पर्साको वीरगंजमा कोरोना संक्रमण ठीक भइसकेका एक व्यक्तिको मृत्यु भएपछि कोही पनि आफन्त उपस्थित नहुँदा समुदायका व्यक्तिहरू मिलेर दाहासंस्कार गरिदिएका छन्।
केही दिनअघि कोरोना संक्रमण भए पनि निको भइसकेका वीरगंज महानगरपालिका-१३, शिवनगरका लालबहादुर शाहको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि शनिबार बयोधा अस्पतालमा भर्ना भएका थिए।
सुगर र प्रेसरका समेत बिरामी शाहको राति मृत्यु भएको थियो। मृत्युपश्चात कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपपछि परिवार र आफन्तलाई खबर गर्दा कोही आउन नमानेको र समुदायका व्यक्तिहरू मिलेर दाहसंस्कार गरेको वडाध्यक्ष तुफान अन्सारीले हिमालखबर लाई बताए।
मृतक हिन्दू धर्मावलम्बी भए पनि मृत्यु संस्कारमा आफन्त, नातेदार र छिमेकीहरू आउन नमानेपछि मुस्लिम समुदायका व्यक्तिहरूले दाहसंस्कार गरेका थिए।
वडाध्यक्ष तुफान अन्सारी
“शनिबार राति मृत्यु भएपछि अस्पतालबाट घरमा खबर भएछ, जेठो छोरा क्वारेन्टिनमा छन्, परिवारमा अरू सानो १५-१६ वर्षका छोरा, ज्वाईं र श्रीमती छन्। तर छरछिमेकलाई खबर गर्दा कोही पनि आउन नमानेको खबर आयो। त्यसपछि म आफैं घाटमा गएर हिन्दू धर्म मान्ने मान्छेहरूलाई टेलिफोनमा सोधेर दाहसंस्कार अगाडि गर्नुपर्ने काम सकेर दाहसंस्कार गरिदियौं,” वडाध्यक्ष अन्सारीले हिमालखबर सँग टेलिफोन सम्पर्कमा भने।
"कपाल खौरिदिने मान्छे पनि नभएपछि मृतकको शव अस्पतालबाट घाटसम्म पुर्याउने एम्बुलेन्सका चालकले नै म गर्छु भनेर खौरिदिए," उनले भने।
दाहसंस्कार गर्ने बेलामा पुर्याउनुपर्ने प्रक्रियाबारे नजिकै रहेको राधेमाईमा गएर आफैंले बुझेको र त्यहाँका व्यक्तिहरूले सहयोग गरेको अन्सारीले बताए।
मृतक शाह एक प्राइभेट कम्पनीमा मेनेजर पदमा कार्यरत रहेको वडाध्यक्ष अन्सारीले जानकारी दिए।
टोलका सबैलाई बुझाएर खबर गर्दा पनि कोही नआउनु दु:खद भएको उनले बताए।
दाहसंस्कारमा गएका जनता युवा क्लबका अध्यक्ष मन्सुर खानले वडाध्यक्षले खबर गरेपछि आफूलगायत ४/५ जना पनि सघाउन पुगेको बताए।
"वडाध्यक्षले अवस्थाबारे जानकारी गराउनुभयो, त्यसपछि उहाँ र म भएर अरु ४/ ५ जनालाइ बोलाएर एकदमै थोरै संख्याको उपस्थितिमा दाहसंस्कार गर्न सहयोग गर्यौं," उनले भने।
कपाल काट्ने मान्छेलाई बोलाउँदा पनि आउन नमानेपछि एम्बुलेन्स चालकले मलाई आउँछ भनेर कपाल काटिदिएको उनले बताए।
-तस्विरहरु : मन्सुर खान