कोरोनाभाइरस संक्रमणको जोखिम बढेपछि काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा २४ भदाैसम्मका लागि लम्ब्याइएको छ। अत्यावश्यक बाहेकका सेवा बन्द छन्। भीडभाड गर्न रोक लगाइएको छ। तर, ललितपुरका स्थानीयले निषेधाज्ञाकै बीच रातो मत्स्येन्द्रनाथको रथ यात्रा शुरू गरेका छन्।
‘वर्षा र सहकाल’का देवताको रूपमा मानिंदै आएको रातो मत्स्येन्द्रनाथको रथ यात्रा यो वर्ष कोरोना संक्रमण जोखिमका कारण हुन सकेको थिएन। लामो समयसम्म पुलचोकस्थित रथ खेलमा रहेको रथ यात्रा गराउन पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रेका स्थानीयले रथ तान्न थालेका छन्।
ललितपुर गुठी संस्थानका कर्मचारी रोशन ढुंगानाले भने रथ यात्राबारे संस्थानलाई केही जानकारी नभएको बताए। “नेपाल सरकारले लगाएको निषेधाज्ञामा रथ यात्रा नगर्नुपर्ने हो, हामीलाई जानकारी छैन”, उनले भने।
उपत्यकाको सबैभन्दा लामो रथ जात्राका रूपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने भए पनि यो वर्ष गत साउन १० गते नागपञ्चमीका दिन मात्रै गराइएको थियो। संक्रमण जोखिमका कारण रथ यात्रा गर्नेबारे भने टुंगो थिएन।
यसअघि ७ भदाैमा राताे मत्स्येन्द्रनाथका मूल पूजारीसहित स्थानीयले राष्ट्रपति कार्यालयलाई पत्र लेखेर निषेधाज्ञा वा कर्फ्यू लगाएर भए पनि रथ यात्रा शुरु गराउन आग्रह गरेका थिए। यो वर्ष १ कात्तिकमा बडादशैंको घटस्थापना परेको र दशैंमा रातो मत्स्येन्द्रनाथ बुंगमतीमा नभई नहुने भन्दै जसरी पनि रथ यात्रा गर्ने अवस्था बनाइदिन माग गरिएको थियो।
VIDEO
यसैबीच, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले अहिलेको असहज परिस्थितिमा रथ यात्राबारे गुठी संस्थानको विद्युत् समितिबाट आउने निर्देशन पर्खिरहेकोमा कुनै निर्णय हुनु अगावै रथ तानिएको बताए। रथ यात्रा कसले शुरु गर्यो भन्ने पहिचान नभएको पनि उनको भनाइ छ।
"रथ तान्ने निर्णय गुठी संस्थान केन्द्र र ज्यापु समाजको हुन्छ। केही दिन अघि महानगर, गुठी संस्थान र ज्यापु समाजको संयुक्त बैठक बसेर यो विषम परिस्थितिमा निकास दिन गुठी संस्थानको विद्युत् समितिमा निवेदन दिने र समितिको निर्देशन अक्षरश: पालना गर्ने निर्णय भएको थियो", मेयर महर्जनले भने, "विद्युत् समितिको सुझाव पर्खिरहेको वेला कसले रथ यात्रा शुरु गर्यो, थाहा भएन ।”
रथ तान्न शुरु भएपछि ज्यापु समाजको आकस्मिक बैठक बसिरहेको छ। समाजका अध्यक्ष चन्द्र महर्जनले अब कसरी अगाडि बढ्ने भनेर छलफल गरिरहेको बताए।