सरोजकुमार कसजु अर्थात् थुन्बर्जिया कसजुवाना
वनस्पतिको तस्वीर खिच्न सौखिन सरोजकुमार कसजुले नगरकोटमा खिचेको एउटा वनस्पति अहिले विश्वकै निम्ति नयाँ प्रजाति प्रमाणित भएको छ । यो वनस्पतिको न्वारान उनकै नामबाट गरिएको छ– थुन्बर्जिया कसजुवाना।
सरोजकुमार कसजुले भक्तपुरको नगरकोटमा सन् २०१७ को बर्खामा थुन्बर्जिया जाति (जिनस) अन्तर्गतको एक वनस्पतिको फूलको नौलो तस्वीर खिचे। त्यसलाई थुन्बर्जिया लुटिया भन्ठान्दै ‘इफ्लोरा अफ इण्डिया’ को विद्युतीय सञ्जालमा राखे । एकाध घन्टामै थुप्रै प्रतिक्रिया आयो।
रोयल बोटानिक गार्डेन इडिनबर्ग, स्कटल्याण्ड, बेलायतमा कार्यरत वनस्पतिविद् भाष्कर अधिकारीको दृष्टि पनि त्यो तस्वीरमा प¥यो । अधिकारीले नेपालमा पाईने थुन्बर्जिया प्रजातिहरु अध्ययन अनुसन्धान गरेका छन । उनले सन् २०१३ मा कोलिन पेन्ड्री, मार्क वाट्सन र जोन आर.आई. वूडसँग मिलेर पश्चिम नेपालबाट थुन्बर्जिया नेपालेन्सिस् पत्ता लगाएका थिए । योसहित नेपालमा थुन्बर्जिया जातिका पाँच प्रजाति पाइएको जानकारी छ । विश्वमा थुन्बर्जिया जाति अन्तर्गत करीब १५० प्रजाति पाइन्छ।
थुन्बर्जियाविज्ञ अधिकारीले संसारभर सूचीकृत थुन्बर्जिया जातिका सम्पूर्ण प्रजातिसँग कसजुको तस्वीर केही भिन्न भएको अनुमान गरे । त्यसपछि अधिकारीले कसजुसँग सम्पर्क गरे । कसजुले सन् २०१८ मा पुनः फुलेको अवस्थामा उक्त फूलको तस्वीर पठाइदिए ।
विज्ञ अधिकारीलाई यो फूल कतै थुन्बर्जिया जातिको नयाँ प्रजाति त होइन भन्ने कौतूहल जाग्यो । उनी सन् २०१९ मा उक्त वनस्पति फुल्ने मौसम पारेर नेपाल आए र नमूना संकलन गरे।
बेलायत फर्केपछि अधिकारीले यसबारे जोन वूडसँग परामर्श गरे । वूड उनै हुन् जसले सन् २००१ मा प्रकाशित ‘फ्लोरा अफ भूटान भोल्युम–२’ को भाग–३ मा एकेन्थेसी परिवारका वनस्पति बारे लेखेका थिए । यो परिवारअन्तर्गत थुन्बर्जिया जाति पर्दछ । वूडसँगको सघन छलफल र अध्ययनपछि अधिकारी कसजुले खिचेको त्यो वनस्पति विश्वको निम्ति नयाँ हो भन्नेमा सहमत भए।
हालै मे, २०२० मा रोयल बोटानिक गार्डेन्स्– क्युको बुलेटिनमा अधिकारी र वूड लिखित ‘थुन्बर्जिया कसजुवाना, अ न्यु स्पेसिस अफ एकेन्थेसी फ्रम नेपाल’ शीर्षकको लेख प्रकाशित भयो । कसजुले पत्ता लगाएको त्यही वनस्पति विज्ञानकै लागि नयाँ भएको औपचारिक रूपमा प्रमाणित भयो । र, योसँगै वनस्पतिको न्वारान गरियो– थुन्बर्जिया कसजुवाना।
कुनै पनि वनस्पतिको वैज्ञानिक नाम ल्याटिन शब्द प्रयोग गरेर नामकरण गर्ने प्रचलन छ। यही विधि अनुसार कसजु कसजुवाना बनेका हुन् । कसजुको सम्मानमा वनस्पतिको नाम नै उनीप्रति समर्पित गरिएको भन्दै लेखकद्वय अधिकारी र वूडले लेखेका छन्।
लेख अनुसार थुन्बर्जिया कसजुवानाको एक प्रति नमूना (होलोटाइप) राष्ट्रिय हर्वारियम तथा वनस्पति प्रयोगशाला गोदावरी, ललितपुर र अर्को एक प्रति नमूना (आईसोटाईप) रोयल बोटानिकल गार्डेन इडिनबर्ग, स्कटल्याण्डमा संग्रहित छ।
कसजुका अनुसार, भक्तपुरको नगरकोट नजिक समुद्री सतहबाट २०२० मिटर उँचाइमा यो वनस्पतिको तीन–चार वटा बोट पाइएको थियो । यो वनस्पतिबारे अहिलेको अवस्थाबारे थाहा पाउन थप अनुसन्धान आवश्यक छ ।
थुन्बर्जिया कसजुवाना र थुन्बर्जिया ग्रान्डिफ्लोराको फूल करीब करीब उस्तै देखिन्छ । थुन्बर्जिया ग्रान्डिफ्लोरा समुद्री सतहबाट करीब १३०० मिटर उँचाइसम्म मात्र पाइन्छ । थुन्बर्जिया कसजुवानाको पुष्प पत्रहरू थुन्बर्जिया ग्रान्डिफ्लोराको तुलनामा कम चिरिएको र अलि बढी पछिल्तिर फर्किएका हुन्छन् । पुष्पपत्रहरूको सोलीजस्तो आकृति ग्रान्डिफ्लोराको भन्दा कसजुवानाको केही लामो हुन्छ ।
थुन्बर्जिया कसजुवाना अगष्टदेखि सेप्टेम्बरसम्म फुल्ने जनाइएको छ। यसको पातको आकृति अन्य पाँच प्रजाति भन्दा निकै पृथक् छ। पात केही गोलाकार भएकाले झण्डै लहरे वनमारा (माइकेनिया माईक्रान्था) को पातसँग मिल्दोजुल्दो देखिन्छ । तर टुप्पो केही चुच्चो र भेट्नो भित्रपट्टि पसेको छ।
थुन्बर्जिया कसजुवाना
कसजु स्वयं वनस्पतिविद् भने होइनन् । २०३३ सालमा अमृत साइन्स क्याम्पसमा आईएस्सी पढ्दाताका उनमा वनस्पति मोह पलाएको थियो।
विज्ञान पढेका कसजुको बाटो बदलियो। उनी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कर्मचारी बने । र, झण्डै ३८ वर्ष सेवा गरी २०१५ मा वाणिज्य निर्देशक पदबाट सेवानिवृत्त भए।
वनस्पतिविद् बन्न नपाएका कसजु जागिरकै सिलसिलामा वनस्पतिका तस्वीरहरू खिच्न आनन्द मान्न थाले । वनस्पतिको तस्वीरकै लागि उनी देशभित्रका ताप्लेजुङ, कास्की, नुवाकोट, मुस्ताङ, दोलखा, चितवन, काभ्रेलगायत काठमाडौं उपत्यकाका सबैजसो जंगल पुगेका छन्। भारतका लद्दाख, राजस्थान, बेंगलोर, सिक्किम, दार्जीलिङ, कोलकाता पुगेर पनि वनस्पतिका तस्वीर खिचेका छन्।
निकोन ब्राण्डको डि ३२०० मोडल क्यामेरा र ६० एम.एम. माईक्रो लेन्स प्रयोग गर्ने कसजुसँग अहिलेसम्म २२०० भन्दा बढी वनस्पति प्रजातिका तस्वीर छन्। त्यसमध्ये नेपालमा मात्र पाइने फूल फुल्ने झण्डै एक दर्जन प्रजातिका तस्वीर पनि उनीसँग छन्।
वनस्पतिप्रतिको प्रेम र तस्वीरको सोखले कसजु अहिले कतिपय सन्दर्भमा वनस्पतिशास्त्र पढेकालाई पनि ज्ञान दिनसक्ने भएका छन् । यसको प्रमाण– ‘इफ्लोरा अफ इण्डिया’ मा अपलोड गरिने कतिपय वनस्पतिको पहिचान कसजु स्वयंले गर्न सक्ने भएका छन् । उक्त विद्युतीय सञ्जालमा सबैभन्दा बढी तस्वीर अपलोड गर्ने दोस्रो व्यक्तिका रूपमा सञ्जाल संचालकले उनलाई प्रमाण पत्र समेत प्रदान गरेका छन् ।
कसजु र उनका साथीहरू यतिबेला काठमाडौं उपत्यकामा पाइने वनस्पति बारे तस्वीरसहितको पुस्तक प्रकाशन तयारी गरिरहेका छन्।
नेपालीका नाममा वनस्पति
सन् १९२९ यता अहिलेसम्म २१ प्रजातिका फूल फुल्ने वनस्पति नेपालीको नाममा नामकरण भएको पाइन्छ। यसबाहेक अन्य दुई–तीन प्रजाति पनि नेपालीका नाममा नामकरण भएका छन्। तर, तिनका नाम अहिले ‘एक्सेप्टेड नेम’ बाट पर्यायवाची बनिसकेका छन्। नेपालको वनस्पति नेपालीको नाममा नामकरण भएको थुन्बर्जिया कसजुवाना पछिल्लो प्रजाति हो।
बेलायतका वनस्पतिविज्ञ सेसल नोरम्यानले मेजर लालध्वज सुनुवारको नाममा सन् १९२९ मा हेर्राक्लियम लल्ली वनस्पति नामकरण गरेका थिए। यो नै नेपालीको नाममा नामकरण भएको पहिलो वनस्पति हो। तर, हेर्राक्लियम लल्ली कहाँबाट संकलन गरिएको थियो भन्नेमा भने द्विविधा कायमै छ।
न्याचुरल हिष्ट्री म्युजियम लन्डनको डेटा पोर्टल अनुसार ती नमूना सन् १९२८ मा पोखरा सराङकोटबाट करीब ४०० मिटर उत्तरतर्फको जंगलबाट संकलन गरिएको बताइएको छ। तर, सुनुवारले तयार पारेको हर्वारियम सिटमा हेर्राक्लियम लल्ली समुद्री सतहबाट १३ हजार–१४ हजार फिट उँचाइ भन्ने लेखिएको छ । तर, सराङकोट वरपरको उँचाइ त्यति छैन।
हेर्राक्लियम लल्ली अहिलेसम्म नेपालबाहेक अन्य देशमा पाइएको छैन । स्न १९२८ पछि सन् १९६७ मा यसको नमूना समरबहादुर मल्लले लौरीविनायक, रसुवाबाट संकलन गरेका थिए । त्यस उप्रान्त यसबारे थप जानकारी प्राप्त हुनसकेको छैन । बरु, यसको वैज्ञानिक नाम सन् १९८२ मा हेर्राक्लियम लल्लीबाट टेट्राटेनियम लल्लीमा रुपान्तरित गरिएको छ। टेट्राटेनियम लल्ली नेपालको रैथाने वनस्पति त हो। तर, यो वनस्पति अहिले के कस्तो अवस्थामा छ भन्ने जानकारी छैन।
नगरकोटमा पाइएको थुन्बर्जिया कसजुवानाको पनि तीन–चार वटा बोट मात्र पाइएकाले यसबारे थप अनुसन्धान आवश्यक देखिन्छ । अन्यथा, यसको अवस्था पनि टेट्राटेनियम लल्लीकै जस्तो हुन सक्नेछ।