माफियाराज विरुध्द स्वराज
![माफियाराज विरुध्द स्वराज](https://www.himalkhabar.com/uploads/editor/Health/Govinda%20kc.jpg)
भारतको स्वतन्त्रता र महात्मा गान्धीको निधन यताको सात दशकमा संसारभर अनुसरण गरिएको सत्याग्रहको आवाजलाई राज्य वा सत्ताले गरेको सम्बोधन भने निकै विस्मयकारी देखिन्छ।
शेखर खरेलराजनीतिक आन्दोलन वा माग— हिंसा र शान्ति, दुवै माध्यमबाट गरिएको विश्व इतिहास छ। शस्त्र वा हिंसाले शत्रु (शासक र सत्ता) लाई छिट्टै घुँडा टेकाउने विश्वासमा विश्वमा शान्तिपूर्ण भन्दा पनि हिंसात्मक उपाय अपनाइएका उदाहरण धेरै छन्। कार्ल मार्क्सका चेला लेनिनको वोल्त्सेभिक क्रान्तिको सफलताबाट प्रभावित चीनका माओत्सेतुङले हिंसामार्फत नै कम्युनिष्ट सत्ता स्थापना गरे। दुई ल्याटिन अमेरिकी फिडेल क्यास्ट्रो र चे ग्वेभारा अद्यावधि हिंसावादी क्रान्तिकारीका ‘आइकन’ हुन्।
यद्यपि, हिंसाका माध्यमद्वारा स्वतन्त्रता वा सत्ता पलटको अभियानमा लागेका सबै लेनिन, माओ र क्यास्ट्रो झैं सफल बनेका छैनन्। हिंसात्मक क्रान्तिलाई त्यसभन्दा पनि वर्बर हिंसाद्वारा दबाइएका उदाहरण विश्वमा बग्रेल्ती छन्। हिंसात्मक क्रान्ति माथि बल प्रयोग गर्न शासकलाई सजिलो छ, शान्तिपूर्ण आन्दोलनमा जस्तो सीधै शस्त्रद्वारा नै जाइलाग्दा हुने नैतिक संकटको सामना गर्नुपर्दैन। त्यसैले कमजोर काया किन नहोस् तर चट्टानी इरादा भएका मानिस जसले अहिंसात्मक उपाय नै रोज्छन्— तानाशाहहरूका लागि पनि भारी पर्छन्।
सत्याग्रहप्रति अनुदार शासक
लेनिनले माओ र क्यास्ट्रोलाई प्रभावित गरे झैं मोहनदास करमचन्द गान्धीको भद्र अवज्ञा र सत्याग्रहको प्रतिरोध दक्षिण एशिया मात्र नभएर अमेरिका र अफ्रिकासम्म लोकप्रिय हुनपुग्यो। नागरिक अधिकारवादी मार्टिन लुथर किङ्ग जुनियर र रंगभेद विरोधी नेल्शन मण्डेला गान्धीको भद्र अवज्ञाको विधि अंगीकार गर्दै समाजमा सारभूत र दिगो परिवर्तनका सूत्रधार बन्न सफल रहे।
महात्मा गान्धीले सत्याग्रहको पहिलो प्रयोग सन् १९१५ मा दक्षिण अफ्रिकामा गरेका थिए। र, त्यहाँबाट स्वदेश फर्किएपछि उनले सन् १९१७ मा विहारको चम्पारन जिल्लाका किसानको पक्षमा सत्याग्रह गरे, जसले तत्कालै परिणाम भित्र्यायो पनि। ‘भारत छोडो’ आन्दोलनको ऊर्जा केन्द्र नै गान्धीको भद्र अवज्ञा र विदेशी सामानको बहिष्करण जस्ता विधि थिए।
गान्धीकाे भद्र अवज्ञा र सत्याग्रह हिंसात्मक विद्राेहभन्दा प्रभावकारी बन्याे । तस्वीर: स्टकफोटोयद्यपि अंग्रेज उपनिवेश विरुद्धको आन्दोलन सम्पूर्ण रूपमा हिंसामुक्त भने हुन सकेनन्। भगत सिंहदेखि सुवासचन्द्र वोसले अत्याचारको प्रतिउत्तर शस्त्रबाटै दिन रुचाए। तर, गान्धीको अहिंसात्मक उपायले बेलायती साम्राज्यलाई नैतिक संकटतर्फ धकेल्यो। गान्धीको नेतृत्वमा लाखौं नरनारी निहत्था सडकमा निक्लेपछि बन्दूक चलाउने अंग्रेजका हातहरू काँपे।
भारत स्वतन्त्रता र गान्धीको निधन यताको सात दशकमा सत्याग्रहको मशाल भारतदेखि संसारभर फैलिएको छ। यस विधिको अनुसरण भारत, दक्षिणएशिया र विश्वभर गरिंदैछ। तर, राज्य वा सत्ताले सत्याग्रहको आवाजलाई जसरी सम्बोधन गर्दै आएको छ, धेरै हदसम्म विडम्बनायुक्त छ।
भारतमा मौलाउँदो भ्रष्टाचार निर्मूल गर्न एक शक्तिशाली नियामक निकायको माग गर्दै महाराष्ट्रका गान्धीवादी किसान नेता अन्ना हजारेले ‘जनलोकपाल विधेयक’ को मागसहित गरेको सत्याग्रह तत्कालीन कंग्रेस नेतृत्वको सरकार सुन्न बाध्य भएको थियो। नर्मदा नदीमाथि बाँध बनाइँदा लाखौं आदिवासीको उठिवास हुने भन्दै बाँध निर्माणको विरोध गर्दै आएकी मेघा पाटकरले गान्धीकै सत्याग्रहको अहिंसात्मक विधि अनुसरण गरिन् । जसले प्राकृतिक विनाशको मूल्यमा विकासको अन्ध–मार्ग समात्ने सत्तालाई नराम्ररी झस्कायो पनि। तर, सबै सत्याग्रह उत्ति नै परिणाममुखी भने देखिएका छैनन्। केही दृष्टान्त हेरौं।
सत्याग्रहमा प्राण त्यागेकी टर्कीको लोकप्रिय लोक सांगीतिक समूहकी सदस्य ग्रुप योरुम (वर्ष २८) ।गएको मे महीनामा टर्कीको एक लोकप्रिय लोक सांगीतिक समूहकी सदस्य ग्रुप योरुम (वर्ष २८) ले २८८ दिन लामो सत्याग्रह पछि प्राण त्यागिन्। त्यसैगरी गत अगष्टमा टर्कीकै एक कारागारमा बन्दी बनाइएकी मानवअधिकारवादी अधिवक्ता एब्रु तिमतिक (४२) ले पनि सत्याग्रहको २३८औं दिनमा मृत्युवरण गरिन्। तर, टर्कीको रेसेप तेयिप एर्दोगान नेतृत्वको अधिनायकवादी शासन सत्ताले न लज्जा न त नैतिक पराजय नै बोध गर्यो।
सात समुद्रपारको के कुरा गर्ने, यस्तै दर्दनाक स्थिति हाम्रै मुलुक नेपालमा देखिएको छ, अहिले। आफ्ना निशस्त्र किशोरवयका छोरा कृष्णप्रसाद अधिकारीलाई अपहरण पश्चात् हत्या गर्ने तत्कालीन माओवादी कार्यकर्तालाई कठघरामा उभ्याइनुपर्ने मागसहित बालुवाटार पेटीमा धर्ना बसेका कृष्णप्रसादका आमाबुवा गंगामाया र नन्दप्रसाद अधिकारीलाई तत्कालीन बाबुराम भट्टराईको सरकारले ‘पागल’ ठहर्याउँदै लगनखेलस्थित मानसिक अस्पताल पुर्यायो।
न्यायप्रतिको आफ्नो फरियाद कतैबाट नसुनिएपछि अधिकारी दम्पतीले पनि गान्धीकै सत्याग्रहको बाटो रोजे। आमरण अनशनको ३२९औं दिन, ६ असोज २०७१ मा नन्दप्रसादले काठमाडौंको वीर अस्पतालको शय्यामा प्राण त्याग गरे। नन्दप्रसादको शव ६ वर्षदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको मूर्दाघरमा प्लाष्टिकको पोकोभित्र लडिरहेको छ। र, यता अहिले वीर अस्पताललाई कोभिड–१९ उपचार केन्द्र बनाइएसँगै अनशनरत गंगामाया समेत त्यहाँबाट धपाइएकी छिन्।
कृष्णप्रसादका हत्यारालाई कठघरामा उभ्याउने अधिकारी दम्पतीको माग बाबुराम भट्टराई यताका सबै सरकारले बेवास्ता गर्दै आएका छन्। उता अहिले सत्तामा नरहेका बाबुराम भट्टराई स्वयंचाहिं अर्का सत्याग्रही डाक्टर गोविन्द केसीको समर्थनमा उत्रिएका छन्। यसबाट के देखाउँछ भने अरूलाई कुनै चोट नपुर्याइकन नितान्त आफैंलाई कष्ट दिंदै बृहत्तर समाजको हितका लागि गरिने विद्रोह अर्थात् सत्याग्रहलाई नेपालको सन्दर्भमा राजनीतिकर्मीहरूले आफ्नो स्वार्थ अनुकूल अथ्र्याउने गरेका छन्। बाबुराम यस्तै एक पात्र हुन्।
आँखै अगाडिको उदाहरण गान्धी सदृश्य डाक्टर गोविन्द केसी हुन्। जो नेपाली शासकहरूको सत्याग्रहप्रति आजभन्दा झण्डै सय वर्ष अघिको अंग्रेज सत्ता भन्दा पनि निम्नस्तरको दृष्टिकोणका कारण विगत आठ वर्षभन्दा बढी समयदेखि पटक पटक अनशन बस्न बाध्य छन्।
हाम्रा शासकहरू किन डा. केसीको सत्याग्रहलाई अनदेखा गरिरहेका छन् ? यस प्रश्नको उत्तर खोज्नुअघि हामी कस्ता व्यक्तिबाट शासित छौं र तिनको पृष्ठभूमि के हो त्यो जान्न जरूरी छ। अनि मात्र तिनको सत्याग्रहप्रति आजभन्दा झण्डै सय वर्षअघिको अंग्रेज सत्ता भन्दा पनि निम्नस्तरको दृष्टिकोणको कारण थाहा हुन्छ।
चिकित्सा स्वास्थ्य सुधारको माग राखेर २१ असार २०६९ बाट शुरू भएको डा.केसीको अनशन अहिले १९औं संस्करणसम्म आइपुग्दा केही कोसेढुङ्गाहरू नठडिएका चाहिं होइनन्। तर, उनको माग पूर्ति निम्ति सरकारका तर्फबाट गरिने सम्झौताको मसी सुक्न नपाउँदै हुने अवज्ञाका कारण डा. केसी वितेका आठ वर्षमा १९औं पटकसम्म सत्याग्रह गर्न बाध्य बनाइएका छन्।
चिकित्सा शिक्षा नाफामुखी बनाइन नहुने, गरीबका जेहेन्दार सन्ततिलाई समेत चिकित्सक बन्ने बाटो खोलिनुपर्ने र दूरदराजसम्म शिक्षण अस्पताल फैलाइनुपर्ने जस्ता डा. केसीका मुख्य माग समावेशिता, विकेन्द्रीकरण र अझ भन्नुपर्दा समाजवादउन्मुख व्यवस्थाका मूल मर्म अनुरूप नै छन्। तर, उनको माग त्यति बेला मात्र सुनुवाइ हुन्छ, जति वेला डा. केसीको चोला लगभग उठ्न तयार हुन्छ। सत्ताधारीको दाउपेचका रूपमा गरिने सम्झौता पालना हुने त कुरै रहेन, जसले डा. केसीलाई उही मागका निम्ति बारम्बार सत्याग्रहतिर धकेल्छ।
युवा गान्धी । सत्याग्रहको लक्ष्य स्वराज
डाक्टर गोविन्द केसीको सत्याग्रहलाई बुझ्नु पूर्व गान्धीको स्वराजको मर्मलाई बुझ्न जरूरी छ। किनकि, सत्याग्रह वास्तवमा एक विधि हो भने स्वराजचाहिं अन्तिम लक्ष्य। स्वराज जनताको स्वामित्वको जनमुखी व्यवस्था हो। हिजो गान्धीले अंग्रेज उपनिवेश विरुद्ध विद्रोह गर्दा स्वराज भन्नुको अर्थ भारतीय जनता शासित व्यवस्था थियो। प्रत्येक व्यक्तिलाई गरीबी र अत्याचारवाट मुक्ति दिलाउँदै शासनाधिकार दिलाउने गान्धीको त्यो प्रण अहिले पनि ज्यूँका त्यूँ छ।
गान्धी झैं डाक्टर केसीले पनि भुइँमान्छेको अधिकारलाई आफू कार्यरत क्षेत्र चिकित्सा सेवा र शिक्षासँग जोडे। नेपालमा ‘ग्ल्यामरस’ मानिने चिकित्सा सेवाको उच्च तह (प्राध्यापक) सम्म पुग्दा समेत उनले प्राइभेट प्राक्टिस (क्लिनिक) चलाएनन्, बरू हात परेको तलब थैलीबन्द गर्दै दूरदराजका विपन्न नागरिकको स्वास्थ्योपचारमा खटिए। मैला–धैला लुगामा पसिना गन्हाउँदै सुदूर विकट गाउँ–ठाउँ चहारे। गोठ र छिंडीको बास बसे। अनेकौं दुःख कष्ट सहे, अनगिन्ती अपमान र लाञ्छनाको बेवास्ता गरे र आफ्नो उद्देश्यमा चट्टान झैं उभिए।
गान्धीलाई पुनर्भाषित गर्दै आएका विद्वान लेखक रामचन्द्र गुहादेखि कूटनीतिबाट राजनीतिमा प्रवेश गरेका शशि थरूर लगायत अंग्रेजको कानूनी शासनको रट र लज्जाबोधका कारण गान्धीको अहिंसात्मक आन्दोलन सफल हुनसकेको विश्लेषण गर्दछन्। यो तर्कलाई टर्की मात्र नभएर नेपालकै पछिल्ला घटनाक्रमले पुष्टि पनि गरेको देखिन्छ।
हाम्रा शासकहरू किन डा. केसीको सत्याग्रहलाई अनदेखा गरिरहेका छन् ? यस प्रश्नको उत्तर खोज्नुअघि हामी कस्ता व्यक्तिबाट शासित छौं र तिनको पृष्ठभूमि के हो त्यो जान्न जरूरी छ। अहिले सत्ताको केन्द्रमा रहेका खड्गप्रसाद ओली र पुष्पकमल दाहालको पृष्ठभूमि नै रक्तरञ्जित छ। ओली लोकतन्त्रका खातिर चौध वर्ष जेल बसेको रट लगाइरहन्छन्। तर, उनलाई गान्धी वा मण्डेला झैं भद्र अवज्ञाले जेल पुर्याएको होइन। नक्सलवादी आन्दोलनबाट उत्साहित केही झापाली युवाहरू सामन्तको सफायाको नाममा व्यक्तिहत्यामा उत्रेपछि जेल पुर्याइएका थिए, ओली । पुष्पकमल दाहालको हिंसात्मक विद्रोहका रगतका छिटा त अझै ओभाएका पनि छैनन्।
टर्कीका एर्दोगान हुन् वा नेपालका ओली — उनीहरू सत्याग्रहीप्रति जतिसुकै कठोर किन नबनून्, अहिंसाको विकल्प हिंसा कदापि होइन, हुनसक्दैन। गान्धीले अवज्ञाको जुन भद्र मार्ग रोजे, त्यसले नै हामीलाई ढिलो वा चाँडो स्वराजसम्म पुर्याउनेछ।
डाक्टर केसीदेखि कोभिड–१९ व्यवस्थापन र स्वास्थ्योपचारमा पारदर्शिता र जवाफदेहिता माग गर्दै आएका युवा समूह (इनफ इज इनफ) ले भद्र अवज्ञाकै बाटो रोजेका छन्। तर, शान्तिपूर्वक बालुवाटार घेर्न पुगेका उनीहरूमाथि पानीको फोहरा फ्याँक्ने, लाठी र बूट वर्षाउने हिंस्रक उपायका साथ सरकार प्रस्तुत हुने गरेको छ। डा. केसीको स्वराजसम्म पुग्नुअघि माफियाराजको जब्बर माखेसाङ्लो तोड्नु आजको सबैभन्दा ठूलो चुनौती हो। हिजो हिंसाको बाटो रोजेका तर आज भने मूर्दा शान्तिको वातावरणमा राजकाजको अभीष्ट बोकेका ओली र दाहाल प्रवृत्तिका निम्ति केसी, अधिकारी दम्पती र सत्याग्रह प्रेरित युवा वर्गीय शत्रु बनिदिएका छन्।
टर्कीका एर्दोगान हुन् वा नेपालका ओली— उनीहरू सत्याग्रहीप्रति जतिसुकै कठोर किन नबनून्, अहिंसाको विकल्प हिंसा कदापि होइन, हुनसक्दैन। गान्धीले अवज्ञाको जुन भद्र मार्ग रोजे, त्यसले नै हामीलाई ढिलो वा चाँडो स्वराजसम्म पुर्याउनेछ। किनकि गान्धीले नै भनेका छन्, ‘म गएपछि कुनै एक व्यक्तिले मलाई सम्पूर्ण रूपमा प्रतिनिधित्व गर्ने छैन। तर मेरो सानो अंश तपाईंहरू सबैमा बास गर्नेछ। यदि तपाईं आफ्नो उद्देश्य पहिला र स्वयंलाई पछाडि राख्नुहुन्छ, त्यो शून्यता धेरै हदसम्म भरिनेछ।’