हङकङको आगलागी, नेपाली समुदायलाई पाठ
३० कात्तिक बेलुकीको आगलागी घटना हङकङका नेपाली र समुदायका अगुवाहरूलाई दह्रो सबक र आफैंलाई सुधार्ने पाठ हो।
हङकङको याउ मा तेई क्षेत्रको क्यान्टोन रोडमा रहेको नेपाली क्लब जिरे खुर्सानीमा गएको ३० कात्तिक बेलुकी भएको आगलागीले यहाँका नेपालीहरूलाई शोकाकुल बनाएको छ।
झिलीमिली बत्तीको उज्यालो पर्व तिहारमा भएको यो घटना हङकङका नेपालीका लागि ‘ब्ल्याक नाइट’ भएर आयो। खुशियाली साथ मनाइरहेको तिहारलाई दुःखदायीमा परिणत गर्ने यो घटनामा सात जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेको संख्या अधिक छ। तिहारको रमझमसँगै जन्मदिनको पार्टी चलिरहेको अवस्थामा भएको आगलागीको घटना चरम मानवीय लापरबाहीको परिणाम हो।
हङकङमा ८० प्रतिशत नेपालीले ‘सेफ्टी’ तालिम लिएर खल्तीमा ग्रीन कार्ड बोकेका छन्। धेरैसँग यहाँको निर्माण क्षेत्रमा काम गरेको अनुभव छ।
कैयौं ‘सेफ्टी सुपरभाइजर’, ‘सेफ्टी म्यानेजर’को रूपमा काम गरिरहेका पनि छन्। काममा १० र १२ घण्टा ‘सेफ्टी’ प्रति सचेत हुन्छौं तर घर, समाज र व्यवहारमा आफू र अरूको सुरक्षाका कुरामा ध्यान नदिंदाको परिणाम हो यो घटना। किनकि इमर्जेन्सी ढोका, आगो निभाउने ‘फायर एक्सटिङग्युसर’ नभएको र क्लबको नाममा दर्ता भए पनि गैरकानूनी रूपमा ‘रेस्टुराँ’ भनेरै सञ्चालन भइरहेको यस्ता ‘भट्टी’हरूमा वर्षौंदेखि जमघट र कार्यक्रम समेत भइरहेकै छन्।
यस्तो ठाउँमा संघ–संस्थाका अगुवाहरू गएर खादा पनि लगाउँदै आएकै छन् ! चाड–पर्व, होलिडे र व्यक्तिगत जमघट र पार्टीहरू भइरहने ‘भट्टी’ हरूमा नेपालीको भीड लाग्ने गरेको छ। तर, व्यक्तिगत ‘सेफ्टी’ प्रति न संचालकहरू न त सर्वसाधारणहरू नै सचेत देखिन्छन्।
यस घटनामा मृत्यु हुनेहरूमा राजु नेपाल र उनका ९ वर्षीय छोरा रायन नेपाल, युवराज कँडेल र उनकी १३ वर्षीया छोरी कीर्तिका कँडेल छन्। त्यसैगरी क्लब संचालक विनिता तामाङ र त्यहीं कार्यरत अनिता निरौलासहित, शेरबहादुर गुरुङ पनि छन्। क्लब संचालकमध्येका मुकेश श्रेष्ठ घाइते भएका छन्, उनी मृतक विनिता तामाङका श्रीमान् हुन्।
ढोकामा ‘साउण्ड प्रुफ’ का लागि लगाइएको भित्तामा दीपावलीका लागि बालेको बत्तीबाट आगो सल्किएको थियो। भित्रको हो–हल्ला बाहिर नजाओस् भनेर दुईवटा ढोकासँगै भित्रपट्टि रेकर्डिङ स्टुडियोहरूमा प्रयोग हुने चाँडै आगोले टिप्ने सामानबाट बनेको ‘साउण्ड प्रुफ’ मा आगो लाग्नु र आगो निभाउने ‘फायर एक्सटिङग्युसर’ समेत नहुँदा तुरुन्तै आगो निभाउन सम्भव भएन। त्यसमाथि संचालकहरूले दमकललाई खबर गर्न छाडेर शुरूमा आफैं आगो निभाउने प्रयास गरेको बुझिन्छ।
घटनामा परेका परिवारका एक आफन्तका अनुसार आगो लाग्नासाथ महिला, केटाकेटीलाई किचन र सँगैको स्टोरतिर राखेर आगो निभाउने प्रयास गरिएको थियो। फोन गरेको तीन मिनेटमै आएको दमकलले आगो निभाउन थाल्दा धेरै क्षति भइसकेको थियो। ढोकैमा आगो लागेपछि ७५ वर्गमिटरको हलमा आगो फैलिएको थियो। निस्कने ठाउँ नभएपछि सबैजना एकैठाउँ थुप्रिएका थिए। केही शौचालय र बाहिरी सडकतिरको झ्याबाट निस्किएका थिए। झ्याबाट फाल हाल्दा खुट्टा समेत भाँचिएका एक युवक र एक महिलाको प्रहरीले उद्धार गरेको थियो।
सन् २०११ पछि हङकङमा आगलागीमा धेरै जना हताहत भएको यही घटना हो। त्यसबेला मङकङ क्षेत्रमा भएको आगलागीमा ९ को मृत्यु र ३४ जना घाइते भएका थिए।
आइतबारको घटनालाई यहाँको सरकारले ठूलो घटनाको रूपमा लिंदै आगलागीको कारण पत्ता लगाउन छानबिन गर्न आदेश दिएको छ। १ मंसीरमा हङकङ प्रमुख क्यारी लामले घटनास्थलको निरीक्षण गरेकी थिइन्।
‘सेफ्टी फर्स्ट’
व्यक्तिगत र कार्यस्थलको ‘सेफ्टी’का लागि हङकङ अत्यन्तै संवेदनशील ठाउँ हो। किनकि यहाँको हरेक निर्माण क्षेत्र, व्यापारिक भवन, होटल, रेस्टुरेन्टहरूमा ‘सेफ्टी फस्र्ट’ को नियम लागू हुन्छ। तर, पनि यति ठूलो घटना हुनुमा केही कारणहरू छन्।
जस्तो यो क्षेत्रका अधिकांश भवन ५० वर्ष पुराना छन् जसमा आकस्मिक ढोका र आगो निभाउन प्रयोग हुने फायर स्प्रिङ्कल जडान भएका छैनन्। अर्को अधिकांश यस्ता ‘भट्टी’हरू सामान्य पारिवारिक जमघट हुने क्लबको रूपमा दर्ता गरिएकोले रेस्टुरेन्टको सरकारी मापदण्ड पूरा गरेका हुँदैनन्।
त्यसैले नेपालीहरूले ‘रेस्टुरेन्ट’ भनेर खानपान र जमघट गरे पनि यो आधिकारिक अनुमतिप्राप्त रेस्टुरेन्ट हैन। सरकारी लाइसेन्ससहितको रेस्टुरेन्ट नभएकोले दुर्घटना बीमा हुने कुरै भएन। त्यसैले यो घटना नेपालीहरूले जानी जानी निम्त्याएको कालसरह थियो।
‘सेफ्टी’ अर्थात् सुरक्षाको कुरा गर्दा मलाई बेलायतको एउटा कार्यक्रमको सम्झना आउँछ। जहाँ कुनै पनि जमघट र कार्यक्रम शुरू गर्ने बेलामा संचालक÷उद्घोषकले सबैभन्दा पहिले सुरक्षाका नियम र जानकारीहरू बताउने गर्दछन्।
सन् २०१४ को नोभेम्बरमा बेलायतमा म सहभागी गोर्खा भूतपूर्व सैनिकको परिवार र वृद्धवृद्धाको सहायता गर्ने एक संस्थाको कार्यक्रमको शुरूमै उद्घोषिकाले हलमा आकस्मिक ढोका कता र कतिवटा छन् ?, प्राथमिक उपचारको बाकस, ‘फायर एक्सटिङ्ग्युसर’ राखिएको स्थानबारे जानकारी गराएकी थिइन्। हङकङका नेपाली कार्यक्रमहरूमा जाँदा मैले कहिल्यै पनि ‘सेफ्टी’बारे यसरी सचेत गराएको देखेको, सुनेको छैन।
नेपालमा त अझ सडक, बजारमा हिंड्दा जताततै बाटो खनेर नपुरिएका खाडल, तिखा, धारिला छड र निर्माण सामग्री खुला रूपमा ढुवानी गरिरहेका सवारी साधनहरू देख्नु सामान्य कुरा हो। केही अघि वर्षायाममा राजधानी काठमाडौंमा एक स्कूले बालिकाको नालीमा डुबेर र अर्का एक जना साइकलयात्रीको बाटोको खाल्डोमा परेर मृत्यु भएको थियो।
यो आगलागीको घटना हङकङका नेपाली र समुदायका अगुवाहरूलाई दह्रो सबक र आफैंलाई सुधार्ने पाठ हो। अबका दिनमा यस्ता असुरक्षित ‘क्लब’ हरूलाई कसरी व्यवस्थित गर्ने ? सुरक्षित, वैधानिक बनाउने ? यो समाजका सबैको दायित्व हो। यो दुःखदायी घटनाबाट पनि नचेत्ने हो भने योभन्दा ठूला दुर्घटना निम्तिन सक्छन्।
अबको दिनमा यस्तो घट्ना दोहोरिन नदिन सबै हङकङस्थित सबै संस्था एक जुट हुनु आवश्यक छ। नेपालीलाई परेकाे विपत्तिमा पीडितहरूको उपचार र अन्य सरकारी सहयोगका लागि सबै संस्था जुटेर एउटै आवाजमा अघि बढ्नु जरुरी छ।
- श्रेष्ठ हङकङबाट प्रकाशित एभरेष्टखबर मासिकका कार्यकारी सम्पादक हुन्।