बागलुङ पहिरोमा बेपत्ता मध्ये तीन जनाको शव गुल्मीमा भेटियो
![बागलुङ पहिरोमा बेपत्ता मध्ये तीन जनाको शव गुल्मीमा भेटियो](https://www.himalkhabar.com/uploads/posts/800X600/dhorpatan_1599099077.jpg)
बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरोमा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ।
मुसिकोट नगरपालिका-५ इन्द्रेगौंडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका-८ तीनसिमलस्थित बढीघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले बताए।
बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५/४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ।
पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढी-पहिरोमा हराइरहेका अन्य पनि गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ।
गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ।