रिपोर्ट आइतबार, साउन १८, २०७७

किसानका खेतमा मल हाल्ने बेला भो, कलकत्ता नै आइपुगेन मल बोकेको पानीजहाज

रमेश कुमार

किसानका खेतमा मल हाल्ने बेला भो, कलकत्ता नै आइपुगेन मल बोकेको पानीजहाज
भारतबाट साइकलमा लुकिछिपी मल आयात गरिरहेका रुपन्देहीका किसान। तस्वीर: मुकेश पोखरेल

खेतीका लागि मौसमी अनुकूलता भए पनि रासायनिक मल अभावले गर्दा यो वर्ष प्रमुख कृषि बाली धानको उत्पादन खस्कने जोखिम बढेको छ।

समयमै पर्याप्त पानी परेपछि यो वर्ष असार महीनाभित्र धान खेती हुने करीब ८२ प्रतिशत खेतमा रोपाइँ सकियो। अघिल्लो वर्ष यही अवधिमा आधा पनि रोपाइँ भएको थिएन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १५ साउनसम्ममा देशभर लगभग रोपाइँ सकिएको छ।

छिटो रोपाइँ सकिएकाले अधिकांश किसानका खेतमा धानले गाँज हाल्न लागेकाे छ । बाली सप्रिन यहीबेला खेतमा युरिया छर्नुपर्छ। तर, किसानले खेतमा छर्न मल पाएका छैनन्। देशभरिका किसान मल खोज्दै शहर बजार धाइरहेका छन्, तर रित्तै हात फर्कनु परेको छ।

किनभने अहिले मुख्य कृषि बाली धानलाई चाहिने मल, युरिया छैन। कृषि मन्त्रालयका अनुसार देशभरिका गोदाममा युरिया रित्तिएको छ। अर्कोतर्फ विदेशबाट मल आयात गर्ने प्रक्रिया थप ढिलो भएको छ।

ढिलोमा जेठसम्ममा आइपुग्नुपर्ने २१ हजार ५०० टन युरिया अहिलेसम्म कलकत्ता पनि आइपुगेको छैन। कोरोना भाइरस संक्रमणको महामारी सिर्जित अप्ठेरोका कारण मल ल्याउन ढिलाइ भएको जवाफ आपूर्तिकर्ताले साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएका छन्।

ढिलोमा जेठसम्ममा आइपुग्नुपर्ने २१ हजार ५०० टन युरिया अहिलेसम्म कलकत्ता पनि आइपुगेको छैन। कोरोना भाइरस संक्रमणको महामारी सिर्जित अप्ठेरोका कारण मल ल्याउन ढिलाइ भएको जवाफ आपूर्तिकर्ताले साल्ट ट्रेडिङ कर्पोरेसनलाई दिएका छन्।

सरकारी स्वामित्वको कम्पनी साल्ट ट्रेडिङले मल आपूर्तिको जिम्मा लिएको छ। साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशी आगामी साता मात्र मल कलकत्ता बन्दरगाहमा आइपुग्ने जानकारी आफूहरूले पाएको बताउँछन्। तर, कलकत्ता आइपुगे पनि त्यसपछि त्यो मल तुरुन्तै नेपाल भित्र्याउन सजिलो छैन। जोशीका अनुसार, कोरोना भाइरसको संक्रमण विस्तार फैलन नदिन बनाइएको नियमअनुसार बढीमा दुई सातासम्म मललाई क्वारेन्टिनमा राख्नुपर्ने हुनसक्छ।

त्यसपछि पनि कलकत्ताबाट मल कार्गो रेलमा हालेर रक्सौलसम्म ल्याउन र ट्रकमा हालेर देशभरिका डिपोमा पुर्‍याउन झन् कठिन छ। “वीरगन्जमा रेलबाट ट्रकमा मल हाल्न पनि कामदार पाइँदैन, कोरोना भाइरस संक्रमण थप बढ्ने क्रममा रहेकाले मल कहिले आइपुग्छ, यसै भन्न सकिँदैन,” जोशीले भने।

यसको अर्थ, यो वर्ष किसानले धान खेतीमा हाल्न युरिया मल पाउने सम्भावना लगभग सकिएको छ। तत्काल मल आपूर्तिको अर्को विकल्प नभएकाले यो वर्ष किसानले युरिया मल विना नै धान उत्पादन गर्नुपर्नेछ।

धान रोपेको ३० दिनदेखि ३५ दिनभित्रमा युरिया मल छरिसक्नुपर्छ। तर, यो अवधिमा खेतमा छर्न पुग्नेगरी किसानले मल पाउने सम्भावना देखिंदैन।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ देशभरि युरिया मलको हाहाकार भइरहेकाले आफूहरुले सरकारलाई छिटोभन्दा छिटो मल आयात गर्न पटकपटक अनुरोध गरेको बताउँछन्। श्रेष्ठ भन्छन्,“कूटनीतिक पहल गरेर भएपनि छिटो मल ल्याउन घच्घच्याइरहेका छौं, मल आउन नसके धान उत्पादन घट्ला भन्ने चिन्ता बढेको छ।”

तराईका कतिपय स्थानमा किसानले मल नपाएपछि भारत पुगेर लुकिछिपी साइकलमा ल्याइरहेका छन्। तर, भारतमा युरिया मलको मूल्य नेपालको भन्दा प्रति बोरा करीब रु.५०० महंगो छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले हतारो गरेर मल ल्याए पनि त्यसले देशभरिको धानबालीमा आवश्यक युरियाको मागलाई थेग्दैन। किसानहरुले धानखेतीका लागि करीब ५० हजार मेट्रिक टन युरिया माग गरेका छन्। तर, साल्ट ट्रेडिङले त्यसको आधा भन्दा पनि थोरै परिमाण मात्र आयात गर्दैछ। साल्ट ट्रेडिङका जोशी मल ल्याउन सके पनि मागलाई नथेग्ने भएकाले वितरणमा अर्को झमेला निम्तिने बताउँछन्।

मल आपूर्तिको जिम्मा पाएको अर्को सरकारी संस्था, कृषि सामग्री कम्पनीले ५० हजार टन युरिया आयात गर्न गत वैशाखमा सम्झौता गरेपनि मल कहिले आइपुग्ने हो भन्ने टुंगो छैन। आयात गर्ने कम्पनीले रसियाबाट मल ल्याउने बताएको छ, तर अझैसम्म त्यहाँबाट मल नहिंडेको कम्पनीका खरीद विभाग प्रमुख विष्णुप्रसाद पोखरेलले बताए। यो मल आइपुग्न कम्तीमा अझै दुई महीनाभन्दा बढी समय लाग्ने अनुमान छ। यसको अर्थ, यो मल ल्याएर धानखेतीमा प्रयोग गर्ने सम्भावना छैन।

धानखेतीमा हाल्ने मल नपाएपछि रुपन्देहीको धकधईका किसान सञ्जय गुप्ता यो वर्ष खेती बिग्रिने चिन्ता बढेको बताउँछन्। उनी भन्छन्, “धान फलेन भने बाली लगाउँदा लिएको ऋण कसरी तिर्ने, वर्षभरि के खाने भन्ने चिन्ता बढेको छ।”

तराईका कतिपय स्थानमा किसानले मल नपाएपछि भारत पुगेर लुकिछिपी साइकलमा ल्याइरहेका छन्। तर, भारतमा युरिया मलको मूल्य नेपालको भन्दा प्रति बोरा करीब रु.५०० महंगो छ। यस्तो मल ल्याएर हाल्दा धान महँगो पर्ने गुप्ता बताउँछन्।

अर्थतन्त्रलाई धक्का

नेपालमा वर्षेनि धान, मकै, गहुँ, कोदो, जुनेलो लगायत गरेर करीब १ करोड १० लाख मेट्रिक टन अन्न उत्पादन हुन्छ। यसमध्ये आधाभन्दा बढी त धान नै फल्छ। किसानले समयमा रासायनिक मल नपाए धानको उत्पादकत्वमा ठूलो गिरावट आउँछ।

धान पसाउनुअघि नै माटोमा नाइट्रोजनको आपूर्ति गर्ने युरिया मल हाल्न सके धानका बोट सप्रिन्छन्। त्यसबाट धानको उत्पादकत्व पनि बढ्छ। एक किलो युरिया हाल्दा उत्पादन १० किलोसम्मले बढ्ने अनुमान गरिन्छ।

कोरोना संक्रमणको महामारीले अर्थतन्त्र संकटग्रस्त बनेका बेला मल अभावका कारण कृषि उत्पादन पनि घटेमा त्यसले अर्थतन्त्रमा मात्र होइन, खाद्य सुरक्षामा पनि ठूलो संकट ल्याउन सक्छ। किनभने उत्पादन घट्नेबित्तिकै यहाँ कृषि उपजको थप आयात गर्नुपर्छ।

धानको उत्पादकत्व घटेमा किसानको आय मात्र होइन्, देशको अर्थतन्त्र नै हल्लिन्छ। किनभने धान उत्पादन १५ प्रतिशत जति मात्र घट्दा पनि कुल गार्हस्थ उत्पादनमा करीब १ प्रतिशत गिरावट आउँछ। देशको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको भूमिका २७ प्रतिशत हाराहारी छ। कृषिको कुल गार्हस्थ उत्पादनमध्ये धानबालीको मात्र हिस्सा करीब २१ प्रतिशत छ।

आर्थिक वर्ष २०७५-७६ मा अहिलेसम्मकै धेरै ५६ लाख १० हजार मेट्रिक टन धान फल्दा आर्थिक वृद्धिदरमा बलियो टेको पुगेको थियो। गत आर्थिक वर्ष २०७६-७७ मा भने धानको उत्पादन १ प्रतिशतजति घटेर ५५ लाख ५० हजार टन मात्र उत्पादन भएको थियो।

कोरोना संक्रमणको महामारीले अर्थतन्त्र संकटग्रस्त बनेका बेला मल अभावका कारण कृषि उत्पादन पनि घटेमा त्यसले अर्थतन्त्रमा मात्र होइन, खाद्य सुरक्षामा पनि ठूलो संकट ल्याउन सक्छ। किनभने उत्पादन घट्नेबित्तिकै यहाँ कृषि उपजको थप आयात गर्नुुपर्छ। गत आर्थिक वर्षमा नेपालले रु.३३ अर्ब ६५ करोडको धान–चामल आयात गरेको थियो।

नेपालमा हरेक वर्ष रासायनिक मलको अभाव हुँदै आएको छ। सरकारले मल आयातका लागि पर्याप्त रकम नछुट्याउँदा र आयातको प्रक्रिया बेलैमा शुरु नगर्दा मल अभाव हुने गरेको छ।

नेपालमा हरेक वर्ष रासायनिक मलको अभाव हुँदै आएको छ। सरकारले मल आयातका लागि पर्याप्त रकम नछुट्याउँदा र आयातको प्रक्रिया बेलैमा शुरु नगर्दा मल अभाव हुने गरेको छ। गत आर्थिक वर्षमा सरकारले युरिया, डीएपी र पोटास गरी ३ लाख ९४ हजार टन मल आयात गरेको थियो। चालु आर्थिक वर्षमा सरकारले मल आयात गर्न करीब रु.११ अर्ब छुट्याएको छ।

यो रकमले करीब ५ लाख टन मल आयात गर्न सकिने अनुमान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु बताउँछन्।

प्रतिकृया दिनुहोस