भदौमा लिएको ऋण तिर्न भ्याइनभ्याई छ डोम समुदायलाई
![भदौमा लिएको ऋण तिर्न भ्याइनभ्याई छ डोम समुदायलाई](https://www.himalkhabar.com/uploads/posts/800X600/Dom-Samudaya-Dhakki_1605521436.jpg)
रौतहटको गढीमाई नगरपालिका-२ हथिऔलका इन्दल मल्ली दिनरात ढक्की बुन्न व्यस्त छन्। स्थानीय बज्जिका भाषामा दौरा भनिने ढक्की बुन्न मल्लीको पूरा परिवार नै लागेको छ। गएको भदौमा एक जना साहुसित लिएको दश हजार रूपैयाँ ऋणको ब्याजसमेत तिरेर कम्तीमा दश हजार रूपैयाँ थप आम्दानी गर्ने लक्ष्यसाथ मल्ली परिवार ढक्की बुनिरहेको छ।
मधेशी समुदायमा पछाडि परेको डोम समुदायका अधिकांश मानिस गर्मीमा हाते पंखा र नाङ्लो बुनेर बेच्दै गुजारा चलाउने गर्छन् भने छठ पबनीको समयमा दौरा र सुपली बुनेर गुजारा चलाउँछन्। डोम समुदायले बुनेको दौरा र सुपलीमा छठ पबनीको सामग्री हाल्ने परम्परा रहेको छ। यसैगरी पछाडि परेको अर्को समुदाय बिन जातिले बुनेको छैटी र ढक्की पनि छठ पबनीमा प्रयोग हुँदै आएको छ। अहिले दौरा, सुपली तथा ढक्की बुन्नेहरूले दिनरात परिश्रम गरिरहेका छन्।
छठ पबनीको समयमा बुनेको दौरा र सुपली बेचेर हरेक वर्ष कम्तीमा दश हजार रूपैयाँ बचत गर्ने गरेको इन्दल मल्ली बताउँछन्। गत वर्ष पनि उनले साहुको ऋण र ब्याज तिरेर दश हजार रूपैयाँ आम्दानी गरेका थिए। जसले माघ–फागुनसम्म गुजारा चलेको थियो।
रौतहटका गरुडा, कटहरिया, वृन्दावन, चन्द्रपुरसहित तराईका अधिकांश जिल्लाका डोम समुदाय अहिले छठ पबनीको सामग्री राख्ने दौरा र सुपली बुन्नमा व्यस्त छन्। इन्दल मल्लीको जस्तै तराई मधेशका अधिकांश डोम समुदायको अवस्था उस्तै रहेको स्थानीय टेङर मल्लीको दाबी छ। तराई मधेशमा दलित समुदायमा डोम समुदायको जीवनयापनलाई चाडपर्वले केही थेगेको स्थानीय बुद्धिजीवीहरू बताउँछन्।
रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरका शिक्षक रामअधार पासवानले डोम समुदाय अत्यन्तै पछाडि परेको भए पनि उल्लेख्य प्रगतिमूलक सहयोग कतैबाट हुन नसकेको बताउँछन्। डोम समुदायले आफ्नो परम्परागत पेसाबाट बडो मुस्किलले जीवनयापन गरेको शिक्षक पासवानको भनाइ छ।
रौतहटको दुर्गाभगवती गाउँपालिकामा जम्माजम्मी आठ परिवार रहेको डोम समुदायको लागि गाउँपालिकाले पक्की घर बनाइदिएको भए पनि रोजगारीको व्यवस्था नहुँदा जीवनयापनमा समस्या भएको बताइएको छ। परम्परागत पेसाले डोम समुदायको जीवन चलाउन गाह्रो भइरहेकोले वैकल्पिक उपाय गर्नु आवश्यक रहेको शिक्षक पासवानको भनाइ छ।
तराई मधेशको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठमा डोम समुदायको हातबाट बुनिएको सामग्री उपयोग हुने परम्परा रहेकोले संस्कृतिले नै डोम समुदायको सम्मान गरेको गढीमाई नगरपालिका–२ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठ बताउँछन्।