पशुपति विनाश गुरुयोजना !
पशुपति क्षेत्र विकास कोषको गुरुयोजना पशुपतिनाथ मन्दिरलाई साध्य नभई साधन ठान्दै यस क्षेत्रमा नाफामुखी व्यवसाय संचालन गर्न तयार पारिएको जस्तो देखिन्छ।
सरकारले पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना जस्ताको तस्तै कार्यान्वयन गर्ने जोखिम बढेपछि स्थानीय विरोधमा उत्रिए। गुरुयोजनाले प्राचीन वस्ती हटाउने कुत्सित मनसाय राखेको भन्दै स्थानीयको प्रदर्शनपछि सरकार गुरुयोजना अध्ययन समिति बनाउन बाध्य भएको छ।
आखिर यो गुरुयोजनाको विरोध किन भइरहेको छ ? किन सरकारका यस्ता योजनाहरूको बरोबर विरोध भइरहेको छ ? यसबारे सही जानकारी हुनु सरकार र आमजनले समेत जान्नु आवश्यक देखिन्छ।
इतिहास र संस्कृति सम्बन्धी कुनै पनि राष्ट्रिय नीति तथा कार्यक्रम प्राचीनता विरुद्ध नभए पनि बुझाइको समस्या सरकार समेतमा देखिन्छ। पशुपतिनाथ मन्दिर क्षेत्रको विकास र विस्तारको गुरुयोजना कार्यान्वयनमा पनि यही बुझाइ बाधक बनिरहेको छ। इतिहास र ऐतिहासिकताको यही गलत बुझाइ सम्पदा मासिनुको एउटा प्रमुख कारण बनिरहेको छ।
अहिले छाने शैलीमा दुई तला रहेको पशुपतिनाथ मन्दिरको स्वरुप राजा शिवसिंह मल्ल (वि.सं. १६३५–१६७७) की रानी गङ्गारानीबाट १७१२ सालमा भएको जीर्णोद्धारबाट कायम भएको हो। त्यसअघि यो मन्दिर तीन तलाको थियो भन्ने तथ्य वंशावलीहरूमा उल्लेख छ। तीन तलाको मन्दिर निर्माणअघि यो मन्दिर पाँच तला रहेको र टाढाबाट पनि देखिने वंशावली बताउँछ।
वंशावलीहरूका अनुसार पहिल्यै लिङ्गाकार रूपमा रहेको मन्दिरको स्वरुप परिवर्तन गरी लिच्छविकालका चौथौं राजा सुपुुष्पदेवले पाँचतले मन्दिर बनाएका थिए। पशुपतिनाथ मन्दिरको प्राङ्गणमा रहेको राजा जयदेव द्वितीयको सम्वत् १५७ (विसं. ७८०) को अभिलेख अनुसार सुपुष्पदेव मानदेव प्रथम भन्दा ३९ पुस्ता अघिका हुन्।
पशुपतिनाथ मन्दिर क्षेत्रका धेरै कुरा नौ अंकसँग सम्बन्धित छन्। नौ वटा जात, नौ टोल, नौ ढोका, नौ बाटो आदि। नौ अंकसँग सम्बन्धित यी भौतिक संरचना स्वयं पनि
प्राचीनताको उदाहरण हो। यसबाट मन्दिर पनि शुरूमा नौ तलाकै त थिएन भन्ने अनुमान गर्न सकिन्छ। जसरी मन्दिरका तला घट्दै गए, नौ अंकसँग सम्बन्धित वस्तु पनि मास्ने काम तीव्र हुँदैछ।
पशुुपतिनाथ मन्दिरमा रहेको र अहिले पुजिने शिवलिङ्ग पनि शुरूदेखिको होइन। १४०७ सालमा भएको बङ्गालका सुल्तान शमसुद्दीनको काठमाडौं उपत्यका आक्रमणमा पशुपतिनाथ मन्दिर पनि परेको थियो।
विधर्मीको स्पर्शपछि मूर्ति अपूज्य हुने मान्यता अनुसार प्राचीन शिवलिङ्गको ठाउँमा हालको शिवलिङ्ग प्रतिष्ठापन गरिएको हो। उक्त आक्रमणमा पुरानो शिवलिङ्ग तीन टुक्रा भएको उल्लेख (गोपालराजवंशावली) भए पनि उक्त कुरा सत्य नभएको शिवलिङ्गको भौतिक अवस्थितिबाट थाहा हुन्छ। मन्दिरको पश्चिमढोकाको अलि अगाडि एउटा मन्दिरमा उक्त शिवलिङ्ग देख्न पाइन्छ, जसमा पूजाकार्य हुँदैन।
शमसुद्दीनको आक्रमणको दश वर्षपछि १४१७ सालमा जयसिंहरामवद्र्धनले र त्यसको ५६ वर्षपछि १४७३ सालमा राजा ज्योतिर्मल्लले मन्दिरको पुनः जीर्णोद्धार गरेको अभिलेख पाइन्छ।
काठमाडौं उपत्यकाको प्राचीनताका सन्दर्भमा पशुपतिनाथ मन्दिर र यस वरिपरिको मानव वस्ती भौतिक प्रमाण हो। तर पशुपति क्षेत्र विकास कोषले त्यहाँको प्राचीन नाम ‘ग्वल’ रहेको भन्दै देवपाटनसहित सिफलसम्मको मानव वस्ती खाली गराउने प्रस्तावसहितको संशोधित गुरुयोजना १९ पुसमा मन्त्रालय पठाएको छ। अहिले भइरहेको विवाद त्यही गुरुयोजनाको हो।
प्रस्तावित गुरुयोजनामा भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको वस्ती हटाउने तथा खास्ति (बौद्धनाथ) महाचैत्यलाई समेत चक्रपथभित्र पार्ने गरी सडक बनाउने उल्लेख छ।
गुरुयोजना अनुसार पशुपति क्षेत्रको चारकिल्ला पूर्वतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्ग, पश्चिममा धुम्बाराही चक्रपथमा रहेको धोबीखोलाको पुलसम्म रहेको छ।
यसैगरी, उत्तरमा धुम्बाराही चक्रपथ रहेको धोबीखोलाको पुलबाट चक्रपथ, चाबहिल चोक, भगवानस्थान, गौरीघाट कच्ची बाटो भएर गुह्येश्वरीघाटको उत्तरतर्फको कालीप्रसाद गणको उत्तर सिमाना हुँदै त्रिभुवन विमानस्थलको पुरानो धावन मार्गभित्रको क्षेत्र पशुपति क्षेत्रको रूपमा चिनाउने प्रस्ताव गुरुयोजनामा छ। दक्षिणमा अहिलेको विमानस्थलको सीमा क्षेत्रलाई आधार बनाइएको छ।
संसारका प्रायः सभ्यताहरू ग्रन्थ वा संग्रहालयमा भेटिन्छन् तर काठमाडौं उपत्यकाको प्राचीन सभ्यता अहिलेसम्म जीवन्त पाइनु विश्व मानव जातिकै लागि उदाहरणीय ऐतिहासिक उपहार हो। अझ रोचक त यहाँको मानव वस्तीमा अत्यन्त प्राचीन कालदेखिको सामाजिक तथा सांस्कृतिक जीवनको विकास र अन्तरघुलनको अध्ययन गर्न पाइन्छ। यस्तो मानव वस्तीलाई हटाउनु भनेको प्राचीनताको जीवन्त प्रमाण मास्नुु मात्र हो।
डेढ दशकअघि गुरुयोजनाकै नाममा कतिपय प्राचीन मानव वस्ती खाली गराएर त्यहाँ नयाँ भौतिक संरचना निर्माण गरिएको थियो, जसले पशुपतिनाथ क्षेत्रको प्राचीनता नभएर आधुनिक शहरको झल्को दिन्छ।
पशुपति क्षेत्रको पहिचान यसको प्राचीनता, धार्मिक तथा सांस्कृतिक पक्ष हो तर अहिलेको गुुरुयोजना हेर्दा यो प्राचीनता जोगाउने भन्दा व्यावसायिक थलो बनाउने मनस्थितिबाट प्रेरित देखिन्छन्।