स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ।
कुल संक्रमितमध्ये कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ। पछिल्लो २४ घण्टामा मात्रै १५३९ जना नयाँ संक्रमित थपिएका छन्। यीमध्ये काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै, ७३७ जना कोरोना संक्रमित थपिए।
यति ठूलो संख्यामा संक्रमित भेटिँदा पनि मुलुकभरका ४७ वटा कोरोना परिक्षण प्रयोगशालामार्फत पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४९४ जनाको मात्र कोराना परीक्षण भयो।
यससँगै हालसम्म मुलुकमा कुल ८ लाख ७२ हजार २७४ वटा पीसीआर नमूना परीक्षण भएको छ।
बुधबारसम्म एक दिनमा मात्र कोरोना संक्रमण दर १४ प्रतिशत पुगेको छ। हिजो अर्थात मंगलवार यो दर १२ प्रतिशत थियो। यसरी हेर्दा पछिल्ला दिनहरूमा मुलुकमा कोरोनाको संक्रमणदर प्रतिदिन १० प्रतिशत भन्दा माथि देखिन थालेको छ। २५ भदौमा संक्रमणदर ११ प्रतिशत थियो।

विज्ञहरू संक्रमणको दर बढिरहँदा पीसीआर परीक्षण बढाउनुपर्ने बताउँछन् । तर, सरकारले प्रयोेगशालाको क्षमता अनुसार पनि परीक्षण बढाउन सकेको छैन।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सबै क्षमतालाई उपयोग गर्न सक्ने हो भने दैनिक झण्डै २५ सयदेखि तीन हजारसम्म पीसीआर परीक्षण गर्न सकिन्छ। तर, प्रयोगशालाले पछिल्लो २४ घण्टामा १५१७ जनाको मात्र कोरोना परीक्षण गर्यो, यीमध्ये २५१ जनामा कोरोना पोजिटिभ देखियो। प्रयोगशालाले दुई वटा अटोमेटेड रियल टाइम पीसीआर मेसिन सञ्चालन गर्दै आए पनि कोरोना परीक्षण बढाउन सकेको छैन।
यस्तै, देशभरका कोरोना परीक्षण गर्ने प्रयोगशालाको दैनिक क्षमता झण्डै ३० हजार हो। तर स्वास्थ्य मन्त्रालयको बुधवारको तथ्यांकमा जम्मा १० हजार ४९४ जनाको मात्र कोरोना परीक्षण भएको छ।
दैनिक थप २० हजार जनाको पीसीआर मेसिनबाट कोरोना परीक्षण गर्न सकिने विषयलाई थाँती राखेर मन्त्रालयले एन्टीजिन जस्ता वैकल्पिक विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरिसकेको छ। एन्टीजिन विधिबाट कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठेक्का प्रक्रिया अघि बढाउँदैछ।
अमेरिकाको टेक्सासस्थित सोनिक हेल्थकेयरका क्लिनिकल ल्याबरेटोरी सुपरभाइजर द्रोण पाण्डे पीसीआरमार्फत कोरोना परीक्षण गर्ने क्षमता हुँदाहुँदै एन्टीजिन जस्ता कम विश्वासिलो विधिमार्फत कोरोना परीक्षण गर्नु व्यवहारिक नहुने बताउँछन्। “अहिले दैनिक औसत १० प्रतिशत संक्रमित भेटिएको तथ्यांकलाई आधार मान्दा कोरोना परीक्षण बढाएर कम्तिमा दैनिक २० हजार पुर्याए थप १० प्रतिशतमा संक्रमण देखिने सम्भावना छ”, पाण्डे भन्छन्, “यसले लुकेर रहेका कोरोना संक्रमितलाई छिट्टै पहिचान गर्न सहयोग पुर्याउँछ। त्यसैले परीक्षण बढाउनुको विकल्प छैन।”
उनी सरकारले परीक्षण नबढाउँदा र कट्याक्ट ट्रेसिङलाई प्रभावकारी नबनाएका कारण संक्रमणदर बढिरहेको बताउँछन्।