बजारलाई नलागेको दशैं, उपभोक्तादेखि व्यवसायीसम्म भन्छन्- थेग्नै गाह्रो छ !
![बजारलाई नलागेको दशैं, उपभोक्तादेखि व्यवसायीसम्म भन्छन्- थेग्नै गाह्रो छ !](https://www.himalkhabar.com/uploads/posts/800X600/Dashain-Market-Shop_1602502729.jpg)
सामान्य अवस्थामा वर्षभरिको १० महीनामा हुने कारोबार दशैं–तिहारको बेला दुई महीनामा हुने गरेकोमा कोरोना संक्रमण महामारीको कारण दशैं अर्थतन्त्रमा यो वर्षको योगदान निकै कम हुने देखिएको छ।
काठमाडौं लाजिम्पाटकी मुना पोखरेल (३५) यो वर्षको दशैं खर्च जुटाउन एक तोला सुन बेच्न न्यूरोड पुगिन्। मजदूरी गरेर तीन जनाको परिवार पाल्दै आएकोमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीले शहरमा जीवन धान्ने बाटो भत्काइदियो। अब केही समय घर (स्याङ्जा) गएर बस्ने भएकाले आवश्यक सामान खरीद गर्न र दशैं खर्च जुटाउन सुन बेच्नुपरेको उनले बताइन्।
औषधिको व्यापार गर्दै आएकी कालीमाटीकी सुशीला नेपाल यो वर्ष जीविका धान्ने गरी पनि आम्दानी नहुँदा निराश छिन्। यसपालि दशैं खर्च घटाउन नयाँ लुगा नकिन्ने उनको मनस्थिति छ। चार जनाको परिवार पाल्नुपर्ने, व्यापारका लागि सहकारीबाट लिएको ऋणको साँवा–ब्याज तिर्नुपर्ने र भैपरी आउने खर्च पनि धान्नुपर्ने बाध्यता उनलाई छ। महामारीका कारण व्यापार नभएर तीन महीनादेखि कोठा भाडा समेत तिर्न नसकेकी उनी यो वर्ष तामझामविना नै दशैं मनाउँदैछिन्।
न्यूरोड इन्द्रचोकमा कपडाको होलसेल व्यापार गर्दै आएका सीतापाइलाका गोकुल पौडेललाई विगत वर्षको दशैंमा व्यापारमा भ्याईनभ्याई हुन्थ्यो। तर, यसपालि दशैंको सामान आएको छैन भने मौज्दात सामान पनि फाट्टफुट्ट मात्र बिक्री भएको छ। व्यापार नभएको र बजारबाट लाखौं रुपैयाँ फिर्ता नआएका कारण उनलाई यो कोरोना–काल थेग्नै गाह्रो परिरहेको छ।
“बितेको ६ महीनामा बन्दाबन्दी र निषेधाज्ञाका कारण लाखौं रुपैयाँको कारोबार गुमाउनुपर्यो। त्यसलाई दशैंको व्यापारले केही राहत देला भन्ने लागेको थियो, तर बजारमा दशैं किनमेलको खासै रौनक देखिएको छैन” पौडेलले भने, “व्यापार नहुँदा तीन महीनाको कोठा भाडा डेढ लाख तिर्नै सकेको छैन।”
![](https://www.himalkhabar.com/uploads/editor/Economics/Dashain-Market.jpg)
मजदूरीबाट जीविका चलाउने पोखरेल, सामान्य व्यवसाय गर्ने नेपाल र होलसेल व्यापारी पौडेल जस्तै कोरोना संक्रमण महामारीका कारण धेरैलाई यो वर्षको दशैंमा उत्साह छैन। कोरोना कहरका कारण सर्वसाधारणको खल्ती चापमा परेको छ भने सात महीनादेखि ठप्प व्यापार व्यवसाय फस्टाउन सकेको छैन। जसका कारण दशैं अर्थतन्त्र अहिलेसम्म चलायमान हुनसकेको छैन।
दशैं लक्षित कारोबार प्रभावित
सामान्य अवस्थामा वर्षभरिको १० महीनामा गर्ने कारोबार धेरैजसो व्यावसायिक क्षेत्रका लागि दशैं–तिहारको दुई महीनामा नै हुने गरेको थियो। दशैं महान् चाड भएको र चाडबाड लक्षित उपभोक्ता आकर्षणको अफर पनि आउने हुँदा यो बेला बजार चलायमान हुने भएकाले कारोबार बढी हुने गर्थ्यो। तर, कोरोना संक्रमण महामारीको असरका कारण यो वर्षको दशैं अर्थतन्त्र चलायमान हुनसकेको छैन। प्रमुख व्यावसायिक क्षेत्रमा अत्यन्त न्यून चहलपहल देखिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Economics/Dashain-Market-Ason.jpg)
दशैंको मुखमा सामान्य अवस्थामा सुनचाँदी बेचेरै भ्याईनभ्याई हुने भए पनि यो वर्ष भने व्यापार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्य बताउँछन्। सुनको मूल्य बढेर गत महीना प्रतितोला एक लाख पुगेका बेला किन्ने भन्दा बेच्ने बढी थिए। “अहिले त मान्छेसँग पैसा सकिएको हो कि बचत गरेर राखेका हुन्, दैनिक एक–दुई ग्राहक पाउन पनि गाह्रो छ” शाक्य भन्छन्, “सुन किन्न दैनिक दुई जना ग्राहक आए भने अर्को दुई जना बेच्न आउने गरेका छन्।”
हरेक सुन पसलमा एक न एक ग्राहक घरव्यवहार चलाउन समस्या भयो भनेर सुन बेच्न आउने गरेको शाक्य बताउँछन्।
दशैंको बेलामा सामान्य महीनाको तुलनामा ५० प्रतिशतसम्म बढी व्यापार हुन्थ्यो। गएको वर्षको दशैंमा दैनिक ३५ देखि ४० किलो सुन किनबेच हुने बजारमा अहिले ३ देखि ४ किलोको कारोबार हुन पनि गाह्रो छ।
नेपालमा गत वर्ष २०७६/७७ मा २४ सय किलो सुन आयात भएको थियो। सामान्य अवस्थामा मासिक ६ देखि ७ सय किलो सुन आयात हुने गरे पनि कोरोना कहरका कारण चालु आर्थिक वर्षको तीन महीनामा जम्मा एक सय किलो मात्रै आयात भएको नेपाल ब्यांकर्स संघका सीईओ अनिल शर्मा बताउँछन्। शर्मा भन्छन्, “यो वर्ष आयात भएको र गत वर्षको मौज्दात समेत गरेर अहिले ब्यांकमा जम्मा १९० किलो मात्रै सुन छ।”
८० प्रतिशत घट्यो उत्पादन
जुत्ता उत्पादक व्यवसायीहरूले वर्षेनि दशैंतिहार लक्षित जुत्ता मेला आयोजना गरेर ग्राहक तान्न विभिन्न अफर ल्याउने गरेका थिए। यो वर्ष भने सबै व्यवसायी सुस्ताएर बसेको नेपाल फुटवेयर म्यानुफ्याक्चरर्स एसोशिएसनका अध्यक्ष कृष्णकुमार फुयाल बताउँछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Economics/Dashain-Market-Shoes.jpg)
जनशक्तिको अभाव भएको र बजारमा माग नहुँदा उत्पादन घटेको तथा महामारीको असरले सर्वसाधारणको श्रम आय घट्नुका साथै संक्रमणको त्रासले मानिसहरू किनमेलमा ननिस्किंदा खपत पनि घटेको फुयाल बताउँछन्। “वर्षमा ५ करोड भन्दा बढी जोर जुत्ता–चप्पल बिक्री हुने गरेकोमा यो वर्ष माग नआएका कारण त्यसको २० प्रतिशत पनि उत्पादन हुनसकेको छैन”, उनी भन्छन्।
कोभिड–१९ को असरले उत्पादनमूलक क्षेत्रको उत्पादन ८० प्रतिशतसम्मले घटेको व्यवसायीको भनाइ छ।
घरको साजसज्जा गर्न चाडबाडकै समय धेरैले रोज्ने गरेका छन्। तर, महामारीको चौतर्फी मन्दीले उत्साहको रङ सेलाउँदा पेन्ट व्यवसाय पनि खस्किएको छ। नेपाल पेन्ट्स म्यानुफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष विश्वप्रकाश शाका भन्छन्, “बन्दाबन्दी खुले पनि अन्य व्यवसायमा धेरथोर कारोबार भएको होला, तर रंगरोगनमा त ठप्प जस्तै भएको छ।”
रङको व्यापार वार्षिक रु.१ अर्ब ८० करोडसम्मको हुने गरेकोमा यो वर्ष अत्यन्तै न्यून छ। विगतका वर्षहरुमा दशैंमा मात्रै कुल कारोबारको २५ प्रतिशत व्यापार हुने गरेकोमा यो वर्ष भने ५ प्रतिशत पनि नपुग्ने अवस्था रहेको शाका बताउँछन्।
![](https://www.himalkhabar.com/uploads/editor/Economics/Dashain-Market-Paint.jpg)
दशैंमा विभिन्न अफर ल्याएर उपभोक्तालाई आकर्षित गर्ने क्षेत्रहरू पनि सुस्ताएका छन्। विद्युतीय सामग्री, घरायसी प्रयोजनदेखि सवारी साधनसम्मका मेला यो वर्ष महामारीकै कारण हुन सकेनन्। विभिन्न वस्तु तथा सेवाका दशैं बजार पनि लागेको छैन। एउटा वस्तुको सेवा र उपयोगको ‘चेन इफेक्ट’ अर्को क्षेत्रमा पर्ने हुँदा एउटा क्षेत्रलाई परेको प्रभावले अर्थतन्त्रको समग्र पाटोमा असर पार्ने अर्थशात्री केशव आचार्य बताउँछन्।
थलियो खर्च गर्ने ठूलो जमात
कोरोनाभाइरस संक्रमण महामारीका कारण निम्न वर्ग त सबैभन्दा प्रभावित हुने नै भए, लामो समयको बन्दाबन्दी/निषेधाज्ञाले मध्यम वर्गसम्मलाई पनि असर परेको छ। उच्च वर्ग भन्दा निम्न वर्गको जमात ठूलो भएको र महामारीले तिनको श्रम आय गुमेकाले दशैं अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको अर्थशास्त्री आचार्य बताउँछन्।
“डिजिटल, स्वास्थ्य लगायत केही क्षेत्र बाहेक समग्र उद्योग, व्यवसायलाई महामारीले असर पारेका कारण निजी क्षेत्रमा काम गर्नेको बिजोग भएको छ” आचार्य भन्छन्, “आम सर्वसाधारणलाई सामान्य अवस्थामा त दशैंमा खर्च बढेर व्यवहार धान्न गाह्रो हुन्थ्यो, यो वर्ष अझै गाह्रो पर्नेछ।”