रथ तान्न खोज्दा कसरी भयो पुल्चोकमा यस्तो घटना?
एकातर्फ कोरोना महामारीले रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य अनिश्चित भइरहेको थियो भने अर्कोतर्फ २ असोज अघि नै मत्स्येन्द्रनाथलाई बुङमती पुर्याउनुपर्ने परम्पराको दवाव थियो। तर, आजै रथ तान्ने कुनै कार्यक्रम थिएन।
कोरोनाभाइरस संक्रमणको महामारी फैलिँदै जाँदा त्यसको विस्तार रोक्न भन्दै प्रशासनले लगाएको कर्फ्युसरहको निषेधाज्ञाबीच बिहीबार दिउँसो ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्न सयौंको संख्यामा स्थानीय भेला भए।
प्रहरीले महामारीको जोखिम र निषेधाज्ञा पालनाबारे सम्झाउँदै उनीहरूलाई रथ तान्न रोक्न खोज्यो। रथ तान्न थालिसकेका उनीहरुको त्यसपछि प्रहरीसँग झडप भयो। प्रहरीले उनीहरुमाथि पानीको फोहोरा हान्यो, टियर ग्याँस प्रहार गर्यो। रथ तानेरै छाड्ने भनेर गएका युवाहरुले प्रहरीमाथि ढुंगामुढा गरे।
त्यसक्षेत्रमा यातायात व्यवस्था मिलाइरहेका एक जना ट्राफिक प्रहरीलाई भिडले नियन्त्रणमा लिएर कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
झडपको केही समयपछि प्रहरीले स्थिति नियन्त्रणमा लियो।
रथ तान्न किन अधीर स्थानीयबासी?
सहकालका देवता भनिने रातो मत्स्येन्द्रनाथको रथ गएको वैशाखमै तान्ने तय भएको थियो। तर, कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न गरिएको बन्दाबन्दीका कारण त्यतिबेला रथ बनाउने काम नै स्थगित भयो। कोरोना संक्रमणको महामारीका कारण काठमाडौंका धेरै जात्राहरू यसपटक रोकिएका थिए।
तर, सबैभन्दा लामो समय चल्ने रातो मत्स्येन्द्रनाथको रथ यात्रा केही गरी चलाउने मनस्थितिमा स्थानीयबासी थिए। ११ चैतबाट शुरु भएको बन्दाबन्दी साउन पहिलो सातादेखि हटाउने सरकारको निर्णयपछि फेरि रथ निर्माणको काम शुरु गरियो। रथ बनाइसके पनि काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयहरूले ३ भदौ मध्यरातदेखि निषेधाज्ञा लगाए। यसले गर्दा रथ तान्ने काम फेरि प्रभावित बन्यो।
१ भदौदेखि रथ तान्ने तयारी गरिएको भए पनि त्यसमा गुठी संस्थानले रोक लगाएको थियो। रातो मत्स्येन्द्रनाथलाई दशैंसम्म बुङ्मती पुर्याउने प्रचलन छ। तर, २ असोजबाट मलमास लाग्ने भएकाले त्यसअवधिमा रथ तान्न नहुने मान्यताका कारण त्यसअघि नै रातो मत्स्येन्द्रनाथलाई बुङ्मती पुर्याउन स्थानीयबासी अधीर बनेका थिए। एकातर्फ लम्बिँदो निषेधाज्ञा र अर्कोतर्फ २ असोजभित्रै बुङ्मती पुर्याउनुपर्ने समयको दवाब उनीहरुमा परेको थियो।
तर, बिहीबार नै पुल्चोकलाई रणभूमि जस्तै पार्नेगरीको स्थिति कसरी सिर्जना भयो भन्नेबारेमा चाहिँ स्थानीय सरकारका जनप्रतिनिधि, प्रशासन र रथ तान्ने टोलबासी नै अचम्मित र अनभिज्ञ छन्।
कसरी बिग्रियो परिस्थिति ?
ललितपुर महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष चन्द्रलाल महर्जन बिहीबार कसको निर्णय र अगुवाइमा रथ तान्न थालियो भन्ने नै आफूलाई थाहा नभएको बताउँछन्। अहिले रथ पुल्चोक गाःबहालको खण्डमा तान्न लागिएको हो।
“गाः बहालको जात्रा भनेको हाम्रो जात्रा हो, उक्त क्षेत्रमा रथ तान्ने जिम्मा हाम्रो हो”, वडाध्यक्ष महर्जनले भने, “तर आज कसको नेतृत्वमा कसले किन रथ तान्न खोज्यो भन्ने हामीलाई नै थाहा छैन। मैले मानिसहरू थुप्रिएपछि मात्रै सुनें। त्यसपछि टोलमा बुझ्न खोजें। हाम्रो टोलमा यसबारे कसैलाई थाहै थिएन।”
कोरोना महामारीका कारण जोखिम कम हुनेगरी सहमतिमै रथ तान्नुपर्नेमा जबरजस्ती गर्न खोजिएको उनले बताए।
त्यस्तै, ज्यापु समाजले पनि आजको अप्रिय परिस्थिति कसरी आयो भन्नेमा अनभिज्ञता प्रकट गरेको छ। समाजकी उपाध्यक्ष सबिना महर्जन सरोकारवाला समूहहरूलाई कुनै जानकारी नै नदिएर एक्कासी रथ तान्न खोज्दा परिस्थिति बिग्रिएको बताउँछिन्। “ज्यापु समाजलाई पनि कुनै जानकारी छैन। बिभिन्न १९ वटा जातीय समूह छन्, तिनलाई पनि केही थाहा दिइएको छैन। कसरी यस्तो भयो हामीलाई कुनै जानकारी नै भएन”, उनले हिमालखबरसँग भनिन्, “रथको सुरक्षाका लागि अहिले समाजका स्वयमसेवी खटिएका छन्। हामी बैठक बसिरहेका छौं, भोलिबाट काम हुनेगरी भरे अबेरसम्ममा कुनै न कुनै निर्णय आउँछ।”
ज्यापू समाज लगायतका स्थानीय समितिहरू, स्थानीय सरकार, गुठी संस्थान तथा जात्रा व्यवस्थापन समितिहरूबीच प्रभावकारी सञ्चार नभएको र समयमै समझदारी नभएका कारण आजको अवस्था निम्तिएको देखिन्छ।
यसअघि नै रातो मत्स्येन्द्रनाथका मूल पुजारी कपिल बज्राचार्य, रातो मत्स्येन्द्रनाथका मूल ज्योतिषी खलकका दैवज्ञ कीर्तिमदन जोशी र रातो मत्स्येन्द्रनाथका भक्त विष्णुभक्त तण्डुकारका तर्फबाट राष्ट्रपतिलाई पत्र लेखेर महामारी र बन्दाबन्दीमा रथ तान्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको थियो। तर, त्यसको कुनै सुनुवाइ भएन।
स्थानीय सरकारले पनि यसमा पर्याप्त समन्वय नगरेको देखिन्छ। परम्परादेखि चलिआएको रथयात्रा रोकिएका बेला समुदायको भावना बुझेर यसलाई कसरी सहज बनाउने भन्नेबारे स्थानीय सरकारले गर्ने पहल नै सबभन्दा महत्वपूर्ण हुन्थ्यो। तर, निषेधाज्ञामा कडाई गर्न अग्रसर स्थानीय सरकारको भूमिका यसमा देखिएन। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन सम्पर्कमा आउन चाहेनन्। उपमेयर गीता सत्यालले रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्बन्धी बैठकहरूमा शुरूदेखि नै सहभागी नभएका कारण आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको बताइन्।
पुल्चोक क्षेत्र पर्ने ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन भने स्थानीय जनप्रतिनिधिलाई जानकारी नै नदिइ एक्कासी भीड जम्मा भएर तान्न खोज्दा आफूहरूले समन्वय गर्ने मौकै नपाएको बताउँछन्। “आज रथ तान्ने भन्ने कुनै जानकारी नै भएन। मलाई मात्रै होइन, महानगरपालिकाको कार्यपालिका वा ज्यापू समाज वा अन्य सरोकार राख्ने कुनै निकायलाई थाहा नै नभएकाले समन्वय गर्न पाइएन”, उनले भने।