टिप्पणी शुक्रबार, साउन १६, २०७७

सानेपामा शेरबहादुरसँग सुनील थापाको अंकमालको अर्थ

शंकर तिवारी

सानेपामा शेरबहादुरसँग सुनील थापाको अंकमालको अर्थ
राप्रपा छाडेका सुनील थापा लगायत नेताहरुलाई १३ साउनमा पार्टी प्रवेश गराउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

१३ साउनमा नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा राप्रपाका नेता एवं पूर्वमन्त्री सुनील थापा सहितका दुई दर्जन पूर्व पञ्च कांग्रेसमा प्रवेश गरे।

सुनील थापाको व्यक्तित्वमा उनका पिता पञ्चायतका हस्ती सूर्यबहादुर थापाको समेत परिचय जोडिने भएकाले यो घटनाले कांग्रेस वृत्त र बाहिर तरङ्ग ल्याउनु स्वाभाविक हो । यो लेख यही विषयको वरिपरि केन्द्रित रहन्छ।

परस्पर विरोधी धार 

महाधिवेशनको सँघारमा उभिएको कांग्रेसले किन यति हतारोमा राप्रपा छाडेर आएका सुनील थापा लगायतलाई आफूमा विलय गर्‍यो र स्वयम् थापा के उद्देश्यसहित कांग्रेसमा सम्मिलित भए भन्ने कौतूहल छ। थापा कांग्रेस पार्टीमा मिल्ने कुरा उनले कुन पद लिएर मिल्छन् भन्ने कुरामा सकिने सामान्य विषय होइन। उनका पिताले बोकेको विरासत के थियो, कांग्रेसले पञ्चायतकालमा भोगेको बर्बर दमन र त्यस विरुद्ध लडेको केका लागि थियो, यी दुई प्रश्नको निरुपण विना अहिलेको घटनालाई सामान्य मान्न नसकिएको हो।

सुनील थापालाई उनको पिताको विरासत बचाउन कांग्रेस पार्टीभन्दा पनि रापप्रा नै उपयुक्त थलो हो भनेर अन्तिम पटक राप्रपा नेता कमल थापाले ट्वीटर मार्फत त्यसै भनेका थिएनन्। सधैं आफैंलाई राजनीतिको केन्द्रमा राखेर सोच्ने भएकाले सूर्यबहादुर थापालाई लोकेन्द्रबहादुर चन्द हुँदै पशुपतिशमशेर राणादेखि कमल थापासम्मको नेतृत्व स्वीकार्य थिएन। सुनील थापाले त्यसैलाई हृदयंगम गरी पिता मार्फत जोडिएको पार्टी त्यागेर कांग्रेसमा समाहित भएको हुनुपर्छ।

सूर्यबहादुर पञ्चायती व्यवस्थाका एक धुरन्धर व्यक्ति थिए । राजनीतिक यात्राको शैशवकालमा उनी कांग्रेस भएको कुराले पञ्चायतकालमा  खास महत्त्व राख्दैनथ्यो, तर उनी पञ्चायतमा अरु हस्ती भन्दा पृथक् थिए। सुनील थापाले कांग्रेस प्रवेश गर्दा आफ्नो पिताको विलुप्त इतिहासको एउटा पक्ष आफ्नो नयाँ घर कांग्रेसका नेता-कार्यकर्ता समक्ष राखे।

सुनील थापालाई पार्टीमा प्रवेश गराउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

सूर्यबहादुर थापाको पृथकपनाको तागत देशभित्र भन्दा बाहिर कतै जोडिएको थियो।  त्यस अर्थमा उनी शक्तिकेन्द्रका मानिस थिए। यसै कारण जनमतसंग्रहमा पञ्चायती व्यवस्थाको उद्धारक भएर पनि उनलाई निरन्तरता दिन दरबार राजी भएन, र राष्ट्रिय पञ्चायतमा अविश्वासको प्रस्ताव मार्फत उनी प्रधानमन्त्रीबाट हटाइएका थिए।

बीपीको निर्वासन

१ पुस २०१७ मा राजा महेन्द्रको सैनिक 'कुदेता' पश्चात् सिंहदरबारको बरफ बाग/बिलियार्ड हल हुँदै सुन्दरीजलको कारागारमा राखिएका बीपी कोइरालालाई २०२५ सालमा जेलमुक्त गर्न राजा महेन्द्र सहमत भएका थिए । महेन्द्र र बीपी कोइरालाका बीचमा एउटा अलिखित सहमति भएको थियो भनिन्छ। इतिहासकार राजेश गौतम लगायतले त्यस बारेमा उल्लेख गरेका छन्। त्यो सहमति अनुसार, जेलमुक्त भएपछिको पहिलो एक वर्ष बीपीले उग्ररुपमा राजनीतिक कार्य नगर्ने तर देश भ्रमण गर्ने तय भएको बताइन्छ। 

२०२५ सालमा बीपी कोइरालालाई जेलमुक्त गर्दा उनी र राजा महेन्द्रबीच एउटा अलिखित सहमति भएको थियो भनिन्छ। त्यो सहमति अनुसार, जेलमुक्त भएपछिको पहिलो एक वर्ष बीपीले उग्ररुपमा राजनीतिक कार्य नगर्ने तर देश भ्रमण गर्ने तय भएको बताइन्छ। तर यसको ठीक विपरीत, बीपी जेलमुक्त भएपछि उनी देशभित्रै बस्दा राजाले अप्ठ्यारो पार्छन्, फेरि जेल हाल्छन् भनेर गलत सूचना दिने व्यक्ति सूर्यबहादुर थापा थिए।

तर यसको ठीक विपरीत, बीपी जेलमुक्त भएपछि उनी देशभित्रै बस्दा राजाले अप्ठ्यारो पार्छन्, फेरि जेल हाल्छन् भनेर गलत सूचना दिने व्यक्ति सूर्यबहादुर थापा थिए। गिरिजाप्रसाद कोइरालासँगको सम्बन्ध र सम्पर्कलाई दुरुपयोग गर्दै सूर्यबहादुरले बीपीको प्रवासका लागि दबाबको मार्ग प्रशस्त गरेका थिए। बीपी नेपालभित्रै बस्नु र राजासँग सहकार्यको ढोका खुल्नु भनेको पञ्चायत व्यवस्थाबाट सर्वाधिक लाभान्वित सूर्यबहादुरका लागि घाटाको विषय थियो । यसै कारण उनी राजा र बीपीबीच फाटो बढाउने अभियानमा लागे। 

बीपीलाई फाँसीको माग

मेलमिलापको नीति लिएर स्वदेश फर्केका बीपी र  कांग्रेस नेता-कार्यकर्तालाई मृत्युदण्डको सजाय हुनुपर्छ भनेर भाषण गर्नेहरू र  प्रस्ताव पारित गर्नेहरूको अग्रपंक्तिमा सूर्यबहादुर थापा नै थिए। उनी उदारवादी पञ्च देखिन खोज्थे, तर थिए अनुदार । यसरी हेर्दा आफ्नो जीवनको उत्कर्षमा कांग्रेससँग सधैं विपरीत रहेर सूर्यबहादुरको  राजनीति चलेको थियो।

प्रवासका अनेक हण्डर र विकसित अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई ध्यान दिंदै र नयाँ राजा (वीरेन्द्र) लाई दुरुपयोग गर्दै देशको भविष्य नै धरापमा पार्न कस्सिएका पञ्चको बिगबिगीबीच राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किएका थिए। विद्यार्थी आन्दोलनको राप र तापमा  जनमत संग्रह घोषणा भयो र त्यसको प्रत्यक्ष लाभ तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पाए। 

जनमत संग्रहमा बलमिच्याइँ

तत्कालीन राजनीतिक घटनाक्रम बुझेका जानिफकारहरुका अनुसार, सूर्यबहादुर थापा बाहेक अर्को कुनै प्रधानमन्त्रीले सत्ताको चरम

सूर्यबहादुर थापा । तस्वीर: मीनरत्न बज्राचार्य

दुरुपयोग गरेर पञ्चायती व्यवस्थालाई जिताउन मुस्किल थियो। सत्ताको दुरुपयोग गर्न उनले गरेका हरेक तिकडमहरूको साक्षी बस्न नसकेर (पछि नागरिक अगुवा बनेर २०४७ को अन्तरिम सरकारमा अर्थमन्त्री समेत भएका) देवेन्द्रराज पाण्डेले अर्थ मन्त्रालयको सचिव पदबाट जनमत संग्रहको मुखमा राजीनामा गरेका थिए। चारकोसे झाडी मासेर तराईलाई मरुभूमिकरणतर्फ लैजाने कार्यको शुरुआत उनै सूर्यबहादुर थापाले गरेको आरोप लाग्दै आएको छ।

बीपीको भारत निर्वासन र जनमत संग्रहमा बहुदल पक्षको पराजयले नेपाली राजनीति कति पुस्ता पर धकेलियो, शोधको विषय होला तर यी दुवै घटनाको केन्द्रमा निर्विवाद रूपमा सूर्यबहादुर थापा संलग्न थिए।

गणेशमान सिंहको प्रष्ट अडान थियो, सर्वपक्षीय सरकारको नेतृत्वमा जनमत संग्रहको निर्वाचन हुनुपर्छ । तर, चुनाव जितिन्छ भन्ने अतिशय विश्वास र गान्धीवादी चिन्तनका कारण बीपी सर्वपक्षीय सरकार विना पनि चुनावमा जान राजी भए। 

बीपीको भारत निर्वासन र जनमत संग्रहमा बहुदल पक्षको पराजयले नेपाली राजनीति कति पुस्ता पर धकेलियो शोधको विषय होला, तर यी दुवै घटनाको केन्द्रमा निर्विवाद रूपमा सूर्यबहादुर थापा संलग्न थिए।

कुन स्वार्थ अनुसार उनले ती कदम चालेका थिए, त्यसको विश्वसनीय उत्तर  सूर्यबहादुरसँग नै थिएन भने उनका छोरा सुनीलसँग हुने कुरा भएन। तर, यो कुराको निरुपण लोकतन्त्रमा रुचि राख्ने हरेक नेपाली नागरिकका लागि चासोको विषय हो।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनापछि २०५१ सालको त्रिशंकु संसदमा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले तिनै सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा समेत मतदान गर्‍यो। गिरिजाप्रसाद र सूर्यबहादुर थापाका सम्बन्धका विविध आयाम थिए होलान्। यति हुँदाहुँदै इतिहासमा सूर्यबहादुर उभिएको स्थान र कांग्रेस उभिएको स्थान परस्पर विरोधी थियो। 

हार्दिकता र कृत्रिमता

विजय गच्छदारले नेपाली कांग्रेसमा पार्टी विलय गर्दा एउटा हार्दिकता देखिएको थियो, सिङ्गो पार्टी पंक्तिले त्यसलाई अनुमोदन गरेको थियो। तर पार्टी कार्यालयमा सुनील थापालाई स्वागत गर्दैगर्दा त्यस्तो हार्दिकता देखिएन, बरु कृत्रिमता प्रष्ट झल्किन्थ्यो। त्यसलाई चिर्न नै सुनीलले पार्टी प्रवेश कार्यक्रमको मन्तव्यमा पिताको राजनीतिक यात्राको शुरुआत र अन्त्यका समयका कुरामा मात्र आफूलाई सीमित गरे। पञ्चायतकालको सूर्यबहादुर थापाको सन्दिग्ध भूमिकाबारे उनी मौन रहे।

उनले बाबुको सपना पूरा गर्न कांग्रेसमा आएको कुरा गरे। कांग्रेसका संस्थापक नेताहरु बीपी, सुवर्णशमशेर, गणेशमान, किसुनजीकै हाराहारी सूर्यबहादुरको नाम उच्चारण धेरै कांग्रेसजनलाई बिझायो नै, सँगै बृहत्तर लोकतान्त्रिक मोर्चाप्रति मात्रै उनको जवाफदेही हो वा कांग्रेस पार्टीप्रति, उनी खुलेनन्। यसरी उनले मन्तव्यमा उपस्थित कांग्रेसको मन जित्ने कुरा गर्न सकेनन्।

कांग्रेसका आम कार्यकर्ता र कांग्रेसका शुभचिन्तक लगायत ठूलो पंक्तिलाई सुनील थापाको कांग्रेस प्रवेश स्वाभाविक लागिरहेको छैन। यो चिन्तनको जगमा पञ्चायतमा हुँदा सूर्यबहादुर थापाले कांग्रेस र कांग्रेस कार्यकर्ता विरुद्ध गरेका कार्यको  फेहरिस्त सन्निहित छ। 

कसको कस्तो आवश्यकता ?

सुनील थापा कांग्रेससँग जोडिने कुरा उनको आवश्यकता हो वा कांग्रेसको आवश्यकता थियो, त्यसबारेमा बहस नै भएन। कांग्रेसका केही शीर्ष नेतालाई त्यो आवश्यक जस्तो लाग्यो र कार्यकर्तासँग बृहत् राय विना सोझै निर्णय गरियो। हुन त, शेरबहादुर देउवा नेतृत्वको कांग्रेस  अहिले परम्परागत शैलीमा जुवाको खालमा दाउ कम तर च्याँखे ज्यादा थापेर बसेको छ।

कुनै पनि आम निर्वाचनमा विजयी हुन कुनै पनि पार्टीलाई नयाँ पुस्तासँग कसरी जोडिने भन्ने चिन्ता हुनुपर्छ। के सुनील थापा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न सक्ने मानिस हुन् त ? उनी निश्चय पनि वैचारिक हिसाबले त्यत्रो सामर्थ्यवान् र बलिया नेता होइनन्। 

अहिले देउवालाई दोस्रो कार्यकालका लागि कुनै पनि हालतमा पार्टी सभापति हुनु छ र त्यसका लागि सहायक हुने जोसुकैसँग पनि सम्झौता गर्न उनी उद्यत देखिन्छन्। महाधिवेशनको मुखमा अरू पार्टीलाई, कुनै नेतालाई कांग्रेसमा विलय गराउने कुरा भन्दा नयाँ निर्वाचित कार्यसमितिलाई नै सुम्पनु  राम्रो हुन्थ्यो।

सुनीलको सामर्थ्य 

सुनील थापाले कस्तो विचारको प्रतिनिधित्व गर्छन्, त्यसबारेमा बताइरहनु नपर्ला। उनको नामप्रति आकर्षित भएर कति भोट नेपाली कांग्रेसको बहीखातामा बढ्छ, यसको हिसाब शायद गरिएको छैन। हिसाब राखेको भए यो एकता सम्भव नै हुँदैनथ्यो।

राप्रपाका तीन वटा भँगालो (कमल थापा/पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्द/प्रकाशचन्द्र लोहनी नेतृत्वको) सम्पूर्ण सामर्थ्यले गएको निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका थिएनन्। सुनील थापाको सामर्थ्यको बारेमा यो भन्दा अधिक चर्चा गर्नु कम्तीमा अहिलेका लागि उचित नहोला।

कुनै पनि आम निर्वाचनमा विजयी हुन कुनै पनि पार्टीलाई नयाँ पुस्तासँग कसरी जोडिने भन्ने चिन्ता हुनुपर्छ। के सुनील थापा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न सक्ने मानिस हुन् त ? उनी निश्चय पनि वैचारिक हिसाबले त्यत्रो सामर्थ्यवान् र बलिया नेता होइनन्। 

संयुक्त राष्ट्रसंघका संस्थाहरूमा काम गरेको अनुभवलाई आधार मान्ने हो भने राष्ट्रसंघीय संस्थामा काम गरेर अवकाश पाएका कमल रिजाल लगायत नेताहरु कांग्रेस धनकुटामा पनि छन्। पञ्चायतकालमा सूर्यबहादुर थापाले कांग्रेसमाथि मच्चाएको राजनीतिक आतंक अन्यत्र धूमिल भए पनि कोशीपारि विशेषगरी धनकुटा जिल्लामा धूमिल नहोला। सुनील थापा कांग्रेसमा प्रवेश गर्नेबित्तिकै कांग्रेसका ती पुराना पीडित कार्यकर्ताहरु पार्टीमै रहन्छन् वा विकल्पको खोजीमा जान्छन्, त्यो टड्कारो विषय हो।

विजय गच्छेदार कांग्रेस प्रवेश गरे पनि उनको पार्टीबाट स्थानीय निर्वाचन जितेका नेता-कार्यकर्ता कांग्रेसमा सहजै घुलमिल हुन सकिरहेका छैनन्, कैलाली लगायत जिल्लामा  यस्तो भएको देखिन्छ। त्यसैले काठमाडौंमा बसेर सोचे/गरे जस्तो एकताको प्रभावको आकलन त्यति सहज नहोला।

अँध्यारो इतिहासमा रुचि

के सुनील थापाको पार्टी प्रवेशले नेपाली कांग्रेसमा साँच्चै सकारात्मक सन्देश प्रवाह गरिरहेको छ त ? सामाजिक सञ्जाललाई आधार मान्ने हो भने  यसको उत्तर पनि  सकारात्मक छैन। यसरी विचारमा पुरातनपन्थी र नयाँ पुस्तासँग जोड्ने कुनै योजना नभएको व्यक्तिलाई पार्टी प्रवेश गराउनु पार्टीका लागि ऋणात्मक हुने प्रष्ट छ। 

त्यसको सट्टा कांग्रेसले पार्टीलाई कसरी युवामैत्री र युवाका लागि आकर्षक बनाउने भनेर शहरी क्षेत्रमा विवेकशील, साझा वा अन्य नयाँ पार्टी र समूहले कांग्रेसको स्पेस  कब्जा गरिरहेका छन्, यतातर्फ ध्यान दिने हो भने कांग्रेसको भोट ब्याङ्क तथा जनाधार पनि बढ्ने थियो । नयाँ आधार क्षेत्रमा कांग्रेसको लागि बाटो पनि खुल्ने थियो। तर, यी कुरामा वर्तमान नेतृत्वलाई जाँगर छैन। 

कम्युनिस्टहरुले सत्ता सञ्चालनमा देखाएको निक्कमापनबाट आजित भएर जनता आन्दोलनको लागि तयार हुँदाहुँदै पनि त्यो पहिचान गर्न नसकेर कांग्रेसको वर्तमान नेतृत्व पतन उन्मुख दिशामा अगाडि बढिरहेको छ। 

भविष्यप्रति रुचि नभएपछि इतिहास प्यारो हुँदोरहेछ र खराबै किन नहोस् त्यस्तै इतिहास भएकालाई आफूमा समाहित गर्न ऊर्जा खर्च हुँदोरहेछ। तर, भविष्य भएकालाई आफूमा समाहित गर्ने कुरामा रत्तिभर अग्रसरता हुँदो रहेनछ।

पतन उन्मुख नेतृत्व

भविष्य  सोच्न सक्ने नेता भएको भए भविष्यतर्फ उनीहरूको ध्यान धेरै हुन्थ्यो । तर, इतिहास बोकेको पार्टी इतिहासतर्फ हेर्दै सम्झौता गरेर बसिरहन चाहेको देखिन्छ। कांग्रेसको भविष्यका लागि महाधिवेशनको अंकगणित ठूलो हो कि आमनिर्वाचनको अंकगणित ठूलो,  कांग्रेसको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले त्यसको समीक्षा गर्नुपर्छ। 

पार्टी नेतृत्वमा हुनुपर्ने गुणको बारेमा बीपीले भनेका छन्- 'नेतृत्वको सबभन्दा ठूलो गुण त्यसको यश परखमा रहन्छ कि आन्दोलन  कुन क्षणदेखि पतनोन्मुख हुन थाल्छ, त्यो क्षण पुग्नुभन्दा पूर्व नै नेताले जनतालाई नैराश्यबाट बचाउँछ।' कम्युनिस्टहरुले सत्ता सञ्चालनमा देखाएको निक्कमापनबाट आजित भएर जनता आन्दोलनको लागि तयार हुँदाहुँदै पनि त्यो पहिचान गर्न नसकेर कांग्रेसको वर्तमान नेतृत्व पतन उन्मुख दिशामा अगाडि बढिरहेको छ। 

सुनील थापासँग शेरबहादुर देउवाले गरेको अङ्कमाल त्यही उन्मुख दिशातर्फको यात्राको एउटा मोड भन्दा बढी केही होइन। कार्यकर्तामा रहेको निराशालाई यो एकताले कत्ति पनि सम्बोधन गर्न सक्दैन।

प्रतिकृया दिनुहोस