थारु महिलाको ‘हरचाली’: ढकिया, नुइया बुन्ने सिपालु हात
खेतीपातीको काम सकिएको र कोरोना संक्रमण महामारी रोकथामका लागि लागू गरिएको बन्दाबन्दी/निषेधाज्ञाले घरमै बस्नुपरेको वेला थारु महिलाहरू हरचाली अर्थात् फुर्सदको काम गर्दै हस्तकलाका सामान बनाइरहेका छन्।
रोपाइँ सकिएयताको समयमा कैलालीका थारु महिलाहरू फुर्सदमा छन्। त्यसमा पनि कोरोनाभाइरस संक्रमण जोखिमका कारण अहिले जिल्लाभरि निषेधाज्ञा लगाइएका कारण घरको बसाइमा खाली समय अझै धेरै छ। यो समयलाई थारु महिलाहरूले ‘हरचाली’ अर्थात् फुर्सदको काममा लगाइरहेका छन्। उनीहरू परम्परागत सीपको उपयोग गर्दै घरायसी प्रयोजनका विभिन्न सामग्री बुनिरहेका छन्।
कैलारी गाउँपालिका–८ दुधियाका रामकिस्नी चौधरी (४८) फुर्सदको समय सदुपयोग गर्दै ढकिया, नुइया (शृंगारका वस्तु राख्ने भाँडा) र डेलुवा (सगुनका सामग्री राख्न प्रयोग गरिने) बुन्न व्यस्त रहेको बताउँछिन्। थारु समुदायमा छोरीको विवाहमा यी सामग्री सगुनकै रुपमा प्रयोग हुन्छ। तीन छोरीमध्ये विवाह गर्न बाँकी दुई छोरीको विवाहका लागि बुनिरहेको रामकिस्नीले बताइन्।
“अरु वेला बाहिरको काम धेरै हुने भएकाले घरमा बस्ने त्यति समय हुँदैनथ्यो, यो वर्ष भने कोरोनाका कारण फुर्सदिलो भएपछि ढकिया, नुइया बुनिरहेकी छु”, उनले भनिन्।
ढकियाको प्रयोग सामान राख्ने र ओसार्ने काममा गरिन्छ भने कलात्मक रूपमा बनाइने डेलुवा पश्चिम नेपालको थारु समुदायमा प्रायः विवाह तथा औपचारिक कार्यक्रममा सजावट सामग्रीको रुपमा प्रयोग हुन्छ। ढकिया, नुइया, डेलुवा काँसबाट बनाइन्छ। काँसका साथै बाँस, जुट लगायतको प्रयोग गरेर यस्ता घरायसी सामग्री बनाउने गरिएको छ।
परम्परागत सीप प्रयोग गरेर कतिले व्यक्तिगत प्रयोजनका लागि त्यस्ता सामग्री बनाउने गरेका छन् भने कतिपयले बिक्री पनि गर्ने गरेका छन्।
कैलारी गाउँपालिका–८ कै सानु चौधरी (४५) पनि धान रोपाइँ सकिएयता डेलुवा बुन्न व्यस्त छिन्। उनी डेलुवा बुनेरै घर खर्च जोहो गर्छिन्। एउटा डेलुवा रु.७ हजारदेखि १० हजारसम्ममा बेच्ने गरेको उनी सुनाउँछिन्।
छोरीको विवाहका लागि मानिसहरू डेलुवा किन्न आउने र होटल लगायतमा सजावटको लागि पनि बिक्री हुने उनले बताइन्। “मैले बुनेको ढकिया र डेलुवा विदेशी पर्यटकलाई पनि बेचेकी छु”, उनले भनिन्।
डेढ दशकदेखि यस्ता सामग्री बुन्दै आएकी सानुको अनुभवमा डेलुवा बुन्न सीप चाहिने त छँदैछ, मिहिनेत पनि धेरै लाग्छ। “बुट्टा मसिनो हुन्छ, सजाउन धेरै समय लाग्छ” उनी भन्छिन्, “एउटा डेलुवा तयार पार्न १० देखि १५ दिन लाग्छ।”
बन्दाबन्दीले परम्परागत सीपमा केन्द्रित
कोरोना संक्रमण महामारी ग्रामीण भेगसम्म फैलिएको छ। संक्रमण रोकथामका लागि लगाइएको बन्दाबन्दी/निषेधाज्ञाले ग्रामीण बासिन्दालाई परम्परागत तथा पुर्ख्याैली ज्ञान र सीपमा केन्द्रित हुने अवसर दिएको छ।
चाडपर्व नजिकिंदै गर्दा पर्वमा चाहने वस्तुहरू बनाउँदा एकातिर समयको सदुपयोग हुने र अर्कोतिर घरमै बसिने भएकाले संक्रमणबाट सुरक्षित भइने कैलारी गाउँपालिका–६ बेनौलीका वडा सदस्य महावीर चौधरी बताउँछन्।
बेनौलीकै सुझावन डगौरा थारु (६५) लाई पनि महामारीको वेला यताउता डुलेर जोखिम मोल्नुभन्दा घरमा बसेर हरचाली गर्नु जाती लागेको छ। उनी माछा मार्ने ढडिया बुनिरहेका छन्। थारु जातिमा ढडिया बनाउने हस्तकला पुस्तौंदेखि चल्दै आएको माछा फसाउने मौलिक प्रविधि हो। “ढडियामा दिनहुँ माछा फस्ने हुनाले हाम्रो घरमा प्रत्येक दिनको खान्कीमा माछा नै हुन्छ” उनी भन्छन्, “बढी भएको माछाको पक्ली (सिद्रा) बनाउँछौं। जुन चाडपर्वमा विशेष परिकार हुन्छ।”
अहिलेको फुर्सदको समयमा कैलालीको ग्रामीण बस्तीका थारु समुदायका मानिस टापी, जाल, बरेरुवा लगायत माछा पार्ने साधन, डिलिया (माछा राख्ने भाँडो), खटिया, सुप्पा (नाङ्लो), छिट्नी, वस्तुभाउलाई बाँध्न प्रयोग गरिने पगाहा, बेना (हाते पंखा) लगायत बुन्ने काममा व्यस्त देखिन्छन्।