गढीमाई मन्दिरका मूल पुजारीको निधन
![गढीमाई मन्दिरका मूल पुजारीको निधन](https://www.himalkhabar.com/uploads/posts/800X600/Pujari_Dhami_1598005627.jpg)
बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको प्रसिद्ध गढीमाई मन्दिरका मूल पुजारीको निधन भएको छ। रौतहटको गुजरा नगरपालिका ३ सिमरी गाउँका स्थायी निबासी दुखन धामीको ७६ वर्षको उमेरमा शुक्रवार मृत्यु भएको हो।
वरियारपुरमा गढीमाईको मन्दिर स्थापना भएदेखि नै वंशानुगतरूपमा पूजा गर्दै आएका धामीको सिमरीस्थित घरमा पनि गढीमाई मन्दिर रहेको छ। हरेक दिन अनिवार्य रुपमा घरको मन्दिरमा पूजा गर्ने चलन रहेको धामीको परिवारबाटै वरियारपुरस्थित मूल मन्दिरमा पुजारी रहने प्रचलन रहेको छ।
बाराको वरियारपुरको गढीमाई मन्दिर विश्वमै पशुबलिको लागि प्रसिद्ध रहेको छ। पाँच वर्षमा लाग्ने महागढीमाई मेला गत वर्ष मंसिरमा सम्पन्न भएको थियो । मंसिरमा धामीले नै मुख्य पुजारीको रुपमा गढीमाईको पूजा गराएका थिए।
सिमरीस्थित घरमै बस्दै आएका धामीलाई दुई दिनदेखि झाडापखाला लागेको थियो। गाउँमा सामान्य उपचारपछि बाराको निजगढस्थित अस्पतालमा उपचारका लागि लगिएका धामीलाई थप उपचारको लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै देहावसान भएको धामीका भतिज विन्देश्वर धामीले बताएका छन्।
पुजारी धामीका उमाशंकर धामी र उमेश धामी गरी दुई छोरा छन्। उनकै वंशजबाट गढीमाई मन्दिरको पुजारी रहने परम्परा रहेकोले गढीमाईले जसलाई चाहेमा उनी नै पुजारी बन्ने विन्देश्वर धामीको भनाइ छ।
उनको गाउँनजिकै बकैया खोलामा अन्तिम संस्कार गरिएको छ ।