रिपोर्ट शनिबार, साउन १७, २०७७

कसरी बन्यो वीरगञ्ज कोरोनाको ‘हट स्पट’ ?

रामु सापकोटा

कसरी बन्यो वीरगञ्ज कोरोनाको ‘हट स्पट’ ?
११ साउनमा वीरगञ्जमा कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन गरिंदै । तस्वीर: एस. उपाध्याय

कोरोनाभाइरस संक्रमणबाट मुलुकमा शुक्रबार (१६ साउन) सम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै चार जनाको मृत्यु भएको छ।

बन्दाबन्दी अन्त्य भएको ६ साउनयता १० दिनमै १६ जनाको मृत्यु भइसकेको छ। जबकि, कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको ३ जेठदेखि दुई महीनामा ३० जनाको मृत्यु भएको थियो। यो तथ्यांकले एक महीनामा भएको मानवीय क्षति १० दिनमै भएको दृष्टान्त दिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये पर्सा जिल्लाका मात्रै नौ जना छन्। यो तथ्यांकले संक्रमणबाट हालसम्म पर्सामै सबैभन्दा धेरैको ज्यान भएको देखाउँछ।

शुक्रबारसम्म पर्सामा कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या २५९ छ। यीमध्ये ६२ जनाको कोरोना अस्पतालमा उपचार भइरहेकोमा ३६ जनामा लक्षण देखिएको छ।

पर्सामा वीरगञ्ज महानगरपालिका कोरोना संक्रमणबाट सबैभन्दा प्रभावित देखिएको छ। संक्रमणबाट यो जिल्लामा नौ जनाले ज्यान गुमाएका छन्। जसमध्ये १२ साउन यताकाे चार दिनमै वीरगञ्जमा पाँच जनाकाे मृत्यु भएकाे हाे। त्यहाँ कोरोनाबाट पहिलो मृत्यु ६ साउनमा भएको थियो भने बिहीबार मात्र तीन जनाले ज्यान गुमाएका थिए।

कोरोना संक्रमित बढेपछि समुदायमा संक्रमणको आशंका गर्दै वीरगञ्जमा स्थानीय प्रशासनले १० साउनदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

बढी क्षति निम्त्याउने आधार 

पर्सामा कोरोना संक्रमणबाट बढी मृत्यु हुने अवस्था कसरी बन्यो त ? यसका लागि उक्त क्षेत्रमा कोरोनाभाइरसको उच्च जोखिममा मानिने अन्य रोगका बिरामी के कति छन् भन्ने हेर्नुपर्छ।

स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन अनुसार, पर्सा जिल्लामा निमोनियाका दुई हजार २५३ बिरामी छन्। यीमध्ये वीरगञ्ज महानगरपालिकामा सबैभन्दा बढी ४०६ जना छन्। यो निजी तथा सरकारी स्वास्थ्य संस्था र ‘आउटरिच सेन्टर’ मा उपचार गराउने बिरामीको मात्र संख्या हो। ठूला अस्पताल मार्फत नियोनियाको उपचार गरेका बिरामीहरुको संख्या यसमा आउँदैन।

विभागको सोही आर्थिक वर्षको तथ्यांक अनुसार, पर्सामा क्षयरोगका ८२४ जना संक्रमित छन्। यीमध्ये वीरगञ्ज सबैभन्दा धेरै ३५३ जना छन्। यी स्वास्थ्य समस्या भएका व्यक्तिहरू कोरोना संक्रमणको जोखिममा मानिन्छन्।

पर्सामा श्वासप्रश्वास प्रणालीमा संक्रमण भएका बिरामीको संख्या १८ हजार ३६३ रहेकोमा वीरगञ्जमा मात्रै ४ हजार ३२५ छ। यस्तै, यो जिल्लामा मुटुसम्बन्धी कार्डियोभास्कुलर र ब्रोङ्क्युअल दमका बिरामी तीन हजार ४२८ जना र कार्डियोभास्कुलर र श्वास प्रश्वाससम्बन्धी समस्या सीओपीडीका बिरामीको संख्या कुल एक हजार ४६८ छ।

अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का अनुसार क्यान्सर, सिओपीडी, मिर्गौलाको दीर्घ रोग, मोटोपनको समस्या भएका व्यक्तिहरु कोरोनाभाइरसको उच्च जोखिममा हुन्छन्। यस्तै, दम, उच्च रक्तचाप, कलेजो सहितका १२ वटा स्वास्थ्य समस्या भएका व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा हुनसक्ने सूचीमा राखिएको छ।

पर्सा जिल्लामा भएका दीर्घरोगीको संख्याले उनीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ।

पूर्वाधार र जनशक्ति अभाव

कोरोना संक्रमणसँग लड्न संक्रमितहरुको उपचारका लागि चाहिने स्वास्थ्य पूर्वाधारको भूमिका महत्वपूर्ण रहन्छ। स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार पर्सामा ८९ वटा सार्वजनिक र ३४ निजी गरी १२३ वटा स्वास्थ्य संस्था छन्।

दुई ठूला सरकारी अस्पतालमध्ये वीरगञ्ज महानगरपालिकामा रहेको नारायणी अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाएर संक्रमितको उपचार गरिंदै आएको छ। अस्पतालमा १० बेडको आईसीयू र तीन वटा भेन्टिलेटर छन्।

कोरोनाका सिकिस्त बिरामीको उपचारका लागि आईसीयू र भेन्टिलेटरसहित दक्ष जनशक्ति चाहिन्छन्। संक्रमितको संख्या र जोखिम बढिरहँदा नारायणी अस्पतालमा पूर्वाधार र जनशक्तिको उपलब्धता कत्तिको सन्तोषजनक छ त ?

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय अहिलेको अवस्थामा कोरोना संक्रमितको उपचार गर्न चाहिने पूर्वाधार र जनशक्ति पर्याप्त नभएको बताउँछन्। पर्सामा संक्रमित र मृत्यु हुनेहरूको संख्यालाई आधार मान्दा १०० बेडको अस्पतालमा ५० बेडको आईसीयू चाहिने उनको बुझाइ छ।

नारायणी अस्पतालमा अहिले चार जना कोरोना संक्रमितको उपचार भइरहेको छ। यीमध्ये दुई जना सिकिस्त छन्। “सिकिस्त दुई जनाको अवस्था बिग्रिदै गयो भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ, अहिलेसम्म उनीहरुको अवस्था सुधारोन्मुख छैन”, उपाध्याय भन्छन्।

अस्पतालले वीरगञ्ज र आसपासका क्षेत्रमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसँग जनशक्ति माग गरिसकेको छ। अस्पतालले मन्त्रालयसँग चार जना फिजिसियन, दुई जना एनेस्थेसियोलोजिष्ट, १० जना मेडिकल अधिकृत, १० जना नर्सिङ स्टाफ र चार जना कार्यालय सहयोगी जस्ता जनशक्ति मागेको छ।

तर, शुक्रबार साँझसम्म जनशक्ति नपठाइएको मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले बताए।

संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारी पर्सामा कोरोना संक्रमित र सिकिस्त बिरामी बढिरहेका वेला अहिले उपलब्ध तीन वटा भेन्टिलेटर र आईसीयू पर्याप्त नहुने बताउँछन्।

“तीन वटा भेन्टिलेटर भरिएपछि अरु सिकिस्त बिरामी देखिए भने कहाँ राखेर उपचार गर्ने ?” डा. अधिकारी प्रश्न गर्छन्। उनी पर्सा जिल्लाको कुल जनसंख्यामध्ये पाँच प्रतिशतलाई भेन्टिलेटर आवश्यक पर्ने बताउँछन्। स्वास्थ्य सेवा विभागको २०७४/७५ को प्रतिवेदन अनुसार, पर्साको जनसंख्या ६ लाख ८३ हजार ५५६ छ।

संक्रमण प्रकोपका रुपमा फैलिन नदिन सकेसम्म बढी सचेतता अपनाउनुपर्ने उनको सुझाव छ।

प्रतिकृया दिनुहोस