन्। अहिले भने अलि नयाँ अभ्यासका रुपमा सरकारी र निजी विद्यालय ‘मर्ज’ गर्ने गरी छलफल भइरहेको छ।
विद्यालय गाभेपछि कतिपय विद्यार्थीलाई विद्यालय टाढा जानुपर्ने समस्या पनि देखियो। तर, यति उमेरको विद्यार्थी यति दूरीमा हिंड्न सक्छ भन्ने हिसाब गरेर गाभेकाले विरोध भएन। म पूर्व शिक्षक पनि भएकाले र विद्यार्थी र अभिभावकलाई अप्ठ्यारो नपर्ने गरी विद्यालय सुधार कार्यक्रममा ध्यान दिएको छु।
यो गाउँपालिकामा उच्च पहाड, मध्य पहाड र तराई गरी तीन किसिमको भूभाग भएकाले पर्यटनको आकर्षक गन्तव्य बन्ने देखिन्छ। पर्यटन प्रवर्द्धनका लागि पाँच हजार गुराँस रोपेर लालीगुराँस संरक्षित क्षेत्र घोषणा गरिएको छ।
सबै प्रकारका हिंसा अन्त्य गर्न प्रत्येक व्यक्तिलाई जन्मेदेखि नै राम्रो व्यवहार सिकाउने गरी चेतनामूलक अभियानलाई प्राथमिकता दिएका छौं। पारिवारभित्र छोराछोरीलाई समान रुपले हुर्काऔं, सबै प्रकारका काम दुवैलाई सिकाऔं, शिक्षामा विभेद नगरौं भनेर घरपरिवारलाई चेतना दिने गरेका छौं।
व्यक्ति सुसंस्कृत भए मात्रै समाज सभ्य हुन्छ। विद्यार्थीलाई नैतिक ज्ञान र चालचलनका कुरा सिकाउने गरी विद्यालयमा नैतिक शिक्षा अनिवार्य गरेका छौं।
संस्कृत पाठशाला पनि बनाउँदैछौं। पहिलेदेखि नै पुरानो संस्कृत विद्यालय भने पनि त्यसलाई संस्कृत तथा साधारण मावि बनाउँदै लगिएको रहेछ। यसैलाई संस्कृत पाठशाला मात्र बनाउँदैछौं।
गाउँपालिकामा मगर जातिको जनसंख्या धेरै (करीब ६० प्रतिशत) भएकाले स्थानीय पाठ्यक्रम बनाइएको छ। मगर भाषाको लिपि पनि बनाउन लागेका छौं। गाउँपालिकाको डिजिटल बडापत्र मगर भाषामा पनि छ।
यो गाउँपालिकामा उच्च पहाड, मध्य पहाड र तराई गरी तीन किसिमको भूभाग भएकाले पर्यटनको आकर्षक गन्तव्य बन्ने देखिन्छ। पर्यटन प्रवर्द्धनका लागि पाँच हजार गुराँस रोपेर लालीगुराँस संरक्षित क्षेत्र घोषणा गरिएको छ।
गाउँपालिकाको रुद्रपुरगढी क्षेत्रमा ५ भदौमा पर्यटन तथा लालीगुराँस संरक्षित क्षेत्र घोषणा कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई र गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे ।पाँच हजार गुराँस वडा नम्बर ५ मा रोपिएको हो। गत वर्ष गुराँस विज्ञ नै लगेर त्यो ठाउँमा हुने विभिन्न प्रकारका गुराँस रोपिएको छ। संरक्षण कार्यका लागि ‘एक विद्यार्थी एक लालीगुराँस’ अभियान चलाइएको छ। संरक्षणमा सबै विद्यार्थी जान नसक्ने भएकाले विद्यालयले जिम्मा लिएका छन्। हरेक विद्यालयको नाममा ब्लक बनाइएको छ। हरेक ब्लकलाई २५ हजार बजेट छुट्याएको छ। विद्यालयले संरक्षणको मुख्य दायित्व लिने गरी उपभोक्ता समिति, हेरालुको पनि व्यवस्था गरिएको छ।
धार्मिक पर्यटन र पर्यावरणको लागि वडा नम्बर १, ३ र ४ मा १००८ पीपल रोपिएको छ। गाउँपालिकाले मात्रै होइन, बुटवल, तनुहँ, नवलपरासी, त्रिवेणी धाम, देवघाट लगायत विभिन्न धार्मिक क्षेत्रबाट आएर पीपल रोपेका हुन्। उद्योगी–व्यवसायी र नेताहरुले पनि रोपेका छन्। श्रीखण्ड र रुद्राक्ष पनि हुने ठाउँ भएकाले त्यो पनि रोप्ने योजना छ। यस्तो प्राकृतिक र पवित्र वातावरण बनाएर भविष्यमा संस्कृतको पठनपाठन गर्ने तपोवन बनाउने कल्पना गरेका छौं।
रुद्राक्षको व्यावसायिक खेती नै गर्ने हाम्रो सोच हो। जसले धार्मिक पर्यटनसँगै गाउँपालिकाको लागि नियमित आम्दानीको स्रोत पनि बन्नेछ।
किसानलाई प्रोत्साहन
गाउँपालिकाको सबै भूभाग राम्रो कृषि उत्पादनशील क्षेत्र भएकाले हरेक वर्षको बजेटमा कृषिलाई प्राथमिकता दिएका छौं। वैदेशिक रोजगारीमा गएकालाई फर्किन प्रेरित गर्ने र कोरोनाभाइरस महामारीका कारण फर्किसकेकालाई कृषिमा लाग्ने गरी व्यावसायिक खेती गर्न अनुदान दिने कार्यक्रम राखेका छौं। जसले गर्दा कृषि फार्म तथा कृषिसँग सम्बन्धित व्यवसाय दर्ता गर्ने क्रम बढ्दै गएको छ।
यो गाउँपालिकामा काँक्रासहितका तरकारी एकदमै राम्रो उत्पादन हुन्छ, मकै उत्पादन पनि धेरै हुन्छ। घरमै बस्ने महिलाहरुलाई आयआर्जनको बाटो देखाइदिन मकैको खोस्टाबाट विभिन्न सामान उत्पादन गर्ने गरी तालिम दिने तयारी छ। उहाँहरुले जानेको सीपले पनि स्वेटर, मोजा, पन्जा, गलबन्दी बनाउन दैनिक २/३ घण्टा समय छुट्याउन आग्रह गरेका छौं। त्यो उत्पादनको बजार व्यवस्थापन गाउँपालिकाले गर्नेछ।
सीप सिक्न बाहिरका प्रशिक्षकमा मात्रै भर नपर्ने उद्देश्यले अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम पनि संचालनमा छ। पाका व्यक्तिहरुलाई प्रशिक्षक बनाएर युवाहरुलाई सिकाउने यो कार्यक्रम दुई वर्ष अघिको बजेटबाट शुरु गरिएको छ।
सडक कालोपत्रेको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र उपाध्यक्ष कोपिला मल्ल (खैरो सारीमा) 'एकल महिला पाठशाला' कार्यक्रम
गत वर्षदेखि शुरु भएको ‘एकल महिला पाठशाला’ का लागि गाउँपालिकाले बजेट पनि छुट्टयाउन थालिसकेको छ। यो कार्यक्रमका लागि सबैभन्दा पहिला एकल महिलाहरुबाट योजना र कार्यक्रम माग्छौं, त्यसैमा गाउँपालिकाले पनि सहयोग गर्छ र उहाँहरुलाई नियमित आयआर्जनमा लगाउने तयारी छ।
ग्रामीण क्षेत्रका महिला, त्यसमा पनि अधिकांश एकल महिलाको आयआर्जनको बाटो हुँदैन। सामाजिक संरचनाका कारण श्रीमान् बित्ने बित्तिकै समाजले फरक हिसाबले हेर्ने प्रवृत्ति छ। सरकारले एकल महिला लक्षित कार्यक्रम गरेपछि उनीहरुसँग सरकार छ भनेर अरुले हेप्न सक्दैनन्।
ग्रामीण क्षेत्रका महिला, त्यसमा पनि अधिकांश एकल महिलाको आयआर्जनको बाटो हुँदैन। सामाजिक संरचनाका कारण श्रीमान् बित्ने बित्तिकै समाजले फरक हिसाबले हेर्ने प्रवृत्ति छ। सरकारले एकल महिला लक्षित कार्यक्रम गरेपछि उनीहरुसँग सरकार छ भनेर अरुले हेप्न सक्दैनन्।
करीब दुई वर्ष अघि दुई जना कर्मचारी चाहिएर विज्ञापन गर्दा बेरोजगार एकल महिलाहरु धेरै हुनुहुँदो रहेछ भन्ने थाहा पायौं। त्यो बेला दुई जना कर्मचारी चाहिएर विज्ञापन गर्दा ५०/६० जना जति एकल महिलाले आवेदन दिनुभएको थियो। अन्तर्वार्ताका क्रममा नै उहाँहरुले दुःख पोख्नुभयो। गाउँपालिकाले सबैलाई जागिर दिन सक्ने कुरै थिएन। त्यसैले नियमित आयआर्जनका लागि हामीले यो कार्यक्रम ल्याएका हौं।
एकल महिलालाई व्यक्तिगत घटना दर्तादेखि विभिन्न सिफारिश लिन समस्या हुने रहेछ। त्यसमा पनि हामीले ध्यान दिने गरेका छौं।
अध्यक्ष–उपाध्यक्षबीच सल्लाहले काम
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै महिला छौं। दुवै महिला भएकाले सामाजिक क्षेत्रमा कुरा मिल्न सजिलो हुने रहेछ। धेरै स्थानीय तहमा भने सामाजिक कामका लागि पुरुष र महिला प्रमुख–उपप्रमुबीच मतभेद उत्पन्न भएको देखिन्छ।
उपाध्यक्ष र म फरक–फरक दलका हौं। कहिलेकाहीँ बाहिरबाट राजनीति विषय जोडेर हामी दुवैलाई अप्ठ्यारो पार्ने खालका कुरा पनि आउँछन्। तर, त्यस्ता कुरामा पनि दुई जना बसेर छलफल गर्छौं। यो तीन वर्षमा हामीले सबैजसो काम सल्लाहमै गरेका छौं। सबै आफैं गर्न सकिहाल्छु भन्ने मेरो पनि बानी छैन।
हामीले पाएको पाँच वर्षलाई जनपक्षीय काम गरेर बढीभन्दा बढी फलदायी बनाउनु छ। एक–अर्काबीचको तिक्तता र विवादले हाम्रा मतदाताप्रति घात हुन्छ। त्यसमा संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्न केन्द्रित छौं।