हामी दाजुभाइ: महिला अधिकारका लागि पुरुष हातेमालो
‘हामी दाजुभाइ’ ले महिलाको अधिकार रक्षामा सघाउनुका साथै लैंगिक हिंसा अन्त्यका लागि पुरुषको भूमिकाबारे सचेतना फैलाउँदै आएको छ।
लैंगिक हिंसा अन्त्यका लागि समाजका सबै व्यक्तिको सहभागिता जरुरी हुन्छ। तर, महिलामाथि हुने गरेका हिंसा र विभेदका घटना न्यूनीकरणमा पुरुषको सहभागिता प्रभावकारी नभएको गुनासो सुनिन्छ। महिला मुद्दामा पुरुषको सोच र सहभागिता ‘हामी त अधिकार दिने’ वा ‘बोलिदिनुपर्ने’ तहमा रहेको धेरैको अनुभव छ।
सिङ्गो समाजलाई असर पार्ने महिला हिंसाको मुद्दालाई सम्बोधन गर्न पुरुषको पनि महत्वपूर्ण भूमिका हुने दायित्व बोध गरेर ‘हामी दाजुभाइ’ संस्थाले काम गर्दै आएको छ। यो संस्था स्थापना भएको गत वैशाखमा एक वर्ष पुगेको छ। समाजमा बस्ने हरेक व्यक्ति महिला, पुरुष तथा फरक लैंगिक पहिचान भएकाहरुको समान अधिकारको लागि काम गर्न हामी दाजुभाइको स्थापना भएको संस्थापक अध्यक्ष संजोग ठकुरी बताउँछन्।
उनी भन्छन्, “संस्थाको नाम दाजुभाइ भएकाले सबैले पुरुष मात्र छन् भन्ठान्छन् तर त्यसो हैन । पुरुष संलग्नता पनि लैंगिक हिंसा विरुद्ध भएकाले संस्थामा महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक सबैजना छौं ।”
ठकुरीको बुझाइमा अहिलेसम्म समाजमा महिला अधिकारको कुरा महिलाले मात्रै गर्ने हो भन्ने मानसिकता छ। यस्तो गलत सोचले समाजमा बस्ने हरेक व्यक्तिलाई असर गरिरहेकाले जनचेतना फैलाउनुपर्ने उनी जरुरी देख्छन्। उनी भन्छन्, “महिलाको समस्या समाजको हो भन्ने महसूस अधिकांश पुरुषमा छैन, यो मानसिकताले महिलालाई दोस्रो दर्जाको नागरिक बनाइरहेको छ।”
“लैंगिक हिंसा अन्त्य गर्न पुरुषको पनि भूमिका हुन्छ भनेर किशोरावस्थादेखि नै बुझाउन सकियो भने सहज हुन्छ भनेर विद्यालय तहमा क्लब गठनमा सहकार्य गरेका हौं।”
पुरुषमा हामी विशेष हौं भन्ने पितृसत्तात्मक दम्भ हावी भएका कारण घरबाटै लैंगिक असमानता शुरु हुने उनको बुझाइ छ। समाजका हरेक सदस्यले लैंगिक हिंसा आफ्नो पनि समस्या हो भनेर आवाज नउठाएसम्म यो अन्त्य नहुने उनी बताउँछन्।
‘हामी दाजुभाइ’ ले सामाजिक न्यायसहितको समानता, लैंगिक समानता जस्ता मुद्दामा हातेमालो गर्नुका साथै लैंगिक हिंसा अन्त्यका लागि पुरुषको भूमिकाबारे सचेतना फैलाउँदै आएको छ भने पितृसत्ताले पुरुषको जीवनमा पारेको असर, बालकमाथि हुने हिंसा र बालक तथा पुरुषको उत्तरदायित्वको बारेमा चेतना फैलाउने काम पनि गरिरहेको छ।
संस्थाले ललितपुर महानगरपालिकाको सहकार्यमा १५ वटा कलेजमा ‘वी मेन क्लब’ गठन गरेको छ। यी क्लबमा कक्षा ११ देखि माथिका विद्यार्थीलाई सहभागी गराइएको छ। क्लबमा राख्नुअघि किशोर तथा युवाहरुलाई पितृसत्ताका कारण हुने लैंगिक असमानता र यसले घरपरिवार, समाज र पुरुषमा पार्ने नकारात्मक असरबारे बुझाइन्छ। त्यसपछि उनीहरुको चाहना अनुसार क्लबमा राखिन्छ।
लैंगिक हिंसा अन्त्यका लागि ललितपुर महानगरले विभिन्न कार्यक्रम गर्दै आएको छ। लैंगिक हिंसा अन्त्यका लागि समाजका हरेक नागरिक सचेत हुनुपर्ने निष्कर्ष निकाल्दै ‘हामी दाजुभाइ’सँग सहकार्य गरेको महानगरपालिकाका समाज कल्याण शाखा प्रमुख बाबुराज महर्जनले बताए। उनले भने “लैंगिक हिंसा अन्त्य गर्न पुरुषको पनि भूमिका हुन्छ भनेर किशोरावस्थादेखि नै बुझाउन सकियो भने सहज हुन्छ भनेर विद्यालय तहमा क्लब गठनमा सहकार्य गरेका हौं।”
ललितपुरको एम्स इन्टरन्याशनल कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत राजीव भण्डारी ‘वी मेन’ क्लबमा आबद्ध भएपछि लैंगिक हिंसा हुनुका कारणबारे स्पष्ट भएको बताउँछन्। पितृसत्तात्मक सोचले महिलालाई पुरुषभन्दा कमजोर बनाउँदा समाजमा लैंगिक असमानता बढेको उनको बुझाइ छ। “क्लबमा सहभागी हुनुअघि लैंगिक असमानता हटाउन मेरो भूमिका के हुन्छ र कस्तो हुनुपर्छ भन्ने थाहै थिएन, अहिले स्पष्ट छु” उनी भन्छन्, “यसबारे विद्यालयबाट नै ज्ञान दिनुपर्छ भन्ने महसूस भएको छ।”
कुपण्डोलस्थित नाइटिङ्गेल कलेजमा पढिरहेका अर्जुन जयसवाल कानून विषय लिएर पढिरहेका कारण आफूलाई महिला अधिकार र लैंगिक समानताबारे जानकारी भए पनि ‘वी मेन क्लब’ मा आबद्ध भएपछि अझै धेरै पाटो बुझ्ने मौका पाएको बताउँछन्। “लैंगिक समानताका लागि कानून मार्फत सहजीकरण गर्न सकिने विषयमा मात्रै पढिरहेका थियौंं। तर क्लबमा सहभागी भएपछि व्यक्तिगत रूपमा सानो प्रयासले पनि ठूलो योगदान गर्ने रहेछ भन्ने बुझेको छु।” जयसवाल महिलाको अधिकारको लागि लडिदिनुपर्ने भन्दा पनि साथ दिएर लड्नुपर्ने बोध भएको उनको भनाइ छ।
कुमारीपाटीमा रहेको निम्स नेवा कलेज अध्ययनरत प्रवीण खतिवडाले ‘वी मेन क्लब’मा आबद्ध भएपछि लैंगिक हिंसा अन्त्यमा समाजका हरेक व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ भन्ने बुझेका छन्। उनका अनुसार, अहिले घरपरिवारमा आफूले गर्ने व्यवहारमा फरक आएको छ। भन्छन् “घरमा सबैले समान काम गर्नुपर्छ भन्ने सिकिएको छ। पुरुष भएकै कारण अरुलाई अनावश्यक बोझ थोपर्न हुँदैन भन्नेमा सचेत भएको छु।”
समाजमा समानता कायम गर्न खेल्नुपर्ने भूमिकाबारे विद्यार्थीले बुझ्न महत्वपूर्ण भएकाले क्लबमा आबद्ध हुन प्रेरणा दिने गरेको कलेजहरूले बताएका छन्। लैंगिक तथा घरेलु हिंसा, पितृसत्तात्मक सोचबारे युवाहरुले बुझे समाजमा परिवर्तन ल्याउन सहज हुने उनीहरूको बुझाइ छ।
क्लबमा अब छात्रा पनि
‘वी मेन क्लब’ मा छात्रलाई मात्रै सहभागी गराउँदा छात्राको समस्याबारे बुझाउन सहज नभएकाले अब छात्रालाई पनि आबद्ध गराउने तयारी भइरहेको ‘हामी दाजुभाइ’का अध्यक्ष ठकुरीले बताए। उनले भने “महीनावारी हुँदा महिलाले भोग्नुपर्ने पीडा र अन्य समस्या पुरुषले बुझाउन नसक्ने रहेछौं। क्लबमा छात्रा नै भए पुरुष विद्यार्थीलाई उनीहरुले बताउँदा बढी प्रभावकारी हुने भएकाले सहभागी गराउने तयारीमा छौं।”
“महीनावारी हुँदा महिलाले भोग्नुपर्ने पीडा र अन्य समस्या पुरुषले बुझाउन नसक्ने रहेछौं। क्लबमा छात्रा नै भए पुरुष विद्यार्थीलाई उनीहरुले बताउँदा बढी प्रभावकारी हुने भएकाले सहभागी गराउने तयारीमा छौं।”
संस्थाले ‘मेन केयर’ तालिम दिने योजना बनाएर त्यसमा सहभागी हुन खुला आह्वान गर्ने तयारी पनि गरिरहेको थियो। तर, कोरोना संक्रमण महामारी रोकथामका लागि बन्दाबन्दी भएपछि स्थगित गर्नुपरेको ठकुरीले बताए।
यो तालिममा गर्भवतीका श्रीमान् र साना बच्चाका बुवाहरुलाई कसरी बच्चाको हेरचाह गर्ने, टालोे कसरी बनाउने, लिटो कसरी तयार पार्ने लगायत तालिम दिने योजना छ। त्योसँगै महीनावारीको विषय, त्यस क्रममा महिलाले भोग्नुपर्ने कठिनाइबारे पुरुषहरुलाई जानकारी दिने कार्यक्रम पनि बन्दाबन्दीका कारण रोकिएको छ। यद्यपि बन्दाबन्दीकै बीचमा ‘वी मेन क्लब’ का सहभागीहरुलाई विभिन्न विषयमा छलफल गराइएको छ।
संस्थाले असोज ४ र ५ गते भर्चुअल रुपमा 'प्रथम नेपाल फेमिनिज्म र पुरुष विषयक सम्मेलन’ गर्ने तयारी गरेको छ। सम्मेलनमा लैंगिक हिंसा अन्त्य गर्न पुरुष र बालकको भूमिका विषयमा अन्तरक्रिया समेत हुनेछ। सम्मेलनमा सहभागिताको लागि आवेदन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ।